– बासु पौडेल –
एसएलसी फेल भएको पीडा थियो। घरको किचकिच खानु भन्दा साना हजुरबाले एसएलसीमा प्रथम श्रेणी ल्याउनु है नाति केटा भनेर दिनुभएको कालो चस्मा ढल्काएर शारदानगरको हलमा फिल्म हेर्न गएँ। फिल्म हेर्दाहेर्दै एक्सन हिरो बन्ने सपना देखिरहेको थिएँ, पछाडिबाट अपरिचित केटीले हेल्लो हेल्लो ……… भनेर बोलाएको आवाजले झसङ्ग भएँ र यताउति हेर्दा त खचाखच भएको हल खाली भैसकेको रहेछ। अब हिँड्न पर्यो भनेर उठ्न लागेको थिएँ, अपरिचित केटीले हात समातेर ल बिस्तारै हिँड्नु है भन्दै डोराउन पो थाली।
म अक्क न बक्क भएँ र उनकै पछि-पछि लागेँ। बाहिर निस्केपछि भन्न थाली म हजुरलाई साइकलमा घर पुराइदिन्छु।
हवस् भनी उनको साइकल चढेँ।
फेल भएको पीडा झन् बढ्न थाल्यो जब उनले आफू भर्खर एसएलसीमा प्रथम श्रेणीमा पास गरेको बताइन्। घरको आँगन पुगेर उनलाई बिदाइ गर्दै थिएँ- आमा कराउन थाल्नु भो।
आमा: लभ गर्दै हिँडेको रहेछ र पो एसएलसीमा गुल्टिएको रहेछ। अब बरु बुहारी ले र मलाई मेलापात गर्न सहयोग गर। पढेर खाने भैनस् क्यारे?
मैले झोक्किँदै भनेँ- खोजिदिनु त बुहारी, टेन्सन भएको बेला धेरै नकराउनु है।
आमा: तँलाई मैले खोजिदिन पर्छ र? तेही साइकलवाली ल्याए भै हाल्यो नि।
बढेको रिसलाई शान्त पार्दै सोच्न थालेँ- म फेल भएको केटोसँग प्रथम श्रेणीमा पास गरेकी केटीले बिहे गर्ली र ?