-नेत्र तामाङ-
नेपाली मिडियामा प्रकाशन/प्रसारण हुने अन्तर्राष्ट्रिय समाचारहरुको क्रेडिटलाइनमा ‘एजेन्सी’ शब्द अधिक मात्रमा प्रयोगमा आएको देखिन्छ । पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइनहरुमा एजेन्सीलाई स्रोतका रुपमा प्रशस्तमात्रमा प्रयोगमा ल्याएका छन् । यो शब्द मैले काम गर्ने समाचार पत्रिकामा पनि प्रयोग हुन्छ । पत्रिका सजाउने क्रममा एजेन्सी शब्द राख्ने कि नराख्ने अधिकार मसँग छ । तर, मेरा सम्पादक भने एजेन्सी शब्द देख्नेवित्तिकै त्यसैत्यसै सन्किन्छन् ।
‘मैले भाइलाई पहिलेदेखि नै भनेको, त्यो एजेन्सी भन्ने नराख्नु भनेर, यसपाली पनि पत्रिका एजेन्सी भन्ने प्रिन्ट भएछ, कस्तो नमज्जा भो, अबदेखि यसो नगर्नु,’ मिडिया मालिकसमेत रहेका मेरा सम्पादकले फेरि यसरी सम्झाउँछन् मलाई ।
उनी भन्छन्, ‘एजेन्सी भनेको त पैसा तिर्न सक्ने ठुला मिडियाहरु कान्तिपुर, नागरिक, अन्नपूर्ण पोस्टजस्ताले लेख्छन् । हामीले राख्न मिल्दैन ।’ यसमा मेरो जवाफ हुन्छ, ‘त्यस्तो हैन दाई, मैले बुझेको चाँहि जसले पैसा तिर्न सक्दैन, उसैले विभिन्न समाचार संस्था भनेर एजेन्सी स्रोत राखेको हुन्छ, पैसा तिर्न सक्नेले त एपी, एफपी, रोयटर्स, पिटिआई जस्तो समाचार संस्थाको क्रेडिटलाइन बकाइदा राखेका हुन्छन् नि !’
यति भनेपछि सम्पादक एकछिन मत्थर हुन्छन्, अनि भन्छन्, ‘जे होस्, अबदेखि हामीले एजेन्सी नराखौं, स्रोत खुलाएर कुन मिडियामा आएको हो त्यही मिडियाको नाम राखौं ।’
सम्पादकको बारम्बारको यो भनाईले मलाई एजेन्सी भनेको के हो भन्ने विषयमा खोज्न मन लाग्यो । त्यसपछि सबैभन्दा पहिले नेपाल प्रज्ञा प्रतिष्ठानको नेपाली बृहत् शब्दकोश पल्टाएँ । त्यहाँ एजेन्सीको अर्थ यस्तो लेखिएको रहेछ–एजेन्टको काम हुने वा एजेन्ट बस्ने स्थान वा स्थिति, एजेन्टको पद, भाव वा क्रिया आदि आदि ।
हेमाङ्ग राज अधिकारी प्रधान सम्पादक रहेको प्रयोगात्मक नेपाली शब्दकोश पल्टाए, त्यहाँ लेखिएको छ–कुनै व्यापारिक संघसंस्थाको प्रतिनिधिको कार्यालय वा निकाय । एजेन्टले गर्ने कार्य ।
एजेन्सीको खास अर्थ समाचारसँग सम्बन्धित भएकोले नेपाली शब्दकोशहरुमा अर्थ नभेटिने ठानें । अनि पत्रकारिताका किताबहरु पल्टाएँ । सञ्चार क्षेत्रका विषयमा विज्ञता हासिल गरेका भानुभक्त आचार्यले कक्षा ११ का लागि लेखेका आमसञ्चार र पत्रकारिता(२०६८) किताबमा समाचार एजेन्सी भनेको समाचार संकलन तथा लेखन गरी विभिन्न सञ्चारमाध्यमलाई समाचार बिक्रीवितरण गर्ने व्यावसायिक संस्थाहरुलाई नेपालीमा समाचार संस्था र अंग्रेजीमा न्युज एजेन्सी भनिन्छ भनेर लेखिएको छ । किताबमा एएफपी, रोयटर्स, एपी, सिन्ह्वा, पिटिआइलाई विश्वका प्रमुख समाचार एजेन्सीहरु भनी उल्लेख गरिएको छ ।
त्यसैगरी श्रीराम खनालले लेखेको प्रयोगात्मक पत्रकारिता(२०६१)मा समाचार र समाचार विषयका सामग्री संकलन गरी सञ्चारसाधनहरुलाई बिक्रीवितरण गर्ने संस्थालई समाचार एजेन्सी भनिन्छ भनेर परिभाषित गरिएको छ ।
यसरी हेर्दा समाचार एजेन्सीको पनि नाम हुन्छ । नेपालमा रासस, भारतमा पिटिआइ, अमेरिकामा एपी, फ्रान्समा एएफपी, चीनमा सिन्ह्वा चर्चित समाचार एजेन्सी हुन् । कुनै पनि बिदेशी समाचार आफ्नै प्रतिनिधि भए ती प्रतिनिधिको बाइलाइनमा र आफ्ना प्रतिनिधि नभए यस्तै समाचार एजेन्सीहरुको क्रेडिटलाईनमा छापिने गरिन्छ । तर, नेपाली मिडियामा कतिपय समाचारहरुको क्रेडिटलाइनमा ‘एजेन्सी’ मात्र उल्लेख गरिएको हुन्छ । कतिपय ठुला मिडियाले पनि आफ्नो पहुँचभन्दा बाहिरको समाचारहरु ‘एजेन्सी’ मात्रै स्रोत तोकेर लेखिएको देखिन्छ । त्यसैले पनि सम्पादकलाई त्यही छाप बसेको हुन सक्छ–एजेन्सी भनेको पैसा तिर्नेले मात्र लेख्छ ।
जुलाई २० मा भारतमा रामनाथ कोविन्द भारतको नयाँ राष्ट्रपतिमा चुनेको समाचारलाई उदाहरणका रुपमा हेरौं ।
कान्तिपुरले आफ्नो अनलाइन संस्करणमा कमलदेव भट्टराईको बाइलाइनमा यो समाचार प्रकाशन गरेको छ । भट्टराई कान्तिपुरका भारत संवाददाता हुन् । त्यसैले कान्तिपुरले यो समाचारमा आफ्नै पहुँच कायम राखेको देखिन्छ ।
सोही समाचारलाई अन्नपूर्ण पोस्टको अनलाइन संस्करणमा ‘एजेन्सी’ स्रोत उल्लेख गरी प्रकाशन गरेको छ । यसबाट के देखिन्छ भने अन्नपूर्ण पोस्टको भारत संवाददाता छैनन् । र, यसले कुनै पनि समाचार एजेन्सीलाई क्रेडिट लाइन दिन चाहेका छैनन् । यही समाचारलाई चर्चित अनलाईन सेतोपाटीले पनि एजेन्सी क्रेडिटलाइनमा प्रकाशन गरेको छ ।
नेपालको सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समितिले भने पिटिआई र एएफपीलाई आधार मनी नेपालीमा समाचार तयार पारेको देखिन्छ ।
सबै समाचार संस्थाहरु समाचार किन्न सक्षम हुदैनन् । कतिपय अवस्थामा ‘एजेन्सी’ स्रोत उद्धृत गर्दै पाठक/श्रोता/दर्शक तान्नुपर्ने अवस्था आउन सक्छ । कुनै समाचार संस्थामा प्रकाशन/प्रसारण भएको समाचार त्यही समाचार संस्थाको नाम उल्लेख गरेर प्रकाशन÷प्रसारण गरेमा समाचार संस्थाप्रति विश्वास घट्छ भन्ने मान्यताले एजेन्सी भनेर उल्लेख गरिएको पाइन्छ ।
तर, पत्रकारिता विषयमा उच्च अध्ययनका क्रममा मैले पत्ता लागेको कुरा ‘एजेन्सी’ मात्र स्रोत भनेर लेख्नु कसैलाई क्रेडिट नदिनु र चोरी गर्नु हो । यसबाट म आफै पनि चोर रहेको ठहर हुन्छ र बुझेपनि नबुझेपनि सम्पादकले मलाई चोरी नगर्नु भनेर निर्देशन दिइरहेका छन् भन्ने प्रस्ट हुन्छ । सम्पादकको पटकपटकको निर्देशनपछि अब म क्रेडिटलाइनमा ‘एजेन्सी’ मात्र लेखेर समाचार प्रकाशन नगर्ने निर्णयमा पुगेको छु ।
(तामाङ एभरेस्ट टाइम्सका नेपाल संयोजक तथा अनलाइन सम्पादक हुन्।)
असल मान्छे कअसल कुरा