-रिजन श्रेष्ठ-
मेरो एउटा बिरालो छ। मायाले पालेको। बाटोमा कसैले मिल्काइ राखेको रहेछ। मैले घर ल्याएर हुर्काएको। सानोमा टिपेर ल्याउदा मुसा जत्रो थियो। अहिले बडेमानको ढाडे भएको छ। नाम चाही कुम्भकर्ण। मेरो भाइले राखिदिएको। नाम अनुसारको काम, कुम्भकर्णलाइ देख्ने जो कोहीले बाजी ठोकेर भन्न सक्छ यो बिरालोको काम भने पनि कर्म धर्म जे भने पनि सुत्नु हो। केवल सुत्नु मात्र। बैठक कोठाको टिभी माथि, सोफा मुनि, भान्साको फ्रिज माथि, कहिले कहिँ त मेरो सिरक भित्र लुट्पुटिएर; उ जहाँ पनि भेटिन सक्छ। तर प्राय सुतिरहेकै अबस्थामा !
एकदिन अचम्मै भयो। अचम्मै भन्दा गजबै भो। हाम्रो घर पृथ्वी राजमार्गको डिलैमा छ। कतिसम्मभन्दा हाम्रो आगनमा उभिएर बसभित्रको मान्छेसँग झ्यालबाट मज्जाले कुरा गर्न मिल्छ। पल्लो घरे साँहिला दाईको पोथीलाई बसले हानेर ठाउँको ठाउँ ठहरै पारीदिएछ। पोथी वरा अन्डा दिदै गरेकी रहिछे। त्यसैले क्षतिपुर्तीको माग राखेर गाउँका युवाहरुले राजमार्गमा अवरोध गर्दै रहेछन। घर अगाडी हल्लाखल्ला भएपछी म पनि खादाखादाको भात छोडेर त्यतै दौडन के लगेको थिए आमाले कराउदै भन्नु भयो, –“तेरो यो कुम्भकर्नेलाई पनि लिएर जाl” अगेनाको डिलमा मस्त निन्द्रामा रमाइरहेको बिरालोलाई काखिमा च्याप्प च्यापेर म बाहिर दौडे।
नेपालमा मिलाएर गरे के मिल्दैन र ! गाडीवालाले पोथी अन्डा हुँदै सम्भावित चल्लासम्मको हर्जना तिर्ने गरी कुरो मिल्यो। बाटो खुल्यो। सबै सामसुम भएपछी हामीपनि घर भित्र लाग्यौ। आमाले ल्याइदिनु भको तातो-तातो चिया सुर्काउदै टेबुलमा बसी फेसबूकमा लगइन गरे। कुम्भकर्ण अगी नै बाट कि- बोर्डको आडैमा पल्टिराखेको थियो। कसैले अगी बाहिरको घटनाको फोटो अपलोड गर्न भयाइसकेको रहेछ। तर खै किन हो कुन्नी मेरो भन्दा कुम्भकर्णे कै फोटो धेरै पोस्ट गरेको रहेछ। कहिलेकाही मात्र अक्कल झुक्कल मात्र देखिने हुँदा सबैलाई उ बिशेष भयो होला सायद। खैर केही छैन। मैले कुम्भकर्णेलाई झक्झकाएर उठाए। सधैं झै अल्छि मान्दै उ बिस्तारै उठ्यो। यसो कम्प्युटरतिर मुन्टो बटार्यो अनी स्क्रीनमा आफ्नो अनुहार देख्दा एकपल्ट त तर्के जस्तो गर्यो। तर त्यसपछी उसको आँखामा एकाएक यस्तो चमक देखे जुन मैले आज सम्म देखेको थिईन। एकै छिनमा कि- बोर्ड नै चलाउला जस्तै गरी कोतर्न थाल्यो। मैले माउसले स्क्रोल गर्दै बिरालोलाई उसका सबै फोटाहरु एकएक गर्दै देखाउदै गए। कुम्भकर्णले जोडले म्याउ गर्यो, जुन आवज मैले आजसम्म सुनेको थिइनl
भोलिपल्ट हाम्रो टोलको खानेपानीको पाइप मर्मत सम्भार गर्ने कार्यक्रम थियो। बिहानको खाना खाईवरी म त्यतै लाग्न लागेँ। “यो कुम्भकर्णलाइ पनि लिएर जानपर्यो” -मनमा त्यस्तै विचार आयो। यताउता सबैतिर खोजी हेरें तर कतै देखिएन। “ह्या” भनेर एक्लै जान बाहिर के निस्केको थिए कुम्भकर्ण त मलाई नै कुरेर ढोकैमा बसीराखेको रहेछ। हामी दुइ पानी ट्यांकीतिर लाग्यौ। कोही साथीहरु अगि नै आइसकेका रहेछन। कोही आउदै थिए। म कुम्भकर्णलाइ त्येतै डिलमा राखेर हातमा सानो कोदालो लिई पाइप खन्न तिर लागें। एकछिन पछि यसो मुन्टो माथि तिर गरेको त मेरी बास्सै रमितै भा को रहेछ। जताजता मान्छेहरुले क्यामेरा तेर्साउथें त्यतात्यतै कुम्भकर्ण काम देखाउन ब्यस्त थियो। हातखुट्टाका नंग्राले पाइप खोस्रनेदेखि लिएर वरपरको सानातिना टाक्राटुक्राहरु बटुल्नेसम्म उसले ठुलै सहयोग गर्यो। त्यसदिन कसैले प्वाक्क भन्यो -बिरालो होस् त कुम्भकर्ण जस्तो !
हामी दुई साँझ पख घर फर्क्यौ। दिनभरिको कामले थाकेको मेरो शरीरलाइ पलंगमा सुताउन मात्र के लागेको थिएँ मेरो आँखा नजिकैको टेबलमा पर्यो। ओहो के अचम्म – कुम्भकर्ण त कम्पुटर चलाउला झैँ कि- बोर्ड कोतार्दै रहेछ। उसको इसारा मैले बुझिहालें। यसो फेसबुकमा लग इन गरेको त जाद्रै पो भाको रहेछ। साथीभाई जसको पेज हेरे पनि उही कुम्भकर्ण मात्र। कसै कसैले त नयाँ ट्याग झुन्डाउन पनि भ्याईसकेका रहेछन- #समाजसेवी कुम्भकर्ण रे ! मलाई पनि दिमागमा झट्ट एउटा आइडिया आयो। तुरुन्तै फेसबुकमा एउटा नया एकाउन्ट खोलिदिएँ- समाजसेवी के. के.। त्यसदिनबाट दिनभर समाजको काममा खटिनु अझ प्रस्ट भन्दा खटिए झैँ गर्नु र साँझ परेपछि फेसबुकमा आफ्नो फोटो हेर्दै मक्ख पर्नु कुम्भकर्णको दिनचर्या नै बनेको छ। समाजसेवी के. के. संग सेल्फी खिचेर आफ्नो फेसबुकको भित्तामा टास्न चाहनेहरुको पनि कम छैन अचेल। जस्तो नाम उस्तै कामको अल्छि कुम्भकर्नेलाइ समाजसेवी के. के. मा रुपान्तरण गरिदिएकोमा फेसबुकलाइ मेरो कोटी कोटी प्रणाम।अब मेरो एउटै मात्र दुखेसो बाँकी छ -वरा के. के. ले मान्छे झैँ “।IKE ” गन्न सक्ने भए अझ कति उफ्रन्थ्यो होला ?!
Very-very interesting. Lots of “Kumbhakarna” alike are in our society, who always create big news and post for their small works. Facebook has given given a easier way to become famous.