Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पूर्व महाराजको सन्चो बिग्रेको दशैं, नबनोस् दशा

Posted on September 29, 2017 by सूर्य खड्का

ज्ञानेन्द्र वीर विक्रम शाह, याने कि पूर्व महाराजाधिराजका गाथमा छैन सन्चो यसपटक। त्यसैले पूर्व राजाबाट वर्ष ०७४ को बडा दशैं मनाउने कार्यक्रम पनि भएन। निजी सचिव डा. फणी पाठकले फूलपातीको भोलिपल्ट शुक्रवारै वक्तव्य पठाएर चिकित्सकहरुले आराम गर्न दिएको सल्लाह अनुसार नै पूर्व राजाले मन्दिर दर्शन र सर्वसाधारणलाई विजया दशमीका दिन लगाइदिने टीका यसवर्ष स्थगित भएको बताए।

सन्चो उहाँको मात्रै होइन बिग्रेको। देशकै सन्चो बिग्रको छ। साउनमा आएको बाढी, डुबान र पहिरोको कहरमा परेर घरबारबिहिन भएकाहरुको दर्दनाक पीडाको आयतन विराट मधेशको भूगोल भन्दा ठूलो छ। त्यो पीडामा वडा दशैंको तामझाम गर्ने मुडमा पनि होइबक्सन्न पूर्व महाराज। त्यसैले जनता संकटमा पर्दा दशैँ नमान्ने निधोमा उहाँ पुगिबक्स्या छ।

बाढी डुबान पीडित जनताको दुःख पीडा कति दुख्यो सरकारलाई? दैनिक ७० रुपैयाँ तत्काल दिने भनेको सरकारी राहत पनि असोजसम्म किन नपाएको पीडितले? गुनासो र वेदना जारी छ जनताको। यो मानवीय प्रश्नको उत्तर खोजीको जाँगर छैन राष्ट्रिय मानवाधिकार आयोग, अधिकारकर्मी वा स्वतन्त्र भनिने मिडिया आदि आदिलाई। किनभने संकटमा आत्तिने र संकटसंगै दायित्व बिर्सने यहाँको सरकारी परम्परा अपरम्पार छ।

किनभने बाढी सकिए लगत्तै आयो चुनाव २ नम्वर प्रदेशको । दलहरुको दशैं नै स्थानीय चुनावको अन्तिम श्रृखला असोज २ भाकाले सबै लागे उतै, चुनावतिर । भोजभतेर, हजारको बजार, साडी चोलोको बितरण, सबैले गच्छे अनुसार जनता संझे, रिझाउने कोशिस गरे । सकेको भोट बटुले । सकिएको मतगणनाले सबै दलको औकात पनि लगभग देखाइसकेको छ ।

दलहरुलाई फेरि परमपरागत दशैंका मुखमा नै अर्को मंसिर १० र २१ को प्रदेश र संसदको चुनावको दशैं छ । सबैलाई जित्नु छ भोट । अनि यही दशैंको मौकामा बाजी मार्नु छ सत्तापक्ष विपक्ष सबैलाई । जनता त भोटका लागि संझिने र पुजिने अनि बिर्सने जिनिस हुन न यहाँ ।

देश डुबेका बेला, जनता भोका, नाँगा र घरबारबिहिन भाका बेला दशैं दुख हो, सेलेबेरेसन हैन भन्ने पूर्व महाराजाको चिन्ता व्यवहारतः मात्रै होईन, मानविय हिसाबले पनि ती पीडित जनताका लागि एक एक्यवद्धता हो, पूर्व राजाका हैसियतमा । किन भने लाखौं भूकम्प पीडितको दशै अझैसम्म टहरा मुनी नै छ । हजारौ बाढी पीडितको थात थलोबिहिनताले तराई मधेशको दशैं दशा नै हो । पर्वोत्सव भन्दा पर्वको कहर नै हो । यो जनताको कहरमा मानवीय संवेदना प्रकटको राजकीय परम्परा र धर्म निर्वाह शव्दमा नै भए पनि पूर्वराजाबाट आउनु सुखद संचार नै हो ।

आफ्नो सम्पूर्ण प्रार्थना, चासो र चिन्ता आम नेपालीहरुको हित र समुन्नतीका लागि रहेको पूर्व महाराजको विज्ञप्तीको अंशले जसो जसो जनता उसै उसै सदर भन्ने उहाँको पुरानै मान्यतालाई संझाएको छ । जे होस, जनतासंग नमनाए पनि उहाँले परिवारमा भने पक्कै दशै मनाउनु नै हुनेछ भन्ने कामना गरौं ।

दुखद संयोग मान्नुपर्छ, महाराजले दशैं जनतासंग नमनाउने निर्णय गरेका केही दिनमा नै पोखरामा शहीद लखन थापाको शालिकमा डोजर चलाइएको छ । वडा दशैंको फुलपातीको अघिल्लो दिन पोखराको पृथ्वीचोकमा पृथ्वीनारायण शाहको शालिक भत्काएर बनाइएको शहिद लखन थापाको शालिक रातारात डोजर चलाएर भत्काइएको हो । २० वर्षपछि निर्वाचित पोखराका जनप्रतिनिधिले बितेका सय बढी दिनमा गरको एउटा नोटिसमा आउने कामै यत्ति हो । स्मार्टसिटीको रुप शायद ।

कुतर्क पनि कस्ता भने सवारीचाप वृद्धिसँगै दुई वर्षदेखि पृथ्वीचोकमा निकै जाम हुने गरेकोकोले जाम घटाउन शालिक शहीद बनाइएको पोखराका एमालेबाट निर्वाचित मेयरको हास्याष्पद दाबी छ।

एउटा निर्जिव शालीक महानगरको सवारी चाप बढायो भन्दा भन्नेलाई भन्दा सुन्नेलाई लाज लागिरहेको छ । यो मानसिक दरीद्रता निर्वाचित जनप्रतिनिधको हदैसम्मको लज्जा हास्य हो । साथमा ईतिहासको सम्मान र रक्षामा उनीहरुको कमजोर मासिकताको द्योतक पनि हो ।

देशमा केपी ओली नेतृत्वको एमाले राष्ट्वाद जगमगाएको बेला राष्टपति विद्याभण्डारीले चन्द्रगिरीमा पृथ्वी नारायण शाहको शालिक अनावरण गर्ने एमालेकै मेयरको आदेशमा पोखरा लेखनाथ महानगरपालिकाले शहील लखन थापाको शालिक जरोकिलो उखेल्ने । यो कस्तो जनताको बहुदलीय जनवादको कार्यानवयन हो र गणतन्त्रको रक्षा हो ? कथित राष्टवादी ओलीले यसलाई थप नअथ्र्याएसम्म लोकवासीले चुरो कुरो बुभ्mन कठिन नै छ । ओलीको गोली सरह बोली लखन थापाको मृत शालिकमा डोजर चल्दा नी मौन किन छ ? लखन थापाहरुकै बलिदानको जगमा अहिलेका ओली र विद्याभण्डारीहरुको शासकीय युग सुरु भएको तथ्य कसरी तिनीहरु भुसुक्कै भुल्छन ? वा भुलेको नाटक गर्छन ? लोकवासी कम्तिमा ओली वाणी सुन्न आतुर छन ।
तर नामै पृथ्वी चोक रहेको र त्यहाको ऐतिहासिक पृथ्वी नारायण शाहको शालिक ढाल्दा गौरव गर्नेहरुले, थपडी बजाउने वा खुसी हुनेहरुलाई चेतना होस की शालिक चाहे असल वा खराब जो सुकै पात्रका हुन ढाल्नु गल्ती थियो, हो ।

इतिहास साक्षी छ लखन थापा शहीद हुन । उनको संघर्षको ईतिहास, वलिदानको गाथा फेवाताल भन्दा विराट छ, माछापुच्छ्र्रे भन्दा अग्लो छ । तर यसको मत्लव यो होईन र थिएन पनि की लखन थापाले नै पृथ्वी नारायण शाहको योगदानलाई प्रतिष्थापित गर्न सक्थे, सक्नेछन । हिजो पृथ्वी नारायण शाहको शालिक उखेल्दा भुल गर्नेहरुलाई अहिले लखन थापा पनि पृथ्वी शालीककै नियतिमा पग्दा बल्ल चेत खुलेको हुनुपर्छ ।

चाहे वीर, वीरंगनाका हुन वा तानाशाहका नै किन नहुन शालिकहरु युगका परिचायक हुन । ईतिहासका धरोहर हुन । तिनको रक्षा र संवद्र्धन राज्यको दायित्व हो । कामना गरौं आधुनिक नेपालका निर्माता, रचनाकार राजा पृथ्वी नारयण शाह र आधुनिक प्रजातान्त्रिक आन्दोलनका योद्धा लखन थापा दुबैका शालिक पुर्नस्थापित गर्ने सदवुद्धी यो वडादशैले सम्वद्ध सबैमा देओस । किन भने योगदान र बलिदानको तराजुमा लखन थापा माछापुच्छ्र्रे हुन भने पृथ्वी नारायण शाह सगरमाथा नै हुन ।

देशले परम्परागत दशैंको ०७४ साले संस्करण मनाइरहदा निर्मल निवासको द्धार विजय दशमीका दिन पनि बन्दै रहदा शीतल निवासको द्धार खुल्ला हुदैछ । यो विद्यादेवीको अर्शिवाद थाप्नेहरुका लागि सुखदै प्रसंग होला । तर यसै वीचमा दोलखा भीमसेनलाई पसिना आएको खबर निकै रहस्यमयी छ । मिथक वा जनश्रुती विश्वास जे भए पनि यो देशमा अनिष्टको संकेत हो भन्ने जुन जनविश्वास छ, यो सबैको मन मष्तिष्कमा चिन्ता र शंसयको खबर हो । कामना गरौं वडा दशैंको खुसीमा दोलखा भीमसेनले कुनै अकल्पनीय विपत्तिको आमन्त्रण नगरिदिऊन ।

अनिष्ट नै आउनु छ भने गणतन्त्रको नाममा मौलाएको भ्रष्टाचार, वेथिति, अति राजनीतिकरण, गरिबी, पछौटेपना, कालोवजारी र महंगीलाई सिनित्तै निलिदिने अनिष्ट आओस । अनिष्ट तराई मधेशको बाढी, डुबान वा पहाडको पहिरो वा दुई साल अघिको भूकम्प जस्तो चिरकालसम्म सताईररहने विपत्ति नहोस । माता भगवती सबैका दाहिन रहून । पूर्व महाराजालाई जस्तै प्राकृत्तिक प्रहारको कहरमा परेका जनतालाई समेत सन्चो नभाका बेलाको दशैं देश र जनतालाई थप दशा मात्रै नबनी दिए पनि दशैं शुभ नै हुनेछ । यही कामना गरौं, ह्याप्पी दशै टु अल ।

3 thoughts on “पूर्व महाराजको सन्चो बिग्रेको दशैं, नबनोस् दशा”

  1. Shankar says:
    September 30, 2017 at 1:33 pm

    कुन दिन नेपाल को जनसंख्या भन्दा बढी सहिद हुन्छ , अनि सुर्य जी ले कुन सहिद को वोकालत गर्दारहेछन हेरौला | तेरो जात को सहिद , मेरोजात को सहिद , तेरो सहिद भन्दा मेरो सहिद ठुलो | खै तराईको आन्दोलन मा मरेको सहिद लाइ मान्यता दिएको ?

    Reply
  2. शेरचन तामांग says:
    September 30, 2017 at 6:31 am

    सुर्यजी,
    सबै कुरा सही लेख्नुभो| तर महाराजको कुरोमा चै चिप्लिनु भो जस्तो लाग्यो| मुलुकको यो सबै दुर्गतिको ठुलो अंश महाराजले जिम्मेवारी लिनै पर्छ, देखावटी होइन भित्रि मनबाट पूर्ण पश्चाताप सार्बजनिक हुनपर्यो| माओवादी निहुँ मात्र हो, आफ्नै धराशयले ढलेको हो| आफु महाराज भए पछिका सबै कदमहरु फ्लप हुने खालका थिए र भए पनि| त्यही हो दाजु जस्तो टुलुटुलु हेरेर बस्दिन भन्या| हामी आदिवासी जनजातिले राजालाई तनमनले शिरमा राखेकै थियौ तर उनी नै टाडा भैदिएका हुन| यस्ता कुराको पनि कैले काँही फुर्सदका दिनमा सोच्दा हुन कि महाराजले|
    तपैको तीखो कलमले धुमधडक संग सबै सरकारी नियुक्तिको लाज्मर्नो प्राइस ट्यागको हल्ला बारे पनि प्रहार गर्नु होला| तीन करोड तिरे राजदुत खान पाईञ्छ भन्ने हल्लै मात्र होला त? त्यसरी नियुक्ति भएकाहरुले मुलुकको सेवा होइन उल्टो बदनाम र आफ्नै लागि पैसा कमाउन मात्र लाग्ला?होइन त? यो भन्दा कति अधो गतिमा जाने हो? जनतामा भरोसा नै छैन सरकार प्रति तैपनि जनता वेवकुफ नै हुन कि अझ पनि त्यस्तै पार्टी र व्यक्ति लाई सपोर्ट गर्दै आईरहेका छन्| के हामी जन्तु हौ? कि मुक जनता? लौ न, अलि सचेत गराउने तीखो वाण हान्नपर्यो|
    बाटोको खाल्डो समेत पुर्न सक्ने सामर्थ्य नभएको हो कि यस्तै हो भनेर कमाउन तिरै सबै जना मस्त| चुनाव आयो पैसा चाहियो र चुस्न सम्म चुस| अख्तियार भागेर क्यानाडा पसे क्यारे अर्का डा: के सी लाई पागल भन्ने चाहि दिल्लीको जागिरमा छन् क्यारे| अख्तियार आफ्नै पूर्वाग्रहले थन्केको हो वा सरकारले हल न चल बनादिएको अवस्था हो त्यो पनि तपाइँ संचार माध्यमका मित्रहरुले खुलाईदिनु होला|

    Reply
  3. Kishor says:
    September 30, 2017 at 12:32 am

    सुर्यजी लै मेरो प्रस्न, तपाई राम्रो विचार गर्ने मान्छे, कसरि तपाईले कोइ मान्छे जन्मको आधारमा बिसिस्ट हुन्छ भन्ने धारणा राख्न सक्नु हुन्छ? मैले अनुमान गरेको चै तपाइको पहिला देखि आहिले सम्मको लेख को आधारमा हो है..

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme