सन् २००८ को सेप्टेम्बरमा जब कोशी नदीले वितण्डा मच्चाएर हजारौँलाई विस्थापित बनायो, तब विपश्यना शिविरबाट भर्खर निस्केका साथी कृष्ण ढुंगाना र मलाई माइसंसारका पाठकहरुको सहयोगलाई राहतका रुपमा वितरण गर्न कस्सियौँ। कोशीको बाढीले विस्थापित पीडितहरुसमक्ष राहत पुर्याउनका लागि सेप्टेम्बर १६ देखि २० तारिखसम्म घटनास्थलमा स्थलगत भ्रमणमा रहेर पत्रकारिता पेशाभन्दा बिल्कुल फरक एउटा राहतकर्मीको भूमिका निर्वाह गर्दै फर्किँदा धेरै व्यवहारिक ज्ञान पाइयो। यो क्रममा राहत कार्यको व्यवहारिक कठिनाई कस्ता हुँदा रहेछन्, कसरी पीडितका लागि भनी पठाइएका राहत सामाग्री बीचैमा गायब हुँदा रहेछन्। अनि कसरी जसको शक्ति उसको भक्ति हुँदै वास्तविक पीडितहरु राहतबाट वञ्चित हुँदा रहेछन् र उद्धारका लागि नाम कमाएका संस्थाहरुभित्रैबाट पनि कसरी राहत वितरणमा हेलचक्र्याइँ हुने रहेछ भन्ने जस्ता अनुभव पाइयो।
कसरी तय भयो यात्रा ?
बाढीपीडितका लागि माइसंसारमार्फत् सहयोग रकम जम्मा गर्नुपर्यो भन्ने आसयका शुभेच्छा सहित धेरै इमेल, कमेन्टहरु पाइरहेका थियौँ। तर सरकार आफैले खडा गरेको प्रधानमन्त्री दैवि प्रकोप राहत तथा उद्धार कोष अनि विभिन्न संस्थाहरुले खोलेका कोषहरुमा पठाए ठीक हुने सुझाव हामीले दिएका थियौँ। उता प्रधानमन्त्री राहत कोषमा १० करोडभन्दा बढी जम्मा भएर पनि १ करोडमात्र खर्च भएको जानकारी सार्वजनिक भइरहेको थियो भने यता नेपाल एसोसिएसन अफ नर्दन क्यालिफोर्नियाका तत्कालीन महासचिव प्रतीक पाण्डेले आफै गएर बाढीपीडितलाई राहत वितरण गर्नुपर्यो, खर्च सबै हामी बेहोर्छौँ भन्ने कुरा लेखिएको थियो। त्यतिमात्र कहाँ हो र, हुन्न चाहिँ भन्न पाइन्न है, जसरी हुन्छ जानैपर्छ भनेर जिद्दी समेत गरिएको थियो। एकातिर तपाईं हामी माईसंसारका पाठकहरुको दबाब अर्कोतर्फ साथीको पनि जिद्दीपुर्ण अनुरोध त्यसमाथि सरकारले पनि उपयुक्त कदम चालेर राहत कार्यक्रम सञ्चालन नगरेको अवस्था- हामी तयार भयौँ।
तर यात्रा सजिलो थिएन । राजमार्ग बन्द थियो । अनि त्यसको चाप हवाई यात्रामा पनि परेको थियो । दिनको १० उडान गर्ने एअरलाइन्सबाट समेत टिकट पाउन मुश्किल थियो।
राहत वितरणका लागि जान लागेको थाहा पाएपछि परिचितहरुले आफ्ना पुराना कपडा लगिदिए हुन्थ्यो जस्तो गरेका थिए। साह्रै नराम्रो कुरा। राहत वितरण भनेको पुराना कपडाको व्यवस्थापन हैन। राहत बाँड्दा पुराना लुगाफाटा बाँड्न पनि हुन्न।
पीडित क्षेत्रमा पुगेपछि
संकटग्रस्त क्षेत्र घोषणा गरिएको कोशीपीडित क्षेत्रमा सीडीओले वा सुरक्षाकर्मीले नजा भन्यो भने जान सक्ने अवस्थामा रहन्न थियो। यो सब कुरा बुझेरै पनि माईसंसार टिम त्यहाँ जान लागेको थियो। राहत सामाग्रीका लागि टिमले काठमाडौँबाट पुरुषका लागि लुङ्गी र महिलाका लागि सारी खरिद गरेको थियो भने बाँकी रकमको सामान शिविरहरुको स्थलगत भ्रमणपछि त्यहाँको आवश्यकता हेरी उतैबाट खरिद गर्ने निधो गरेको थियो।
राहत सामाग्री भनेर मात्र कहाँ हुन्थ्यो ? काठमाडौँबाट विराटनगरसम्मको यात्राका लागि सो राहत सामाग्रीको वजन बराबरको शुल्क पनि माईसंसार टिमले यति एअरलाइन्सलाई तिर्नु पनि पर्यो यद्यपि केही प्रतिशत छुट उनीहरुले दिएका थिए।
कोशीपीडितहरु बसेको सुनसरीका विभिन्न स्थानमा रहेका शिविरहरु र त्यस वरपर टिमको कुनै परिचय थिएन। एउटा शिविरमा भेटिएका रेडक्रसका सदस्य सीताराम भट्टराईको सहयोगमा दिनभरीको अवलोकनपछि टिमको स्थानीय रेडक्रसको सल्लाह बमोजिम् उसकै संयोजनमा जामिया इस्लामिया शिविरमा गर्भवती महिला तथा सुत्केरी र बालबालिकालाई राहत बाँड्ने निधो भयो। काठमाडौँबाट ल्याएको सामान टिमले सोही साँझ रेडक्रसका सुनसरी जिल्ला शाखाका मन्त्री भीष्म काफ्लेलाई हस्तान्तरण गर्यो। बालबालिकाका लागि सामान भोलिपल्ट भारतीय नाका जोगबनीमा खरिद गर्ने निर्णय गरिए अनुरुप भोलिपल्ट बालबालिकाका लागि लत्ताकपडा र ठूलाका लागि गम्छा आदि खरिद भयो।
एक त भोक र प्यासले लखतरान त्यसमाथी खलखली पसिना कढाउने गर्मीले दुखाएको टाउको सहँदै , इनरुवा विराटनगरका एक पत्रकार टेकेन्द्र अधिकारीलाई पनि टिममा सहभागी गराउँदै माइसंसार टिम आईपुग्दा अघिल्लो दिन सामान हस्तान्तरण गरेका रेडक्रसका पदाधिकारीहरु कोही पनि सम्पर्कमा आउन चाहिरहेका थिएनन्। किन हो भन्ने पनि थाहै भएन। कुरा भने भोलिपल्ट सँगै गएर राहत वितरण गर्ने भन्ने भएको थियो। एक दुई घण्टापछि बल्ल थाहा भयो, रेडक्रसका ती पदाधिकारीहरुलाई सुनसरी जिल्लाका सीडीओले थर्काएका रहेछन्, कुन चाहिँ हो संसारले दिएको राहत सामाग्री हाम्रो जिल्ला दैवि प्रकोप उद्धार तथा राहत समितिमा जम्मा गर्न ल्याउनुस्, नभए बाँड्न दिन्नौँ भन्दै। अघि भंसारबाट भंसार शुल्क छुट गराइदिन गरेको फोनका कारण उनले थाहा पाएका रहेछन् माइसंसारले राहत वितरण गर्दैछ भनी । त्यसपछि पो रेडक्रसका ती पदाधिकारी सम्पर्कमा नआएका रहेछन् ।
कुरा के रहेछ भनेर बुझ्नलाई सुनसरी जिल्ला प्रशासन कार्यालय इनरुवामा पुग्दा त्यहाँका अधिकृतले बरु राम्रोसित छोटो समयमा नै सबै प्रशासनिक कुरा बुझाइदिP। उनका अनुसार जुनसुकै संस्थाले ल्याएको सामान समितिको भण्डारमा जम्मा गर्नुपर्ने रहेछ। अनि त्यसपछि त्यो भण्डारबाट बाहिर निकालेर कुन शिविरमा बाँड्ने हो, त्यो दर्ता गराउनु पर्ने रहेछ। यसरी दर्ता राख्दा कुन संस्थाले कति राहत वितरण गर्यो, त्यो लगत राख्न सजिलो हुने रहेछ।
त्यही अनुरुप सीडीओ क्वार्टरमा रहेको समितिको कार्यालयमा पुगेर त्यहाँ राहत सामाग्रीको विवरण लेखाएर दर्ता गराएर आयो माईसंसार टिम । यता रेडक्रसका पदाधिकारीहरुले चाँही राहत सामाग्री अलि अलि माईसंसारको हातबाट वितरण गर्न लगाएर बाँकी आफैले गर्ने योजना बनाएको रहेछ। तर रेडक्रसका सबै भने त्यस्ता रहेनछन्। रेडक्रसकै दुई सदस्य सीताराम भट्टराई र उपेन्द्र पोद्दारले केही परिचय नभएको स्थानमा टिमलाई मध्यस्थताको भूमिका निर्वाह गरी राहत वितरणमा समेत आफै खटिएर वास्तविक पीडितसमक्ष तपाईँहाम्रो सहयोग पुर्याउनका लागि निकै योगदान गरे।
शिविरमा पनि लोभीहरुको जमात
माईसंसार टिम भोक्राहाको जामिया इस्लामिया शिविरमा पुग्दा हरेक शिविरको व्यवस्थापनका लागि एउटा टाठाबाठाहरुको समिति बनाइएको हुँदो रहेछ र ति नै टाठाबाठाहरुले बाहिरबाट आएको राहत सामाग्रीलाई आफ्नो हात जगन्नाथ गर्ने रहेछन् भन्ने थाहा लाग्यो। माईसंसारले आफ्नै हातले राहत बाँड्ने भनेपछि अरुले झैँ एक दुई वटा फोटो सेसन गरी ३०-४० वटा वितरण गरेर बाँकी सामान उनीहरुको जिम्मामा छाडेर हिँड्छ जस्तो लागेको रहेछ उनीहरुलाई। तर माईसंसार तपाईँ हामी समस्त पाठकहरुको भावना बोकेर गएको थियो। आफ्नो सहयोग रकम वास्तविक पीडितसमक्ष पुगोस् भन्ने तपाईँ हाम्रै चाहना अनुशार माईसंसार डटिरहयो तर उता स्वयंसेवकका रुपमा खटिएका समितिका मान्छेहरु नै राहत सामाग्रीमा लोभ देखाउँदै आ-आफ्ना साथीहरुलाई लुङ्गी, गम्छा बाँड्न थाले। माईसंसार टिमले पटक पटक रोकेर चेतावनी दिनुपर्यो उनीहरुलाई। भीड अनियन्त्रित हुन थाल्यो। अधिकांशले सामान पाइसक्दा पनि दोहोर्याएर लाइन बस्दा रहेछन् भने समितिका मान्छेहरु सामान हाम्रो जिम्मामा छाडेर गइदिए हुन्थ्यो भन्न थाले। भीडले टिमलाई नै केही गर्ला भन्ने डर भइसकेपछि भने टिमले बाँकी राहत वितरण भोलि गर्छौँ भन्दै त्यहाँबाट सामान लिएर हिँड्नु पर्यो। राहत त यसरी पो नपुग्ने रहेछ। राहतको नाममा आहत यसरी हुने रहेछ।
स्थानीय पत्रपत्रिकामा राहत वितरणको समाचार।
‘चन्दा रकम संकलन गर्न सजिलो छ तर त्यसको व्यवस्थापन गर्न निकै गार्हो । सजिलो छ प्रधानमन्त्री कोषमा रकम जम्मा गर्न। प्रधानमन्त्रीलाई चेक दिएको फोटो खिचाउन । तर कोषमा भएको सबै रकम खर्च गर्ने हो भने त सबै पीडितलाई बस्न लाउन र अझ एक वर्षसम्म खानलाई पनि पुग्ने रहेछ। जिल्लामा ल्याएर राहत छाड्ने हो भने पनि के हालत हुने रहेछ देखियो। शिविरमा नै ल्याएर छाड्ने हो भने पनि के हुने रहेछ देखियो। बिचरा वास्तविक पीडित त पीडित नै हुने रहेछ। आइरन लगाएको सर्ट लगाएर चिटिक्क परेर राहतस्वरुप बाँडिने चामल, दाल, तेल लिन लाइन बसेकाहरु पनि प्रशस्तै देखिए। नत्र त कति रमाइलो देखिन्छ सानो सहयोग पाउँदा पनि मुस्काएका उनीहरुका मुहारले ‘ – माईसंसार टिमले अनुभव गरेको तितो वास्तविकता। जे होस शिविर र रेडक्रस कै मान्छेहरुले तपाईँहरुले जस्तो सामान कुनै संस्थाले अहिलेसम्म ल्याएको छैन, तपाईँहरुले जस्तो कसैले पनि बाँडेका छैनन् भन्दै माईसंसार प्रति आभार जनाए।
राहतको राजनीति बुझेपछि थप राहत बाँड्न अर्को केही दिन लाग्यो। अनि त्यति बेला लेख्यौँ, “राहतको राजनीति बुझेपछि र यसमा हुने झमेला र झण्झट अनि हैरानी बुझेपछि अब हामी यसरी अर्को कुनै राहत कार्यक्रम सञ्चालन गर्नुअघि सय पटक सोच्न बाध्य भएका छौँ। हामी मूलतः सञ्चारकर्मी हौँ। हामीलाई सञ्चारकर्ममा नै रमाउन मन छ। यदि यसरी नै घटनास्थलमा पुगेर कुनै अवसरमा माइसंसारबाट रिपोर्टिङ गर्ने निधो भए बरु तपाईँहरु समक्ष सहयोगको आह्वान माग्नेछौँ तर सञ्चारकर्मलाई छाडेर राहतकर्मीको भेष हाम्रा लागि कठिन कार्य हुनेछ र यस्तो निर्णय गर्नुअघि हामी सय पटक सोच्न बाध्य हुनेछौँ।“
अहिले फेरि बाढीपीडितका लागि सहयोग उठाउन थालिएको छ। राहत संकलन र वितरण चानचुने काम हैन। यसमा निकै व्यवहारिक समस्या हुन्छन्। यो पुण्य काममा लागेका सबैलाई सलाम। वास्तविक पीडितसमक्ष सहयोग पुर्याउन सक्नुहोस् शुभकामना।
सालोक्याजी ले घटना स्थल मा गएर कमसे कम यो कुरा बुझ्नु भएछ | यो कुरा बुझ्न तेही जान पर्दैन | हाम्रो सामाजिक बनोट नै तेही छ | स्थानीय चुनाब हुदा राम्ररि हेरने र मनन गर्ने हो भने सबै कुरा छ्रलंग हुन्छ |
हरेक टोल , गाउमा स्थानीय रैथाने काजि , दादा हरु हुन्छन | तिनीहरु हरामी नै प्राय हुन्छन , गाउ ,टोल मा कुनै घटना घट्दा तिनीहरु नै हावी हुन्छन | तेस्माथि चोर कर्मचारी थपिदा स्थिति झन् नाजुक बन्छ | राहत , साहत सब झ्याम पर्ने तिनै हुन्छ |
सधै देउवा , कमल थापा , गच्छेदार , रामसरण महत, ओली ( प्रतिक पात्र मात्र , अरु धेरै छन् ) नेपालि बजेट मा मोज गर्ने सक्तिको स्रोत तेही हो | देश को बिकृति , भ्रास्ताचार को जड पनि तेही हो |
सालोक्यजी को महत्तोपुर्ण अनुभव सेयर गर्नु भएको मा धन्नेबाद. राहत बाढ्ने काम तेती सजिलो छैन. मुख्य समस्या हाम्रो मानसिकतामा छ . बास्तबिक पिडित नभए पनि अलि लोभ देखाउछौ. भुकम्प को बेलामा आफ्नो गाउँ ठाउँ मा अलि अलि राहत बाड्दा हुनेखाने र तेती समस्यामा नपरेकाहरु पनि लाइन बसेर नदिएमा रिसाएर बिरोध गर्दै हिडेको मैले पनि भोगेको छु. आशा गरौ सहयोगी हातहरु पिडितसामु छिटै राहत लिएर जान सकुन.