Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

प्रदेश २ मा चुनावको अघिल्लो दिन : रातभर पैसा बाँड्ने, दिनभर मासुको प्याकेट

Posted on September 18, 2017September 18, 2017 by Salokya

प्रदेश नम्बर २ को चुनावी रमझम हेर्न हिजो यता आइपुगेको। भोलि चुनाव हुँदैछ। आज अपराह्नसम्म यो प्रदेशको एक मात्र महानगर वीरगञ्ज हेरियो। अहिले मध्यरातसम्म धनुषाको जनकपुर उपमहानगरपालिकाको हेरिँदैछ।

रमाइलो रहेछ चुनाव। मौन अवधि सुरु भइसक्यो। तर उम्मेदवारहरुको घरदैलो सकिएकै छैन। मौन अवधिकै बीच व्यस्त छन् उम्मेदवारहरु। यति व्यस्त कि सबै उम्मेदवारहरुलाई भेट्न पनि सकिएन वीरगञ्जमा। यतिबेला चुनावको केही घण्टाअघि भने जनकपुर पैसा बाँड्न पार्टीका टोलीहरु निस्किँदा रहेछन्।

मतदाता नामावली पनि किन्न पाइने रहेछ वीरगंजमा।

वीरगञ्जमा सबैभन्दा रमाइलो लाग्यो उम्मेदवारहरुले मतदाताको घरघरमा पम्पलेटसँगै पठाउने मासुको प्याकेट। हैट! पहिलो पटक सुनेको यस्तो त। भोजसोज त अरु ठाउँमा पनि हुन्थे, यहाँ पनि भइरहेका थिए। तर घरमै मासुको प्याकेटसहित हाम्लाई भोट दिनुुस् है भनेर उपहार पठाउने त गज्जबै भो नि कुरा।

राजपाका मेयर उम्मेदवार राजेशमान सिंह त भन्दै थिए- अहिले पसलमा गएर हेर्न जानुस्। मासु कतै पाउनु हुन्न।

उम्मेदवारहरुको संयोग पनि गजब रहेछ। राजपामा मेयर उम्मेदवार राजेशमान सिंह पहिला कांग्रेसका खाँटी कार्यकर्ता रहेछन्। पछि शरद्सिंह भण्डारीको पछि लागेछन् र अहिले राजपाका उम्मेदवार। राजपाबाट मेयरको टिकट नपाएपछि राजपा छाडेर गच्छदारको पार्टीबाट मेयर उम्मेदवार बनेछन् विमल श्रीवास्तव। अनि एमालेका मेयर उम्मेदवार बसरुद्दिन अन्सारी चाहिँ माओवादी छाडेर भर्खर एमाले प्रवेश गरेका।


राजपाका मेयर उम्मेदवार

मेडिकल कलेजको लफडामा परेका अन्सारीसित कुराकानी गर्न उनको घर पुग्दा उनले माओवादीमा कार्यकर्तै छैन भनेर गुनासो पोखे। एमाले बरु राष्ट्रवादी पार्टी र क्याडर बेस पार्टी भएकोले यही रोजेको उनले बताए।

माओवादीले भने रहबर अन्सारीलाई उठाएको रहेछ। विदेश पढेर आएका भर्खरका युवक। यहाँको एक अस्पतालका डाइरेक्टर। उनका पिता पनि मेडिकल कलेजको लफडामा रहेछ। उनले पनि एमालेबाट ट्राइ मारेका र नपाएपछि माओवादी छिरेर टिकट पाएका रहेछन्। हामीसँग भिस्वा होटलमा कुरा गर्दा इतिहासको माग भएकोले क्रान्तिका क्रममा १७ हजार मारिएको भन्दै आफू संलग्न नभएको माओवादीले भन्ने गरेको जनयुद्धको डिफेन्ड गरे।

माओवादीका मेयर उम्मेदवार।


कांग्रेसका मेयर उम्मेदवार।


एमालेका मेयर उम्मेदवार।

कांग्रेस उम्मेदवार अजय आफ्नो जितमा विश्वस्त देखिए। जितेमा जितेको दिनदेखि काम गर्ने र काम महसूस हुन दुई वर्ष लाग्ने उनले बताए। ढुक्क त राजपाका उम्मेदवार राजेश पनि देखिए। एमालेका अन्सारीले त जित मेरै हो फूलमाला लाउन मात्र बाँकी भएको दावीसमेत गरे। तर यहाँका बासिन्दासित कुरा गर्दा मुख्य प्रतिस्पर्धा कांग्रेस र संघीय समाजवादी फोरमका उम्मेदवार विजय सरावगीबीच हुने देखियो। व्यापारी सरावगी मौन अवधिमा यति व्यस्त थिए कि हामीसित भेट गर्ने समय नै निकाल्न सकेनन्।

उम्मेदवारहरुले नै निर्वाचन आयोगले आचार संहितालाई राम्रोसित अनुगमन नगरेको गुनासो गर्दै थिए।

राजपा र कांग्रेसबीच वीरगञ्जमा कांग्रेसलाई जिताएर जनकपुरमा राजपालाई जिताउने माथिल्लो लेभलको सहमति भएको हुनसक्ने गाइँगुइँ पनि सुनिन्छ। त्यसलाई मलजल दिने काम मधेस आन्दोलनको थलो बनेको वीरगञ्जमा राजपाका महत्वपूर्ण शीर्ष नेताहरु आमसभामा सहभागी नभएकोले गरेको देखियो।

जनकपुरमा रातभर पैसा बाँड्न हिँडेको टोली

वीरगञ्जबाट जनकपुर उपमहानगरपालिकामा आउँदा यहाँ झन् अर्कै माहौल रहेछ। मौन अवधिको त कुरै छाडौँ, चुनावको अघिल्लो रात पैसा बाँड्न दलहरुको टोली मध्यरातमा निस्केको देखियो।

यहाँ पनि कांग्रेस र राजपाको मुख्य प्रतिस्पर्धा देखियो। तर कांग्रेसलाई कांग्रेसीहरु सबैले भोट नदिने आंकलन पनि गरिरहेको हेर्न पाइयो। यसको कारण- एक त यहाँका २६ वडामा १९ वडामा बागी उम्मेदवार रहेछन्। त्यसमा रामचन्द्र पौडेलदेखि अरु असन्तुष्ट समूह समेटिएका रहेछन्। अर्को विमलेन्द्र निधिलाई देखाइदिनुपर्छ भनेर लाग्नेहरु रहेछन्।

यता राजपालाई भने बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीका उम्मेदवार उमेश साहले टेन्सन दिइरहेको रहेछ। कांग्रेस हार्ने र राजपा जित्ने विश्लेषण गर्नेहरुले समेत रातभरको पैसा बाँड्ने कामले पासा पल्टन सक्ने र जितहार दुई हजार जतिको भोट अन्तरले हुने बताए।

जनकपुर उपमहानगरपालिकाका मुख्य मुख्य ठाउँहरुमा नगराइन पूर्व गृहमन्त्री विमलेन्द्र निधिको गाउँ रहेछ। यहाँको भोट निर्णायक हुनसक्ने रहेछ। निधिलाई सजिलो रहेनछ यहाँ।

अर्को रहेछ कुर्था। पहिलेको गाउँ अहिले उपमहानगरपालिका। हाल जेलमा रहेका सञ्जय साह टकलाको पकेट क्षेत्र। यहाँ राजपा, कांग्रेस कसैलाई छिर्न दिइएको रहेनछ। अहिले राति त्यहाँ राजपा पैसा बाँड्न जाँदै रहेछ। हिजो कांग्रेसले बाँडेको रहेछ।

त्यस्तै कुवाको दलितबस्ती जहाँ रिक्सा र ठेलावालाहरु बस्छन् त्यहाँ कांग्रेसले पैसा बाँडिसकेपछि राजपा गएको भएर भिडन्त टरेको रहेछ।

राति ११ बजेपछि दलहरु पैसा बाँड्न निस्केका रहेछन् आज।

जनकपुरको अर्को एउटा रमाइलो कुरा के रहेछ भने यहाँ साहुजीहरुको पकड रहेछ। त्यसमा मुख्यतः तीन जात- तेली, सुँडी र कलवार हुादा रहेछन्। यी जातिहरुमा अध्यक्ष र उपाध्यक्ष जस्तो माइजन र देवान हुनेरहेछन्। माइजन र देवानले रातारात हामीले फलानालाई भोट दिने भनेर ह्विप जारी गरेपछि डङ्ग्रङ्गै जातिको भोट जाने रहेछ। माइजन र देवानहरुलाई फकाउन नेताहरु लाग्ने रहेछन्।

यस पटक साह जातमा फूट आएको रहेछ। नयाँ शक्तिबाट उठेका पत्रकार महासंघका पूर्व जिल्ला अध्यक्ष उमेश साह पनि साह, कांग्रेसका उम्मेदवार पनि मनोज साह। एमालेका लक्ष्मी नारायण भगत पनि साह, माओवादीका चन्द्रशेखर साह, राजपाका लालकिशोर साह, समाजवादी फोरमका विष्णुदेव साह, फोरम लोकतान्त्रिकका हंसराज साह उम्मेदवार छन्। राप्रपाका राजकुमारी साहमात्र हैन राप्रपा (प्रजातान्त्रिक) का पनि रुपा साह नै।

यही बीचमा कांग्रेसले आज हल्ला फैलाइदिएछ राजपाका उपमेयरका झा थर भएका उम्मेदवारले झाको मत नमागी साहहरुको मत मात्रै मागिरहेको छ भनेर बिचरा राजपालाई हल्ला चिर्दैमा ठिक्क भएछ।

यहाँका मन्दिरका मुख्य मठाधीश पनि विभाजित रहेछन्। जानकी मन्दिरको पूजारीले कांग्रेसलाई र रत्नसागरकोले राजपालाई समर्थन गर्ने रहेछन्।

सबभन्दा रमाइलो जनकपुर उपमहानगरपालिकाको इतिहास लाग्यो। यहाँ अहिलेसम्म कुनै पार्टीले स्थानीय चुनाव जितेको रेकर्ड रहेनछ। सँधै स्वतन्त्रले जित्ने। यसपालि के होला? अब मतदानपछि थाहा होला।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme