Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कथा : विपीको अदालत

Posted on June 17, 2017June 17, 2017 by mysansar

-राजु अधिकारी-

आफ्नो मृत्यु पछि श्रद्धाञ्जली दिन उर्लेको जनसागर देखेर गिरिजा प्रसादलाई निकै सन्तोष भयो। आफुले देश र जनताको लागि गरेको त्याग र नेतृत्वमाथि उनलाई गर्व महशुश भयो। उनी शान्त मुद्रामामा यमराजका दुतहरु संग परलोकतिर लागे। उनलाई बिश्वास थियो उनको बास स्वर्गमा हुनेछ।
परलोक पुगेर उनलाई एउटा बैठक कोठामा राखियो। त्यो बैठकको दायाँ र बायाँतिर बडेमानका ढोकाहरु थिए, दुवै ढोकाहरु बन्द देखिन्थे। एकैछिनमा एउटा स्वचालित मसिन आएर गिरिजाको आँखामा हे-यो, अनि तुरुन्तै बायाँतिरको ढोका आफै खुल्यो। त्यहाँबाट दुइवटा भुसतिघ्रे निस्केर गिरिजाको दायाँ र बायाँ हात समातेर भित्र लगे।

भित्र निकै कोलाहल थियो। मान्छेहरु एक आपसमा लडिरहेका थिए। कुनै भोकले रोइ रहेका थिए कुनै घाउ दुखेर चिच्याई रहेका थिए। त्यस्तो ठाउ देखेर गिरिजाले सोधे- ‘यो कुन ठाउँ हो?’

‘नर्क भनेको यही हो’, भुसतिघ्रे मध्यको एउटाले भन्यो।

‘मलाई किन नर्कमा ल्याएको?’ गिरिजाले अलि झोक्किदै भने।

‘त्यो हामीलाई सोध्ने कुरा होइन, तिम्रो आफ्नै कर्मले तिमीलाई यता ल्याएको हो’, अर्को भुस्तिघ्रेले ठाडो जवाफ फर्कायो।

एकैछिनमा उनीहरु चित्रगुप्तको कार्यकक्षमा पुगे।

‘को आएको छ?’ चित्रगुप्त आफ्नो पुस्तक हेर्दै थिए र टाउको पनि नउठाई सोधे।

‘गिरिजाप्रसाद कोइराला’, भुस्तिघ्रेले भन्यो।
‘ओ , गिरिजा प्रसाद कोइराला? स्वागतम, स्वागतम, निकै प्रतिक्षा गर्नु पर्‍यो’ चित्रगुप्तले टाउको उठाउदै भने।

चित्रगुप्तको भयानक रुप देखेर गिरिजा तर्सिए।

‘भोलि विपीको अदालतमा हाजिर गराउने आदेश छ। आज उनलाई नारकीय हिरासतमा राख्नु, उनले चाहेमा आफ्नो वकिल आज खोज्न सक्छन। भोलि बिहानै अदालतमा हाजिर गराउनु’ त्यति भन्दै चित्रगुप्तले गिरिजालाई हिरासतमा लग्न भुस्तिघ्रेहरुलाई इशारा गरे।

उनीहरुले गिरिजालाई हत्कडी लगाई अर्को कोठामा लगे। गिरिजालाई के भै रहेको छ भन्ने थाहा थिएन।

अर्को दिन बिहानै गिरिजालाई विपीको अदालतमा हाजिर गराइयो र उनलाई कठघरामा ल्याइयो।

न्यायाधिसको कुर्शीमा गिरिजाकै दाजु विपी विराजमान थिए। दाजुलाई देखेर गिरिजा खुशी भए अनि उनीतिर शीर झुकाए। दाजु मुस्कुराए।
गिरिजालाई त्यतिबेलासम्म अझैं थाहा थिएन उनलाई किन त्यहाँ अदालतमा उभ्याइएको थियो। तर जस्तोसुकै अपराध भए पनि सफाइ पाउनेमा उनी ढुक्क थिए किनभने उनकै दाजु न्यायाधिसको कुर्शीमा थिए।

त्यसपछि गिरिजाले यताउता नजर घुमाए।

बिपी बसेको ठाउँ भन्दा माथिको लहरमा न्यायधिसको वरिष्ठ सल्लाहकारको रुपमा पृथ्वीनारायण शाह बसेका थिए।
दर्शक दिर्घाको पहिलो लहरमा गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र मनमोहन अधिकारी थिए। वकिलको कुर्सीमा मदन भण्डारी थिए। दर्शकदिर्घाको पछिल्ला लहरहरुमा अरु धेरै चिनेका र नचिनेको अनुहारहरु थिए।

उनले मनमनै आफुले देश र जनतालाई लगाएको गुनको त्यहाँ हिसाब किताब गरिन लागेको र उनलाई सम्मान हुन लागेको उनले अनुमान लगाए अनि मनमनै मुस्कुराए। तर उनले सोंचे- किन यो हतकडी? सायद उनले कुनै नराम्रो काम गरेको हुनुपर्छ। त्यो सोंचाईले उनको मुहार फेरि मलिन भयो।
एकछिन पछि विपीले काठको हथौडा ठोक्दै अदालतको कार्यवाही शुरु भएको जानकारी गराए।

‘अभियुक्तको वकिल देखिदैन नि?’ उनले अदालत सहयोगीलाई सोधे।

‘छैन श्रीमान। हामीले खोजी गर्‍यौ तर कसैले पनि उनको पक्षमा वकालत गर्न मानेन।’

‘ल त ठिकै छ , कारबाही अगाडि बढाऔँ।‘

मदन भण्डारी वकिलको कुर्सीबाट उठेर गिरीजातिर देखाउंदै शुरु गरे-‘ श्रीमान, गिरिजा प्रसाद कोइराला नेपाल र नेपालीको अहिलेको स्थितिको लागि दोषी छन्, उनले पद र शक्तिको दुरुपोग गरेर, नाताबाद, कृपावाद, घुसखोरी लाई बढावा गरेर नेपाल र नेपालीलाई अहिलेको दयनीय स्थितिमा पु-याएका हुन्। उनलाई कडा भन्दा कडा कारबाही हुनु पर्छ श्रीमान।’

‘तपाईसंग त्यो प्रमाणित गर्न ठोस प्रमाणहरु छन्?’

‘अनुमति भए म केहि साक्षीहरु पेश गर्न चाहन्छु श्रीमान।’

‘अनुमति छ।‘

‘म सबभन्दा पहिले गणेशमान सिंहज्यु लाई पेश गर्न चाहन्छु।‘

गणेशमान आफ्नो दर्शकदिर्घाको कुर्सिबाट उठेर कठघरामा पुग्छन।

अदालत सहयोगीले गणेशमानलाई छातीमा हात राखेर बाचा गर्न इशारा गर्छन।

गणेशमानले आफ्नो दाहिने हात बायाँ छातीमा राखेर भन्छन- ‘म नेपाल र सम्पूर्ण नेपाली जनतालाई साक्षी राखी कसम खान्छु की यो अदालतमा म जे बोल्नेछु सत्य बोल्नेछु।‘

मदन भण्डारी गणेशमान उभिएको कठघरातिर पुगेर सोध्छन –‘ गणेशमानज्यु , तपाई र गिरिजा प्रसाद त निकै समय संगै बसेर काम गर्नु भयो, तपाईलाई गिरिजा प्रसाद कस्तो व्यक्ति लाग्छ, के उनी साँचै नै नेपाल र नेपालीको बर्तमान अबस्थाका लागि जिम्मेवार छन्?’

‘मैले गिरिजालाई नेता भन्दा पनि वि पी को भाइको नाताले चिन्छु। बीपीको देहावसान पछि बिपीको भाइको नाताले हामीले उनलाई पार्टीको उच्च पदमा ल्याएका हौं। तर उनले त्यहाँ पार्टी हितको लागि भन्दा पनि पार्टीमा आफ्नो बर्चस्व जमाउनको लागि काम गरे। प्रजातन्त्र प्राप्ति पछि उनको त्यो व्यवहार स्पष्ट रुपमै सबैसामु छताछुल्ल भयो। उनले बिपीको नेपालको सुन्दर भबिष्य राष्ट्रियता, प्रजातन्त्र र समाजवाद बाट मात्रै सम्भव छ भन्ने मान्यताको दुरुपयोग गरि राष्ट्रियता माथि नै आंच आउने गरी भारत संग असमान सम्झौता गरे। देश त के आफ्नै पार्टी पनि प्रजातान्त्रिक पद्धतीले चल्न दिएनन, पटक पटक आफैले गरेका निर्णय र बाचा हरु लत्याएर व्यक्तिगत र पारिवारिक फाइदाका लागि आफु नमर्दा सम्म पदमा बसी पार्टीलाई एउटा मान्छेको पेवा जस्तो बनाए। देशमा भएका उध्योग र कल कारखाना लाई निजीकरण को नाममा अन्धाधुन्ध बन्द गराएर देशलाई पराधिनताको बाटोमा लाग्न बाध्य बनाए। त्यसको परिणाम- देशको उर्जनशील युवा वर्ग अहिले बाह्य देशमा दाशको रुपमा काम गर्न बाध्य छ। त्यसैले उनी श्रीमानले प्रतिपादन गरेको पार्टीको मुलभूत सिद्धान्तमा कहिले पनि चलेनन। त्यसकारण बिधान अनुसार उनलाई कडा भन्दा कडा कारबाही हुनु पर्छ श्रीमान’।
‘तिमीलाई यसबारे केहि भन्नु छ गिरिजा?’

‘माल्दाजु म कस्तो मान्छे हुँ भन्ने हजुरलाई पनि थाहा भएकै कुरा हो, हजुरको सिद्धान्त जस्तो गहन बिषय मेरो दिमागले विश्लेषण गर्न सक्ने कुरो थिएन। मेरो सानो दिमागले जे सहि देख्यो त्यहि गरें। बीपीको भाइ भनेर पहिले पहिले कसैले पार्टीमा प्रश्न उठाएनन् , पछि पछि मेरो आत्म बिश्वास र पार्टीमा पकड बढ्दै गयो, प्रश्न उठाउनेहरु अल्पमतमा परे, अनि मेरो हैकम सधैंको लागि स्थापित भयो। पछि पछि सायद जानेरै पनि मैले कतिपय कामहरु देश र जनता को भविष्य मा दुरगामी र नकारात्मक प्रभाब पर्ने गरी गरें , त्यसको लागि म क्षमा प्रार्थी छु।

बिपी गम्भीर हुँदै भने- ‘ गिरिजा सर्बप्रथम त म यहाँ तिम्रो दाइ हैन, अदालतको न्यायधिसको रुपमा बसेको छु, त्यसैले मलाई अरुहरुले जसरि सम्बोधन गरेका छन् उसै गरी सम्बोधन गर्नु पर्छ, अर्को कुरा म यो कुर्सीमा बस्दा आफ्नो भावनाका आँखाहरु बन्द गरेर कानुनको आँखा मात्रै खोल्नु पर्छ। तिमी यहाँ मेरो भाइ होइन एउटा अभियुक्तको रुपमा उभिएका छौ, तिमीले मेरो तर्फ बाट कुनै पनि सहुलियतको आशा नगर्नु। यो तिम्रो राज होइन जहाँ तिमीले दण्डहिनतालाई सहारा दिएका थियौ। यो बीपीको अदालत हो जहाँ गल्ती गरेकाले सजाय अबश्य भोग्नु पर्छ। यदि तिमीले पनि आफ्नो पदको सही उपयोग गरेर आफ्नो अधिकार क्षेत्रमा रही आफ्नो कर्तब्य पुरा गरेको भए आज तिमी यो कठघरामा उभिनु पर्ने थिएन। तिमी आफैले गल्ति स्वीकार गरेर अब चाहिं सुध्रन सक्छौ की भन्ने आशा दिलाएका छौ जुन सकारात्मक कुरो हो। तर गल्ति स्विकार्दैमा तिम्रो सजायमा कुनै कमी आउने छैन।’

यसै बीच मदन भण्डारीले अर्को गवाह पेश गर्ने अनुमति माग्छन। न्यायाधिसको स्वीकृति पछि उनले मनमोहन अधिकारीलाई पेश गर्छन।

‘मनमोहनजी तपाई त गिरिजा प्रसादको समकक्षी पनि हुनुहुन्छ, उनको नातेदार पनि हुनुहुन्छ, तपाइको गिरिजा प्रसादप्रति अभियोग अथवा प्रतिक्रिया के छ?’

