Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

फेयर एन्ड लभ्ली गर्ल : यस्ती भइन् अहिले उनी

Posted on July 20, 2017July 20, 2017 by Salokya


१५ वर्षअघि त्यतिबेलाको चर्चित टिभी सिरियल ‘हिजोआजका कुरा’ हेर्नुहुन्थ्यो? त्यसो भए तपाईँलाई पक्कै याद होला। सिरियल आउनुअघि आउने फेयर एन्ड लभ्लीको विज्ञापन जसमा एक हिस्सी परेकी युवतीको हाँसो।

सिरियलमात्र किन, नेपाल टेलिभिजनको प्रत्येक समाचारको अगाडि र बीचमा, पत्रपत्रिकामा, होर्डिङ बोर्डमा, पसलमा जताततै उनको फोटो हुन्थ्यो। उनै फेयर एन्ड लभ्ली गर्ल अहिले कस्ती भइन् त? कहाँ छिन् अहिले उनी? यो बीचमा के-के गरिन्? हिजो उनीसँग भएको कुराकानीको आधारमा पहिलोपोस्टमा एउटा सामाग्री तयार पारेको छु।

‘एक्सक्युज मी, के म तपाईँको फोटो खिच्न सक्छु?’

पुतलिसडकमा हिँड्दै गरेको बेला उनलाई एक जना अपरिचित केटाले सोध्यो। त्यतिबेला उनी भर्खर नौ कक्षामा पढिरहेकी थिइन्।

‘म फोटोग्राफर हुँ। हामी कर्ण दासको एउटा गीतको म्युजिक भिडियो बनाउँदैछौँ। त्यसका लागि फिमेल मोडल चाहिएको छ,’ उसले आफ्नो उद्देश्य बताएपछि अनुमति दिइन् रुपालक्ष्मी शाहले। रुपाको रुपै त्यस्तो, देख्ने बित्तिकै सबै भुतुक्कै भइहाल्ने।

तर शाह खान्दानकी छोरी। परिवार एकदम ‘स्ट्रिक्ट’।

पुरानो कुरा सम्झँदै उनी भन्छिन्, ‘मोडलिङ अलाउड थिएन। त्यसैले सेलेक्ट भयौ भनेर फोन गर्दा पनि म गइनँ।‘

तर त्यसको दुई वर्षपछि भने उनी मोडलिङकै कारण नेपालको कुनाकाप्चासम्म चिनिने भइन्।

***

ग्ल्यामर यात्रा

‘अहो, कति राम्री केटी !’

थम्पसन नेपाल एउटा महत्त्वाकांक्षी विज्ञापन प्रोजेक्टमा काम गर्दै थियो। त्यसका लागि अडिसन दिनेहरुको लाम लागेको थियो त्रिपुरेश्वरस्थित कार्यालयमा।

‘उही सेलेक्ट हुन्छिन् होलिन्। म त के हुन्छु होला र’, उनलाई यस्तो लागेको थियो। उनलाई राम्री लागेकी ती केटी थिइन् रीमा विश्वकर्मा। नायिका, दर्जनौँ म्युजिक भिडियोमा मोडल र अहिलेको चर्चित रियालिटी टिभी शो नेपाल आइडलकी होस्ट।

तर नसोचेको भयो। करिब ५ सय जना आकांक्षी र त्यसबाट फाइनलिस्टको सूचीमा रहेका ५० जनाबाट रीमा हैन उनी छानिइन्।
त्यसपछि सुरु भयो रुपालक्ष्मी शाहको ग्ल्यामर यात्रा।

***

सेलिब्रिटी फेस

१५ वर्षअघिको फेयर एन्ड लभ्लीको फेस थिइन् १७ वर्षकी शाह।

अखबारका ज्याकेट एड, म्यागेजिनका प्रमुख स्थानमा उनकै फोटो भएको फेयर एन्ड लभ्लीको विज्ञापन छापिन्थ्यो।

टेलिभिजनको समाचार, प्राइम टाइममा बज्थ्यो उनको त्यो चर्चित विज्ञापन। त्यतिबेला सिङ्गै फिल्म बन्ने २५ लाख रुपैयाँको लागतमा बनेको थियो विज्ञापन। जति हेर्‍यो, हेरुँ हेरुँ लाग्ने थियो त्यो विज्ञापन। विज्ञापनकी आकर्षण बनेकी थिइन्, सुरुमा अमेरिकाबाट फर्केको केटाले बेवास्ता गर्ने तर पछि केटो आफै पछि लाग्ने गरी राम्री बन्ने केटी।

नेपाली टेलिभिजनका पुराना दर्शक कसैले पनि बिर्सन नसक्ने विज्ञापन मध्येको एक थियो त्यो विज्ञापन।

नेपालका कुनाकाप्चामा उनको अनुहार भएको होर्डिङ बोर्ड राखिएका थिए। त्यसैले उनलाई जहाँ जाँदा पनि जसले पनि चिनिहाल्ने। तपाईँलाई देखेको छु, चिनेको छु भनिहाल्ने।

एउटै विज्ञापनले उनलाई हुनुसम्मको चर्चा दिलायो। वास्तवमा फेयर एन्ड लभ्लीका लागि उनले गरेको विज्ञापन नै पहिलो र अन्तिम थियो।

***

मोडलिङ अलाउड नहुने शाह खान्दानकी छोरी कसरी मोडल हुन पुगिन् त? यसको पनि एउटा रोचक प्रसंग रहेछ।

फेयर एन्ड लभ्लीमा उनीभन्दा अघि मोनिका चन्दले मोडलिङ गरेकी थिइन्। मोनिका अवकाशप्राप्त कर्णेल लालबहादुर चन्दकी छोरी। दुई परिवारको नाता पनि जोडिएको थियो।

मोनिकाले गरेको चिज गर्नका लागि उनलाई रोक भएन।

कान्तिपुर एफएममा बज्ने आशिष र प्रशान्तको सोमा विज्ञापन सुनेर उनी अडिसन दिनका लागि त्रिपुरेश्वर पुगेकी थिइन्। भाग्यले उनैलाई सयौँमा एक बनाइदियो।

त्यसपछि उनलाई मोडलिङ र फिल्मको यति अफर आउन थाल्यो कि भनी साध्य छैन। ‘तर  ड्याड मान्नुभएन’, उनी सम्झिन्छिन्।

***

यशस्वीबाट रुपालक्ष्मी

तीन दिन लागेको थियो त्यो विज्ञापन गर्न। उनी सम्झिन्छिन्, ‘एक दिन ट्रेनिङ थियो। एक दिन इन्डोर सुटिङ थियो लाजिम्पाटको होटलमा। अनि एक दिन भने चाँगुनारायणमा आउटडोर सुटिङ।‘

विज्ञापनको सुटिङ गर्न आएकी थिइन् भारतीय निर्देशक लता मेनन्। मेननले भारतमै फेयर एन्ड लभ्लीका अनेक विज्ञापनको निर्देशन गरिसकेकी थिइन्।

टायरको विज्ञापन समेत ‘ट्याक्सी, कुन टायरमा छ यसमा?’ भनेर सोध्ने अनि ‘डाइबर दाइलाई मन पर्ने टायर’ भन्दै कम्मर मर्काइ मर्काइ नाच्ने नेपाली विज्ञापनको युगमा फिल्म जस्तै क्वालिटीको विज्ञापन देख्दा सबै दङ्ग।

को हुन् हँ ती हिस्सी परेकी केटी?

टेलिभिजन हेर्नेहरुले सोधखोज गर्न थाले। अहिले जस्तो सोसल मिडिया र अनलाइनको जमाना थिएन त्यतिबेला। तर निजी मिडियाले राम्रै प्रभाव पारिसकेका थिए।

फेयर एन्ड लभ्लीकी फेस भएकी उनले विभिन्न प्रेस कन्फ्रेन्सहरुमा पनि सहभागी हुनुपर्थ्यो। मोडलको रुपमा उनको परिचय गराउँदै आयोजकहरुले भन्थे, यशस्वी शाह।

रुपालक्ष्मी शाह उनका हजुरबुबाले दिएको नाम थियो। आमाबुबाले भने परम्परागत पाराको यो नामको साटो उनलाई यशस्वीको नयाँ नाम दिएका थिए।

तर हजुरबुबाको मृत्युपछि उनीसित निकै नजिककी उनलाई पुरानै नाम प्यारो लाग्न थाल्यो र उनी फेरि बनिन् रुपालक्ष्मी।

***

सन् २००२ मा रिलिज भएको एक मिनेटको विज्ञापनमा उनको एउटा मात्र डाइलग छ – दर्शनको लागि धेरै कुर्नुपर्ला जस्तो छ नि.. !

‘केही छैन अब त जिन्दगी भरी नै कुरौँला नि,’ पहिले वास्ता नगर्ने अमेरिकाबाट फर्केको केटोले जवाफ दिएपछि विज्ञापनकी रीता र रियल लाइफकी रुपालक्ष्मीको मुस्कुराहटसँगै देखिन्छ उनको नेचुरल ‘डिम्पल’।

१५ वर्षअघिको कुरा सम्झँदै फोनमा बताइरहँदा पनि मोबाइलको रिसिभरमा उनी हाँसेको आवाज आइरहेको थियो। उनी अमेरिकामा छिन्। विज्ञापनमा उनकी भाउजुको अभिनय गर्न सिन्दूरी चन्द पनि अमेरिकामै छिन्।

बरु अमेरिकाबाट फर्केको केटाको अभिनय गर्ने सनत राजभण्डारी भने अहिले नेपालमै छन्।

अमेरिका जान पनि उनले परिवारमा कम्ता संघर्ष गर्नुपरेन। प्लस टुमा साइन्सकी विद्यार्थीले ११ कक्षाको अन्तिमतिर यो विज्ञापनमा अभिनय गरेकी थिइन्। त्यसवापत् उनले पाएकी थिइन् २५ हजार रुपैयाँ। त्यतिबेला यो निकै धेरै रकम थियो।

१२ कक्षा पढ्दै गर्दा उनी कान्तिपुर टेलिभिजनमा आवद्ध भइन्। न्युज एङ्करका रुपमा उनले नयाँ जागिर थालेकी थिइन्। नेपाली समाचार पढ्थिन् उनी। तिज, आर्ट एक्जिबिसन आदिको रिपोर्ट बनाउनु पर्थ्यो।

कान्तिपुर टिभीमा काम गर्दा उनले साढे आठ हजार रुपैयाँ तलब पाउँथिन्। त्यो उनका लागि धेरै थियो। उनले टोफेल, स्याट दिन, ल्याङ्ग्वेज सिक्न तलबको रकम खर्च गरिन्। अमेरिकामा टिभी र फिल्म प्रोडक्सन पढ्नका लागि उनले आवेदन दिइन्।

‘भोलिपल्ट भिसाको इन्टरभ्यु हुँदासम्म ड्याडीलाई केही थाहा थिएन’, उनी सम्झिन्छिन्, ‘भिसा लाग्यो भने १५ हजार रुपैयाँ तिर्नुपर्थ्यो। मसँग त्यति पैसा थिएन। त्यही भएर ड्याडीलाई भनेकी थिएँ।‘

अमेरिका किन जानु पर्‍यो भन्ने ड्याडी र जान्छु भन्ने उनीबीच चार महिनासम्म बोलचाल नै बन्द भयो।

अन्ततः उनले ड्याडीलाई मनाइन्। जेठी छोरी र कान्छी छोरी नेपालमै भइहाल्छे, माहिली छोरी सक्सेसफूल भएर फर्कन्छु भनेर आश्वस्त पारिन्।

***

अमेरिकामा संघर्ष

तर अमेरिकन लाइफ उनले सोचे जस्तो सहज भएन। अमेरिकी भूमि टेकेपछि उनले घरबाट एक पैसा पनि मागिनन्।

‘निकै दुःख भयो,  चार वर्ष स्ट्रगल गरेँ,’  आफ्ना कठिन दिनहरु सम्झिएर भावुक हुँदै उनले भनिन्।

टिभी एन्ड फिल्म प्रोडक्सनमा ब्याचलर्स गर्दैगर्दा उनले चर्चीत टिभी कार्यक्रमहरुमा क्यामेरा असिस्टेन्ट भई काम गरिन्। ओप्रा विन्फ्रेको शो, लेट नाइट शो विद् जे लेनोमा सहयोगी भूमिका गरिन्।

ओप्रासँग काम गर्दाको अनुभव सुनाउँदै उनी भन्छिन्, ‘म नेपालबाट भन्दा उनी भेरी नाइस भन्ने गर्थिन्।‘

ओप्रा बस्थिन् शिकागोमा। लस एन्जलसमा एपिसोड सुटिङ हुँदा प्रोड्युसरसँग नजिक भएर उनले काम गरिन्। यो ठाउँमा सुटिङ गर्ने, यति दर्शक हुन्छन्- त्यो सब मिलाउने र भन्ने जिम्मा उनको हुन्थ्यो।

ओप्राले टम क्रुजसँग शो गर्दा उनी क्यामेरा पछाडि थिइन्।

अमेरिकन आइडलका केही एपिसोडहरुमा पनि उनले क्यामेरा सहयोगी भूमिकामा काम गरिन्।

प्रिमियर र फिल्म फेस्टिभलहरुमा उनले थुप्रै रेड कार्पेट इन्टरभ्यु गरिन्। टिभीपछि उनी हलिउड मूभीतर्फ लागिन्।

वार्नर ब्रदर्समा प्रोडक्सन एसिस्टेन्टका रुपमा उनले काम थाल्दा त्यस्तो जिम्मामा महिला कमै थिए। ट्रान्सफर्मर्स, सुपरम्यान, पाइरेट्स अफ क्यारेबियनमा उनले काम गरिन्।

अवतार थ्रीडीको सुटिङ हुँदा थ्री डी क्यामेराको बारेमा ट्रेनिङ लिएको उनलाई अझै सम्झना आउँछ।

***

बेकार सपनाको संसार

अरुका लागि सपनाको संसार हलिउडको टेलिभिजन र फिल्म शोलाई नजिकबाट देखेकी रुपालक्ष्मीलाई एक दिन यो सब बेकार भन्ने लाग्यो।
‘यसरी हुँदैन, अब त धेरैलाई फाइदा हुने केही काम गर्नुपर्छ’,  मेरो भित्री मनले अठोट गर्‍यो। त्यसपछि उनी परिवर्तन भइन्।

काठमाडौँमै हुँदा सिविनमा काम गरेकी उनलाई समाजलाई दिने केही काम गर्न लाग्यो।

त्यसपछि उनी पब्लिक रिलेसनमा लागिन्। पिआर टिमसित काम थालिन्। कोर्नेल युनिभर्सिटीमा मास्टर्स पढाइ थालिन्।

त्यहीँ उनले दिग्वियजराज महतलाई भेटिन्। उनैलाई मनको राजा बनाइन्। नोबेल प्राइज जित्ने वैज्ञानिक फिलिप शार्पसित काम गरिरहेका यी एमआइटीका साइन्टिस्टसित चार वर्षअघि उनले बिहे गरिन्।

अहिले उनी सिसिएस फन्डरेजिङ नामको कम्पनीमा एसोसिएट डाइरेक्टर छिन्। उनको काम ठूला ठूला फाउन्डेसन, युनिभर्सिटी, हस्पिटलहरुको फन्ड रेज गर्ने हो। अहिलेसम्म उनले दुई करोड डलरभन्दा बढी फन्ड रेज गरिसकिन्। उनको कम्पनीले ठूलो फन्ड रेजिङ क्याम्पेनहरु म्यानेज गर्ने काम गर्छ। गैर नाफामूलक संस्थाहरुले कसरी प्रभावकारि काम गर्न सक्छन्, त्यसका लागि सहयोग गर्छिन्, रणनीति बनाउँछन्।

अर्थात् उनको रुपसँग लक्ष्मी पनि जोडिएको छ। नामजस्तै रुपालक्ष्मीका रुपमा उनी काम गरिरहेकी छिन्। हाल उनी पोपको फाउन्डेसनसँग अमेरिका र युरोपभर १०० मिलियन डलर उठाउनका लागि काम गरिरहेकी छिन्।

दुई वर्षअघि नेपालमा भूकम्प गएको बेला उनले पाँच दिनमा कोर्नेल युनिभर्सिटीबाट ३० हजार डलर चन्दा संकलन गरेकी थिइन्। मास्टर्स अध्ययन गरिरहेकी उनलाई युनिभर्सिटीले त्यो फन्ड लिएर नेपालमा जान र के सहयोग गर्न मिल्छ गरेर आउन युएसएड र सेभ दि चिल्ड्रेनसित सम्पर्क गराइदिएको थियो।

त्यसपछि उनी नेपाल आइन् र १९ दिनसम्मको बसाइमा सिन्धुपाल्चोक, रसुवा र नुवाकोट गई गर्भवती महिलाको लागि सहयोग हुने परियोजनाहरुका लागि रकम खर्च गरिन्।

उनको सपना नेपालमा पनि नन प्रोफिट संस्था बनाउने र त्यसका लागि फन्ड रेज गर्ने हो।

***

तपाईँ यति राम्री कसरी हुनुहुन्छ?  के तपाईँ फेयर एन्ड लभ्ली प्रयोग गर्नुहुन्छ?

कुराकानीको बिट मार्नुअघि सोधिएको यो प्रश्नमा उनी मज्जाले हाँसिन्।

१५ वर्षअघि धेरै प्रेस कन्फ्रेन्सहरु सेट गरिएका हुन्थे। त्यहाँ उनलाई यही प्रश्न सोधिन्थ्यो। उनलाई के जवाफ दिने भनी सिकाइएको थियो। सिकाइए अनुसार उनी भन्थिन्, ‘हो, म फेयर एन्ड लभ्ली दिनमा दुई तीन चोटी लगाउँछु।‘

‘पाँच वर्षको कन्ट्र्याक्ट थियो मेरो। त्यतिबेला भन्न मिल्दैन थियो, अहिले मिल्छ’, फेयर एन्ड लभ्लीको मोडलका रुपमा धेरैलाई मोहित बनाएर त्यो उत्पादन प्रयोग गर्ने बनाएकी उनले भनिन्, ‘वास्तवमा म लगाउँदिन थिएँ। त्यतिबेला पनि र अहिले पनि।‘

12 thoughts on “फेयर एन्ड लभ्ली गर्ल : यस्ती भइन् अहिले उनी”

  1. Chandra Mani Paudyal says:
    July 20, 2017 at 10:03 am

    More beauty after many years!! Evergreen

    Reply
  2. Tilak Karki says:
    July 20, 2017 at 4:39 am

    https://youtu.be/6w1HWoJ0hrM

    Reply
  3. Tilak Karki says:
    July 20, 2017 at 4:36 am

    Before 4 years I recorded her dance on stage in Los Angeles with singer suman bhudha Magar
    ://youtu.be/6w1HWoJ0hrM

    Reply
  4. Dee Raaz Thakoori says:
    July 20, 2017 at 2:17 am

    ho nikai famous face, more beautiful now.

    Reply
  5. Tek Raj Timalsina says:
    July 20, 2017 at 7:35 am

    ब्लग पढ्दा लाग्यो उमेश जी लै त्यो fair and lovely को add खुबै मन परेको थियो जस्तो छ | राम्रै add हो, र रुपलक्स्मि पनि राम्री नै थिई र छन् पनि र सफल पनि | तैपनि उमेश जी तारिफ हरु सुन्दा छैन सारही नै इम्प्रेस भएको जस्तो लाग्यो 🙂 |

    Reply
  6. Ganesh Dhungana says:
    July 20, 2017 at 12:39 am

    Maile ta usko fair n lovely wala photo bhitta mai jhundyakeko thiye saarai mann pareyra 🙂

    Reply
  7. Rajiv Adhikari says:
    July 19, 2017 at 10:46 pm

    Before & Now same so beautiful

    Reply
  8. Shiv Kumar Acharya says:
    July 19, 2017 at 9:42 pm

    Wowo Rupa sister great

    Reply
  9. Rabin Paudyal says:
    July 19, 2017 at 9:23 pm

    Ajhai ustai utikai dekhido rahe xa… jaha rahe pani khusi sukhi nai hola k vayo ra…

    Reply
  10. Aakash Basnet says:
    July 19, 2017 at 9:16 pm

    our own friend Rupa, proud of you.

    Reply
  11. Rupa Laxmi Shah says:
    July 19, 2017 at 8:55 pm

    Thank you, Mysansar

    Reply
    1. Thapaliya Cba says:
      July 20, 2017 at 4:06 am

      Proud of u vauju

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme