Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

महिलामा किन धेरै डिप्रेसन? चार कारण यस्ता छन्

Posted on October 10, 2017October 10, 2017 by mysansar

(आज अक्टोबर १० विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा डा. अनुपम पोखरेलले लेख्नुभएको यो लेख mentalhealthnepal.com बाट साभार गरिएको हो)

प्रायजसो मानसिक रोगहरू लोग्नेमानिस र स्वास्नीमानिसमा बराबर मात्रामा भेटिने भए पनि केही रोगहरू स्वास्नीमानिसमा बढी देखिएको छ । त्यसमध्ये डिप्रेसन पनि एक हो । डिप्रेसन रोग झन्डै दश देखि पन्ध्र प्रतिशत स्वास्नीमानिसमा पाइएको छ ।

स्वास्नीमानिसमा डिप्रेसन बढी भेटिनु पछाडि विभिन्न कारणहरू रहेका हुन सक्दछन् । यी मध्ये केही तल चर्चा गरिन्छ ।

१. लोग्ने मान्छेभन्दा बढी मात्रामा स्वास्नी मानिसहरूले आफुमा मनोवैज्ञानिक लक्षणहरू पनि छन् भनी स्वीकार गर्ने प्रवृत्ति बढी पाइएको र यसले महिलाहरूमा डिप्रेसन पहिचान हुने सम्भावना बढ्ने हुन्छ भन्ने मनोविज्ञहरू महिलाहरूमा डिप्रेसन बढी भेटिने कारण यहि हो भन्छन ।

२. केही समाजशास्त्रीहरू महिलाहरूको सामाजिक स्थिति लोग्ने मानिसको तुलनामा तल्लो मानिनु, स्वास्नीमानिसहरूले परम्परागत समाजमा धेरैजसो समय घरमै बिताउने र आफ्ना मनका कुरा ब्यक्त गर्ने बातावरण तुलानात्मक रुपले नपाउनुले गर्दा महिलाहरूमा डिप्रेसन वास्तवमै बढी भएको भन्ने तर्क दिन्छन् । कामकाजमा लागेका महिलाहरूको हकमा भने दोहोरो जिम्मेवारी बहन गर्नु पर्दा हुने बढी तनाब डिप्रेसन को कारण हुन सक्ने बताइञ्छ ।

३. यी भन्दा बाहेक आर्थिक स्वतन्त्रताको अभाव, हिंसाका सिकार महिलाहरू बढी मात्रामा हुने इत्यादि विभिन्न सामाजिक कारणले पनि स्वास्नीमानिसमा डिप्रेसन बढी भेटिने तर्क अघि सारिएका छन ।
माथिका तथ्यहरूलाई नेपालमै गरिएको केही अनुसन्धानहरूले पुष्टि गर्दछन् । ती अध्ययनहरूले सामान्य मानसिक रोगको तुलनामा कडा प्रकारका मानसिक रोगीहरूको संख्यामा महिलाहरू बढी भएको देखिएको छ । लेखकसमेत सम्मिलित ती अध्ययनहरूले हाम्रो देशमा महिलाहरूलाई रोग छिपिइसकेपछि मात्रै उपचारको लागि लैजाने तथ्यतर्फ संकेत गरेका छन् ।

४. तर महिलाहरूमा डिप्रेसन बढी हुनु को अर्को पक्ष पनि छ, जुन शरीर विज्ञानको दृष्टिकोणबाट अझ बढी महत्वपुर्ण छ । डिप्रेसनलार्इ महिनाबारी र प्रसव अवस्थासग प्रत्यक्ष रूपमा सम्बन्धित पाइएको छ जसको चर्चा तल गरिन्छ ।

महिनाबारी सुरु भएपछि कतिपय किशोरीहरू तथा महिलाहरूलाई प्रत्येक पल्ट सुरु हुनुभन्दा केही दिन अगाडिबाट चिडचिडाहट हुने, दिक्क लाग्ने, जागर नलाग्ने तथा अन्य विभिन्न लक्षणहरू उत्पन्न हुन्छन् । केहीमा चार पाच दिनपछि यो समस्या आफै हराएर जान्छ त केहीमा कम भए तापनि हल्का रूपमा महिनाभरि रहिरहन्छ । यो अवस्थालाइ डिप्रेसन भनिदैन । यो कतिपय केटीहरूमा हुनसक्ने एउटा सामान्य नै भन्न सकिने अवस्था हो जुन बिस्तारै ठीक हुदै जान्छ । के महिला लै चाही उपचार चाहिन्छ । अझै केहि महिला मा चाही यी लक्षणहरू डिप्रेसन कै हदसम्म पुग्ने हुनाले डिप्रेसन को उपचार गर्ने सल्लाह दिइन्छ ।

Menopause को समयमा अर्थात् उमेर पुगेपछि महिनाबारी रोकिने समयमा पनि यस्तै लक्षणहरू आउन सक्दछन् । धेरैजसो महिलाहरूका यी लक्षणहरू खासै कडा हुदैनन् । तर केहि अवस्थाहरूमा दैनिक क्रियाकलापमा नै गडबडी उत्पन्न हुनसक्ने हुनाले उपचार आवश्यक हुन्छ । महिनाबारी रोकिने उमेरमा आफ्नो प्रजनन क्षमता समाप्त भएको सोचेर कतिपय महिलाहरू हीनताग्रस्त हुन्छन् भन्ने एकथरि विशेषज्ञको राय छ । तर शरीरमा आएको रसायनिक परिवर्तनलाई यसो हुनुको मुख्य कारक मानिएको छ । माथिका समस्याहरूमध्ये केहीलाई हर्मोन (Hormone) उपचार को आवश्यकता पर्दछ । कडा लक्षण भएका केहीलाई भने मानसिक रोगविशेषज्ञको सल्लाह लिनु आवश्यक हुनसक्छ ।

प्रसव अवस्थामा हुने डिप्रेसन
प्रसव अवस्थामा रहेका कूल महिलाहरूमध्ये झण्डै दुईतिहाइ महिलाहरूलाई शरुका केहि दिन भित्र हल्का उदासीपना हुनु सामान्य हो र यो अवस्था आफै केहि दिनमा ठीक भएर आउछ । सामान्य उदासीपन भन्दा निकै कडा रूपमा एक प्रकार को डिप्रेसन प्रसव अवस्थामा उत्पन्न भएको भेटिएको ले यस्ता समस्यालाई Post Partum Depression भनी नामाकरण गरिएको छ ।

प्रसव अवस्थामा रहेका कूल महिलाहरूमध्ये १०–१५ प्रतिशतलाई बच्चा जन्मेको ६ महिनाअघि डिप्रेसन भएको भेटिएको छ । यसका लक्षणहरू प्राय जसो बच्चा जन्मेको दुइ हप्तापछि क्रमिक रुप ले थकित हुँदै जाने, दिक्दारिपना या उदासी लगातार भइरहने, जागर नहुने, अल्छी लागिरहने, नकारात्मक सोचाइ मात्र दिमागमा आउने, सानो सानो कुरामा पनि रोइहाल्ने, जिउ भारी भइरहने, निद्रा खराब हुने, खाना नरुच्ने आदि विभिन्न लक्षणहरूमध्ये कमसेकम तीन चारवटा लक्षण पनि हुन्छन् र जब यी लक्षणले व्यक्तिको दिनचर्यामा समेत खलल पुर्याउन थाल्दछन्, त्यस अवस्थामा उक्त महिला माथि उल्लेखित प्रकारको डिप्रेसन बाट पीडित भएको हुन सक्छ पीडित महिलाको दैनिक क्रियाकलाप, पढाइ तथा निर्णय लिनसक्ने क्षमतामा ह्रास आउन सक्छ । पीडित महिलामा नकारात्मक विचारहरू आउने क्रममा जिन्दगी नै बेकार भएजस्तो लाग्ने र त्यसपछि “आ अब त काल आइदिएहुन्थ्यो” जस्तो लाग्ने पनि हुन जान्छ । रोगको तिब्रता बढ्दै गएमा मर्ने चाहना उत्पन्न हनु थाल्छ र केहि व्यक्तिहरूमा चरमसीमा आत्महत्यासम्म पनि पुग्छ । यस प्रकार लक्षणहरू अरु अवस्थामा हुने डिप्रेसन जस्तै भए पनि यो अवस्था फरक यस कारणले छ कि यस अवस्थामा आमाले बच्चालाई फालिदिने या अन्य प्रकारले हानि नोक्सानी पुर्याउने गर्न सक्दछिन् । Post Partum Depression बाट पीडित आमाहरूले रोगको प्रभावमा आफ्ना नवजात बच्चाको हत्या गरेका प्रसस्त उदाहरणहरू छन् । त्यस्तै यस अवस्थामा आमाले बच्चालाई दूध ख्वाउन मन नगर्दा दूध जमेर स्तनमा संक्रमण पनि हुन सक्दछ । यस अवस्थाको अर्को दूरगामी नकारात्मक प्रभाबाछा मानसिक विकासमा पर्न जान्छ । यी विभिन्न कारणहरूले गर्दा यो समस्याको सही समयमै पहिचान हुनु एकदम जरुरी छ ।

सुत्केरी अवस्थामा हुने डिप्रेसन को वास्तविक कारण अझै राम्ररी थाहा हुन सकेको छैन । बच्चा जन्मिएपछि शरीरमा आएको रासायनिक पविर्तनलाई केही अनुसन्धानहरूले कारक भएको संकेत गरेका छन् । तर त्यस्ता रसायनहरूको उपचारबाट यो समस्या ठीक भएको पाइएको छैन तर अन्य डिप्रेसनलार्इ झै उपचार गर्दा फाइदा भएको छ । जटिल अवस्थामा पुगिसकेपछि चाहिं अस्पतालमा भर्ना गरेर उपचार गर्नु आवश्यक हुन सक्छ .जटिल स्थितिमा विद्युतीय उपचारको पनि आवश्यकता पर्न सक्छ । उपचारले झण्डै शतप्रतिशत लाभ हासिल गर्दछन् ।

फेरि हुन नदिन के गर्ने ?
एकपटक डिप्रेसन भएर ठीक भएका महिलाहरूलार्इ अर्को पटक को सुत्केरी अवस्थामा यो रोग बल्झिन सक्ने सम्भावना बढी भएकोले रोकथामको लागि उपचारको आवश्यकता गर्भावस्थामै हुन्छ । त्यसैले यस्ता महिलाहरूले गर्भ रहेको तीन-चार महिनापछि मानसिक रोग बिशेसज्ञ संग सम्पर्क गर्नु राम्रो हुन्छ । यसका साथै तनावरहित न्यानो पारिवारिक वातावरण कायम गर्न सके बल्झिने सम्भावना झन् कम हुन्छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme