माननीय युवा तथा खेलकुद मन्त्री राजन केसीज्यू,
नमस्ते,
सर्वप्रथम नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रीको गरिमामय पदमा आसिन हुनु भएकोमा ढिलै भए पनि हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना। गोरु बेचेको साइनो लगाउने हो भने तपाईं मेरो नाताले भिनाजु पर्नु हुन्छ। तर मैले यो पत्र त्यो सम्बन्धको आधारमा नभई एउटा खेलप्रेमी नागरिकले सम्बन्धित मन्त्रीलाई लेखेको हो र यसलाई यस्तै रुपले बुझिदिन विनम्र अनुरोध गर्दछु। साथै प्रजातन्त्रको ठेकदार सम्झिने नेपाली कांग्रेस जस्तो राजनीतिक पार्टीको कार्यकर्ता भएको कारणले तपाईंले यो पत्रलाई सकारात्मक रुपमा लिनु हुनेछ भन्ने आशा गरेको छु।
एउटा खेलप्रेमी नागरिक भएको कारणले देशको लागि खेल्ने खेलाडीहरुको भविष्य सुरक्षित हुनु पर्ने कुरामा दुई मत नहोला। आफ्नो उमेर छउन्जेल खेलमा बिताएका खेलाडीहरुले बूढो भएपछि जीवन निर्वाह गर्न सकस हुनु राम्रो कुरा होइन। आफ्नो इच्छाले रोजेको पेशा भएको कारणले आफ्नो भविश्यको जिम्मा स्वयम खेलाडीहरुले नै लिनु पर्छ भन्ने जमात पनि नभएको होइन। तर मलाई के लाग्छ भने यो देसको प्रतिष्ठासँग जोडिएको पेशा हो। कुनै खेलमा पदक प्राप्त भयो भने हामीलाई जसरी गौरव लाग्छ, त्यो कारणले पनि खेलाडीहरुको भविश्य सुरक्षित हुनुपर्छ जस्तो लाग्दछ।
तपाईंले कार्यभार सम्हालेको केहि दिन पछि नै दक्षिण एसियाली तथा एसियाली खेलकुदका पदकधारी खेलाडीहरुलाई आफ्नै निवासमा आमन्त्रण गरेर सम्मान गर्नुभयो। त्यसबाट म निकै प्रभावित भएको छु। त्यसै कार्यक्रममा खेलाडीहरुलाई सम्बोधन गर्दै खेलाडीको प्रतिभा मर्न नदिने वचन दिनुभएकोबाट पनि आशा गर्न सकिन्छ। कार्यक्रममा तपाईंले खेलकुद क्षेत्रमा राजनीति हुन नदिने प्रतिबद्धता जनाएको कारणले अबदेखि नेपाली खेलकुदको क्षेत्रमा राजनीति हुँदैन भन्ने आशा राखेको छु। यहाँ राजनीतिको अर्थ गलत चलखेल हो भने राजनीति हुन नदिनु राम्रो कुरा हो तर सफा राजनीति हुनु त मलाई राम्रै कुरा होला जस्तो लाग्छ, त्यो म जस्तो साधारण मान्छेलाई भन्दा तपाईंलाई पक्कै पनि राम्रोसँग थाहा छ। कुनै बेला तत्कालीन खेलकुद मन्त्री शरद सिंह भण्डारीले मार्सल आर्ट्स कि आशालाग्दी खेलाडी शुस्मिता कँडेलको खेल जीवन नै बर्बाद पारेको जस्तो राजनीति हुन रोक्न सक्नुभयो भने खेल क्षेत्रसँग सम्बन्धित व्यक्तिहरुको साथै म र म जस्ता खेलप्रेमीहरुको दृष्टिमा पनि तपाईंको स्थान उच्च हुनेछ।
खेलको नाममा भोगटेको फुटबल र तेलकासा खेलेको म जस्तो मान्छेले खेल क्षेत्रको बारेमा बोल्नु राम्रो हो वा नराम्रो हो त्यो मलाई यकिन भएन। यदि बोल्न नहुने थियो र बोलेको रहेछु भने मलाई माफ गरिदिनुहुनेछ भन्ने आशा राखेको छु। हाम्रो देशमा बैकुण्ठ मानन्धर, दीपक बिष्ट र संगीना बैद्य जस्ता प्रतिभा सम्पन्न खेलाडीहरु थिए र अहिले पनि उहाँहरु जतिकै वा त्योभन्दा राम्रा खेलाडीहरु पनि हुनुहुन्छ होला। तर उपलब्धि सँधै सुन्य किन हुन्छ? त्यो विषयमा एकपटक गम्भीरता भएर सोच्न पनि जरुरी भइसकेको छ। हामी केटाकेटी हुँदा काठमाडौँमा लिग फुटबलको जुन आकर्षण थियो, त्यो अहिले किन छैन? यो बारेमा पनि केही सोच्ने बेला भयो वा अझै भएन? देश विदेशको यत्रो ठूलो लगानी हुँदाहुँदै पनि नेपाली फुटबलको स्तर फिफाको लिस्टमा झन् झन् ओरालो लाग्नुको कारण के हो र त्यस्तो कारणको जिम्मेवारलाई हतकडी लगाउने साहस तपाईंसँग छ कि छैन?
तपाईंले खेलकुद विकासका लागि कर्पोरेट हाउससँग सहकार्य गर्नुपर्ने धारणा राख्नु भएको छ त्यो निकै राम्रो कुरा हो. बिश्वका सबै देस हरुमा कर्पोरेट हाउससँग सहकार्य भएको कारणले नै खेल क्षेत्रको विकास भएको कुरामा दुइ मत नहोला। कर्पोरेट हाउस हरुले विभिन्न खेल प्रतियोगिताहरुको र बिभिन्न टिमहरुको प्रायोजन गर्दा खेल क्षेत्रलाइ पनि आर्थिक लाभ हुने र उनीहरुको पनि बिज्ञापन हुने कारणले दुवैलाइ फाइदा छ, तर यस्तो सहकारी पारदर्शी भयो भने फाइदा सम्बन्धित व्यक्ति र सस्थालाइ हुन जाने कारणले यस्तो सहकार्य गर्दा चनाखो हुनुपर्छ।
तपाईंले कार्यभार सम्हाले पछि एन्फा टेक्निकल सेन्टरको स्तरोन्नति गर्ने क्रममा उक्त सेन्टरको शिलान्यास गर्नु भएको छ। अतः यो सेन्टर को निर्माणमा हुन सक्ने आर्थिक घोटालाको बारेमा पनि तपाईं चनाखो हुनुपर्छ। सरकारी काम भनेर कम गुणस्तरको निर्माण सामग्री प्रयोग हुन गयो भने यति महत्वपूर्ण भौतिक पूर्वाधार निर्माण हुनुको कुनै औचित्य रहन जाँदैन।
तपाईंले मेरै कार्यकालमा सात प्रदेशमा सात सुबिधा सम्पन रङ्गशाला बनाउने खोक्रो दाबी गर्नु भयो त्यसले तपाईंको स्तर घटाउने काम गर्यो। मन्त्री भएको खुशीमा बोल्दा ध्यान नपुगेको हो वा तपाईंको वरिपरि घुम्ने चाकरीबाजहरुले फ़ुर्काएर हो त्यस्तो सुन्दै हाँसो उठ्ने कुरा तपाईंले बोल्न हुँदैन थियो। करिब सात महिनाको लागि प्रधानमन्त्री भएका शेर बहादुर देउबा प्रधानमन्त्री बाट तपाईंको मन्त्री पद पनि स्वत सकिन्छ। यति छोटो अबधिमा रङ्गशाला निर्माण गर्ने काम टेलिभिजनमा देखाउने सिमेन्टको बिज्ञापनमा मात्र हुन्छ। यदि तपाईंले मेरो कार्यकालमा सात रङ्गशाला निर्माण गर्न सुरु गर्छु वा नेपाल सरकारसँग समन्वय गरेर जग्गा उपलब्ध गराउछु भनेको भए राम्रो हुन्थ्यो। यस्तो बकम्फुसे दाबीले खेलकुद क्षेत्र र खेलाडी हरुलाई कुनै फाइदा गर्ने मात्र नभई तपाई हाँसोको पात्र बन्नु हुन्छ।
अर्को वर्ष मध्यपश्चिमाञ्चलमा हुने आठौं राष्ट्रिय खेलकुदको जिम्मेवारी पनि विभागीय मन्त्री भएको कारणले तपाईं माथि छ। यदि मन्त्रिपरिषद् विघटन भएन भने सम्भबत त्यो खेलकुद प्रतियोगिताको समयमा तपाईं मन्त्री नै रहनु हुनेछ। यदि मन्त्री पद बाट हट्नु भयो भने पनि राम्रो तयारी गर्न सक्नु भयो भने तपाईं को योगदानको पक्कै कदर हुनेछ, तर केवल बोल्ने मात्र हो भने पदमा बस्ने र जाने बाहेक अर्को कुनै अर्थ हुने छैन।
यसैगरी आउँदो दक्षिण एसियाली खेलकुद प्रतियोगिताको आयोजना गर्नुपर्ने जिम्मेवारी पनि तपाईंको काँधमा छ। यत्रो बिशाल खेलकुद प्रतियोगिताको आयोजना गर्न ठूलै पूर्वाधारको आवश्यकता पर्ने भएकोले यसको बारेमा तपाईंको रोडम्याप के छ त्यो बिषयमा पनि ढुक्क हुनुपर्छ, होइन भने एउटा सानो कुराले अपजस आउन सक्छ।
माथि प्रस्तुत जिज्ञासाहरु मैले कुनै खेल क्षेत्रको ज्ञाता भएको कारणले गरेको होइन। एउटा खेलप्रेमी नागरिकले सम्बन्धित मन्त्रीसँग राखेको जिज्ञासा सम्झेर उचित जवाफ दिनुहुनेछ भन्ने आशा गरेको छु। पुनः एकपटक तपाईंलाइ हार्दिक बधाई दिंदै तपाईंको सफल कार्यकालको शुभकामना दिन चाहन्छु। धन्यवाद।
नवीन रायमाझी
हाल: अमेरिका
[email protected]