प्रिय पत्नी कुसुम,
प्रविधिको यो युगमा मेरो चिठ्ठी देख्दा तिमीलाई आश्चर्य लाग्ला तर फोनबाट यी सबै कुराहरु तिमीसंग बताउन मलाइ अलि अप्ठ्यारो लागेकोले मैले यो चिठ्ठीको सहारा लिएर तिमीलाई आफ्नो मनको कुरा स्पष्ट पार्न खोजेको छु। आशा छ तिमीले यो चिठ्ठी शान्त मनले पुरै पढेर मात्रै आफ्नो प्रतिक्रिया दिने छ्यौ।
तिमीहरु नेपाल फर्केको पनि लगभग एक महिना हुन लागेछ, तिमीले र छोरीहरुले नेपालको बसाइमा पक्कै पनि रमाइरहेका होलाउ भन्नेमा म बिश्वस्त छु। काठमाडौँको धुलो, हिलो, महंगी र अस्तव्यस्तता ले सताए पनि यहाँको ४५ डिग्री को गर्मी र बातावरणीय प्रदूषण भन्दा त्यहि हिलो र धुलो तिमीहरुलाई मन पर्छ भन्ने मलाइ थाहा छ। म पनि यहाँ ठिकै छु, प्रचण्ड गर्मीमा पनि मैले फेरी प्रफुल्ल भएर दिन कटाउने बहाना भेट्टाएको छु, आज म त्यसैको बारेमा तिमीलाई लेख्दै छु।
तिमीहरु नेपाल गएपछि एक्लो मनलाई शान्त गर्न उपायहरु खोज्दै गर्दा मैले मेरा पहिलेका फोटोहरु र भिडियोहरु हेर्दै बितेका दिनहरुको यादमा रमाउंदै थिएँ। यसैबीच धेरै समय अगाडी खिचेको एउटा तस्वीरले मेरो मन तान्यो, त्यो तस्विर लाई मैले धेरै बेर घोरिएर हेरेँ। म जति जति हेर्दै गएँ म उति उति त्यो तस्विर प्रति आकर्षित हुँदै गएँ। बाह्र बर्ष अगाडी खिचेको उक्त फोटो मेरी पुर्व प्रेमिकाको थियो। यौवनले धपक्क बलेकी, सधैँ मलाइ नै हेरिरहेका जस्ता लाग्ने चम्किला आँखा र केहि बोल्न खोजिरहेका अधरहरुले मलाइ पुन: प्रेमको सागरमा चुर्लुम्म डुब्न बाध्य बनायो। उनी संग बिताएका हरेक पलहरु मानसपटलमा एकपछि अर्को गर्दै सजीव भएर आइ नै रहे। जति जति ती दृश्यहरु मेरो मगजमा खेल्दै गए उति उति मेरो मन प्रफुल्ल को साथै अशान्त पनि हुँदै गयो। त्यो रात म तिमीलाई मनमा राखी खुशीको निद सुतेँ।
बिगतका ती खुशीका असंख्य र अमुल्य पलहरु म कसरी बिर्सन सक्थें र? मलाइ थाहै नभई मेरो आत्माको भित्रि भागमा ती स्मरणहरुले कहिल्यै नमेटिने गरी आफ्नो ठाउं बनाइसकेका रहेछन। जति बिर्सन खोज्यो उति नै ताजा भएर ती यादहरुले मलाइ पछ्याइरहे, पछ्याइ नै रहे… ।
नदीको किनारामा डिसेम्बरको चिसो हावामा लुगलुग काँप्दै मनाएको क्रिसमसको त्यो रात अनि एक अर्काको हात रगटेर धुँवा जस्तो श्वासको त्यो न्यानोपनले एक अर्काको जाडो हटाउने त्यो प्रयास म कसरी बिर्सुं? जुलाईको प्रचण्ड गर्मिमा पार्कमा संगै साइकल चलाएर घुम्न जाँदा मेरो निधारबाट चुहिने लागेको पसिना पुछ्दै लोलाएको तिम्रा आँखाले मलाइ एकटक ले हेर्दाको क्षणमा मायाको सागरमा डुबेको त्यो अनुभबले मेरो मुहारमा अझै पनि मुस्कान ल्याउन प्रयाप्त छ।
त्यो बेला म उनीसंग कति खुशी र सुखी थिए भने यस्तो लाग्थ्यो- संसारको सबभन्दा खुशी र सुखी मान्छे म नै हुँ। न कुनै चिन्ता, न कुनै पश्चाताप, न कुनै छल कपट, त्यो पवित्र प्रेम मेरो लागि सधैँ अनुपम रह्यो र अनुपम नै रहनेछ। उनको तस्वीरले मलाई पुन: त्यो प्रेम प्राप्तिको लागि कोशिश गर्न प्रेरित ग-यो।
तिमीलाई थाहै छ , मैले आज सम्म तिमीसंग कुनै कुरा पनि लुकाएको छैन र भविष्यमा पनि लुकाउने छैन। मेरा जीवनका राम्रा नराम्रा सबै कुराहरु तिमी माझ खुल्ला पुस्तकका पानाहरु जस्तै छन्। प्रकृतिको नियम हो की हरेक सत्य कुरा ढिलो चांडो अवश्य पनि उजागर हुन्छ त्यसैले मैले सबै कुरा हरु तिम्रो माझ निर्धक्क रुपमा भन्ने गरेको छु। मैले कुनै कुरा लुकाएर पछि अन्य व्यक्ति बाट उक्त कुरा थाहा पाउँदा तिमीलाई कस्तो अनुभव होला त्यो मैले कल्पना गर्न सक्छु किनभने आफुले बिश्वास गरेको व्यक्तिले त्यसो गर्दा कस्तो हुन्छ भन्ने मैले मेरा केहि ‘साथी’हरुको ब्यबहारले महशुस गरिसकेको छु।
बाह्र बर्षको हाम्रो बैबाहिक सहयात्रामा तिमीले दिएको निस्वार्थ साथ प्रति म निकै कृतज्ञ छु र कृतज्ञ रहिरहनेछु। मलाइ आशा छ मैले पनि एउटा पति हुनुको जिम्मेवार पूर्णरुपले निभाएको छु र निभाई रहनेछु। यदि आज सम्मको हाम्रो सहयात्रा मा म बाट कुनै गल्ति हुन गएको भए मलाई अज्ञानी सम्झी माफ गरिदिनेछ्यौ भन्नेमा म पूर्ण विश्वस्त छु।
तिमीलाई थाहा नै छ -हाम्रो जीवन एउटा परिवर्तनको सृंखला हो। बाल्यकाल देखि आज सम्म आइपुग्दा हामीले अनेकन परिवर्तनका घडीहरू पार गरेका छौ र भविष्यमा पनि अन्य असंख्य परिबर्तनका खुट्किलाहरु चढ्दै जाने छौँ। परिबर्तन प्रकृति को अकाट्य नियम हो र मनुष्यको लागि बाँच्नको लागि अपरिहार्य बस्तु पनि हो। परिवर्तन नहुँदो हो त हामी अझै पनि एक कोषिय जिवको रुपमा बाँचीरहेका हुने थियौं होला। एकोहोरो उराठलाग्दो जीवन कसैलाई पनि रमाइलो लाग्दैन त्यसैले हामी सबैले कुनै न कुनै रुपमा जानी या नजानी परिबर्तन खोजिरहेका हुन्छौं। म पनि अहिलेको पट्यारलाग्दो एकोहोरो जीवनमा केहि परिवर्तन ल्याउन बहाना खोजी रहेको थिएँ, यसैबीच उनको तस्बिर नजर सामु आयो।
हाम्रो बिबाह पश्चात घरपरिवार को नियम, सामाजिक परिवेस, आर्थिक चिन्ता, भविष्यको चिन्ता, बच्चाहरुको आगमन, बढ्दो उमेर, बिग्रदो स्वास्थ आदि अनेक कारणले गर्दा हामी दुबैले सायदै प्रेमको लागि समय पायौं होला। तर मैले यसमा तिमीलाई या परिस्थिति लाई दोष दिन खोजेको होइन, सायद बिबाह पश्चात म आफैं नै त्यसको लागि तयार थिएन। म बिबाह पश्चात पनि पहिलेको जस्तै प्रेममा चुर्लुम्म डुबेर प्रेमरस पिउन चाहन्थें तर उल्लेखित कारणले गर्दा त्यो सम्भब भएन। म प्रेम-चरी आफ्ना ती प्रेम चाहना हरुलाई आफु भित्रै दबाएर जिउन थालें। तर आफ्ना इच्छा र आकांक्षाहरुलाई दबाएर राख्नु निश्चय नै राम्रो कुरा होइन किनभने ती दबेका इच्छा र आकांक्षा हरु कुनै न कुनै रुपमा प्रस्फुटित हुन्छन नै, अझ कहिले काँही त ती डरलाग्दो रुपमा प्रस्फुटित हुन्छन र नराम्रो नतिजा पनि निम्त्याउनछन। त्यसैले मैले पनि पहिले जबर्जस्ति दबाएर राखेका ती इच्छाहरुलाई अरु बढि दबाएर राख्न चाहेन त्यसैले आज तिमी संग प्रष्ट पार्न चाहन्छु।
छोरीहरु हुर्किसकेको र आर्थिक रुपले सबल भैसकेको अहिलेको हाम्रो अबस्थामा, आफ्ना दबेका इच्छाहरुलाई पुनर्जागृत गराउने मेरो प्रयास तिमीले बुझिदिने छ्यौ र मलाइ साथ दिने छ्यौ भन्नेमा म ढुक्क छु किनभने आजसम्म मेरो खुशीको लागि तिमीले जस्तोसुकै बलिदान गर्न पनि पछि परेकी छैनौ। जीवनको यो घडीमा आउँदा प्राय सबैले आ-आफ्नो खुशीको लागि केहि न केहि चयन गर्छन। कसैले समाजसेवामा आफ्नो खुशी खोज्छन, कसैले राजनीतिलाई आफ्नो पेशा बनाउछन र त्यसैमा रमाउँछन्, कोहि विश्वयात्रामा निस्कन्छन, कोहि मदिरा को साथ लिन्छन, कसैले आध्यात्मिक बाटो रोज्छन, मैले चाहिँ प्रेमको बाटो रोजें।
त्यो दिन उनलाई तस्विरमा देखे पछि म सहन नसकेर अर्को दिन उनलाई फोन गर्न पुगें। प्रविधिले गर्दा मानिस हरु बिचको दुरी निकै कम भैसकेको छ। प्रविधिले गर्दा कतिले दुख पनि पाएका र बिकृतिहरु बढेका समाचारहरु पनि हामीले पढेका छौं तर मेरो मामलामा यसले निकै ठुलो सहयोग गरेको छ, यसको लागि प्रबिधि विकास गर्ने बैज्ञानिक र त्यसलाई प्रयोगमा ल्याउने आविस्कारक दुबै मेरा धन्यबादका पात्रहरु हुन। उनीसंगको केहि दिनको दैनिक फोनको कुराकानी पछि मैले भिडियोबाट कुरा गर्ने जमर्को गरें। पहिले त उनले इन्कार गरिन तर मेरो हठ पछि उनले भिडियोबाटको कुराकानी पनि स्विकारिन, उनी मलाइ भिडियोमा हेर्न चाहदैनथिन तर म उनलाई देख्न सक्थेँ। म उनलाई हेरिरहन चाहन्थे, पेटभरी हेरिरहन चाहन्थें।
उनको मिठो बोलीले मेरो मन आनन्द ले प्रफुल्लित भयो बाह्र बर्ष अगाडिका प्रेम प्रसंग फेरी शुरु भए झैं लाग्यो, कता कता कौतुहलता बढ्यो, उनको समिप गएर उनीसंग फेरी पहिले जस्तै निस्फिक्री रमाउन मन लाग्यो।
मलाइ अझै याद छ हाम्रो बिबाह भन्दा पहिलेको रात मैले उनलाई फोन गरेको थिएँ। तर उनी मेरो कुनै पनि प्रश्नको उत्तर नदिई सुँक्क सुँक्क रोइरहिन, केहि बोलिनन। जति कोशिस गर्दा पनि मैले उनलाई फकाउन सकेन, उनको कुरा बुझ्न सकेन। उनको त्यो दशा देखेर त्यो दिन मैले मनमनै एउटा प्रण गरें- यदि हाम्रो प्रेम साँचो रहेछ भने कुनै न कुनै दिन हाम्रो त्यो प्रेम अबश्य पुन: प्रस्फुटित हुनेछ र मैले त्यो घडीलाई फेरि गुमाउने छैन। मलाइ लाग्छ त्यो दिन आइपुगेको छ।
हाम्रो बिबाह पछि मैले तिमीमा उनीलाई नै खोजें, मेरा तिर्खाएका आँखाहरु हरपल उनकै खोजीमा हुन्थे। तर तिमीमा र उनीमा निकै फरक थियो- उनको केन्द्रविन्दुमा म थिएँ, तिम्रो केन्द्रबिन्दुमा पुरै परिवार छ; उनी रोमान्टिक थिइन, तिमी ब्यबहारिक छ्यौ; उनी खर्च गर्न खोज्थिन, तिमी संचय गर्न खोज्छ्यौ…. । त्यो फरक देखेर बिस्तारै मैले तिमीमा उनलाई खोज्ने प्रयत्न पनि छोडिदिए। तैपनि कुनै दिन उनी अकस्मात कतै भेटीइहाल्छिन की भन्दै एता उता खोज्थें। उनी र म पहिले सुटुक्क भेट्ने ठाउँमा गएर कुर्थें तर उनी फेरि कहिल्यै देखा परिनन।
तर भाग्यको खेल नै भनौ या समयको चक्र-आज मेरो उनी प्रतिको प्रेमको पुर्जागारण भएको छ। मैले उनीसंग पुनर्मिलनको प्रस्ताब राख्ने विचार गरेको छु। मलाई थाहा छ दुवैको बिबाह भैसकेको हुनाले दुवैतिर पारिवारिक र सामाजिक बन्धनहरुले गर्दा उनले पनि आफ्ना इच्छा र आकांक्षालाई दबाउदै मेरो प्रेमको पुन: अनुरोधलाई स्वीकार गर्न मान्ने छैनिन। तर प्रेम गर्नु पाप होइन पुण्य हो भन्ने मान्यतालाई आत्मसात गर्दै मैले यो चिठ्ठी मार्फत तिमीसंग मेरी पुर्व प्रेमिका संग पुन: प्रेमजीवनमा फर्किनको लागि अनुमति पाउनको लागि आग्रह गर्दछु। मलाइ थाहा छ मैले मागेको यो अप्रत्यासित परिबर्तन तिम्रो लागि यो कठोर निर्णय हुनेछ तर पनि प्रेम जोडी लाई मिलाउन गरेको तिमो सहयोग र त्यागले सम्मान पाउनेछ, हामी जस्तै हजारौं लाखौं बिबाहित प्रेमजोडी हरुले तिमीलाई आशिर्वाद दिने छन। मेरो आग्रह छ तिमी यसमा उदाहरण बनेर देखाऊ , पथ प्रदर्शक भएर देखाऊ।
तिम्रो अनुमति पाएर मेरी पुर्व प्रेमिका संगको मिलन पछि पनि हामी पति पत्नी नै रहनेछौं, मैले पतिले निभाउने हरेक जिम्मेवारी कुनै कमी बिना निभाउने छु। छोरीहरुलाई पनि बाबुको पूर्ण माया ममता दिएर उनीहरुको पढाई र हेरचाहमा कुनै कमी आउन दिने छैन। म तिमीलाई बिस्वस्त पार्न चाहन्छु की हाम्रो परिवारको खुशीमा मेरी पुर्व प्रेमिकासंगको नयाँ सम्बन्धले कुनै असर पार्ने छैन अझ त्यसले हाम्रो पारिवारिक सम्बन्ध र खुशीमा नयाँ आयाम थप्ने छ। मलाइ बिश्वास छ मेरो यो सानो आग्रह तिमीले खुशीसाथ स्वीकार्ने छौ तिमि र म फेरि एक पटक बिबाहपुर्वको हाम्रो त्यो प्रेम जीवनमा रोमान्चित भएर जिउने छौं- मेरी पूर्व प्रेमिका कुसुम ।
-उहि तिमीलाई असीम माया गर्ने तिम्रो पति तथा पूर्व प्रेमी
dami bro…………
कथा राम्रो छ | पूर्व प्रमिका र पत्नी एकै हुनु पनि भाग्यकै कुरा हो |