Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

प्रधानमन्त्री देउवालाई पहिलो चुनौति : मधेसमा आन्दोलन घोषणा भयो, चुनाव कसरी गराउने?

Posted on June 12, 2017 by Salokya

प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘असक्षम’को पगरी भिराउने कारण बनेको थियो चुनाव गर्न नसक्नु। त्यतिबेला माओवादीका कारण चुनाव गराउन सकिएको थिएन। अहिले त्यही माओवादीको काँधमा चढेर देउवा प्रधानमन्त्री बनेका छन्। तर अर्को ‘म’ अक्षरले प्रधानमन्त्री भएको एक साता नबित्दै दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा चुनौति थपिदिएको छ। मधेसकेन्द्रित दल राजपाले भोलिदेखि नै चार दिन आमहड्ताल र चुनावको दिनदेखि अनिश्चितकालीन आमहड्तालको घोषणा गरेर विज्ञप्ति निकालेको छ। यसअघि नै तीन चोटी मिति परिवर्तन भइसकेको चुनाव देउवाले गराउन सक्लान् अब तोकिएकै मितिमा

मधेसकेन्द्रित दलहरु यसअघि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको ब्यानरमा थिए। यही ब्यानरमा भएको आन्दोलनका क्रममा मधेसमा थुप्रैको ज्यान गयो। लामो समय नाकाबन्दी र हड्ताल भयो।

त्यो मोर्चामा रहेको उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल चुनावमा सहभागी भइसक्यो। मोर्चामा रहेका ६ दलहरु मिलेर राष्ट्रिय जनता पार्टी नेपाल बनिसकेको छ।

राजपा भन्छ- संविधान संशोधनपछि मात्र चुनाव। प्रधानमन्त्री प्रचण्ड रहँदा नै संविधान संशोधन पास गराउने प्रयास नभएको हैन। यसअघि संसदमा दर्ता भएको संविधान संशोधन विधेयक फिर्ता लिई अर्को दर्ता गरेर पास गर्ने सब तयारी भएको थियो। तर अन्तिम समयमा राप्रपाका १० सांसद गायब भइदिएपछि पास हुन सकेन। त्यसैले देउवाले प्रधानमन्त्री भइसकेपछि संसदमा सम्बोधन गर्दा संविधान संशोधन चुनावपछि गर्ने भने।

देउवालाई भोट दिन राजपाले तीन बुँदे सहमति पनि गरेको थियो। सहमतिमा महन्थ ठाकुर र राजेन्द् महतोको भने हस्तँक्षर छैन।

राजपाको अर्को माग स्थानीय तहको संख्या मधेसमा बढाउनु पर्ने भन्ने थियो। सरकारले त्यो निर्णय पनि नगरेको हैन। तर सर्वोच्च अदालतले रोकिदिएपछि त्यो पनि माग पूरा हुन सकेन।

अर्को एउटा माग थियो- चुनाव चिह्नको। त्यसमा भने सरकारले सकेको गरिदियो। कम्तिमा १० दिन लाग्ने ऐन संशोधनको प्रक्रियालाई नियमहरु निलम्बन गर्दै छोट्याएर पाँच घण्टामा फास्ट ट्रयाकबाट राजनीतिक दल सम्बन्धी ऐन संशोधन गरिदियो। यो अनुसार अब राजपालाई छुट्टाछुट्टै जिल्लामा यसअघिको दलको छुट्टाछुट्टै चुनाव चिह्न लिएर चुनाव लड्न पाउँछन्।

तर राजपा त्यतिले मानेन र कडा कार्यक्रमसहित आन्दोलन घोषणा गर्‍यो।यसले फेरि एक पटक मधेसमा अन्यौल र तनावको स्थिति जन्माइदिएको छ-

आन्दोलनका कार्यक्रमहरुमा भोलिदेखि चार दिन आमहड्तालदेखि चुनावको बेलादेखि अनिश्चितकालीन आमहड्तालसम्म छन्। घोषित कार्यक्रम सिके राउतको भन्दा चर्का छन्। सिके राउतले चुनाव बिथोल्ने कार्यक्रम घोषणा गरेका छैनन्, उनले मतपत्रका कोठाबाहिर छाप लगाउन मात्र आह्वान गरेका छन्। राजपा भने चुनाव बिथोल्ने कार्यक्रममा छ।

अब प्रम देउवासँग दुई विकल्प मात्र छ-

१) जसरी संविधान सभाको निर्वाचनमा वैद्य माओवादीको अवरोध र हिंसा बावजुद उसलाई छोडेर चुनाव गराइयो, त्यसैगरी आन्दोलनकारी राजपालाई छाडेर मधेसमा चुनाव गराउने।

२) तेस्रो चरणको निर्वाचन घोषणा गरी अहिले चुनाव गराउन नसकिने स्थानमा त्यतिबेला चुनाव गराउने र बाँकीमा घोषित मिति असार १४ मा गराउने।

पहिलो विकल्पमा जाँदा राजपाको अवरोधले हिंसा निम्त्याउन सक्छ। फेरि निर्दोषको ज्यान जान सक्छ। निर्दोषको ज्यान जाँदा अरु पनि उत्तेजित हुनसक्छन्। स्थिति झन् बिग्रन सक्छ। संविधान कार्यान्वयनको बेला मधेसमा आन्दोलनरत एक पक्ष छुट्ने जोखिम उठाउनु पर्ने हुन्छ।

दोस्रो विकल्पमा जाँदा संविधान कार्यान्वयन नभएको र हुननसक्ने क्षेत्र छुट्टिने जोखिम बढ्छ।

संसद चुनावपछि बस्ने गरी स्थगित भइसकेको, संविधान संशोधन चुनाव अघि पारित हुन नसक्ने स्थिति बनिसकेको छ। स्थानीय तहको संख्या बढाउने माग पनि जेठ १२ गते ईश्वरप्रसाद खतिवडा र सपना प्रधान मल्लको इजलासले जारी गरेको अन्तरिम आदेशका कारण रोकिएको छ।

असार २ गते दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ। यो बीचमा अब यदि जेठ १२ को सर्वोच्चको आदेशविरुद्ध सरकारले दर्ता गरेको भ्याकेट (अन्तरिम आदेश खारेज गर्न दिएको निवेदन) मा केही भयो भने केही हुन सक्ने आशामात्रै कायम छ।

3 thoughts on “प्रधानमन्त्री देउवालाई पहिलो चुनौति : मधेसमा आन्दोलन घोषणा भयो, चुनाव कसरी गराउने?”

  1. sandip says:
    June 15, 2017 at 7:50 pm

    ज्ञानेन्द्र ले चुनाब गरौन नसक्ने असछेम प्रधान मन्त्रि भने को सा चो रहेछ /योगले चौथोपटक प्रधानमन्त्री बनेका देउवाको पटकपटक निर्वाचन सार्ने कामले यसअघिका उनका दुई कार्यकालको सम्झना गराइरहेको छ। उनलाई तत्कालीन राजा ज्ञानेन्द्रले ‘अक्षम’ भनि लगाएको आरोप उनले साचो प्रमाणित गरेको छ / पटकपटक आफैंले संसदीय शासन व्यवस्था समाप्त पारी मुलुक राजा लाई सुम्पेको थिय भने यो पटक भारत लै सुम्पिने हो कि ?

    Reply
  2. सेतो ख्याक says:
    June 12, 2017 at 8:09 am

    दुइतै ‘म ‘ भारत निर्देसित हुन् | मुख्य कुरा मधेस को ठुलो भाग भारत मा गाभ्नु हो |
    एउटा ”म” ले अप्रत्यक्ष रुप मा भारतको भलो गर्यो , आर्को अलि खुला रुप मा गर्दैछ |
    महाभारत मा ठुला ठुला महारथी भ्सिह्म , द्रोण , कर्ण मारिएपछि दुर्योधन ले सल्यालाई सेनापति बनाएर युद्द जितिन्छ भन्ने ठाने जस्तै हो यो देउवा को प्रधानमन्त्री काल |
    आफु मजासग खाने र अरुलाई ( आसेपासे , कार्यकर्ता ) पनि टन्न खुवाउने देउबाको मूल राजनीतिक सुत्र हो |

    खाने खुवाउने ले केहि काम चै पक्कै फत्ते गर्छ , त्यो थाल मा पस्केर राखेको एक थुप्रो भात पनि हुनसक्छ , देशको ठुला परियोजना को ठेक्का , प्राकृतिक स्रोत , र रास्ट्रिय बजेट पनि हुन् सक्छ |

    Reply
  3. Rohini says:
    June 12, 2017 at 2:29 am

    असार १४ मा चुनाब को विकल्प छैन | भारतकै चाहनामा रा ज पा ले चुनाब बिथोल्न खोज्दै छ | संसदमा २ तिहाई पुग्दैन भन्ने थाहा हुदाहुदै पनि भारतकै इसारामा देशमा अराजकता ल्याउन खोज्नु रा ज पा को हदै सम्म को मुर्खता हो |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme