Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कथा : यमराजको आमरण अनसन

Posted on September 9, 2017September 9, 2017 by mysansar

-मनोज बोहरा-

अकबरे खोर्सानीको झोलमा टाउको डुबाएर निकाले झैँ आँखा कस्तो पिरो भाको, फुट्छ कि झैं लाग्दैछ। नाक पनि पोल्दै पिरो न पिरो सिंगान बग्न थाल्यो। घाँटीबाट श्वासै बाहिर निस्कँदैन कि के हो। टाउको फुट्छ झै भै रहेको छ।

आकासै गर्जिने, पृथ्वी नै थर्किने गरी अर्को आवाज आयो “ड्याङ्ग”। फेरि टियर ग्याँस हाने ज्यानमाराहरुले। अकस्मात् एकोहोरो रुपमा आवाज आउन थाल्यो “ड्याङ्ग, ड्वाङ्ग, ट्याङ्ग, ट्यासस, डड्याङ्ग” भीडमा जिन्दावाद र मूर्दावादको नारा अलि मत्थर भयो। भागदौड मच्चिन लाग्यो।

मेरो अगाडि एक व्यक्ति घोप्टो परेर लडेको देखें। भीडले त्यसलाई कुल्चँदै भाग्दै थिए।

“त्यसलाई न किच्नुस्” म एक्लै एकोहोरो चिच्याइरहेको थिएँ।

“कसैले मेरो मद्दत गर, त्यसलाई हस्पिटलमा लिएर जाऔं।”

एकएक गरेर सबै त्यहाँबाट निस्के। तर मेरो कुरा कसैले सुनेन।

पुलिसको एक जत्था आएर लाशलाई खुटटामा समातेर उत्तानो पारे। निधारमा गोली लागेको रहेछ। “बरा उमेर मै मारे दुष्टहरुले” अनायासै सुस्केरा निस्क्यो। अनि फेरि त्यो लाशलाई घिसार्न लागे। म एक्लै भए नि लाश खोस्न भनी हात समात्‍न लागेँ। हात समात्‍न खोज्छु समात्‍नै सक्दिनँ। टाउकोमा छुन खोज्छु। हे मेरो भगवान, आज मलाई के भैरहेको छ। छुन पनि सकिरहेको छैन। फेरि त्यो लाशको टाउको समात्‍न खोज्दै थिएँ। मेरो आँखा उसको अनुहारमा पर्‍यो। अनुहार देख्‍नासाथ आङ्गै सिरिङ भयो। मनै चिसो भयो। शरीरका अंग-अंग गलेर फतक्क भए। त्यो व्यक्तिको अनुहार हु-बहु मेरै जस्तै थियो।

मेरो आवाज पनि कोही सुनिरहेका छैनन्। कसैले छुन पनि सकिरहेको छैन। अनि त्यो लाश हुबहु…….. मेरैजस्तै। त्यो मृत्यु हुने व्यक्ति कतै……….! सत्यलाई स्वीकार्नु पर्छ। हो, हो, त्यो लाश मेरै थियो र मर्ने व्यक्ति म नै रहेछु।

हे दैव, तँ कतिसम्मको निष्ठुरी रहिछस्। यति चाँडै मलाई मेरो परिवारबाट अलग्याउन सकिस्। मेरो परिवारले तेरो के बिगारेका थिए? कोदेखि रिस उठेर तैँले मलाई चुँडाएर लग्न खोज्दैछस्? त्यो तोतेबोली बोल्ने अबोध बालिका जसले अहिलेसम्म राम्रोसँग संसार देख्नै पाएकी छैन, त्यसको के दोष? त्यो प्यारालाइसिसकी रोगी निरीह आइमाइको के दोष? हातका नंग्रा खियाएर थाकिसकेकी मेरी बूढी आमादेखि के कुरामा तेरो चित्त दुख्यो र तैँले यति ठूलो निर्णय लिन पुगिस्?

“ड्यादी थहर गएर थेलौना ल्याइदिश्यो है” तोतेबोली बोल्दै, मेरो चोर औला समातेर शहर आउनुअघि मेरी छोरी भन्दै थिई। “हजुर जसरी नै चाँडै घर फर्कनु होला नि” गहभरी आँसु टलपल टलपल पार्दै प्यारालाइसिसले गलेकी मेरी पातली कान्छीले भन्दै थिइ।

हे दैव, हे मेरो भगवान, एकचोटी त त्यो निरीह आइमाइ र त्यो बाँसकी मुना जस्ती मेरी कलिली छोरीलाई भेट्न त दे। विधिको विधान, मेरो पुकार त्यहाँ कसले सुन्ने। मेरो रुवाई र आवाज सुन्ने ठाउँ भन्दा धेरै टाढा पो पुगिसकेका थिए।

“वर्गीय हितको लागि म लड्दा लड्दै शहिद भएँ। यसमा मेरो परिवारले गर्व गर्नुपर्छ” म मेरो मन सम्हाल्न खोज्छु। “त्यो संसारै राम्रोसँग नदेखेकी बालिकाले यो संसार कसको सहायताले देख्छे त ?”

अनुत्तरित प्रश्न म आफैभित्र गुन्जिरहन्छ।

राता-राता आँखा भएको कपाल तिलचामले भएको एउटा अधवैंशै व्यक्ति बडेमानको राँगामाथि चढेर आइरहेको देखें। म नगिचै आइपुग्नासाथ नर्कलोकमा जानको लागि स्वागत गरै झैँ गरी राँगोले “आई” गरी मेरो निधार चाट्न लाग्यो। मलाई असजिलो लागेर त्यो अधवैशे व्यक्तितर्फ फर्केँ। ऊ मपट्टी नै फर्केर मुस्कुराइरहेको थियो। मलाई नि राँगा माथि चढ्न आग्रह गर्न लाग्यो। विधिको विधान मैले नमानी सुखै थिएन।

“अहिले नर्कलोकको नियम कानून अलिकति परिवर्तन भएको छ। अकाल मर्नेहरुलाई चित्रगुप्तको हिसाबकिताब हेरेर दण्ड जरिवाना गरिँदैन। नर्कलोकमा लगेर अकाल मृत्यु क्याम्पमा लगेर राखिन्छ। हाम्रा नर्क तथा स्वर्गलोकका संवाददाता नारदमुनिको एउटै मात्र लोकप्रिय टेलिभिजन नेटवर्क “नारदमुनि टेलिभिजन” नेटवर्कबाट मर्त्यलोकको देशहरुले कुन-कुन व्यक्तिलाई शहीद घोषणा गर्‍यो, त्यसको नामावली प्रसारण गरिन्छ। शहिद घोषणा भएको खण्डमा सोझै स्वर्गमा जान पाइन्छ। बाँकी चाहीँ नर्कलोकको नियम कानून अनुसार दण्ड जरिवानाको हकदार हुन्छन्,” मेरो मौनता भंग गर्दै यमराज भन्दै थिए।

आज अकालमा मर्नेहरुमा एकजना पुलिस, एकजना आर्मी, एकजना रेपिष्ट, एकजना डाका र अर्को हत्यारा रहेछ। सबैलाई यमराजले राँगामाथि चढाए। अनि हामी लाग्यौँ नर्कलोक तर्फ।

‘ओ बाजे, यस्तो बुढो राँगालाई तपाईँको वाहन किन बना’को ? यसले त राम्रोसँग तान्न पनि सकिरहेको छैन,’ सबभन्दा पछाडि बसेको रेपिष्ट बोल्यो।

‘यो मेरो प्यारो जनावर हो। बाबु, यो कहिल्यै रिसाउँदैन। जस्तै परिस्थितिमा पनि मेरो मद्दत गर्छ। मित्र र दुश्मनको राम्रो पहिचान छ यसलाई। मित्रलाई औधि माया गर्छ। दुश्मनलाई बाँकी राख्दैन। बुझ्यौ?’ यमराज अट्टहास गर्न खोज्दै थिए, अन्तिममा बस्ने रेपिष्टले राँगाको पुच्छरको भुत्ला उखेली दिएछ। राँगो “बाई” गरी पछाडिको दुवै खुट्टा उचालेर के बुकुर्सी मारेको थियो, यमराज राँगोको सिङमा पुगे। राँगाले कसेर घाँटी हल्लायो यमराज भुइँमा थ्याच्चै। त्यसरी भड्केको राँगोले हामीलाई त्यही लडाएर कहाँ पुग्यो था पत्तो केही लागेन।

‘बाबु यसलाई भारी भएछ’, जिउमा लागेको धुलो टक्टक्याउदैं यमराजको वाक्य खुल्यो।

अगाडि हेरेको नर्कलोकको गेट रहेछ। भित्र छिर्नमात्र के लाग्याथ्यौं, बाहिरैसम्म जिन्दावाद र मुर्दाबादको नारा सुनियो। भित्र पुग्नासाथ आन्दोलनकारीको ठूलो भीड देखियो। चित्रगुप्तविरुद्ध चर्का-चर्का नाराबाजी गर्दै थिए। पापीलाई सजाय दिने ठूला-ठूला तेलका कराईहरु कोही लडाइ दिए, कोही फुटाइ दिएछन्। खुनीहरुलाई काट्ने आरीहरु भाँची दिएका रहेछन्। टायर पनि बालेका छन् कि भनेर यता उता नजर दौडाए। तर त्यो चाहीँ कहीँ बालेका देखिएनन्। सायद नपाउने भएर होला। टायरको ठाउँमा भैँसीको पाडो जलाउने योजना चाहीँ रहेछ। स्वर्ग जान नपाएकोले गर्दा आन्दोलन गरेका रे आन्दोलनकारीहरुले।

साँझ पर्‍यो। वरीपरी पहरा दिन राखेका राँगाहरु एकोहोरो कराउन लागे। कहीँ परबाट कुकुर तथा राँगोको मिश्रित स्वर झैँ लाग्ने जन्तु “भौघौं आइआइआई” एकोहोरो कराउन लाग्यो। हामी तथा सबै नर्कका आन्दोलनकारी अकाल मृत्यु क्याम्पभित्र ग्वारारा गरेर पस्यौँ।

नारदमुनि टेलिभिजन नेटवर्कले समाचार दिन लागेको रहेछ। ‘आज विशेष समाचार भएर हो कि नारदमुनि आफै समाचार दिन लाग्नु भएको रहेछ’, खुसी हुँदै पछाडिबाट एकजना पुलिसले कोट्याउँदै भन्यो।

नारायण! नारायण!!
आजका प्रमुख समाचार;
मर्त्यलोकको देश जहाँ जीवनभर आन्दोलन गरेर सत्तामा पुग्ने चलन छ र सत्तामा पुगेपछि पनि सत्ता चलाउने अनुभवहिनता तथा आन्दोलन, बन्द, विरोध मात्र जानेका कारणले बन्द हड्ताल मात्र गर्ने नेपाल देशका मनुष्य नेताबाट घोषणा गरिएका शहिदहरुको नामावली…………
शहीदहरुको नामावली प्रसारण भयो।

समाचार सक्कियो। धेरैले आजको आन्दोलनलाई ब्यङ्ग्य गरी समाचार प्रसारण गरिएको लख काटे।

एक जना डाकाको पनि शहिदको लिष्टमा नाम आएछ। ऊ खुसीले भूँइमा न भाँडामा भएको छ। अब त स्वर्ग गइन्छ, सोमरस खाइन्छ, अप्सरासँग डान्स गरिन्छ रे।

केही हराएकाहरुको नामावली शहिद लिष्टमा छुटेको रहेछ। केही शहिदै नभएकाहरु पनि शहिदको लिष्टमा परेका रहेछन रे। त्यही भएर हाम्रो अकाल मृत्यु क्याम्पमा निकै ठूलो तनाव देखिएको छ। शहिदहरु पनि पार्टी पार्टी विभाजन हुन गए र आफ्ना पार्टीका व्यक्तिहरुलाई स्वर्ग लग्नका लागि छुट्टाछुट्टै रुपमा चरणबद्ध आन्दोलनको घोषणा गरे।

आज नर्क लोक बसाइँको छैठौं दिन। त्यो रेपिष्ट स्वर्गद्वारका द्वारपालेहरुलाई मर्त्यलोकको नाच सिकाउने, शिवजी बुटीको झार मसिनो गरी काटी फस्ल्याङ फुस्लुङ पारी स्वर्गभित्र छिर्ने गर्दो रहेछ। इन्द्रलाई पनि भेटेछ र मर्त्यलोकको नाच इन्द्रलाई पनि सिकाएछ। इन्द्रलाई पनि त्यो मर्त्यलोकको नाच औधी मन पर्‍यो रे कसिलो मुट्ठीबाट माझी औला मात्र ठाडो पारेर आकाशतिर हल्लाउँदै, कहिले खुट्टाको पञ्जाले टेक्ने, कहिले कुर्कुचाले टेक्ने नाच नाच्न सबै अप्सराहरुलाई उर्दी जारी गर्नु भो रे।

उता शिवजीलाई पनि भेटेछ। शिवजी बुटीको झारकाटी चिलिममा भर्दिने गर्दो रहेछ। यसरी म महादेव र शिवजीको प्रिय भए भनेर सुनाउँदै थियो। अनि शिवजी बुटी भनेको के हो – मैले उत्सुकताबस सोधें। के हुनु नि ब्रो त्यो रानीवारीको जस्तो खोक्स गाँजा त हो नि- रेपिष्ट उत्तर दिंदै थियो।

आज नर्कलोकको सातौं दिन एक सूत्रीय माग (सबैले स्वर्ग जान पाउनु पर्ने) राखेर आन्दोलनमा उत्रिएका अकाल मृत्युक्याम्पबासीहरुले उधुमै मच्चाए। ठूला-ठूला तेलको भाँडो फुटाए, राँगा भैसीको त बीउ पनि बाँकी नरहने गरी आगो लगाइदिए। आन्दोलनकारीले चित्रगुप्तविरुद्ध, यमराजविरुद्ध चर्का चर्का नाराबाजी गरें। ठूलै तहसनहस पारे।

यतातिर यमराजलाई पनि भन्नुको रिस उठ्यो मर्त्यलोकको मनुष्य नेताहरुदेखि र ४ सूत्रीय मागहरु राखेर आमरण अनशनमा उत्रिए।

मागहरु

1) अकाल मृत्यु हुनेको संख्या बढी भएर राँगोले तान्न सकेन। त्यसैले तुरुन्त वाहन परिवर्तन गर्नुपर्ने।

2) नर्क तथा स्वर्गलोकको अर्थतन्त्र बिगार्ने गरी मनुष्य यता पठाएको हुनाले ती मनुष्य नेताहरुलाई तात्तातो तेलमा डुबाउन पाउनु पर्ने।

3) स्वर्ग जानेको संख्या बढी भए। त्यसैले शहिदको परिभाषा स्पष्ट गर्नु पर्‍यो मर्त्यलोकको नेताहरुले।

4) उपर्युक्त बुँदाहरु कार्यान्वयन हुन सक्दैन भने मर्त्यलोक विघटन गर्नुपर्ने हैन भने राम, कृष्ण , बुद्ध जस्ता अवतारी नेता ब्रम्हाजीले जन्माउनु पर्ने।

यमराजको हस्ताक्षर

एकातिर अकाल मृत्यु क्याम्पबासीले उधुम मच्चाइरहेका र अर्कातिर यमराज पनि आमरण अनसनमा बसेको देखेर त्यसताका स्वर्ग र नर्क दुवैतिरको कार्यभार सम्हालेका इन्द्रलाई भने भन्नुको रिस उठेछ। विधिको विधान त फेर्न सकिन्न बरु पुरानो यमराज हटाएर त्यो रेपिष्टलाई नयाँ यमराज बनाउने हो कि भनेर कुरा राख्दै थिए रे।

स्वर्ग जाने बेला आइसकेको हुनाले म स्वर्गतिर लागेँ। पछि के भयो थाहा हुन पाएन।

(July 31st, 2010 मा माइसंसारमा प्रकाशित)

1 thought on “कथा : यमराजको आमरण अनसन”

  1. Kamal says:
    September 11, 2017 at 4:24 pm

    Good ploting of story. Combination of reality and imagination. Kamal

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme