-मनोज बाबु पनेरु-
सुबोध राई छुट्टिमा घर आएको थियो । बेलुकाको खाना खाएर गाउँतिर गफिन निस्कियो । गाउँमा उसका दामली साथी को नै पो बाँकी थिए र ! संजोगले एकै समय छुट्टी परेछ भने न हो, भेट हुने भनेको । कि दशैं तिहार छुट्टि पारेर आउनपर्यो । सबै जसो, ऊ जस्तै बाहिर छन् । आफ्नो गच्छे र पुर्रपुरो अनुसार कोही मलेसिया छन्, कोही दुबई, कोही कतार, कोही कोरिया–जापान ।
धुसन, केही वर्ष मलेसिया बसेर आयो र बिहे गर्याे । परार भेट हुँदा छोरा–छोरी भएपछि फेरि भिषा झार्नपर्ला भन्थ्यो । अहिले, धुसनले गाउँमै किराना पसल खोलिसकेको रहेछ । यतै जमेछ, छोरा–छोरीको रहर भने अझै उस्तै थियो, उसको ।
धुसनले दिएको चुरोट सल्काएर सुबोध स्कुलको चौउरतिर लाग्यो । चौउरमा झुरुम्म परेर भुराहरु खेलिरहेका थिए । खेलको नाम थियो, “भित्र–बाहिर” ।
एउटा बृतकार घेरा वरिपरी खेलाडीहरु झुरुम्म परेर उभिएका थिए । केहि दुरिमा बसेर खेलको रेफ्री “भित्र–बाहिर–भित्र–बाहिर” भनेर चिच्याउँथ्यो । यसको कुनै निश्चित क्रम भने थिएन । खेलमा रहन “भित्र” भन्दा बृतकार घेरा भित्र र “बाहिर” भन्दा घेरो बाहिर रहनु पर्ने हुन्थ्यो । जो यो सर्त पुरा गर्न सक्दैनथ्यो, ऊ खेलबाट निस्कन्थ्यो । सर्त पुरा गर्दै अन्त्यसम्म रहने खेलाडी बिजेता घोषित हुन्थ्यो । आफु भुरो हुदोताका सुबोधले पनि यो खेल खेलेको हो । अहिले आएर उसको जीवन नै त्यही खेलमा परिणत भएझै थियो । बाहिर जाने, एकाध वर्षमा छुट्टी मिलाएर मुलुक भित्र र फेरि बाहिर जाने । इन्डिया भागेको पनि गणना गर्ने हो भने बिगत २० वर्षदेखि सुबोध यो “भित्र–बाहिर” खेलोमा अल्झिएको थियो । सुबोध खेल हेर्दै धेरै बेर एकोहोरियो ।
खेल अझै जरी थियो । चुरोट सकेर सुबोध घर फर्कियो । भित्र–बाहिर भनेको वर आइन्जेलसम्म सुनिन्थ्यो । राती ओछ्यानको भित्तापट्टीको कुनामा निदाउँन लागेकी बिनितालाई कोट्याउँदै सुबोधले भन्यो, “यसपटक “फिनिस” बस्नुपर्यो । नत्र, तोसँग बिहे गरेपछि धितमरुन्जेल घरमासँगै बस्ने चाहानामै जिन्दगी सकिने भो ।” बिनिता लिम्बु छक्क परी ।
सुबोधतिर कोल्टो फर्केर च्याब्रिदै भनी, “आबो बुढेसकालमा, अण्डा पारेर ओथारो बस्छौ ! बाहिरको पैसा नल्याए कसरी चल्छ ? स्कुलसकेर छोरी नर्सिङ्ग पढ्छु भन्छ । छोरोको ताल त्यही हो । त्यसले कहिले कमाउने ? बाईक भनेर रडाको छ । कसरी धान्ने ।” बिनिताले अझै एकाध वर्ष बाहिर जानुपर्ने कारणहरु उसका अगाडि भर्रर उमारिदिई ।
“होइन, आबो यतै केही गर्ने हो । धुसने त किराना पसल खोलेर यतै जमेछ ।” सुबोधले तत्कालको लागि त्यही नै गतिलो उदाहरण भेट्यो ।
“किराना त नाममात्र । पछाडि आफ्नै भान्सामा रक्सी–मासु बेचेर जमेको हो । तरुनी स्वास्नी कम फुर्ती छे ।” बिनिताले कुरो काटी । “जाबो गाम्को बजारमा कतिनै किराना पसल चल्छन् र फेरि ।” बिनिता डग्नेवाला थिइन ।
“किराना होइन लाटी अरु नै केही बिचार गरेको छु । गाउँमा धमाधम पक्की घरहरु बन्दै छन् । हार्डवोयर कसो नचल्ला । हामीले घर बनाउँदा कम्ता पैसा बुझायो, तल ठुलो बजारको रेग्मी–हार्डवोयरलाई । अझै पनि सबै ठुलो बजार नै जान्छ ।” सुबोध रोकिएन । “यत्रो बर्ष डाईभिङ्ग गरियो, बिदेशको कन्स्ट्रक्रसन कम्पनीमा । एउटा पिकअप ट्रक किनौला । आफ्नो पसल, आफै डेलिभरी ।” सुबोधले पुरै बिजिनेस प्लान नै सुनायो ।
“पैसो कहाँबाट जुट्छ ?” बिनिता अझै बिश्वस्त थिईन ।
“डिलरबाट बाँकीमा सामान ल्याएर हार्डवोयर थाल्ने, अहिलेसम्म बचाएको केही रकम त्यसैमा खन्याउँला ।” सुबोध एकछिन रोकियो र अध्याँरोमै बिनिताको अनुहार निहाल्ने प्रयास गर्यो । “ठुलो बजारको घडेरी राखेर फाइदा देख्दिन म ! सलाईको बट्टा जत्रो छ । त्यो बेच्नी हो । पिक–अपको खर्च त्यसैले बोक्छ । बाटो जताततै ग्रयाभिल हुदैछ । बजारमा सर्ने होइन, आबो बजार यतै सर्छ ।” सुबोधले साँझ चौउरमा खेल हेदै एकोरिएको बेला बिनाक्रम फुलाएका सोचाइलाई क्रम मिलाएर फुलबारी झै बनायो र बिनितालाई सुनायो ।
“सुखमा पाल्छ, सधैंसँगै राख्छ भनेर पोइला आकी, गर, म नाई भन्दिन ।” अब भने बिनिता मानिसकेकी थिई ।
केही बेरको धपेडीपछि बिनिता भित्ता कोल्टो फर्केर निदाई । सुबोधको मनमा भने विगतको घोडा दगुरी रहेको थियो ।
********
सुबोधले एस्.एल्.सी त जसोतसोे पास गर्यो । एक वर्ष जस्तो क्याम्पसमा हल्लिएपछि पढेर खाइएला जस्तो लागेन, उसलाई । जति छाती तन्काए पनि लगातार दुईपटक ब्रिटिस आर्मीमा फेल भएर निरास थियो । बितिसकेका बुवा उमेरमा इन्डियन आर्मी थिए । आमाले भन्दा नदेलिन् भनेर सुबोध भागेर इन्डिया गयो । ३ वर्ष सम्म इन्डियाको बम्बई शहर खाएर घर फर्कदा उसको हातमा केही पैसा र कन्सट्रकसनका हेभी गाडी चलाउने सिप थियो ।
सुबोधकी आमाले फर्केको छोरोलाई बाधेर राख्न बिहे गर भनेर कर गरिन् । स्कुल पढ्दै आँखामा बसेकी बिनिता लिम्बुका बावु हङ्कङ्गे लाउरेले भने उसलाई पत्याएनन् । जात–रिती नमिल्ने बाहानामा ऊ चिसो राईलाई, ताता लिम्बु परिवारको अनुमति मिलेन । बुढाले सधै लाहुरे फौजी ज्वाई चाहिन्छ भन्थे, उनको नजरमा सुबोध चाउरे ठहरियो । रन्थनिएको सुबोध, सुमन थापाको सङ्गतले माओबादीको कम्ब्याट लगाउन पुग्यो । भर्खरै जन्मिदै गरेको नयाँ राज्य सत्ताको फौजी हुने महान रहरमा केही महिना राती–राती बुवाको इन्डियन आर्मीको पुरानो ड्रेसमा एरिया कमान्डरको फुली थापेर गाउँ चहारिहेर्यो । सामन्ती सत्ताका हिमायती, बाहुन गुरुले, पाठ्यक्रममा संस्कृत पढाएर पुरानो शिक्षाको वकालत गरेको हुँदा, हेड्क्वाटरका विद्वान डाक्टर नेताको आदेश तामेल गर्दै, गरिएको भाटे कार्वाइमा सुबोध सकृय सामेल भएको थियो । पुरानो राज्य सत्तालाई दह्रो धक्का दिएको गर्वका साथ घर आएर बेरिएको रातो रुमाल खोलेको थियो, उसले । भलै, ऐनामा आफ्नो अनुहार हेर्दा भने ऊ गाह्लानीले अलल्लिएको थियो ।
त्यसै छेक बिनिताले एस्.एल्.सी दोहोर्याएर फेल गरी । घरमा नमाने पनि बिनिता सुबोधसँग भागेर पोइला जान राजी भई । महान उदेश्यलाई गाउँमै बेवारिसे छाडेर ऊ काठमाडौ हानियो । यो पटक भने सुबोधले आमालाई भाग्नुको कारण सम्झाएर केही पैसासमेत मागेर भागेको थियो ।
काठमाडौैैंमा आफ्नो सिपको काम पनि पायो सुबोधले, क्रसर उद्योगमा । बिनिताले गर्छु भनेर व्युटिपार्लर सिक्नथालेकी थिइ तर आएको वर्ष नबित्तै छोरो जन्मियो । बिनिता छोरो सिङ्गार्नै व्यस्त भई । सुबोधको कमाइले दुखः सुख पुगेकै थियो । आमाले गाउँको खेतमा खेताला लगाएर उमारेको अन्न बेला बेला छोरालाई ठेल्दिन्थिन् । सुबोधलाई आफ्नो जीवन प्रति त्यस्तो कुनै गुनासो थिएन । १ वर्षको अन्तरालमा फेरि छोरी जन्मिई । सुबोधलाई अझै पनि कुनै गुनासो थिएन ।
आमा भने अब त बिनिताका परिबार पनि मान्छन् फर्के हुने भनेर गुनासो गर्थिन् । खेताला खोज्न सक्न पनि छाडिन् रे, पहिला जस्तो पाउन पनि छाडे रे । सुबोधलाई भने यतै ठिक थियो ।
छोरा छोरी हुर्किएसँगै धमाधम खर्च शिर्षक थपिन थाल्यो । सुबोधको कमाइलेमात्र के पुगोस् । पहिला पुग्दो लाग्ने कमाई, अहिले अचार जस्तो भएको थियो । खर्च शिर्षकमा थपिएको आमाको दबाईले खेतको आम्दानी उतै निख्रिन्थ्यो । सुबोधको आम्दानीको धारोमा अब चुहिन छाडेको थियो, त्यो ।
छोरोको नर्सरी बिचैमा छोडाएर सुबोध गाउँ फर्कियो । उसले बेवारिसे छाडेको नयाँ सत्ताको लडाई गाउँमा बुर्कुसी मार्ने भइसकेको थियो । खेत सह्यारेर खर्च धानिने न सम्भावन थियो न त सुबोधलाई त्यसो गर्ने रहर नै । आमालाई फकाएर खेत बेचेर तल ठुलो बजारमा सर्ने सोचमा थियो । एक्लो छोरोको आग्रह आमाले नमान्ने कुरै भएन तर घर–बारी भने आफ्नो शेखसम्म राखिदिउन् भन्ने आमाको एकमात्र सर्त थियो ।
खेत बेचेर ठुलो बजारमा सुबोधले घडेरी किन्यो । गाउँका मान्छे सबै ठुलो बजार सर्न थालेका थिए । भाउ आकासिएको थियो । सटर भएको घर बनाउनपुग्ने पैसा उभ्रिएलाकी भनेर सोचेको थियो सुबोधले । तर, जसैगरे पनि मिलाउन सकेन । जनआन्दोल÷क्रान्ती सफल हुँदै थियो तर सुबोधको बजारमा केही थालौला भन्ने योजना भने सफल हुन सकेन । चक्काजाम र नेपाल बन्द मात्रै हुन्थ्यो । नयाँ नेपालमा धमाधम नयाँ नयाँ राजनैतिक मुद्घाहरु उम्रिन्थे ।
टुडिखेलजत्रो खेत बेचेर सलाईको बट्टाजत्रो सोतो जोडेको छ त्यसबाट के उमारेर खाने, सुबोधकी आमा पिर गर्थीन् । अब भने सुबोधलाई पनि आफ्नो जीवनदेखि गुनासो लाग्न थालेको थियो । गुनासोले व्यवहार चल्ने कुरो त भएन । गाउँका प्राय घरका कोही न कोही बैदेशिक रोजगारमा थिए । केही वर्ष मलेसिया बसेर आएको धुसनले आफुभन्दा धेरै भर्खरी केटीसँग धुमधामसँग बिहे गरेको सुबोधले देखेको थियो । सुबोधले पनि पास्पोर्ट बनायो, भर्खरै हुर्किदै गरेका आफ्ना छोरा–छोरीको भविष्य सम्झेर ।
सुबोध एक्लै काठमाडौं जाने भयो । बिनिताले सानो मुख लगाएकी थिई । आफ्नै आमाले जस्तो लोग्नेको छुट्टी कुरेर बस्ने जीवन सुरु हुँदैथियो, उसको ।
सुबोध राम्रो म्यानपावर खोजेर पासपोर्ट पेस्ने सुरमा थियो । ऊसँग हेभी गाडीको लाईसेन्स पनि थियो । यसमा राम्रै कमाई हुन्छ भनेर उसलाई सुमन थापाले भरोसा दिएको थियो । सुमन थापा पनि महान क्रान्तीसँगै काठमाडौमा ओर्लिएको थियो । पुराना दुष्मनहरुको सुरक्षा घेरामा क्रान्तीबिरहरु र क्रान्तीका विद्वान आर्किटेक्टहरु त्यो ताका राजधानीको सडकमा साईरन बजाउँदै दौडाहा गर्थे । ऊ झन्डै झन्डै सदस्य भएको नयाँ राज्य सत्ताको फौज भने सपना जमाएर क्यान्टोन्मेन्टमा राज्यको भतेर खाएर थिङ्ग्रिदै थियो । गाउँ घर घुम्ने सुमन थापा जस्ता गल्लावालहरु राजधानीमा बुकुर्सी मार्थे । यसप्रति सुबोधलाई न कुनै डाह थियो न गुनासो ।
सुमन थापालाई चिनेकाले आफ्नो काम चाडै होला भन्नेमा सुबोध मख्ख थियो । काम भयो पनि । ऊ कतार जाने भयो । उसैको सिपको काम । कन्सट्रकसन कम्पनीमा । कसो–कसो गरेर सुमनले मिलाइदिएको । अरुले के गरे कुन्नी ? सुबोधले पुरा एक लाख बुझायो । भिषा खर्च, टिकट खर्च, स्वस्थ परिक्षण खर्च, श्रम अनुमती खर्च, अन्य मसलन्द खर्च जस्ता मुख्य खर्च शिर्षक बाहिर । मिलाइदिएको खर्च । जानु अघिल्लो दिन छुट्टै खुवाएको खाजा–पानीको रन्कोमा भाबुक भएर सुमनले भनेको थियो, “जाबो एक महिनाको तलब त होनी ।”
कतारमा सुबोधलाई राम्रै ठाउँ परेको हो । उसको काम बिल्डीङ्गको फाउन्डेसन खन्ने । “हात्तिसुडे” गाडी चलाउन पर्ने । सुमनले “कन्र्फम” भनेको भन्दा आधा कम तलब बुझेको पहिलो महिना सुबोधभित्रको हिसाब डामाडोल भएको थियो । आउँदा–आउँदै आकाशमै बनाएको ३ बर्षमा फर्कने योजनामा एक बर्ष थपेर उसले हिसाब मिलान गर्यो ।
तर ३ वर्ष पछि नै सुबोधले नेपाल फर्कन पर्ने भयो, पहिलो छुट्टी मिलाएर ।
बिनिताका बुवाले फोनमा खबर सुनाउँदा, कतारमा सुबोधको मुटु भित्रैदेखि निचोरिएको थियो । मुटु निचोर्दा निस्कने होला, आँशु । आँशु बुझेर साहुले त्यो दिन आधा डुयुटीमै बिदा दिएको थियो । लगत्तै छुट्टी मिलाउन खोजेको थियो सुबोधले तर साहुले कसैगरे पनि मानेन । उसले आमा खसेको भोलिपल्ट दिनभरी खाल्डो खनेको थियो, बिल्डिङ्गको फाउन्डेसन । उता उसकी आमाको माटो पुर्ने अन्तिम संकार छिमेकी–कुटुब्ब मिलेर छिनेका थिए । आमा खसेको १ महिनापछि बल्ल सुबोधको ३ बर्ष पुरा भयो ।
फर्कदा देश पुरै नयाँ भएको थियो । गाउँ नयाँ भएको थियो । नयाँ संबिधान बनाउने छिना–झम्टी भने पुरानै पारामा चलिरहेको थियो । नयाँको समानअर्थी शब्द “राम्रो”, भन्ने भ्रमको पर्दा सबैतिर भ्वाङ्ग पर्न थालेको अवस्था थियो । घरमा आमा थिइनन्, सबैभन्दा बिझाउँने नयाँपन थियो, त्यो ।
बिनिताको भित्री इच्छा ठुलो बजारमा सर्ने थियो । उसका माइती त्यतै थिए । आमा बिनाको रित्तो घरमा छिर्दै सुबोधले भने त्यही घर–बारीमा नयाँ घर बनाउने निक्र्योल गरेको थियो । “आमाको शेखपछि पनि घर भने रहोस्” उसले बिनितालाई यतीमात्र भन्यो । विनिताले आफ्नो लोग्नेलाई निहाली र आफुभित्रीको इच्छा लुकाई ।
दुई बर्षपछिको दोस्रो छुट्टीमा आएर घर पुरागर्ने सोचमा थियो, सुबोध । तर अरु आवस्यकताहरु जन्मिए । छोरा–छोरीले रङ्गिन टेलिभिजन भनेर साह्रै कर गरे । बिनिता पनि उनै पट्टी लागी । तिनैका लागि त हो, ऊ बिदेशिएको, नाइ भन्न सकेन । केही पैसा त्यता खर्च भयो । छोरा छोरीको पढाई खर्च बर्षेनी बढ्थ्यो । कमाईको श्रोत एकै थियो तर खर्च शिर्षक थपिदै गएका थिए । घर खर्चमा पानीको पैसा, बिजुलीको पैसा, ग्यासको पैसा, अब थपिने केबलको पैसा, पोहोर देखी थपिएको टेलिफोनको पैसा समयक्रमसँगै नयाँ नयाँ खर्च शिर्षक थपिन्थे र पुराना खर्चहरु हलक्कै बढ्थे ।
सासु खसेपछि गाउँको बजारमा बिनिताले खाजा–पानीको होटल चलाएकी थिई । आफैले जाँड रक्सी बनाउँथी । “छोरा छोरी स्कुल, म एक्लै घर बसेर के गर्नु । यसो नुन–भुटुनको भरथेग हुन्छ”, बिनिताले सुबोधलाई फोनमै सम्झाएकी थिई । पछि छुट्टीमा आएकोबेला सुबोधले पसल बन्द गर्न कर गर्यो । “छोरा–छोरी ठुला भए, नराम्रो असर पर्छ ।” सुबोधको तर्क थियो । बिझेको भने उसलाई धुसनले सुनाएको गाइ–गुइ हल्लाले थियो । सुधनले सम्झउँदै भनेको थियो, “रक्सी खान कस्ता–कस्ता मान्छेहरु आउँछ ।” मनले बिनिताप्रति शंका गर्न नसके पनि धुसनको कुरो एक कानले सुनेर अर्को कानले उसै उढाउन सकेन सुबोधले । बिनिताले होटल बन्द गरी ।
देश अझै संविधान बनाउनमै व्यस्त थियो । क्यान्टोन्मेन्टमा कुर्दा कुर्दा बोर हुन थालेका कामरेडहरु सुबोध बाहिरिने फ्लाईटमा बाक्लै भेटिन थालेका थिए । लडाकु व्यवस्थापनको फुयजन प्रयास थियो रे त्यो । सुमन थापाहरु जस्ता भने “मिलाईदिएको” पैसा व्यवस्थापनमा व्यस्त थिए ।
सुबोधसँग घर एकैचोटी सक्न, पुग्दो पैसा कहिल्यै भएन । हरेक पटक सुबोधको मन उडेर भित्रिए पनि घिस्रिएर बाहिरिन्थ्यो । सुबोधले बल गरेर घोडा अठ्यायो । पटक–पटको भित्र–बाहिरमा सुबोधले बल्ल घर सकायो । त्यही घरको ओछ्यानमा निदाउँन प्रयासरत सुबोधभित्र विगतको घोडा दगुर्दै थियो । “कति घिसार्नु, अब यतै (भित्रै) केही गर्ने हो ।” अठोटका साथ सुबोध निदायो ।
********
देश संबिधान नबनेकाले आकाश खसेर किचिन लागेको अवस्थामा थियो । अन्तत, न्यायधिसले भाग दुई चुनाब गर्ने भए । पहिलाका भन्दा धेरै पार्टीहरु चुनाबमा भाग लिने भए । नयाँको राप–तापमा मुर्झाएका पुराना पार्टीहरु बिस्तारै बौरिदै थिए । केही भने धोका भयो छुट्टिन्छु भनेर दङ्याउने उपक्रममा लागे ।
सुबोधले हार्डवोयर राम्रैसँग थाल्यो । आफ्नै सालोपर्ने जग्गा दलाललाई केही दिएर बजारको घडेरी सल्टायो । किनेको पिकअपले राम्रै ट्रिप पाइरहेको थियो । सुबोध आफ्नै धन्दामा हराएको थियो ।
नयाँ चुनाबको मिती पनि आयो, सँगै उसको दशा पनि । उसले कुदाएको पिकअपले बाईकलाई हान्यो । कुदाउनेको दुबै हात भाँचियो । जोगाउन खोज्दा बाटोबाहिर मोडिएर सुबोधसहित पिकअप पनि पिल्टियो । उसका खुट्टा ठनक्कै भचियो ।
घटना लगत्तै बन्दको आवहान भयो । आक्रोसितले उसको पिकअप जलाईदिए । बाईकको तुलनामा उसको पिकअप ठुलो थियो । बाईकवालाको मापासेको चर्चै भएन । सुबोधले सम्पुर्ण उपचार खर्च र हर्जना तिर्नपर्ने भयो । उसको पक्ष लिएर केही मान्छेहरु लागे, कुरो मिलाइदिन । तिनले सकेसम्म घटाई दिए । घटाए बापत आफुले केही लिए पनि । हार्डवोयर पसल मासेर सुबोधले सबै तिर्यो र आफु नाङ्गै घरमा थन्कियो ।
केही उपया निस्किएन । अब बिनिता बाहिर जाने भई । भाषा सिकेर, इजरायल ।
सुबोध तङ्गरियो । उसको जीवनप्रतिको गुनासोभने झङ्गिदै गयो । अब, ऊ भित्र थियो, बिनिता बाहिर । ऊ घर खर्च चलाउथ्यो, बिनिता खर्च पढाउथी । फेसबुक च्याटमा अनुहार हेरेरै बेला मौका बिनितासँग कुरा हुन्थ्यो । यता रात पर्दा उता अझै दिउँसो हुने । कहिले ओभर टाइम डियुटी आवर । प्राय अधुरै कुरा सकाउनु पथ्र्यो ।
सुबोधको पुरानो साथी धुसन, फेरि मलेसिया उढेको थियो । बाहिर गएन, पैसो कमाएन, भनेर बुढी गनगन गर्छे भन्थ्यो । अब, धुसनकी स्वास्नी किराना पसल र पछाडि भन्साघरको व्यपारको साहुनी भएकी थिई । “नाना किसिमका आउँछन् धोक्न । नदिउँ, आफ्नो मेलो यही छ ।” धुसनकी स्वास्नी गुनासो गर्थी । “तपाईहुँदा भने मलाई ढुक्क र भर हुन्छ” सुबोधलाई भन्थी । सुबोध पनि सबै ग्राहक नगइन्जेल अबेरसम्म बस्न थालेको थियो ।
सुबोधका छोरी–छोरी दुबै तल ठुलो बजारमा डेरा बसेर पढ्न थालेका थिए । मध्यरातमा घर आउँदा पनि भएकै थियो सुबोधलाई । टोक्ने–रोक्ने कोही थिएन । मध्यरातमा, बिनितासँग कहिले काही कुरा हुन्थ्यो । बिनिता छोरीको नर्सिङ्गको पैसा पुर्याएर आउनपर्ला भन्थी, कहिले । कहिले आफुले स्यहार गरिरहेको आफ्नो बुढो साहु मरेपछि ।
एक दिन आफ्नै घरमा ताला लगाएर सुबोध गाउँबाट भाग्यो । धुसनको पसल पनि खुल्न छाड्यो । सुबोधसँगै भागेकी धुसनकी स्वास्नी गर्भवती भएकी थिई । सुबोध र धुसनकी स्वास्नी कता गए, कसैलाई थाह भएन ।
सुबोध, फर्किएर केही दाबी गर्न आएन । सुबोध हराएको एक बर्ष पछि बिनिता फर्केकी थिई । अब गाउँ पुर्ण बजार भएको थियो । कसो नचल्ला भनेर आफ्नै घरमा एउटा बियुटीपार्लर थाली ।
धुसन ३ बर्षमा फर्केर आयो । स्वास्नीको सोधखोज गर्ने झन्झट गरेन । बरु फेरि अर्को बिहे गर्यो, धुमधामसँग । छोरा–छारी नभइन्जेल बाहिर जान्न भनेर धुुसनले किराना मासेर हार्डवोयरको पसल थाल्यो ।
********
“अब भने म सधैंको लागि भित्र आए”, सोच्ने क्षमता अझै बाँकी भए, सुबोध यो सोचीरहेको हुँदो हो । कुन् छुट्टी थियो, अब त गन्ती पनि हराइसकेको थियो । बाकस भित्रको सुबोध यस्तै सोच्दो हो ।
देशको एकमात्र अन्तराष्ट्रिय बिमानस्थलको आगमन टर्मिनलमा धुसनकी स्वास्नी, सुबोधको छोरो च्यापेर बाकसभित्रको सुबोधको लाश कुरिरहेकी थिई । कुनै भाव नै थिएन उसको अनुहारमा, के लेखौ ।
त्यही बिमानस्थलको प्रस्थान टर्मिनलमा बिनिता छोरोलाई बिदा गर्न आएकी थिई । बिनिताको छोरो पहिलोपटक बाहिर जाँदै थियो ।
देशमा जसो–तसो नयाँ संबिधान बनेको थियो । देश चल्दो थियो । नयाँ–नयाँ बैदेशिक रोजगारका गन्त्व्य खुल्थे । भित्र–बाहिर खेल, अघोषित राष्ट्रिय खेलमा परिणत भएको थियो । खेलडी फेरिन्थे तर खेल भने जारी थियो । भित्र–बाहिर–भित्र–बाहिर…..।
विशेषत कथाको अन्त्य साह्रै मन पर्यो । अलि लामो भएकोले पहिला त पढ्नै मन लागेको थिएन । तर लेखाइ राम्रो छ ।
राम्रो लाग्यो
manoj बाबु को कथा सारै राम्रो …समय suhaaudo छ..