Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

भारतमा राजकीय रमाइलो : प्रधानमन्त्रीले सोधिरहे— आरजु खोइ आरजु ?

Posted on August 29, 2017August 29, 2017 by mysansar

— मुरलीधर काफ्ले —

अगष्ट २३ मा दिल्ली उत्रनासाथै भारतीय समकक्षी नरेन्द्र मोदीको ‘चिया स्वागत’ बाट नसोचेको चर्चा र सम्मान पाएका प्रधानमन्त्री शेरबहादुर देउवाको ५ दिने भारत यात्रा व्यक्तिगत रुपमा सोचेभन्दा बढी लाभदायी रह्यो। भर्खरै भारतीय राष्ट्रपतिको १४ औं कार्यकाल सम्हाल्न आइपुगेका रामनाथ कोविन्दको पहिलो ‘गार्ड अफ अनर’ सम्मान पाएका देउवाको हाइहाइ मुश्किलले २४ घण्टा मात्रै टिक्यो।

अगष्ट २४ को बिहान दिल्लीको हैदराबाद हाउसमा दुईपक्षीय विशिष्ट भेटवार्ता एवं संयुक्त सम्बोधन गर्ने क्रममा लिखित भाषणमै नभएको संविधान संशोधनको मुद्दाबारे ‘अनावश्यक’ मन्तव्य राखेपछि प्रधानमन्त्री देउवाको खेदो सुरु भैहाल्यो। ‘यो पटक संविधान संसोधन असफल भो, अर्को पटक सफल गराएरै छाड्छु’ भन्ने भावमा देउवाले बोल्नासाथै उनका दिनदशा सुरु भैहाले। सार्वजनिक संजालदेखि नेपालमा विपक्षी दलहरुसमेत देउवाको बिरोधमा एकमुख बनिहाले।

त्यसपछि सुरु भयो—मौनव्रत। अगष्ट २४ कै साँझ मानसिंह रोडको ताजमान होटलमा नेपाली दुतावासले एउटा भव्य स्वागत (रिसेप्सनसहित) आयोजना गर्‍यो, प्रधानमन्त्री देउवाका निम्ति।

रिसेप्सनमा भारतीय विशिष्ट नेताहरु मुरलीमनोहर जोशी, सिताराम येचुरी, सुधिन्द्र भदौरिया, केसी त्यागीसहित र सरकारी प्रतिनिधि रुपमा जलस्रोत मन्त्री उमा भारती, प्रधानमन्त्री मोदीका सुरक्षा मामला सल्लाहकार अजित डोबल आदि समेतको उपस्थिति थियो। तर, ७ बजे राखिएको समारोहमा ८ बजेतिर प्रधानमन्त्री देउवालाई उच्च सुरक्षाका साथ रिसेप्सन हलमा ल्याइयो, राम्ररी ५ मिनेट बस्न पनि नपाई फेरि बाहिर लगियो। राष्ट्रपति भेटघाटको समय जुधेकाले त्यस्तो भएको भन्दै दुतावासका अधिकारीहरु उम्किरहेका थिए। समारोहमा गला भासिएको र कसैले बुझ्न नसकेको स्वरमा राजदूत दीपकुमार उपाध्यायले संक्षिप्त स्वागत गरेका थिए। अब प्रधानमन्त्री देउवाले बोल्ने पालो होला भनेर पालो पर्खिरहेका पाहुनाले सुन्ने गरी प्रधानमन्त्रीले राजदूतलाई भनेका थिए—भयो भयो, पर्दैन। अनि प्रधानमन्त्री समारोहबाट बाहिर निस्किहाले। न कसैलाई धन्यबाद, न हाय–हेल्लो।

द्वैदेशीय चालु विकास र आगामी योजनाका कुरा गर्ने बेलामा ‘संविधान संसोधन गरिछाड्छु’ भनेर अनर्थ बोलेपछि चौतर्फी आलोचना बेहोर्न थालेका प्रधानमन्त्री देउवा सबैतिर मौन–मौन रहन थालेका थिए। अझ अगष्ट २५ मा हैदराबादको भ्रमणमा निस्कँदा प्रधानमन्त्री देउवा अरु प्रतिनिधिमण्डल, सल्लाहकार र मिडियासँग पुरै ‘डिस्कनेक्ट’ देखिए, एकजना मात्रै अलिकति नजिक थिए भने कांग्रेस सांसद एनपी साउदसँग मात्रै।

तेलाङ्गना र आन्ध्र प्रदेशका गभर्नर इ.एस.एल.नरसिंम्हको राजकीय स्वागत र भोज हैदारबादको ताज फलकनूमा प्यालेसमा यसरी तामझामसाथ गरियो, त्यत्तिको खातिरदारी दिल्लीमा पनि भएको थिएन। त्यो विशिष्ट भीभीआइपी होटलमा पुगेर पनि मिडियाकर्मीले न प्रधानमन्त्रीको सम्बोधन सुन्न पाए, न संवाद गर्नै पाए। प्रधानमन्त्रीको हैदराबाद भ्रमणको पूर्व तयारीमा गएका दुतावासका काउन्सेलर कृष्णप्रसाद पन्थ यतिसम्म ‘लोयल’ देखिए कि ताज प्यालेसमा बसेका ४० भन्दा बढी विशिष्ट पाहुना (नेपाली डेलिगेसन)को कोठा–कोठामा पुगेर “के–कस्तो छ कुन्नि?” भन्दाभन्दै रातको ९ बजिसकेको थियो। यो सेवाभक्तिको प्रतापले भनौं, काउन्सेलर पन्थसहित अर्का काउन्सेलर उमाकान्त आचार्य, कान्तिपुर, राससका पत्रकारहरुलाई ताज होटलमा सुत्ने कोठा नमिलेको अन्तिम बेलामा मात्रै पत्तो भयो। त्यसपछि मध्यरातमा ताजबाट ४ किलोमिटर टाढा अर्कै कामचलाउ होटलमा सुत्ने प्रबन्ध मिलाइएको थियो।

“के हामी सिरियाली शरणार्थी हौं र यो अलपत्र बेहोर्न?”,दूतावासकै कर्मचारीबीचको भनाभन, त्यो पनि मध्यरातमा निकै रमाइलो सुनिएको थियो। सूचना, प्रविधिको शहर हैदराबाद पुगेर प्रधानमन्त्री देउवाले के–के हेरे, के–के बुझे— कुनै मिडियाकर्मीले केही पत्तो पाएनन्। कारकेडको कडाइ र भीभीआइपीको लस्करमाझ प्रधानन्त्री चश्मा उचाल्दै कुदिरहेका मात्रै देखिए। बेलाबेला बोलेको सुनिन्थ्यो—“आरजु खोइ हँ, ए आरजु !”

यसभन्दा अघिका प्रधानमन्त्रीका दिल्लीबाहिरका भ्रमणहरु केही कारण र अर्थले भरिएका हुन्थे। तर, प्रधानमन्त्री देउवा भने यसपटक श्रीमती आरजुको करकाप र छत्रछायाले गर्दा धार्मिक यात्रामा निस्किएजस्तो देखियो। उनी हैदराबादबाट डेढ घण्टाको फ्लाइटमा पुगिने तिरुपती बालाजीदेखि त्यहाँबाट २ घण्टामा उडेर पुगिने बोधगया (बिहार) सम्म धर्मै गर्न पुगेका थिए। लुम्बिनीमा जन्मेका भगवान बुद्ध बिहारको बोधगया आएर ज्ञान प्राप्त गरेको एतिहासिक थलो घुम्दा प्रधानमन्त्रीले न बुद्ध–सर्किटका बारे चर्चा गर्न चाहे, न बुद्धको जन्मबारे कुनै हकदावी सुनाउन पाए। बोधगया मन्दिरमा ३ फेरो लगाउनुपर्ने नियम भएपनि प्रधानमन्त्री श्रीमती आरजुतिर फर्केर भन्दै थिए—“एक फेरो लगाए पुग्दैन र?”

प्रधानमन्त्रीसहितको टोली बोधगयाको होटल रोयल रेसिडेन्सीमा बसेको थियो जहाँ न इन्टरनेट थियो, न अरु सुविधा ।

यो पटक प्रधानमन्त्री भ्रमणमा अरुभन्दा पनि नेपाली दुतावासबाट अनिवार्य संलग्न हुनैपर्ने पोलिटिकल काउन्सेलरको ‘अनुपस्थिति’ खट्किएको थियो । यो हुलमुलमा मिसिदैं लामबद्ध यात्रामा निक्लन पोलिटिकल काउन्सेलर हरि ओडारी, इकोनमिक मिनिष्टर कृष्णहरि पुष्कर (डा.गोविन्द केसीलाई अख्तियारमा हुँदा ‘पागल’ नामाकरण गरिदिने धुरन्धर पण्डित) र अरुभन्दा पनि काठमाडौंदेखि दौडधुपमा आएका पत्रकारहरु ऋषि धमला, अनिल गिरी, मनोज बस्नेत कसरी पो छुटेछन्— धेरैले पत्तो पाउनै सकेनन्। त्यसमाथि परराष्ट्र सल्लाहकार डा.दिनेश भट्टराई, परराष्ट्र सचिव शंकरदास बैरागी यो लावालस्करमा कहाँ हो कहाँ, ‘गुमनाम’ झैं थिए । न कतै सल्लाह चाहियो, न सुझाव । मन्त्रीगणको हुलमुल पनि दिल्लीमैं थन्किएको रहेछ, पर्यटन मन्त्री जितेन्द्र देव मात्रै कारकेडको बीचमा भागदौड गरिरहेका भेटिन्थे।

सधैं झैं यसपटक पनि पत्रकार ऋषि धमलाको स्फुर्ती र तुजुक दिल्लीमा छाइरह्यो । प्रोटोकल आवतजावतमा पनि कहिलेकाँही राजदूत दीपकुमार उपाध्यायभन्दा अघिअघि ऋषि हुन्थे, कहिले दुतावासका कर्मचारी थामथुम पारिरहेका हुन्थे—ऋषिजी यता है यता, त्यता होइन।

ताज होटलको भेलामा नेताहरु करन सिंहदेखि सिताराम येचुरीसम्मलाई ऋषि सानो साइजको माइक मुखै छेउमा लगेर सोधिरहेका थिए—“अरे बताइये न, अब क्या होगा ?”

(लेखक काफ्ले सीए संस्थासम्बद्ध रहेर लक्ष्मीनगरमा बस्छन्।)

4 thoughts on “भारतमा राजकीय रमाइलो : प्रधानमन्त्रीले सोधिरहे— आरजु खोइ आरजु ?”

  1. जितेन जंग says:
    August 30, 2017 at 6:41 pm

    चेम्बर्स अफ कमर्समा भारतीय मन्त्रीले भाषण गरेपछि देउवाको पालो आयो| यस्तो लाजमर्नु थियो कि टीभी नै अफ गर्नुपर्यो| न स्वर सुन्नु, न बुझ्नु| दोभाषे प्रयोग गरेको भए इज्जत बच्ने थियो| बरु प्रोटोकोल नाघेर भे पनि आरजु म्याडमलाई बोल्न दिएको भए वा थ्याङ्क यु दिन लाएको भए, सुजाताले भन्दा तीन डबल राम्रो गर्ने थिई|
    देउवा राष्ट्रिय लज्जा बने भारतमा, आफ्नु देशको कुरै नगरु हामी सबैले पचाएका छौ| त्यसै भएर काजु कान्छा र छबिलाल हीरो बनेका हुन|
    कसले भन्ने होला नी बरी लै!!

    Reply
  2. Surya Khadka says:
    August 30, 2017 at 8:38 am

    — मुरलीधर काफ्ले — की जय ।

    Reply
  3. मनोज ब्लोन says:
    August 30, 2017 at 12:15 am

    हे हे हे अरजु मोदि संगै गफिन थलेको थियो होला नि।

    Reply
  4. महेन्द्र says:
    August 30, 2017 at 2:51 am

    सबै भन्दा रमाइलो मलाइ के लाग्यो भने यौटै कार्यक्रममा यौटै मुलुकको प्रधानमंत्री दौरा सुरुवाल टोपीमा खाँटी नेपाली देखिए भने उप-प्रधानमन्त्री / परराष्ट्र मंत्री चाही टाईसूटमा सजिएका विदेशी जस्ता | यस्तो दुर्भाग्य कतिन्जेल सम्म मुलुकले बेहोर्नु पर्ने ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2022 MySansar | Powered by Superbs Personal Blog theme