मनमोहन ले आफ्नो सफेद ‘फ्रेन्च कट’ दाह्री देब्रे हातले मुसार्दै भने,-‘ श्रीमान अरुहरुले गिरिजालाई चतुर राजनीतिज्ञको रुपमा चित्रण गररे पनि म उनलाई मुर्ख राजनीतिज्ञको संज्ञा दिन्छु। आफ्नो भलिभाँती स्पष्ट बहुमत भएको संसद बिघटन गरी विपक्षलाई चुनाव जित्नको लागि पुनर्निर्वाचन गराउने प्रधानमन्त्रीलाई मैले मुर्ख नभनेर के भन्ने श्रीमान? त्यही संसद बिघटन नै नेपाली समसामयिक राजनीतिको र नेपाल र नेपालीको दुर्भाग्यको शुरुवात थियो। त्यही घटनाले नेपाली राजनीति मा अस्स्थिरता को शुरुवात भयो, नाताबाद र घुसखोरी मौलायो, जनताको प्रजातन्त्र प्रतिको विश्वास गुम्यो, न्यायालयमा राजनीति हस्तक्षेप भयो अनि सबभन्दा क्रुर सत्य त के हो भने त्यही अस्थिरताले गर्दा जनताले सामाजिक र आर्थिक विकास देख्न पाएनन् र माओबादीको जन्म भयो। यदि संसद बिघटन नगरेको भए र तत्कालिन प्रधान न्यायधिसले गिरिजाको लहलहैमा नलागेर संसद बिघटनलाई स्वीकृति नदिएको भए, प्रजातन्त्रको आधारशिलामा नेपालले एक दुइ दशक मै बिकासको शिखर चुम्ने थियो। समाबेशिता, सामाजिक न्याय अनि राष्ट्रियता स्वत स्थापित हुने थियो। न त जनयुद्ध हुने थियो, न त अहिले को बर्गीय, क्षेत्रीय, भाषिक अनि धार्मिक विभाजनमा देश फस्नु पर्ने थियो। त्यसैले हजारौं नेपालीको ज्यान लिने जनयुद्धका प्रमुख सुत्रधार गिरिजा नै हुन् त्यसैले उनलाई जनहत्या को आरोपमा कठोर सजाय दिनु पर्छ।‘

मनमोहनको बयानपछि मदन भण्डारीले कृष्णप्रसाद भट्टराईलाई अर्को गवाहको रुपमा प्रस्तुत गरे।

कृष्णप्रसाद- ‘गिरिजा बेइमान अनैतिक मान्छे हुन्, त्यो त श्रीमानलाई पनि प्रष्टै भएको कुरा हो। गिरिजाको बेइमानी ले गर्दा देश र जनताले त् दुख पाए नै, तर सबभन्दा दुख पाउने मान्छे सायद म नै हुँला। आफु प्रधानमन्त्री हुनको लागि आफ्नै पार्टीको अध्क्षयलाई चुनावमा अन्तर्घात गर्नु कति सम्म बेइमानी हो? आफैले गरेको हस्ताक्षरको मसि सुक्न नपाउंदै पदको लोभमा सहमति तोड्नु कतिसम्मको अनैतिकता हो? पदको खेलमा सांसद किनबेच गराउनु, पार्टी फुटाउनु, पार्टीको सिद्धान्त बिपरित समाज भांड्न खोज्ने तत्वहरु संग मिलेर देशमा हचुवा भरमा संघियता लाद्नु सबै पद लोलुपता, बेइमानी र अनैतिकताका ज्वलन्त उदाहरणहरु हुन् श्रीमान। एउटा अनैतिक नेतृत्वले देशको बागडोर सम्हाल्दा देश अहिलेको अविकसित र विभाजित स्थितिबाट गुज्रिरहेको छ। त्यसैले यस्ता बेइमानलाई सजायमा कुनै सहुलियत दिनु हुदैन श्रीमान।‘

कृष्णप्रसाद भट्टराईको बयान पछि मदन भण्डारीले आफ्नो विचार राख्दै भने, -‘ श्रीमान, प्रजातन्त्र प्राप्ति पछि नेपालको इतिहासमा सबभन्दा धेरै पटक र

सबभन्दा लामो समय देशको सर्बोच्च कार्यकारी पदमा बसेर गिरिजाले आफ्नो मुर्खता, बेइमानी र अनैतिकता को आडमा, देशलाई पराधिनता तर्फ लगेको, प्रत्यक्ष वा परोक्षरुपमा जनयुद्धको सुरुवात गराएको, जनतामा विभाजनको बिज रोपेको, अधिकांश जनताको इच्छा बिपरित संघियता जस्तो गहन बिषयमा जनमतसंग्रह नगरी जबर्जस्ति संघियता लादेको, घुसखोरी र कमिसनतन्त्र लाई बढाएको र देशको अर्थतन्त्र क्षतबिक्षत पारेको प्रस्टै हुन्छ। प्रधानमन्त्री कस्तो हुनु पर्छ भन्ने कुरा कृष्णप्रसाद र मनमोहन हरुलाई देखरे सिक्नु पर्थ्यो। छोटो अबधि मात्रै प्रधानमन्त्री भए पनि देशको विकास र स्थिरताको दिशामा उहाँहरुको योगदान गिरिजाको लागि उदाहरण हुनु पर्थ्यो तर उनले उहाँहरुको नै खुट्टा काट्ने काम गरे। पार्टी नेतृत्व कस्तो हुनु पर्छ भन्ने कुरा उनले स्वयं श्रीमान र गणेशमान संग सिक्नु पर्थ्यो तर उनले आफ्नै पार्टी सिद्धान्त बिपरित काम गरी देशको दिशा नै उल्टो बनाए। त्यसैले श्रीमान उनलाई चल्तीको कानुन अनुसार कडा भन्दा कडा सजाय हुनै पर्छ। धन्यबाद।‘

मदन भण्डारी आफ्नो स्थानमा फर्के पछि विपी ले अभियुक्त गिरिजालाई हेर्दै भने,-‘ गिरिजा, उपरोक्त आरोपका बारेमा तिम्रो केहि भन्नु छ?’

गिरिजाले मलिन मुख पार्दै भने,-‘ श्रीमान, म आफ्नो हठको र महत्वकांक्षाको भुमरीमा परी देश र जनताको दोषी भएँ। ठुल्दाजु र श्रीमान प्रधानमन्त्री भैसकेपछि मलाई पनि प्रधानमन्त्री बन्ने ‘प्रेसर’ र महत्वकांक्षा बढ्यो। यसै त म दाजुहरु जस्तो बुद्धिमान छैन भन्ने सबैमा परेको थियो। म त्यसैलाई मिथ्या साबित गर्न चाहन्थें र सबैलाई देखाउन चाहन्थें की म पनि सक्षम छु भनेर। पछि बिस्तारै मैले बाटो बिराउदै गए। तर बुद्धि फिर्दा धेरै ढिलो भैसकेको थियो। मलाई थाहा छ मेरो कुकृत्यलाई आफ्नो सिद्धान्त बनाएर देश लुट्ने हरु अझै निकै ठुलो जमातमा छन् र मलाई आदर्श मान्छन। उनीहरुनै राज्यका सबै जसो अंगहरुमा सक्रिय छन् त्यसैले देश अझै पनि मेरै प्रभावमा चलिरहेको छ। आज यस अदालतलाई म यो बिश्वास दिलाउन चाहन्छु कि- म कुनै माध्यमबाट आफ्ना अनुयायीहरुलाई पृथ्वी लोकमा आफ्नो संदेश पठाएर देशलाई अब युवा, सृजनशील, कर्मठ अनि इमान्दार नेतृत्वको खाँचो छ त्यसैले हरेक क्षेत्रमा उनीहरुलाई अगाडी ल्याउन आह्वान गर्नेछु। आफ्नो गल्तिको प्रायश्चित स्वरूप यो सम्माननीय अदालतको सजाय मलाई मान्य हुनेछ।‘
बीपीले आधा घन्टाको लागि अदालतको कार्यवाही स्थगित गरेर बरिष्ठ सल्लाहकार संग उनको राय मागे। जटिल बिषयहरुमा फैसला सुनाउनु अघि प्राय: उनी त्यसै गर्थे।

पृथ्वीनारायण शाहले दाहिने हातको चोर औंला ठाडो पार्दै भने- ‘ बिपी, घुस खान्या र घुस दिन्या दुवै मुलुकका शत्रु हुन् , तिनलाई ठेंडुकामा जाक्नु पर्छ, नेपाल मेरा साना दुखले आर्ज्याको मुलुक होइन, कसैलाई काखा र कसैलाई पाखा गरेर मुलुकमा आपसमा आइलाग्न्या र जाइलाग्न्याको बाताबरण बनाउनेलाई कुनै हालतमा छोडन्या हुदैन, तिमीलाई चेतना भया।‘

आधा घण्टा पछि अदालतको कार्यबाही फेरी शुरु भयो।

गिरिजा मलिन अनुहार लिएर कठघरामा उभिएका थिए, उनलाई आफुले गरेका कुकृत्य प्रति पछुतो भै रहेको थियो।

फैसलाको एक प्रति हातमा लिएर बीपीले पढ्न थाले- ‘सबै सुनुवाई तथा तथ्यहरुको बिश्लेषण बाट यो अदालत अभियुक्त गिरिजा प्रसाद कोइरालाले आफ्नो हठ तथा व्यक्तिगत स्वार्थको लागि पद तथा शक्तिको दुरुपयोग गरी देशलाई नकारात्मक दिशा तिर उन्मुख गराएको, देशका शत्रुहरुसंग साँठगाँठ गरी देशलाई संघियतामा जबर्जस्ति धकेलेर देश बिभाजन गराउन खोज्ने शक्ति लाई टेवा पु-याएको, ‘राष्ट्रियता, प्रजातन्त्र र समाजवाद ‘ को गलत ब्याख्या गरी आफ्नो स्वार्थ अनुसार प्रयोग गरेको, संसद र न्यायपालिकाको कार्य प्रणालीमा हस्तक्षेप गरी देशलाई दुरगामी नकारात्मक असर पु-याएको, निजिकरणको नाममा देशका उध्योगधन्धा हरु बन्द गराइ देशलाई पराधिन गराएको अनि भ्रस्टाचार र दण्डहिनतालाई बढावा दिएको प्रमाणित हुन आउछ। त्यसैले यस लोकको संविधानको धारा ३६ को उपधारा १२-२७ को दफा ४२० अनुसार निजलाई कानुन सम्मत सजाय सुनाइन्छ।

नेपाल पराधिनताबाट मुक्त नहुँदासम्म र नेपाल बिकसित देशको सुचिमा नपर्दा सम्म उनले यो सजाय भोग्नु पर्नेछ। नेपाली सम्बृद्ध भएपछि उक्त सजायको पुनरावलोकन गरिनेछ।‘

6 thoughts on “कथा : विपीको अदालत”

  1. KAMAL says:
    June 19, 2017 at 4:01 pm

    सत्य घटना मा आधारित काल्पनिक तर तथ्य परक कथा. सबैलाई मन पर्यो.

    Reply
  2. Mukunda says:
    June 19, 2017 at 7:21 am

    गणेशमानले भने “मैले गिरिजालाई नेता भन्दा पनि वि पी को भाइको नाताले चिन्छु। बीपीको देहावसान पछि बिपीको भाइको नाताले हामीले उनलाई पार्टीको उच्च पदमा ल्याएका हौं। ”

    गणेशमान पो रैछन नाताबाद सुरु गर्ने !

    Reply
  3. Mree says:
    June 18, 2017 at 3:58 am

    VERY NICE !!!!

    Reply
  4. sarah says:
    June 17, 2017 at 9:32 pm

    wow !!! सारै राम्रो मन छुने लेख लाग्यो | लेखक को कल्पनाशीलता को कदर गर्नै पर्छ |

    Reply
  5. Eakraj says:
    June 17, 2017 at 1:31 pm

    The best story in this blog ever .

    Reply
  6. anil says:
    June 17, 2017 at 9:20 am

    गिरिजालाई आर्यघाटमा दागबत्ति दिंदै गर्दा बागमती नदी पारि बसेकाहरु सबैले ताली पिटेर हुटिंग गर्दै खुसियाली मनाको येही आँखाले देखेको हो. भिडलाई सम्झाउन खोज्ने गगन थापाहरु माथि पानीको बोतल प्रहार पनि भाकै थियो .

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme