Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

दोस्रो चरणको निर्वाचन पनि गजबै शान्तिपूर्ण, ८३६४ मध्ये दुई ठाउँको मात्रै मतदान स्थगित

Posted on June 28, 2017June 29, 2017 by Salokya

मध्य असारमा मतदान। राजपाको बहिस्कार। विप्लवको बहिस्कार। चुनौति धेरै थिए दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा पनि। तर गजबले शान्तिपूर्ण र सहज रुपमा सम्पन्न भयो दोस्रो चरणको निर्वाचनको मतदान पनि। पहिलोमा बरु अलि धेरै ठाउँमा मतदान स्थगित भएका थिए तर यस पटक प्रदेश नं. १, ५ र ७ गरी ३५ जिल्लाका ३३४ स्थानीय तहका कूल ८३६४ मतदान केन्द्रमध्ये दुई ठाउँमा मात्रै मतदान स्थगित भयो। बझाङको जयपृथ्वी नगरपालिकाको पाण्डु मा.वि. मतदान केन्द्र क, ख मा र रुपन्देही जिल्ला कोटहिमाही गाँउपालिका वडा नं. १ मा मतदान स्थगित भएको छ। मत पनि पहिलोभन्दा कम खसेन। पहिलोमा ७१ प्रतिशत थियो। अहिले पनि प्रारम्भिक तथ्याङ्कमा ७०.५ प्रतिशत भनिएको छ।

मौसमले पनि साथ दियो आजको चुनावलाई। आज बिहान पानी परेर केही मतदान केन्द्रमा मतदान कार्य ढिलो शुरु भएपनि पछि भने पानी परेन। पानी पर्दा पनि मतदाता छाता ओढेर चुनावमा सहभागी भए।

निर्वाचन विरोधीहरुले केही ठाउँमा बम राखेका थिए। तर मतदाताहरुले त्यसलाई बेवास्ता गर्दै मतदान केन्द्रमा गएर बहिस्कारवादीहरुलाई गतिलै जवाफ दिए।

बझाङबाहेक आज रोल्पा र सोलुखुम्बु पनि चर्चामा रह्यो। रोल्पाको रोल्पा नगरपालिका वडा नम्बर १० स्थित जनता आवासीय विद्यालयको भनभने मतदान केन्द्रको एउटा मतपेटिकामा कसले मतपत्रसँगै के खसाइदिएछ, आगो लागेछ। यसले केही समय मतदान स्थगित भए पनि पछि मतदान सुचारु भयो।

सोलुखुम्बुको सल्यान गाविस वडा नम्बर ६ मा पर्ने तिङ्लामा भने पूरै गाउँले निर्वाचन बहिस्कार गर्‍यो। यो वडामा कोही उम्मेदवार पनि उठेका थिएनन्। तर पनि गाउँपालिकाको प्रमुख र उपप्रमुखका लागि यहाँ रहेका पाँच मतदान केन्द्रमा दिनभर निर्वाचन आयोगका कर्मचारीहरु कुरेर बसे। तर भोट हाल्न कोही पनि आएनन्। पुनर्संरचना गर्दा चित्त नबुझेकाले उनीहरुले यसो गरेका थिए।

फोटो : रासस

त्यसबाहेक आज हिरो बने दुर्गाबहादुर राना। दाङको तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर ३ स्थित श्री माध्यमिक विद्यालय, प्रतापकोट, अम्बासमा उनले अज्ञात व्यक्तिले फालेको बम पड्कनुअघि नै टिपेर जंगलतिर फ्याँकिदिए। उनले फ्याँकेको केही समयमा नै विस्फोट भएको थियो। उनले त्यसरी नफ्याँकेको भए केही व्यक्ति घाइते हुन्थे वा ज्यानै जान पनि सक्थ्यो। उनको साहसको कदर गर्दै गृहमन्त्रीले पुरस्कृत गर्ने बताएका छन्।

उता झापा र पाल्पामा भने मतदानको लाइन लाग्दै गरेका दुई जनाको मृत्यु भयो। झापाको दमकस्थित सरस्वती मावि मतदानस्थलमा मतदान गर्न गएका ८२ वर्षीय नगेन्द्र भण्डारी र पाल्पाको याम्घास्थित अरनिको माविमा मतदानका लागि गएका ८४ वर्षीय पूर्णचन्द्र भट्टराईको लाइन बस्दै गर्दा मृत्यु भएको हो।

2 thoughts on “दोस्रो चरणको निर्वाचन पनि गजबै शान्तिपूर्ण, ८३६४ मध्ये दुई ठाउँको मात्रै मतदान स्थगित”

  1. krishna444 says:
    June 30, 2017 at 1:03 pm

    चुनाब सम्पन्न भयो, खुसि लाग्यो | अब २ नम्बर बाकी रह्यो, त्यहाँ पनि राम्रोसंग चुनाब होस | जनताले चुनाब चाहेका छन् , विकास चाहेका छन् |

    Reply
  2. Yam Budha Magar says:
    June 28, 2017 at 5:31 pm

    हजार चोटि धोका पाए पनि यो आशा जस्तो अजीव चिज हार्न नमान्दो रैछ । यहि घाइते तर जीवित आशा बोकेर जनताले आफ्नो कर्तव्य निभाए । नेपाली जनता महान छन् ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme