Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पूर्व प्रधानसेनापतिहरुसहितको भेलामा देश टुक्रने सेनाको चिन्ता

Posted on June 19, 2017 by Salokya

आर्मी हेडक्वार्टरमा आइतबार एउटा महत्त्वपूर्ण बैठक बस्यो। बैठकमा प्रधान सेनापति राजेन्द्र क्षत्री लगायत नेपाली सेनाका पूर्व प्रधानसेनापतिहरु पनि उपस्थित थिए। त्यसैगरी बहालवाला र पूर्व रथी अर्थात् लेफ्टिनेन्ट जनरलहरु उपस्थित थिए। बैठकमा के भयो, त्यो त हामीले थाहा पाउने कुरा भएन। तर बैठकपछि सेनाले जारी गरेको प्रेस विज्ञप्ति भने अर्थपूर्ण छ। विज्ञप्तिमा औपचारिक शब्दहरुमात्र खेलाउने सेनाले हिजो जारी गरेको विज्ञप्तिमा भने स्पष्ट शब्दमा दुई तीन कुरा गरेको छ। देश टुक्राउने तत्व सक्रिय रहेको पनि त्यसमा उल्लेख छ। विज्ञप्तिका प्रमुख कुरा यस्ता छन्-


१) हाल राष्ट्रिय सुरक्षाको दृष्टिले देशमा उत्पन्न चुनौती बारे प्रधान सेनापतिले चर्चा गरेको।

२) नेपालको राष्ट्रिय एकता तथा भौगोलिक अखण्डतामा आँच पुग्ने कुनै पनि प्रकारका गतिविधिहरु नेपाली सेनाकोे लागि कदापि स्वीकार्य नहुने

३) वर्तमान तरल परिस्थितिको फाइदा उठाउँदै केही विखण्डकारी तथा राष्ट्रिय अस्थिरता पैदा गर्ने तत्वहरु सक्रिय हुँदै आएको छ।

४) यसको समाधान राजनैतीक तहबाट नै हुनुपर्छ

५) संविधानले निर्दिष्ट गरेको आफ्नो जिम्मेवारी पूरा गर्न नेपाली सेना कदापी पछि नहट्ने


यस्तो छ विज्ञप्तिको पूरा विवरण-

नेपाली सेनाका प्रधान सेनापति, पूर्व प्रधान सेनापतिहरु तथा वहालवाला एवं अवकाश प्राप्त रथीवृन्दसँग जंगी अड्डामा भेटघाट तथा अन्तरक्रिया

१. आज मिति २०७४ असार ०४ गते जंगी अड्डा, भद्रकालीमा प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री लगायत नेपाली सेनाका पूर्व प्रधान सेनापतिहरु तथा वहालवाला एवं पूर्व रथीवृन्दबीच भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाली सेना सम्बन्धि विभिन्न गतिविधि तथा राष्ट्रिय सुरक्षासँग संवद्ध समसामयीक विषयहरुमा नियमित रुपमा सेनाका बहालवाला तथा निवर्तमान वरिष्ठ रथीवृन्दबीच हुने भेटघाट तथा अन्तरक्रियाको क्रममा जंगी अड्डामा उक्त कार्यक्रम भएको थियो ।

२. सो कार्यक्रमलाई संवोधन गर्दै प्रधान सेनापति महारथी श्री क्षत्रीले नेपाली सेनाको समयसापेक्ष सुदृढिकरण तथा क्षमता विकासको लागि हाल भईरहेका गतिविधिहरु बारे संक्षिप्त जानकारी गराउनुको साथै हाल राष्ट्रिय सुरक्षाको दृष्टिले देशमा उत्पन्न चुनौती बारे चर्चा गर्नु हुँदै नेपालको राष्ट्रिय एकता तथा भौगोलिक अखण्डतामा आँच पुग्ने कुनै पनि प्रकारका गतिविधिहरु नेपाली सेनाकोे लागि कदापि स्विकार्य नहुने कुरा उल्लेख गर्नुभयो । देशको वर्तमान सुरक्षा स्थिति बारे चर्चा गर्नु हुँदै वर्तमान तरल परिस्थितिको फाइदा उठाउँदै केही विखण्डकारी तथा राष्ट्रिय अस्थिरता पैदा गर्ने तत्वहरु सक्रिय हुँदै आएको हुँदा यसको समाधान राजनैतीक तहबाट नै हुनुपर्ने र संविधानले निर्दिष्ट गरेको आफ्नो जिम्मेवारी पूरा गर्न नेपाली सेना कदापी पछि नहट्ने कुरा उपस्थित रथीवृन्दलाई जानकारी गराउनु भयो ।

३. समयसापेक्ष नेपाली सेनाको सुदृढिकरण तथा क्षमता विकास गर्ने क्रममा सांगठनिक संरचनालाई व्यवहारिक तथा थप प्रभावकारी बनाउने उद्देश्यले प्रस्तावित संशोधित पुनर्ढाँचा नेपाल सरकारबाट स्वीकृत भई लागू भईसकेको र संगठनको दक्षता विकासका लागि आवश्यक साधन तथा स्रोतको व्यवस्थापन भईरहेको तथा अत्यावश्यक सैनिक सामाग्रीको लागि नेपाली सेनालाई आत्म निर्भर बनाउने प्रयास भईरहेको पनि जानकारी गराईएको थियो । सो कार्यक्रममा वर्तमान सुरक्षास्थितिको विश्लेषण, नेपाली सेनाबाट भईरहेका गतिविधि, नेपाली सेनाको वर्तमान संगठन संरचना तथा कल्याणकारी गतिविधी बारे जानकारी गराईएको थियो ।

४. उक्त अवसरमा पूर्व प्रधान सेनापति र रथीबृन्दहरुले राष्ट्रिय सुरक्षा तथा समसामयिक विषयमा धारणा राख्नु भएको थियो । बलाधिकृत रथी श्री बलदेवराज महतले उक्त कार्यक्रमको समापनको क्रममा प्रधान सेनापतिज्यू लगायत पूर्व प्रधान सनापतिहरु एवं बहालवाला तथा पूर्व रथीवृन्दको उपस्थिति तथा सह्रानिय राय सुझावहरुको लागि धन्यवाद व्यक्त गर्नु भएको थियो । सो कार्यक्रममा पूर्व प्रधान सेनापतिहरु तथा बहालवाला एवं पूर्व वरिष्ठ रथीवृन्दको उपस्थिति रहेको थियो ।

7 thoughts on “पूर्व प्रधानसेनापतिहरुसहितको भेलामा देश टुक्रने सेनाको चिन्ता”

  1. shyam says:
    June 25, 2017 at 2:56 pm

    आर्मीले देश टुक्रिनबाट जोगाउने भय पूर्व-पाकिस्तानबाट बंगलादेश बन्न सम्भव हुन्थेन होला | नेपाली सेना विदेशमा शान्ति कायम गर्न त सफल भएकै हो | UN शान्ति सेनामा जस्तो सजिलो नेपाल भित्र हुदैन कि क्या हो? नेपालमा ५ वर्ष (२०५८-२०६३) सम्म त सैनिक शासन नै थियो हैन त? त्यस पछि मात्र देशभित्र विखनडनको बिउ रोपियेजस्तो लग्छ| फेरि हाम्रो देशको सेना त्यति सम्पन्न (सैन्य शक्ति तथा सैन्य उपकरणतर्फ) पनि छैन जति छिमेकी देशको सेना हरु छन् कि कसो?

    Reply
  2. Shankar says:
    June 21, 2017 at 4:57 pm

    यो एक्काइसौ सताब्दीको कुरा छोडौ , १०० देखि २००० सम्म विश्वका धेरै देश एकात्मक राज्य सत्ता बाट चलेको थ्यो , त्यो दिक्तेटर प्राय राजा हुन्थ्यो बा रास्ट्रपति , उसैले सबलाई पिटेर देश चलाउथ्यो | आसेपासे ले मोज गर्थे , उनीहरुको आफ्नो हात जगन्नाथ हुन्थ्यो फेरी पनि न्याय ब्यबस्था को कुरा हुन्थ्यो , गरिब ले पनि न्याय पाउने कुरा हुन्थ्यो |
    जब गोराहरु इन्डिया छिरे , पहिले नै मुसलमान ले सयेउ बर्स देखि नोकर बनाएको इन्डियन हरु हिन्दु भए पनि असला मलेकु गर्दा गर्दा वाक्क भएको , स्यालुट गर्न पाउदा , अनुहार अंगार जस्तो कालो , मन चै खैरे भएको महसुस गरे |खैरेले ठुसिदिएको प्रजातन्त्र यो इन्डियन , पाकिस्तानी हरु लाइ न पचेर छेरिरहेको अबस्था छ | पाकिस्तान लग्बग खत्तम भएको छ , दुनिया मा आतंकबादी देश को छबि बोकेको छ , इन्डिया भ्रस्ट र स्क्याम हरुको देश भन्ने इम्प्रेसन पश्चिमा हरुको मन मस्तिस्क मा छ | उसो त् नोकर को पनि नोकर( खैरेको १०० बर्से नोकर र अहिले पनि मानसिक नोकर , इन्डियन हरु र इन्डियन ले पनि पेल्ने हामीहरु ) र चम्चाको पनि चम्चा बन्दा पनि नेपालि ले आफुलाई बहादुर भने जस्तै इन्डियन हरु पनि आफुलाई ठुलो प्रजातान्त्रिक देश , प्रगति सिल , सफ्टवेर मा बिस्व लाइ उछिन्ने , चांद मा पुगेको , आणविक देश भनेर खोक्छ |
    तर यथार्थ मा पुर्बिय सभ्यता इन्डिया मा क्रमश हराउदै छ , इस्लामिक सभ्यता पाकिस्तान मा हराउदै छ | इनिहरु क्रमश आधा पुर्बिय , आधा पश्चिमा , न एताको न उताको बडो विकृत छ | तेसैले जति धनि भएपनि धेरै इन्डियन हरु अमेरिका , क्यानाडा , पश्चिमी देश पलायन हुन् चाहन्छन | मूल कारण देश मा गुण्डा राज , भ्रस्ट को राज , अब्यबस्था , असुरक्ष्या आदि हो |
    यो सब कुराको मूल जड र निचोड यिनीहरुले पश्चिमा प्रजातन्त्र फलो गरेर हो , न ओकल्नु न निल्नु , यिनीहरु फेरी अर्को १०००० बर्स खैरेको नोकर हुन्छ |
    भेडा बाख्रा लाइ प्रजातन्त्र ले हुदैन , गोठालाको लट्ठी नै चाहिन्छ |
    अब एकात्मक राज्य सत्ता भएको चीन हेरम , अमेरिका लाइ पनि बिकास र प्रगति मा पछि पारिसकेको छ | आर्थिक प्रगति राम्रो हासिल भएकोले क्रमश प्रजातन्त्र तिर जादो छ |
    त्यो हो नि त् तरिका |
    नेपाल त् झन् इन्डियन मोडेल लादिएको , सधै धोति हरुको आक्रोश को सिकार देश |
    टुक्रिने मात्र हैन धुलो , धुलो भएर बिलाउने बाटो मा छ |
    सब खाते , पाखे चोर हरु नेता , ठुला ठुला कुरा मात्र गर्ने , बादर जस्तो छ | भाग लगाएर , पालै पालो खान्छ | काम जिरो |
    येउतै बिकल्प
    एउटा रास्ट्र प्रमुख , कम्तिमा ५ बर्स देश चलाउने , न्याय पालिका ,अख्तियार ससक्त बनाउने |
    येसो हुन् सक्छ त् सक्दैन , किनभने प्रचण्ड महान क्रान्तिकारी मन्डेला , देउवा प्रच्जातान्त्र्को को मसिहा , ओली न भए नेपालै न रहने , माकुने असाध्यै सक्ति भएको गैडा , बाबुराम असाध्येइ पढेको सधै बोर फास हुने नेता तर देश सदै इमर्जेन्सी वाड मा |

    Reply
  3. Karbir says:
    June 20, 2017 at 4:27 pm

    लैजाओ हो सेना ! देश चलाओ तिमीहरुले, खाते नेताहरुले देश बर्बादै पारे आफ्नो कनडो र श्रीमती समेत उतै सब दिइसके अब यो सालाखाला रहेको देश मात्रै दिने बाँकी छ ! त्यसैले लैजाओ तिमीहरुले चलो देश

    Reply
  4. Binita says:
    June 20, 2017 at 4:11 pm

    भित्र भित्रै जति नाटक गरे पनि बाहिर नेता देख्ने बित्तिकै जुत्ता बजाएर सलाम ठोक्ने बानी हामीलाई थाहा नभएको हो र ???

    Reply
  5. Alfa says:
    June 19, 2017 at 9:28 pm

    के यो सम्भावित कू को पूर्वाभ्यास हो ?
    जनमानसले यस्तो विज्ञप्तिलाइ कुन रुपमा ग्रहण गर्छ त्यसको लागि पनि टेस्ट गरिएको हुनसक्छ . होइन भने आर्मीको यस्तो छलफल नियमितजसो हुन्छ र अरु बेला विज्ञप्ति विरलै जारी गरिन्थ्यो .
    दाल मे कुछ काला है कि क्या हो ?
    ( देश को अवस्था हेर्दा छिमेकीले हावा नभर्लान भन्न सकिन्न )

    Reply
  6. Dr. Banita Thapa says:
    June 19, 2017 at 4:17 pm

    यो देस लैजा भनेर भने पनी कसैले लाग्ने होइन, दुखको कुरा देस बिदेशी कुतत्व को खेल मैदान भयो. हामीले नेता भनेका दलाल हरुले यो देसमा कहिले पनी शान्तिले बाच्न नदिने भए. यो सेना पनी गर्ने नाम मा माखो मार्ने होइन केवल देस टुक्रिन लायो भनेर कराउने मात्र रहेछ अर्थात् कागजको बाघ हो. नेपालमा सेनाको नाममा खर्च गर्नु बालुवामा पानी हाले बराबर हो.

    Reply
  7. m b khatri says:
    June 19, 2017 at 12:37 pm

    जुन नेताले देस टुक्राटुक्रा प्रान खोजदै छन।उनीहरुलाइ 10 साल्को जेल।सुनाउनु पर्छ

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme