Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

राष्ट्रिय कविता महोत्सवमा पुरस्कृत कविताहरु यस्ता छन्

Posted on June 24, 2017June 24, 2017 by mysansar

नेपाल प्रज्ञा-प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय कविता महोत्सव ०७४ मा खोटाङका कवि चन्द्र रानाहँछाको आँधीको यात्रा शीर्षकको कविता पहिलो भयो। शुक्रबार भएको कार्यक्रममा सहभागी ३२ कविहरुमध्ये भोजपुरका सुवास राई क्याप्टेनको ‘फरक’ शीर्षकको कविता दोस्रो र दाङका दीपेन्द्र उपाध्यायको ‘लोकतन्त्र’, काभ्रेकी उर्मिला कोइरालाको ‘उज्यालोको आत्मकथा’ र काठमाडौंकी अमृता स्मृतिको ‘फूलहरु जान्दैनन् युद्ध गर्न’ कविता तेस्रो भयो। कस्ता छन् कविता? पढ्नुस्।

‘आँधीको यात्रा’

  • चन्द्र रानाहँछा

हातमा सपनाको फूल
र पाउमा घामको साइत बोकेर
पर्खिरहेछु अाँधीको यात्रा … ।

सखारैदेखि
मेरो बिदाइमा
गाइरहेछन् चराहरु
सुसाइरहेछ खोला
भुर्भुराइरहेछ आगो … ।

मलाई लिन
अँध्याराका सहश्र बाँधहरु भत्काउँदै
आउनेछ आँधी ।
कतै अल्मलिएला भनी बाटो देखाउन
मुस्कुराउँदै
उदाउनेछ जून ।

म हिँडेपछि –
गृहकार्य गरिरहेकी छोरीलाई
सोध्नेछन् अक्षरहरुले
जीवनको सौन्दर्य ।

एक्लै खेलिरहेको छोरालाई
टक्क रोकिएर बतासले
सोध्नेछ समय ।

साँझपख
आँसु पुछिरहेकी मेरी प्रियतमालाई
जलिरहेको मैनबत्तीले
बुझाउनेछ प्रेमको अर्थ ।

जुनबेला म –
गर्जिरहेको मेघ र रिसाइरहेको चट्याङलाई सम्झाउन
सद्भावको गीत गाउँदै छोइसक्नेछु आकाशलाई ।

काँप्नै लागेको भूकम्प र खस्दै गरेको पहिरोलाई छेक्न
उज्यालोको लौरो टेक्दै
पुगिसक्नेछु क्षितिजमा ।

मसँग –
मेरो हत्केला जो छ
मुठी कस्दा पृथ्वी बन्छ
मुठी खोल्दा आकाश खुल्छ ।

आमा !
यै हत्केलामा कोरिएको बाटोले डोर्‍याउँदै
एकदिन –
ल्याइपुर्‍याउनेछ मलाई तिम्रो काखमा ।

 

 

भोजपुरका सुवास राई क्याप्टेनको ‘फरक’

पहाडको चुल्ठो भरि फुलेको
गुराँसको रङ
र मधेसको मजेत्रो भरि लत्पतिएको
रगतको रङ

सूर्यको तापले पग्लिरहेको
हिमालको रङ
र आफ्नै पैतालाको प्रेमले
पृथ्वीमा उम्रेको पसिनाको रङ
फरक छन् रङहरू
तर तिमी भन्छौ –
रगत सबैको रातो हुन्छ
पसिनाको रङ उस्तै हुन्छ ।

जसरी फर्फराइरहेको सबै झण्डा
उचालिएका सबै मुठ्ठी
मुक्तिका लागि हुन सक्दैनन्
गाइएका सबै गीत
लेखिएका सबै कविता
परिवर्तनका लागि हुन सक्दैनन्

त्यसरी नै फरक छ
तिम्रो र मेरो संघर्ष
हो तिमी जुलुशको अघि-अघि फहराउँछौ विजयको झण्डा
शहीद मन्च, पार्टी कार्यालय र जन्मोत्सवहरूमा गाउँछौ गीत
म, कोदालो, बेल्चा र आफ्नै हात, पाउ शीर,शरीरलाई बनाउँछु झण्डा
भीर पहरा, खेत खलियान र आफ्नै असमायिक मृत्युमा
गाउँछु जीवनको गीत
तिमी भन्छौ विचारले दर्शनले उदेश्यले
हामी दुई छुट्टिनै नसकिने
गाढा रातो भइसक्यौँ
अथवा गहिरो नीलो भइसक्यौँ
र भन्छौ – रगत सबैको रातो हुन्छ
पसिनाको रङ उस्तै हुन्छ
तर मित्र !
मलाई थाहा छ
यो धर्तीको दुखको सहस्र अनुहार
त्यसैले, हामी उस्तै-उस्तै देखिए पनि
हामी दुबै गहुँगोरो देखिए पनि
फरक छ हाम्रो भित्री रङ
फरक छ हामी दुईको पसिनाको रङ ।

दाङका दीपेन्द्र उपाध्यायको ‘लोकतन्त्र’

म विश्व हूँ विशाल हूँ स्वतन्त्रता प्रशान्त हूँ

म भूपदेखि भुक्षुमा सुकर्म तारतम्य हूँ ।

म शान्तिपूर्ण दीप हूँ र शान्तिकै म मन्त्र हूँ

नयाँ भविष्य ल्याउने स्वयम् म लोकतन्त्र हूँ ।।

नरेट व्यर्थमै गला नमारिने विचार छन्

विचार वेग क्रान्ति हो र टाउकै हजार छन् ।

हजार काटिए भने लिएर लाख उठ्दछु

नरेटिने नमारिने अमर्त्य लोकतन्त्र हूँ ।।

सबै प्रजा समान हुन् म जातपात मान्दिन

प्रपञ्च गर्न लिप्त भै, म राष्ट्रघात जान्दिन ।

थिचोमिचो विरुद्धमा म लड्न तम्तयार छु

प्रजाधिकारपूर्ति नै हुने म लोकतन्त्र हूँ ।।

म रेल हैन लीकमा कदापि गुड्न सक्दिन

म पिल्सिएर दुर्दशा सहेर मौन बस्दिन ।

समस्त राज्यतन्त्रमा म एक मूलमन्त्र हूँ

अथाह चाहना हुने उही म लोकतन्त्र हूँ ।।

म सर्वश्रेष्ठ यान हूँ चलाउँछन् नि शासक

म खस्न सक्छु भीरमा परे भने कुचालक ।

खराबदेखि जोगिए सुमार्गमा म हिँड्दछु

प्रजा मताधिकारको सवार लोकतन्त्र हूँ ।।

हिमालको, पहाडको, मधेसको, म देशको सधै हितार्थ चाहने मिलाप हूँ स्वदेशको ।

अनेकभित्र एकता रुचाउने म मन्त्र हूँ प्रजा र राष्ट्र निम्ति निर्विकल्प लोकतन्त्र हूँ ।।

छ अन्धकार नै भने दियो जलाउने गर

दियो निभाउलान् अरु तिमी सचेतना छ र ।

युवा र नौजवानमा सदैव जग्जगाउछु

समस्त देशवन्धुको अनन्य लोकतन्त्र हूँ ।।

 

काभ्रेकी उर्मिला कोइरालाको ‘उज्यालोको आत्मकथा’

आँगनमै पोखिएको छ उज्यालो

कहिलेकाहीँ उज्यालो नै उज्यालोको बाधक भयो भन्छन् मान्छेहरु

अहँ म मान्दिन आफ्नै आँखा छोपेर कसरी भनुँ सुर्य अँध्यारो छ !

उज्यालो नै कुल्चिनुपर्छ उज्यालो पोखिएको आँगन पुग्नुपर्छ

मझेरीमा जहाँ छ अगेना आगोको पनि र चेतनाको पनि जस्तो

मझेरीमै चल्छ तातो बहस

घरघरको तातो भनेको आगोमात्र होइन

जस्तोः एक ओच्छ्यान न्यानो र एक पाखा छानो

जस्तोः एक गाँस भात र एक धरो लुगा

जस्तोः परिवारको एकता र सद्भाव

जस्तोः सुन्दर सपना र भविष्यको तानाबाना

सपरिवार बसेको अगेनाको छेउ

त्यो घरको संसद हो कार्यपालिका हो र न्यापालिका त्यै हो

उज्यालो आँगनमा राखेर अगेनाछेउ उँगिरहन्छौ त

आखिर उज्यालो आफैंले के दिन्छ ?

उज्यालो उज्यालो मात्रै पनि हैन

उज्यालोकै छातीमा छ हिजोको गहिरो अँध्यारो

उज्यालोको आँखामा छ रगत र रगत टेकेर उठेको विश्वास बन्द निश्वास,

उकुसमुकुस र छातीको ढुकढुकी किताबका जस्तै पाना हुन्छन्

उज्यालाका पनि पानापानामा छन् युद्ध र बुद्ध

पानापानामा छन् चीत्कार र निर्वाण विद्रोह र मुक्ति

पानापानामा हामी सबै अट्छौं र अटेकाछौं त्यही उज्यालोमा

नझुक्किनु डढेलो र घर जलेको आगो उज्यालो होइन

खास उज्यालो त शान्ति भएर उभिन्छ

समृद्धि भएर फल्छ र मुसुक्क मुस्कुराउँछ निर्दोष ओठभरि !

आँगनमा छ उज्यालो र आँगनै टेकेर निस्कनुछ यात्रामा

आफैं उज्यालो नभई बाँड्न सकिन्न

उज्यालो छाँया राखेर आफ्नो गोडामा

उज्यालो बाँडेर उभिन्छ उज्यालो

उज्यालो आफुतिर राखे देश अँध्यारो हुन्छ

देश उज्यालो पार्न गोडामा अँध्यारो सहनुपर्छ

यात्रामा सबै छन् तर प्रष्ट छैनन्

उज्यालोको ऐनामा आफै मुहार हेर्ने कि देश हेर्ने ?

अमृता स्मृतिको ‘फूलहरु जान्दैनन् युद्ध गर्न’

फूलहरु जान्दैनन् युद्ध गर्न

उडाउँदैनन् कहिल्यै हठले भरिएको बेलुन

ओठहरुमा शब्दहरुको रमिता भिरेर

देखाउँदैनन् सार्वजनिक मञ्चहरुबाट तमासा

सुनगाभा र मखमलीहरुले वेदनाको हाट लगाएर

कहिल्यै गरेनन् वर्षौंदेखि मुटुभित्र पोलिरहने आगोको कुरा

गुनगुनाएनन् आँधीले लछार-पछार गरेका गुनासाहरु

किनकी हृदयमा बुद्ध बोकेर हिँडेका उनीहरुहरुलाई

गर्नुछैन युद्ध

अचम्म भएको छ यसपाली

फूलदानीमा बैठक बसेका छन्

कलिला फूलहरु छलफल गरिरहेका छन् दै

निक जस्तो हजारौंको सपना बोकेर उड्ने जहाज

मरूभूमिमा अवतरित हुँदै हराएका नूपुरहरुको

भ्रमको पर्दा च्यातेर म नियाली रहेछु

ती फूलहरुलाई र सोची रहेछु

फूलहरु किन जान्दैनन् युद्ध गर्न ?

मैले अनुभूत गरेको छु

उनीहरुको बैठकपछिको छलफललाई कदर गर्दै

हराएका खुस्बुहरुको निमित्त

आँखाहरुको बादल हटाउन

मैले लेख्नुपर्छ फूलहरुको कविता

म कविताहरु ओढेर शब्दहरुको जुलुस मात्र निकाल्न चाहान्न

काँडाहरुलाई काव्यको बल्छीमा उनेर बनाउन चाहान्छु

फूलहरुको देश

गोधुलीमा गुलाबी रङ्ग बोकेर

यो हावाको खल्तीमा सुटुक्क सुवास पठाएको छु

तिम्रो बगैंचामा रत्यौली खेल्न

अब तिम्रो बगैंचामा फूलहरुका निमित्त

यस्तो रत्यौली नाचिने छ

जस्तोकी फूलहरु निचोर्दै रङ्गीन बनेर

मात्तिएका सिउँडीका काँडाहरु स्वयं छिया-छिया हुनेछन् ।

प्रत्येक रातहरुलाई पुनम बाँडिनेछ

शुक्लपक्षसँगै उदाउनेछ

पूर्वी किरण र त्यही बगैंचाबाट निस्कनेछ

विचित्र रङ र भुगोल बोकेर एकहुल पुतलीको जुलुस

निसाफ माग्नेछन् उनीहरु

भविष्यसँग वर्तमानले गरिरहेको खेलवाडको

त्यतिबेला पनि फूलहरु जान्दैनन् युद्ध गर्न

किनकी मनमा बुद्ध बोकेर हिँडेका उनीहरुलाई गर्नुछैन युद्ध ।

 

2 thoughts on “राष्ट्रिय कविता महोत्सवमा पुरस्कृत कविताहरु यस्ता छन्”

  1. cRIS says:
    June 26, 2017 at 12:53 pm

    गज्जब!

    Reply
  2. Shankar says:
    June 24, 2017 at 7:07 pm

    लु पढम पेट भरि कबिता | ह्याभ अ नाइस विकेन्ड|

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme