Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कथा : सम्पत्ति विवरण

Posted on August 26, 2017August 26, 2017 by mysansar

-बाबुकाजी सुवाल ‘विकेश निराशी’-

बिहानको चार बजे बिउझिएँ । आज शनिवार भएकोले अफिस जानुपर्दैन । ओछ्यानबाट उठेर मुख धोई आधा गिलास तातो पानीसँग ग्यास्ट्रिकको औषधी खाएँ । अनि मन्दिरमा गएर भगवानको दर्शन गरेर फर्किएँ । भोलि अफिसमा सम्पत्ति विवरण बुझाउनुछ । त्यसैले सम्पत्ति विवरण फाराम भर्नको लागि बसेँ । के लेख्ने सम्पत्ति विवरण फाराममा ? सम्पत्ति विवरण फाराममा भर्न मिल्ने खासै बहुमुल्य सम्पत्ति मसँग केही छैन । तर पनि मैले सरकारलाई सम्पत्ति विवरण नबुझाई हुँदैन । सरकारको यो कस्तो नियम हो ? कुचिकारदेखि हाकिमसम्म सबैले सम्पत्ति विवररण नबुझाई नहुने रे । सम्पत्ति विवरण बुझाउन नसक्नेलाई पाँच हजार रुपियाँ जरिवाना तिराउने रे । मैले कलम लिएर सम्पत्ति विवरण फाराममा लेख्नथालेँ, ” एक रोपनी खेत, दुई आना जग्गामा बनेको भत्किनै आँटेको कच्ची घर, दुई वटा बाख्रा, तीन वटा चल्ला, एउटा बोका, एक तोलाको सुनको सिक्री………..” सम्पत्ति विवरणको फाराम भर्दाभर्दै मेरो आँखाअघिल्तिर साथीहरूको ठूलाठूला महलको चित्र ठिंग उभिन आयो ।

जन्म दिनको अवसरमा निमन्त्रणा कार्ड आयो । उसले बोलाएको ठेगाना पहिलेको भन्दा फरक थियो । मैले कार्डमा लेखिएको समयमा उक्त ठेगाना खोज्दै खोज्दै साथीको घर भएको ठाउँमा पुगेँ ।

“यो घर मैले किनेको नि, मित्र ।” साथीले मलाई स्वागत गर्दै भन्यो ।

उसको घर देखेर मलाई रिंगटा लाग्यो । कति अग्लो घर ? अनि कति ठूलो घर ? त्यो घर एउटा राजाको महल जस्तै थियो । साथीले मलाई आफ्नो घरभित्र लग्यो । उसले मलाई एउटा गाइडले पर्यटकलाई डुलाए जस्तै घरको कोठैपिच्छे लगेर देखाउनथाल्यो ।

“मित्र, यो मेरो भान्छा कोठा हो ।” उसले जुँगामा ताउ लाउँदै फूर्ति गर्दै भन्यो ।

उसको भान्छा कोठाको सामान देखेर मेरो आँखा नै तिर्मिरायो । भाँडाकुँडा त कति कति ? फ्रिज, ग्याँस चूल्हो, दराज, धारा र भाँडाकुँडा पखाल्ने ठाउँ पनि त्यहीं थियो ।

“यो कोठा हाम्रो बेडरुम हो, मित्र ।” उसले मलाई अर्को कोठामा लग्दै भन्यो ।

उसको बेडरुम देखेर म चकित भएँ । उसको खाट मात्रै पनि लगभग चालिस पचास हजार पर्ने खालको थियो । डसना, सिरक, सोफा, टेबुल, दराज, मेच, टिभी, डेक आदि सबै थोक चिटिक्क पारेर सजाएर राखिएको थियो । मलाई आफू एउटा सानो स्वर्गमै पुगेको हो कि भन्ने भान भयो ।

साथीले मलाई एक घण्टा जति लगाएर सबै कोठामा लगेर आफ्नो पौरख देखाउने काम गर्यो । यो काम सिद्धयाएपछि उसले मलाई पार्टीहलमा लग्यो । उसको जन्म दिनको त्यो पार्टी एउटा बिहेको पार्टी भन्दा कम थिएन ।

“हाम्रो साथीलाई ड्रिंक ल्याइदिनू ।” उसले काम गरिरहेका आफ्ना कामदारहरूलाई आदेश दियो ।

पार्टीमा साथीभाइ र आफन्तहरू जम्मा भएर रमझम गरिरहेका थिए । कोही साथीहरू गीत बजाएर नाचिरहेका थिए । कोही साथीहरू आफूआफूमा सरसल्लाह गरिरहेका थिए । कोही साथीहरू भने आफूलाई इच्छा लागेको भोजन खानपिन गरिरहेका थिए ।

साथीहरू भन्दा पढ्न जान्ने भनेर परिचित मान्छे – म । आफ्नो क्लासमा प्रथम हुने गरी पढ्ने मान्छे – म । मेरो क्लासमा म भन्दा पढाइमा पछि परेका साथीहरूले मैले भन्दा धेरै धन कमाएर प्रगति गरिसकेका थिए । यी साथीहरूले मैले भन्दा ठूला ठूला घर बनाइसकेका थिए । साथीहरूले मोटरसाइकल र कसैले त कार चढ्न थालिसकेका थिए । तर आफ्नो हालत भने साथीहरूलाई सुनाउन समेत लज्जित हुनुपर्ने अवस्था थियो । घर बनाउनु त धेरै परको कुरा थियो । आज आफ्नो कमाइले दुई जना छोराछोरीलाई पढाउन, नुन-तेल, चामल अनि बा, आमा, पत्नी र आफ्नो लागि औषधी किन्नलाई समेत पुगिरहेको थिएन ।

उपियाँले मेरो खुट्टामा किटिक्क टोकेकोले म फेरि निन्द्राबाट बिउँझे झैं भयो । म एकै पल्ट साथीको घरबाट आफ्नो घरमा पुगे जस्तै भयो । मेरो अगाडिको सम्पत्ति विवरणको फारामले मलाई टुलुटुलु हेरिरहेको थियो । मैले फाराम हातमा लिएर हेरें । के लेख्ने होला त यो फाराममा ? मैले आफ्नो कोठामा आँखा डुलाएर हेरें । मेरो कोठा अघिल्लो दिनमा मेला लागेको मन्दिर जस्तै लागिरहेको थियो । जताततै झुत्रो कपडा फ्याँकिराखेको, पुराना किताबहरू फालिराखेको । मेरो कोठामा ओछ्याइएको कार्पेट एउटा पनि पुरानो भएर ठाउँमा प्वाल परिसकेको थियो । खाट किराले खाएर एकनासले किर्रकिर्र आवाज आइरहेको थियो । सिरकको खोल फाटेर ठाउँठाउँमा प्वाल परेको थियो । मेरो विहे हुँदा पत्नीको माइतीको तर्फबाट दिएको सोफा पनि पुरानो भएर प्वालैप्वाल परिसकेको थियो । सोफाको एउटा खोल फेर्ने सामर्थ्य समेत भएन – मसँग । कोही साथी आए भने बसाउने गतिलो एउटा कोठा समेत छैन – मेरो घरमा । त्यसैले कुनै साथीले मेरो घरमा आउँछु भन्यो भने अनेक बहाना पार्नुपर्ने अवस्था आउँथ्यो – मलाई । मलाई आफ्नै अवस्था देखेर दिक्क लाग्थ्यो । तर म के गर्न सक्थें र ? मैले जति नै कमाए ल्याए पनि पैसाले कहिल्यै पुगेको होइन । मैले जागिर खाएको पनि आज बीस वर्ष भइ सकेछ । मैले जागिर खाएर के नै गर्न सकें त ? यस्तैमा मैले आफ्नो स्कूले जीवनमा भेटेको उही साथीलाई सम्झें ।

उसको र मेरो जागिर एउटै तह । हामी दुवैले एउटै वर्षमा जागिर खाएको हो । ऊ भन्सारमा अनि म हुलाकमा । ऊ खानको लागि बाँचिरहेको, म बाँच्नको लागि खाइरहेको छु । दिनदिनै ऊ दौडधुप गरिरहेको छ । म पनि दौडिरहेको छु । फरक यति मात्र हो – ऊ खाएको पचाउनका लागि दौडिरहको छ भने म खाना जुटाउन । उसको घर दरवार जस्तै छ । मेरो घर पानी पर्दा चुहिएर भत्केला कि भनेर सधैं चिन्ता लिइरहनु पर्ने अवस्था छ । जागीर दिने सरकार पनि उही हो, जागीरको तह पनि त्यही हो । हामीले भर्नुपर्ने सम्पत्ति विवरणको फाराम पनि उही हो । फरक त्यस फाराममा भर्ने सम्पत्तिको विवरण मात्र हो । मसँग त्यो फाराममा भर्न लायक सम्पत्तिको अभाव छ भने मेरो साथीलाई सम्पत्तिको विवरण भर्नको लागि उक्त फाराममा ठाउँको अभाव छ । अभाव त दुवैको अभावै हो । मानिसलाई यो अभावले पनि कहिल्यै नछोड्ने रहेछ । कसैको सरसामानको अभाव त कसैको आफूसँग भएको सामान राख्ने ठाउँको अभाव।

“चामल पनि छैन । नुन र तेल पनि छैन । मैले कसरी भात पकाउने ?” पानी लिएर आएकी पत्नीको आवाजले म झसङ्ग बिउँझिए झैं भएँ ।

बोल्दै नबोलिकन जुरुक्क उठेर मैले पुरानो र किराले भसक्क पारिसकेको सन्दुकबाट छोराको कलेजमा तिर्न भनेर जोहो गरिराखेको राखेको तीन हजार रुपियाँबाट पन्ध्र सय रुपियाँ झिकेर छोरालाई चामल, नुन र तेल किन्न पठाएँ ।

मलाई आज खसीको मासु खान मन लाग्यो । खसीको मासुमा झोल बनाएर खान असाध्यै मन पर्छ । पहिला केटाकेटी छँदैदेखि खसीको मासु भनेपछि ‍धेरै नै लोभ लाग्थ्यो । खसीको बोसो भएको मासुमा जिरा, अदुवा, लसुन जस्ता मसला अलि बढी हालेर झोल बनाएर खान अति नै मन पर्छ । सम्झँदा पनि मेरो मुखमा पानी भरिएर आयो । तर के गर्नु ? मसँग पैसा छैन ।

अफिसबाट तलब नपाएको पनि तीन महिना भैसकेको छ । पहिलाको तलब पनि आधा महिना पनि नहुँदै सकिसकेको छ । मसँग भएको तीन हजारबाट पनि पन्ध्र सय रुपियाँ त भर्खरै चामल किन्न दिएर पठाइसकें । छोराछोरीको कलेजमा तिर्नुपर्ने रकम हिसाब गरेर हेरे । कलेजको फि र ड्रेसको जोड्ने बेलामा तीन लाख रुपियाँ जति चाहिने देखियो । उक्त रकम सम्झिनासाथ मेरो आँखा तिर्मिरायो । मेरो मनमा भूँइचालो गयो । मेरो पैतालामुनिको जमिन भास्सिए जस्तै भयो । मलाई रिंगटा लाग्नथाल्यो । मेरो सुब्बाको सानो जागिर अनि त्यत्रो रकम मैले कताबाट ल्याएर तिर्ने होला ? हे भगवान ! मैले कसरी पैसा जुटाउने होला ? बीस वर्ष जागिर खाइसकें । घर एउटा समेत बनाउन सकेको छैन । घर पुरानो भएर भत्किएला कि भन्ने चिन्ताले रातोदिन पिरोलिनु पर्ने भैसकेको छ । एउटा सानो भूकम्प मात्र आयो भने पनि मेरो घर बाँकी रहने आशा छैन । यस्तो घरमा बसिरहनु परेको छ । सधैं तरवारको धारमा हिंडिरहेको जस्तो भैरहेको छ – मलाई ।

हे दैव ! मेरो यो कस्तो हविगत भयो ? तत्काल परिवारको कुनै सदस्यलाई सञ्चो भएन भने मैले कताबाट रकम जोहो गर्ने होला ? बिरामीलाई टुलुटुलु हेरेर बस्ने बाहेक मसँग अरु उपाय केही नहुने देखियो । बीस वर्षको मेरो जागिरे जीवनमा कति पनि पैसा जम्मा पार्न सकिनँ । यो कुरा मैले अरु कसैलाई बताएँ भने कोही पनि पत्याउदैनन् होला । मैले कमाए जति सबै रकम घर खर्च, छोराछोरीको पढाइ, खान लाउन र एक जोर गतिलो लुगा लगाइदिन समेत नपुग्ने अवस्था छ । मेरो यो कस्तो जन्म रहेछ, हे भगवान ! मलाई मेरो अवस्था देखेर आफैसँग घिन लाग्न थाल्यो । बूढाबूढी भैसकेको आमाबाबु र छोराछोरी अनि एउटी पत्नीलाई पनि राम्रो पालनपोषण गर्न नसक्ने सकिनँ – मैले । चाडपर्व आउँदा एकजोर राम्रो लुगा लगाइदिने र एक गाँस मीठो खान दिने गच्छे पनि भएन – मसँग । दिनदिनै किनेर खानुपर्ने मेरो परिवारमा ठूलो समस्या भनेकै बिहान खाएपछि दिउँसो र बेलुका के खाने भन्ने चिन्ता लिनुपर्ने अवस्था हो ।

चामल किने तेल छैन, तेल किने नुन छैन । के गरेर परिवार धान्ने भन्ने बिचार समेत गर्न नसक्ने हुन थाल्यो । आमाबुबाको उमेर क्रमश: ढल्किरहेको थियो । बूढाबूढी भैसकेका
आमाबुबालाई कुनै पनि अवस्थामा बिसञ्चो हुन सक्छ । त्यस्तो अवस्था आयो भने मैले उहाँहरूको गुणको बदला कसो गरी तिर्ने होला ? आफूलाई जन्माइराख्नुभयो । आफूले खाई नखाई खानपिन गराइराख्नुभयो । उहाँहरूकै राम्रो स्याहारसुसारले आज आफू यति ठूलो भैसकेको छु । उहाँहरूले पटक्कै झर्को नमानीकन हुर्काउनुभयो । यो सबै केका लागि ? भोलिको दिनमा आफू असमर्थ हुनेबेलामा स्याहारसुसार गर्लान्, काम गर्न नसक्ने बेलामा कमाएर ख्वाउलान् कि भनेर नै त हो नि होइन र ? आज मेरा आमाबुबालाई राम्ररी खानपिन गराउने समेत सामर्थ्य नरहेको देखेर आफैमा हिनताबोध हुनथाल्यो – मलाई । “बुबा, आमा, हजुरहरूले कस्तो नामर्द छोरा जन्माउनुभयो ? म जस्तो छोरा भएर पनि हजुरहरूलाई दु:ख भोगाइराख्नुपर्यो ।” मेरो मन एकदमै अशान्त हुनथाल्यो ।

एक दुई हजार रुपियाँ बोकेर बजार गयो भने कति पनि सामान नआउने अवस्था आइसकेको छ । केही गरी आमाबुबा अपर्झट बिरामी पर्नुभयो भने के गरी उपचार गर्ने प्रश्न उठ्न थाल्यो । धिक्कार छ – मेरो जीवनलाई । के गरी जीवन धान्ने भन्ने चिन्ताले मेरो मुख त्यसै त्यसै सुक्न थाल्यो । सोच्दा सोच्दै नै मलाई एकास्सी रिंगटा लाग्नथाल्यो ।

म विस्तारै उठेर झ्यालमा गई बाहिर हेरें । मेरो नजिकै अग्ला अग्ला घरहरू देखिए । राजाको दरवार जस्ता यी घरहरू मान्छेहरूले कहाँबाट रकम लिएर बनाए होलान् ? यिनीहरूले यति धेरै रकम कसरी कमाए होलान् ? जागीर उस्तै हो । जागीरबाट आउने तलब उति नै हो । यिनीहरूले भव्य भव्य घरहरू बनाए । म भने सानोतिनो पानी मात्रै पर्दा पनि पानी चुहिने घरमा बस्न बाध्य हुनुपरेको छ । हाम्रो देशको जागीर र उक्त जागीराबाट आउने तलब कति हुन्छ भन्ने कुरा कसलाई थाहा छैन र ? एउटै पदमा बसेका विभिन्न व्यक्तिको तलब कसरी फरक फरक भयो भन्ने कुरा मैले सोच्नै सकिनँ । कसैको खानलाई छैन, त कसैको राख्नलाई ठाउँ छैन । धनाध्यहरूलाई यो सम्पत्ति कहाँबाट कसरी कमायौ भनेर सोध्ने आँट कसैले पनि गर्न सकेको छैन । किन भने यहाँ धन हुनेले नहुनेलाई भन्न सक्छ, “आफूले कमाउन सकेन अनि अरुले कमाएको देखेर यसलाई पेट दुख्नथाल्यो ।” आफ्नो विजोग देखेर डाँको छोडेर रुन मन लाग्यो । तर रुने पनि कसरी ? कसैले म रोएको कसैले देखिहालेमा कस्तो कायर मान्छे भन्ला कि भनेर डराउनु पर्ने अवस्था छ । आखिर मुटु त सबैको उस्तै होइन र ?

“बुबा, यो चामल माथि लैजानलाई एक पल्ट आउनुस् त ।” थोत्रो साइकलमा चामलको बोरा हालेर आएको छोराले बोलेको आवाज सुनियो । साइकलबाट चामलको बोरा झारेर माथि हालेर म फेरि आफ्नै कोठामा फर्किएँ ।

” ए नारायणको बुबा ! तपाईं झट्टै तल आउनुस् त । यहाँ बुबालाई के भयो ? भुईंमै लडिरहनुभएको छ । बोल्न पनि सक्नुहुन्न ।” कोठामा फर्केर बस्नै भ्याएको थिइनँ, मेरी पत्नीको हड्बडाएर कराएको आवाज सुनियो । पत्नीको कुरा सुनेर मेरो हंशले ठाउँ छोड्ला जस्तो भयो । भर्याङका नौ खुड्किलाहरू एउटै बनाएर बुबा ढलिरहनुभएको ठाउँमा पुगें । मेरो बुबा भुईंमै ढलेर बेहोश भैहनुभएको थियो । तुरुन्तै एम्बुलेन्स बोलाएर अस्पताल पुर्याएँ । बुबालाई हृदयघात भएको रहेछ ।

“तपाईंको बुबालाई बचाइराख्ने भए तुरुन्तै अप्रेशन गर्नुपर्छ । दुई घण्टाजति मात्र ढिला भयो भने बचाउन सकिंदैन, के गर्ने ?”

“कति रकम चाहिएला, डाक्टर साहेब ?” मैले डाक्टरसँग सोधें ।

“पाँच लाख जति भयो भने पुग्ला कि ?” डाक्टरको जवाफ सुनेर मेरो खुट्टा लगलग काम्यो । त्यति धेरै रकम कताबाट ल्याउने होला ? मेरो आँखा तिर्मिरायो । मेरो आँखा धमिलो भयो । अघि मात्र सम्पत्ति विवरण फाराममा भरेको एक रोपनी खेतको याद आयो । त्यही खेत बेच्ने अनि नपुग रकम सञ्चयकोषबाट झिक्ने बिचार गरें ।

“डाक्टरसाहेब, अप्रेशन गर्नुहोस् । म रकम जम्मा पारेर आउँछु ।” मैले डाक्टरलाई जवाफ दिएँ । डाक्टर सहमतिसूचक टाउको हल्लाएर भित्रतिर लागे । मैले आफ्ना गर्हुंगा पाइलाहरू घरतिर बढाएँ ।

घर पुगेर म लालपुर्जा बोकेर पहलमान साहुको घरमा गएँ । मेरो बाटो छेउको दश लाख जति पर्ने एक रोपनी खेत चार लाखमा बेच्ने कबुलियतनामा गरेर चार लाख रुपियाँ बोकेर अस्पताल गएँ । अप्रेशन त सकिएछ । तर उहाँको अप्रेशन असफल भएर सधैंको लागि आँखा बन्द गरिसक्नुभएको रहेछ । यो खबर थाहा पाएर आमा बेहोश हुनुभएकोले टोलका छिमेकीहरूले उहाँलाई पनि त्यही अस्पतालमा भर्ना गरिदिएका रहेछन् ।

कुरा सुन्ने बित्तिकै मेरो आँखाले केही पनि देख्न छोड्यो । त्यसै त्यसै टाउको चर्किएर फुट्ला जस्तो भयो । मेरो आँखाबाट रोक्नै नसक्ने गरेर अश्रुधारा नदी बगे जस्तै बग्न थाल्यो । मलाई रुनु न हाँस्नु भयो । मेरो बोली नै फुटेन । म भुईंमै थचक्क बसें । त्यसपछि के भयो भन्ने मैले चालै पाउन सकिनँ ।

आँखा खुलेको बेला मेरी पत्नी मेरो छेउमा बसेर सुँक्कसुँक्क रोइरहेकी थिइन् । छिमेकीहरू जम्मा भएर विभिन्न सल्लाह गरिरहेका रहेछन् ।

“आमा, पानी खान मन लाग्यो ।” मैले भनें ।

“लौ, पानी पिउनुस् ।” मेरी पत्नीले रोइरोइकनै पानी ल्याएर मेरो हातमा थम्याइन् ।

“आमा कता जानुभयो नि ?” पानी पिइसकेर मैले सोधें । मेरो सवालको जवाफ कसैले पनि दिन सकिरहेको थिएन । कोही पनि नबोलेपछि मेरो मनमा चिसो पस्यो । म दु:खीको जीवनमा कस्तो दशा लाग्यो, हरे दैव ? मैले के पाप गरेछु र मेरो यो हविगत भयो । भगवान, दु:ख दिनको लागि यो संसारमा मबाहेक अरु कसैलाई देखेनौ कि के हो ? म जस्तो कसैलाई कुनै किसिमको दु:ख नदिने मानिसलाई आज किन यो दुर्गतिमा पार्यौ ?

“आमा तपाईं कता जानुभयो ?” मैले ठूलो आवाजमा बोलाएँ । तर कतैबाट मेरी आमाको जवाफ आएन । किनभने मेरी आमाले पनि यो संसार छाडिसक्नुभएको रहेछ । मानिसको जीवनमा जति नै दु:ख परे पनि सहनैपर्दोरहेछ । बाबा र आमाको सद्गति सिद्धयाएर घर फर्क्यौं ।

घर पुगेर म खाट नजिकै बसें । खाटमा परिरहेको सम्पत्ति विवरण फारामले मलाई गिज्याए जस्तै लाग्न थाल्यो । अघि बिहान भर्दाभर्दै अधुरै छाडेर गएको फाराममा लेखिसकेका कुराहरू पनि बदलिइसकेका थिए । त्यो सम्पत्ति विवरण फाराम झट्पट् लिएर टुक्रा टुक्रा पारेर फालिदिएँ । किनभने त्यो फाराम अब काम नलाग्ने भइसकेको थियो । भोलि मैले अर्कै सम्पत्ति विवरण फाराम भर्नुपर्ने भैसकेको छ । जुन फाराममा एकदिनमै उजाडिएको मेरो जीवन कथा लेख्नुछ । यो सरकारको कस्तो नीति होला ? हुनेखाने ठूलाबडाले पनि त्यही सम्पत्ति विवरणको फाराम भर्छन् । गरीव कर्मचारीले पनि खान नपाउँदाको दु:खको पीडा त्यही सम्पत्ति विवरण फाराममा पोख्ने गर्छन् । सरकारले दु:खी गरीवलाई तिमीले किन खान पाएनौ भनेर कहिल्यै सोध्दैन । खान पाएन भनेर सरकारले एक गाँस खान दिंदैन । भ्रष्टाचार गरेर राख्ने ठाउँ पनि नहुने गरी अकुट सम्पत्ति कमाउनेलाई पनि तिम्रो सम्पत्ति कहाँबाट आयो भनेर सोध्दैन । त्यसो भए पनि बर्षैपिच्छे सम्पत्ति विवरण फाराम भरेर बुझाउनै पर्छ । जसले सम्पत्ति विवरण फाराम भरेर बुझाउन सक्दैन, उसलाई पाँच हजार रुपियाँ जरिवाना तिराउँछ । सरकारको यो अति नै रमाइलो प्रहसन कहिल्यै टुंगिदैन, चलिरहन्छ, चलिरहन्छ । (फेसबुकको कथा ग्रुपबाट साभार)

1 thought on “कथा : सम्पत्ति विवरण”

  1. पल्लवी लिम्बू says:
    August 26, 2017 at 3:14 pm

    nepal army ko jagir chai yasto hunx hai .subba ko vanda ali suhayena

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme