Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

प्रदेश २ को चुनावको रमाइला १२ प्रसंग

Posted on September 18, 2017September 19, 2017 by Salokya


सुरुमा वैशाख ३१ गते हुने भने पनि मधेसकेन्द्रित दलहरुलाई पर्खँदा पर्खँदा बल्ल बल्ल असोज २ गते प्रदेश २ का आठ जिल्लामा पनि मतदान सकियो। मतदान सोचेभन्दा शान्तिपूर्ण भयो। जबर्जस्ती गराएको भए अलि पहिले नै यहाँ चुनाव हुनसक्थ्यो। तर त्यसले बेकारमा जनधनको क्षति र संविधान बाहिर रहेका शक्तिलाई झन् टाढा पुर्‍याउँथ्यो। अब परिणामसँगै जनमत पनि प्रष्ट भइहाल्छ। लगत्तै प्रदेश र प्रतिनिधि सभाको चुनाव पनि छँदैछ। प्रदेश २ को चुनाव हेर्न वीरगञ्ज र जनकपुर पुग्दा देखेका केही रमाइला प्रसंग।


१) मतदातालाई मासुको प्याकेट
सबभन्दा रमाइलो त मतदातालाई मासुको प्याकेट र पम्पलेट पुर्‍याउने वीरगञ्जका दलहरुको तरिका नै लाग्यो। सारी, पैसा बाँड्ने त छँदैथियो, मासुको प्याकेटसमेत बाँड्न थालेछन्। दशैँअगाडि नयाँ नोट बाँड्ने पनि देखियो।

२) मौन अवधिमा झन् व्यस्त मेयर उम्मेदवार
निर्वाचनको अगाडि मौन अवधिमा त चुप लागेर पो बस्नुपर्ने हो। तर वीरगञ्ज महानगरका मेयर उम्मेदवारहरु त साह्रै व्यस्त थिए। भेटघाट, घरदैलोमा व्यस्त देखादेखी त्यो पनि। फलाना ठाउँमा जानै पर्ने भो। ढिस्काना ठाउँमा आउँदै आउनु भएन भनेर कुरा आइरहेका छन् भन्दै। जसोतसो चुनाव हुन लागेको बेला के बढी टाइट गर्नु भनेर हो कि आचार संहितामा त पूरै आँखा चिम्लेको देखियो निर्वाचन आयोगले।

३) कसरी भोट हाल्ने सिकाइदेऊ न

पहिलो राष्ट्रपति डा. रामवरण यादवको गाउँ सपहीको लक्ष्मिनिया गाउँपालिकाको विपिकोमावि मतदान केन्द्रमा पुगेका थियौँ। त्यहाँ एक मतदाता महिलाले सँगैको हतियार बोकेका प्रहरीलाई बोलाउँदै थिइन्- कसरी भोट हाल्ने सिकाइदेऊ न आऊ भन्दै। हामी क्यामेरासहित त्यहाँ भएकोले हो कि किन हो, प्रहरीले मानेनन्। ‘हामीले हेर्नु हुँदैन, आफै गर्नुस्’ भने। उनी भने बोलाएको बोलायै थिइन्। फोटोमा देखिएकी महिला तिनै हुन्।

४) मतदाता नामावली बिक्रीमा

मतदाता नामावली पनि किन्न पाइने रहेछ वीरगंजमा।

मतदाता नामावली उम्मेदवारहरुलाई निकै आवश्यक चिज हो। हुनत निर्वाचन आयोगको वेबसाइटमै यो पाइन्छ। तर वीरगञ्जमा त यो किन्न पनि पाइने रहेछ। खुल्लमखुल्ला यहाँ पाइन्छ भनेर लेखेरै राखिने रहेछ फेरि।


५) पोको पारे जस्तो मतपत्र
मतपत्र ज्यादै ठूलो थियो। वैशाखभन्दा अघि नै यति दलले भाग लिन्छन् होला भनेर अनुमान गरेर छापिएको मतपत्र थियो यो। त्यसैले उम्मेदवारै नभएका चिह्नको भारी पनि मतपत्रमा थियो। समय थियो। मतपत्र फेरि छापिन सकिन्थ्यो। तर निर्वाचन आयोगले मानेन। मतदान केन्द्रमा मतदाताले मतपत्र कागज पोको पारे जसरी ल्याएर मतपेटिकामा खसाएको पनि देखियो। त्यस्तै मतपत्र दिने क्रममा रुलर राखेर च्यात्दासमेत मतदान अधिकृतले चिह्नमै च्यातेर खेर फालेको पनि देखियो।


६) महिलाको धेरै लाइन
जहाँ जहाँ हामी पुग्यौँ, त्यहाँ अनुशासित रुपमा महिला धेरै लाइनमा बसेका देखिए। बाटोमा भेटेका केहीलाई सोध्दा हामी अहिले हाल्न जाने हो, सुरुमा त महिलालाई पठाउने भने। महिला, वृद्ध धेरै देखिए मतदान केन्द्रमा, युवा कम।


७) मौसमको साथ
अघिल्लो राति पानी परेकोले गर्मी चर्किएन। आकाशमा बादल भएकोले सूर्यको प्रचण्ड रापले बचायो। मौसमले समेत साथ दिएकोले मतदान उत्साहपूर्वक नै सम्पन्न भयो।


८) मोबाइल निषेध
काठमाडौँमा हामीले मतदान गर्दा त मतदान केन्द्रहरुमा मोबाइल निषेध हुन्थ्यो। यहाँका मतदान केन्द्रहरुमा भने निकै लुज थियो। कसैलाई चेक जाँच पनि गरेको देखिएन। मतपत्र पट्याउन नजानेका कारण चिह्न केमा लगाएको देखिने गरी नै मतपत्र मतपेटिकामा ल्याउँथे। मतदान केन्द्रमा बस्नेले कसको पक्षमा कति भोट खसेको छ मज्जैले अनुमान गर्न सक्ने रहेछन्।

९) पूर्व गृहमन्त्रीलाई मतपत्र पट्याउन गाह्रो
पूर्व गृहमन्त्री विमलेन्द्र निधिलाई समेत मतपत्र पट्याउन गाह्रो भयो। उनले निकै समय लगाए मतपत्र पट्याउन।

१०) सेनाको गस्ती
चुनावको सुरक्षा जनपद र सशस्त्र प्रहरीले गरे पनि मनोवैज्ञानिक ट्रिट गर्न सेनाले पनि गस्ती गरिरहेको थियो।

११) गाछी छाप पानी
मतदान केन्द्रमा चुनाव प्रचार सामाग्री लान पाइँदैन। यो आचार संहिताको कुरा हो। केही चलाखले भने उपाय निकालिहाल्दा रहेछन्। एउटा मतदान केन्द्रमा मिनरल वाटरको बोतलमा गाछी चुनाव चिह्नको प्रचार देखियो।

१२) मतदान नहुँदै ८ जना निर्वाचित
मतदान नहुँदै ८ जना सदस्य निर्विरोध निर्वाचित भइसकेका थिए। उम्मेदवारी परेको बाहेक अरु कोही पनि उम्मेदवार नभएपछि ६ जिल्लाका ८ जना सदस्य निर्विरोध भएका हुन्। निर्विरोध हुनेमा एक महिला सदस्य छन् भने बाँकी सबै दलित महिला सदस्य।

धनुषाको मिथिला नगरपालिका ९ मा एमालेकी महिला सदस्य समिता लामा निर्विरोध निर्वाचित भएकी हुन्। निर्विरोध निर्वाचित हुने दलित महिला सदस्यहरुमा महोत्तरीको मनरा शिसवा नगरपालिका ८ की संजोगिया देवी (नेपाली काँग्रेस), सर्लाहीको मलंगवा नगरपालिका ९ की सिता मेस्तर (राष्ट्रिय जनता पार्टी नेपाल) सर्लाहीकै मलंगवा नगरपालिका १० की सरिता देवी (एमाले) सर्लाहीको चक्रघट्टा गाउँपालिका ४ की सुमित्रा देवी (नेपाली काँग्रेस),रौतहटको राजदेवी नगरपालिका २ की प्रेम सगरी दुसाधिन (संघीय समाजवादी फोरम, नेपाल), बाराको जितपुर सिमरा उपमहानगरपालिका २४ की लालमुनी देवी ठाकुर (एमाले) र पर्साको वीरगंज महानगरपालिका ९ की राधा देवी नेपाली (संघीय समाजवादी फोरम, नेपाल) रहेकी छिन्।

र, अन्त्यमा
गृहमन्त्री विमलेन्द्र निधिको पालामा स्थानीय तहको चुनाव सुरु भएको थियो। सम्पन्न हुँदा र उनले भोट हाल्ने बेलासम्म उनी पूर्व गृहमन्त्री भइसकेका थिए। मतदान केन्द्रमा भोट हाल्नुअघि लाइन लाग्दै गर्दा उनी स्वयं पनि मतपत्र देखेर अन्यौलमा थिए जस्तो देखिन्छ- हेर्नुस् भिडियोमा उनले गरेको कुराकानी

भिडियो नखुले हेर्न तल क्लिक गर्नुस्
https://youtu.be/udf50atKsO4

1 thought on “प्रदेश २ को चुनावको रमाइला १२ प्रसंग”

  1. shankare says:
    September 19, 2017 at 5:58 pm

    गृहमन्त्री भैसकेको मान्छेलाई त कसरि भोट हाल्ने हो बुझ्न हम्मे हम्मे पर्ने रैछ अब अनपढ जनताले कसरि भोट हाल्ने हुन्?
    त्यत्रो दुख गरेर मतपत्रमा नाम लेखायो, ३-४ किमि हिडेर भोट हाल्न गयो, कसलाई र किन भन्ने पनि थाहा नभैकिन छाप लगायो, त्यै पनि लौ जा बदर भयो I थुक्क किन यत्रो टन्टा गर्नु ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme