Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पत्रकार महासंघको निर्णय गायब, ग्यारेजधनीसँग पैसा माग्ने पत्रकार चुनावी मैदानमा

Posted on August 17, 2017August 18, 2017 by Salokya


एक महिनाअघि डिसी नेपालका पत्रकारले पत्रकारैमाथि स्टिङ अपरेसन गरेपछि खैलाबैला मच्चियो। लुकाएर राखिएको भिडियोमा कैद भएको थियो इमेज च्यानलका पत्रकार तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुरज आचार्यले एक ग्यारेजवालासित समाचार रोक्न बार्गेनिङ गर्दै गरेको। भिडियोमा एक लाखसम्म दिनुपर्ने कुरा उठेको थियो। ‘ल मैले यति भनें बाँकी सरले सोचेर गरिदिनुपर्ने भो। सम्पादकलाई मिलाउने जिम्मा मेरो भो’, उनले भनेका छन्। इमेज च्यानलका सम्पादक पत्रकार महासंघका वर्तमान अध्यक्ष महेन्द्र विष्ट।

यो इस्यु चर्किरहँदा विष्टले ‘चिज के हो जानकारीमा आउने नै छ’ भनेर फेसबुकमा स्टायटस लेखे।

पछि उजिर मगरको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदनसहित प्रेस विज्ञप्ति सार्वजनिक भयो। त्यो प्रतिवेदनलाई सामाजिक सञ्जालमा ‘परिस्थितिजन्य’ भन्दै उडाउनेहरु धेरै भए। त्यसमा न सुरज आचार्यलाई चोख्याउन सकेको छ, न दोषी हो नै भन्न सकेको छ। उल्टो डिसी नेपाललाई भिडियो खिचेको २२ दिनसम्म पनि सार्वजनिक नगरेको आरोप लगाइएको छ।

तर डिसी नेपालका सम्पादक टेकनारायण भट्टराईले भिडियोको डेटसमेत सार्वजनिक गरी खिचेको दुई दिनमा सार्वजनिक गरेको हो, २२ दिन हो भनेर प्रमाणित गर्नुस् भनेर चुनौति दिए। यो चुनौति पनि त्यत्तिकै हरायो।

प्रतिवेदन र विज्ञप्ति हरायो

चुनौति मात्र हैन अहिले पत्रकार महासंघको वेबसाइटबाट त्यो प्रतिवेदन र विज्ञप्ति पनि हराएको छ। फेसबुकमा धेरैले त्यो विज्ञप्ति सेयर गरेका थिए।

त्यसमा लिङ्क थियो यो- http://fnjnepal.org/?p=3570

तर अहिले त्यसमा क्लिक गर्दा त्यो विज्ञप्ति खुल्दैन। महासंघको सचिवालय बैठकको निर्णय शीर्षकको विज्ञप्ति वेबसाइटबाट गायब छ।

(अपडेट : यो ब्लग प्रकाशित भएपछि महासंघको वेबसाइटमा त्यो विज्ञप्ति फेरि देखिएको छ। तर पहिले जुन लिङ्कमा त्यो विज्ञप्ति थियो, त्यसमा छैन अर्थात् फेरि अपलोड गरिएको छ)

पत्रकार चुनावी मैदानमा

विज्ञप्ति हराएसँगै पत्रकार भने पत्रकार महासंघको ‘व्‍यवसायिक’ प्यानलको चुनावी मैदानमा देखा परेका छन्। सूर्य थापाले हिजो फेसबुकमा सार्वजनिक गरेको फोटोहरुमध्ये एउटामा एमाले नेता योगेश भट्टराई भन्दा अगाडि सुरज आचार्य देखिएका छन्।

स्वघोषित निलम्बनमा रहेका आचार्य स्वघोषित निलम्बन फुकुवा भए जस्ता छन्। तर फुकुवाको उनले घोषणा कतै गरिसकेका भने छैनन्।

चुरो कुरो के हो ? यो पुरानो ब्लगमा छ विस्तृत

पत्रकारमाथि पत्रकारको ‘स्टिङ अपरेसन’ : समाचार रोक्न बार्गेनिङ

यस्तो छ पत्रकार महासंघको वेबसाइटबाट डिलिट गरिएको विज्ञप्ति

२०७४।०४।२३

प्रेस विज्ञप्ति

इमेज च्यानल टेलिभिजनका बरिष्ठ उपसम्पादक तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एबं प्रतिष्ठान संयोजक सुरज आचार्यका सम्बन्धमा २०७४ असार २८ गते ‘डिसीनेपाल डटकम’ मा प्रकाशित समाचारको विषयमा अध्ययन गर्न महासंघ सचिवालयको मिति २०७४ असार ३० गतेको बैठकबाट महासचिव उजिर मगरको संयोजकत्वमा गठित समितिले गरेको अध्ययनको प्रतिवेदन महासंघ सचिवालयको मिति २०७४ साउन २२ गतेको बैठकमा प्रस्तुत भयो । बैठकले प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गर्यो ।

अध्ययनको सारांश तथा निश्कर्ष
१. टेकनारायण भट्टराई र दामोदर नेपालको संयुक्त बाइलाईनमा प्रकाशित उक्त समाचारमा पत्रकार आचार्यले चाबहिल भत्केको पुलस्थित मोटर ग्यारेजका सञ्चालक गुणबहादुर दर्लामीसँग आर्थिक लेनदेनको विषयमा कुरा गरेको गोप्यरुपमा खिचिएको भनिएको भिडियो लिंक पनि समावेश गरिएको । भिडियोमा सुरज आचार्यको पुरा अनुहार र मुख चलेको नदेखिए पनि शरीरको आधाभाग देखिएको र अडियो सुनिने अवस्थामा रहेको पाइएको ।

२. अध्ययन टोली समक्ष डिसी नेपाल डटकममा समाचारसँग आएको अडियो भिजुयल र समाचारका सबै विषयमा ग्यारेज सञ्चालक दर्लामीले निज सुरज आचार्यले समाचारको विषयमा कुरा गरेको र लेनदेनको कुरा पनि भएको तर लेनदेनको कार्य भने नभएको बताएको । सुरज आचार्यले केही आन्तरिक समस्यामा परेर ग्यारेजमा गई भेटघाट र कुराकानी गरेको, केही दवावको स्थिति र केही परिस्थितिजन्य कारण पनि रहेको तर समाचारमा आएजस्तो समाचारको बार्गेनिङ भने नगरेको बताएको ।

३. ग्यारेजसम्बन्धी कुनै समाचार बनेको छ भनी सम्बन्धित सञ्चार संस्थामा बुझ्दा त्यस्तो समाचार बनेको वा कसैलाई असाइन गरेको वा एडिटोरियल मिटिङमा कहिल्यै छलफलको विषय बनेको नदेखिएकोले सुरज आचार्यबाहेक इमेज च्यानलमा यस विषयमा कसैलाई पनि कुनै जानकारी भएको वा संलग्नताको अवस्था नरहेको ।

४. डिसीनेपाल डटकमले स्टिङ अपरेशन गरेपछि २२ दिनसम्म भिडियो वा समाचार प्रकाशन प्रसारण नगरी राखेको पाइएको । यो अवधिको बीचमा डिसीनेपालको तर्फबाट सुरज आचार्यसँग कुनै प्रतिक्रिया लिएको वा लिने प्रयास भएको वा कुनै लेनदेन भएको वा थप खोज अनुसन्धान भएको स्थिति पनि नदेखिदा २२ दिनसम्मको यो पर्खाइको उचित कारण पनि खुल्न नसकेको ।

५. समाचार आए लगत्तै सुरज आचार्य स्यवंले आफू आबद्ध मिडिया र महासंघको जिम्मेवारीबाट हटेको घोषणा गरेर घटनाको छानवीनमा सहयोग गरेको । आचार्य निकट व्यक्ति, इमेज च्यानलका प्रमुख र सहकर्मीको भनाइ एबं जानेबुझेसम्म निजको विगत हेर्दा कुनै गैरकानुनी वा गैर व्यावसायिक कार्यमा संलग्न भएको अवस्था नरहेको ।

६. सुरज आचार्यको सम्बन्धमा यस प्रकरण अघि र त्यसपछिका सबै घटनाक्रम, सम्बद्ध पक्षका भनाइ, प्राप्त आधार–प्रमाण र तथ्यहरूको अध्ययन विश्लेषण गर्दा परिस्थितिजन्य कारणहरूको अनुमान गर्न सकिने अवस्था भए पनि घटना स्वयंमा भने निजको पेशागत कमजोरी देखिन्छ । समग्र प्रकरणमा कुनै आर्थिक लेनदेन भएको त देखिन्न तर पनि यसले पत्रकारिता क्षेत्रको विश्वसनीयता र पत्रकारको आचरण तथा महासंघको पदीय मर्यादाका सन्दर्भमा सार्वजनिकरूपमा गम्भीर प्रश्न उठेकोले यस प्रकरणमा निज सुरज आचार्यले आफ्नो कमी कमजोरीलाई सार्वजनिकरूपमै स्वीकार गर्न र भावी दिनमा कमी कमजोरी नहुने प्रतिबद्धता व्यक्त गर्न आवश्यक देखिन्छ ।

……………….
प्रभात चलाउने
सचिव

3 thoughts on “पत्रकार महासंघको निर्णय गायब, ग्यारेजधनीसँग पैसा माग्ने पत्रकार चुनावी मैदानमा”

  1. प्रविण says:
    August 18, 2017 at 10:59 am

    यस्तै हो नेपालमा लोकतान्त्रीक अभ्यास । संसदमा त जनप्रतिनिधि भनाउँदाहरु भ्रष्टाचारी र ज्यानमाराहरुले पनि राजनिति गर्न, चुनावमा लड्न र प्रधानमन्त्री तथा राष्ट्रपति समेत हुन पाउनु पर्छ भनेर कुर्ली रहेका छन भने जाबो थर्ड क्लास चौंथो अङ्गमा दुईचार जना भ्रष्टाचारी र कलंकितहरुले पत्रकारकै ग्याङ्गको चुनाव लडेर अथवा जितेरै पनि के नै फरक पर्छ र ?
    अहिलेसम्म कुनै ब्यापार व्यवसाय गर्दा डन भाग, पुलिस भाग र कर छलि भाग मात्र भनेर खर्च छुट्याउनु पर्ने थियो भने अब पत्रकार भाग भनेर नयाँ शिर्षक थपिने भयो । जतिसुकै भाग थप्नु परेपनि ब्यहोर्ने जनताले नै हो ।

    Reply
  2. Navin Rayamajhi says:
    August 18, 2017 at 9:54 am

    प्रेस चौतारी लाइ चुनाब खर्च चाहियो नि

    Reply
  3. Krishna Pokharel says:
    August 17, 2017 at 10:28 am
    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme