Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नआउनुस् अमेरिका, दलाललाई तिरेको ४० लाख उठ्दैन यहाँबाट

Posted on June 10, 2017June 10, 2017 by mysansar

– निल खड्का –

झन्डै ६ वर्षअघि सन् २०११ को अक्टोबरमा ‘माइसंसार’मै एउटा ब्लग लेखेको थिएँ–‘सोचेजस्तो छैन अमेरिका’ शीर्षकमा। त्यसको आसय थियो, अमेरिकामा बस्ने नेपालीहरूले जेसुकै भने पनि समग्रमा नेपालमा बसेर सोचेजस्तो चाहिँ छैन अमेरिका। त्यो पढेपछि धेरैले तीतो पोखे, ‘नेपालमा दुःख गरेको थिएन होला, अमेरिकामा दुःख गर्न नसकेपछि त्यस्तो लेख्यो।’ ६ वर्षको यस अवधिमा ‘मैले यति दुःख गरेको छु’ भन्नेहरूलाई चुनौती दिन सक्ने गरी आफूले पनि दुःख गरियो, गरिँदैछ। थोरबहुत पैसा पनि कमाइयो होला, कमाइँदैछ। तर, अझै पनि भन्छु–‘सोचेजस्तो छैन अमेरिका।’

यो साता अमेरिकी सरकारले विमान चार्टर गरी सात नेपालीलाई नेपाल फर्काएपछि फेरि अर्को ब्लग लेख्ने कोसिस गरेको छु। यदि नेपालमा बसेर सोचेजस्तो भइदिएको भए अमेरिका प्रवेश गरिसकेका ती नेपाली दाजुभाइ किन नेपाल फर्काइन्थे होला र?

कतिपय कुरा कसैले भनेको, सुनेको वा पढेको भरमा मात्र यथार्थ थाहा पाउन र अनुभूत गर्न नसकिने रहेछन्। स्वयंले नभोगेसम्म थाहा नहुने रहेछ। ‘अमेरिका कस्तो छ ?’ यस विषयमा नेपालमा रहेका नेपालीहरूलाई ‘यस्तो छ’ भनेर जतिसुकै लामो फेहरिस्त सुनाए पनि कानमा पस्दैन। यो म स्वयंको पनि अनुभव हो। अघिल्लो ब्लग मैले यस्तै प्रसंगबाट सुरु गरेको थिएँ। जुन यस्तो थियो–लामो समयदेखि अमेरिकाको क्यालिफोर्नियामा रहनुभएका एक मित्रलाई एक दिन भनेँ–‘म पनि आउँदैछु अमेरिका।’ उहाँको टिप्पणी थियो–‘त्यसोभए तपाईंलाई समवेदना।’ त्यसबेला मलाई उहाँले किन त्यस्तो भन्नुभयो ? भन्ने जान्ने र बुझ्ने रुचि नै भएन। त्यतिको मान्छेले त्यसै त भन्नुभएन होला भन्नेतिर मेरो ध्यान नै गएन। पछि आफूले भोग्दै गएपछि थाहा पाएँ, उहाँले ठीकै भन्नुभएको रहेछ।

नेपालमा पत्रकारितामा राम्रो हैसियत र छवि बनाएका एक पत्रकार मित्रलाई दुई वर्षअघि डीभी पर्‍यो। परिश्रमकै भरमा नेपालमै पनि उहाँको राम्रो कमाई थियो। डीभी परेपछि उहाँसँग मेरो दिनहुँजसो कुरा हुन्थ्यो। उहाँ अमेरिकाको बारेमा चासो राख्ने। म आफूले जाने बुझेसम्म बताउने। मानसिकरूपमा पहिल्यै तयार होउन् भनेर म ‘यस्तो यस्तो हुन्छ है’ भनेर स्पस्ट पार्न खोज्थें।

उहाँ ‘महिनामा कति हजार डलरसम्म बचाउन सकिन्छ?’ भन्नेतर्फ मात्र चासो राख्ने।

दुई वर्ष भो परिवारसहित उहाँहरू आउनुभएको। अहिले पनि फोनमा कुरा भइरहन्छ। बेलाबेलामा सोध्छु–‘सर, कस्तो लाग्यो अमेरिका?’ उहाँको जवाफ हुन्छ–‘यस्तो हुन्छ भन्ने थाहा पाएको भए म ज्यान गए पनि आउने थिइनँ।’

मेरो प्रश्न हुन्छ–‘मैले त यी कुरा तपाईंलाई पहिल्यै भनेको थिएँ नि होइन र ?’ उहाँ भन्नुहुन्छ–‘भन्नु त भएको थियो । तर, नेपालमा हुँदा दिमागमा नपस्ने रहेछ। भोगेपछि मात्र थाहा हुने रहेछ।’

यो त भयो अमेरिकामा वैधानिक हैसियतमा रहेकाहरूको कुरा। खासै खर्च नगरी वैधानिक हैसियतका साथ आउनेहरूको त अवस्था यस्तो छ भनेर प्रष्ट पार्नमात्रै मैले यो प्रसंग उल्लेख गरेको हुँ। यद्यपि, वैधानिक हैसियतमा रहेकाहरू त दुःख गर्दै जालान्, बिस्तारै बानी हुँदै गएपछि कमाइसँगै रमाउन थाल्लान्। तर, मैले यस ब्लगमा वैधानिक हैसियतमा रहेकाहरूको भन्दा स्थलमार्गबाट अवैधानिक रूपमा मेक्सिको हुँदै अमेरिका प्रवेश गर्नेहरूका बारेमा उल्लेख गर्न खोजेको हुँ।

सर्वप्रथम त अमेरिकामा अवैध रूपमा बस्न दलाललाई ३० देखि ४० लाख रूपैयाँसम्म तिर्न किन तयार हुन्छन् नेपालीहरू? यो मैले बुझ्नै नसकेको कुरा हो। उनीहरूले अमेरिकामा त्यस्तो के देखेका छन् र ज्यान जोखिममा पारेर केवल अमेरिका टेक्नकै लागिमात्र ३० देखि ४० लाख रूपैयाँसम्म खर्च गर्न राजी हुन्छन्? अमेरिकामै रहेर अमेरिकालाई थोरबहुत भोगेको नाताले त्यत्रो रकम खर्च गरेर अमेरिका आउनु बेकार छ, सकेसम्म त्यसरी आउँदै नआउनु होला भन्ने अभिप्रायले मैले यो ब्लग लेखेको हुँ। दलालको त ब्यवसाय हो, पैसा कमाउन अनेक प्रलोभन देखाउन सक्छन्। दलालको प्रलोभनमा परेर लोभिनु भनेको आफ्नै खुट्टामा बञ्चरो हानेसरह हो। अमेरिका छिरिसकेपछि सकेसम्म दुःख गरुँला अनि त्यत्रो पैसा त केही समयमै उठाइहाल्छु नि भन्ने सोच हुनसक्छ। जुन असम्भवप्रायः छ। यदि बुझ्दै नबुझी अमेरिकाको यथार्थ थाहा नपाएर गुमराहमा परी त्यत्रो रकम खर्चेर आउन खोजिएको हो भने यथार्थ बुझाइदिने हामी सबैको कर्तब्य हो। तर, बुझेर पनि जोखिम मोल्न तयार भई आउने आँट गर्ने प्रवृत्ति हो भने ‘राम राम’ मात्र भन्न सकिन्छ।

३० लाख रूपैयाँ भनेको चानचुने पैसा होइन, लगभग ३० हजार डलर हो। त्यत्रो पैसा दलाललाई बुझाउन पक्कै पनि आफ्नै घरबाट निकाल्ने होइन होला। ऋण सापट नै गर्ने हो, अझ ब्याज पनि होला। दलाललाई पैसा बुझाएपछि पनि अमेरिका प्रवेश भइन्छ नै भन्ने निश्चित हुन्न। बाटोमा हुने दुःख कष्टको यहाँ चर्चा नगरौं। आखिर अमेरिका प्रवेश गरे पनि शरणार्थीको मान्यता पाइहालिने होइन रहेछ, विमान चार्टर गरेरै भए पनि नेपाल पुर्‍याइदिन समेत सक्ने रहेछ भन्ने हालैको घटनाले देखिइसकेको छ।

मानौं, अमेरिका प्रवेश गरे पनि अवैध रूपमा बसेर काम गर्न अहिलेको अवस्थामा त्यति सहज छैन। एक त भनेजस्तो काम पाइन्न। काम पाए पनि भनेजति घण्टा पाइन्न। घण्टा पाए पनि अवैधानिक भएका कारण रोजगारदाताले उचित पारिश्रमिक नदिने समस्या त छँदैछ। अझ अहिलेको अवस्थामा त अवैधानिकलाई रोजगारीमा लगाएको पाइए रोजगारदातासमेत समस्यामा पर्न सक्ने भएकाले विगतमा भन्दा काम पाउन झनै मुस्किल छ। आफूले ‘सकेसम्म बढी काम गर्छु’ भनेरमात्र कहाँ हुन्छ? बढी काम गर्न पाउनुपर्‍यो अनि सक्नु पनि पर्‍यो। त्यसपछि आफूले खान, बस्न र काममा जाँदा आउँदा भोग्नुपर्ने ब्यवहारिक कठिनाई त छँदैछ। आफूलाई खान, बस्न पनि खर्च हुने नै भयो। नेपालमा घरपरिवारको समस्या पनि हेर्नैपर्‍यो। ऋण, सापट गरेर पैसा लगानी गरेको भए त्यो तिर्नु पनि पर्यो।

अनि सुरु हुन्छ, शारिरिक कष्टका बीच मानसिक तनाव। दबिएर बस्नुपर्ने अवस्थाका बीचको आफ्नो काम, आफूले गर्ने कमाई अनि आफ्नो थाप्लोमा रहेको आर्थिक र ब्यवहारिक जिम्मेवारी। अनि बल्ल आँखा खुल्छ ‘हैट, म त्यत्रो पैसा खर्च गरेर अमेरिका किन आएँ होला?’ जब आफूले दलाललाई बुझाएको पैसा उठाउन नै वर्षौं वर्ष लाग्छ भने आफ्ना लागि कमाउने कहिले? अनि त्यसरी अमेरिका आएको के अर्थ? अनि बल्ल बुद्धि आउँछ–‘धत, त्यत्रो पैसा बरु मैले नेपालमै केही गरेको भए।’

माथि नै चर्चा गरियो कसैले भनेको आधारमा भन्दा आफैंले नभोगेसम्म थाहा हुन्न भनेर। जब सबै कुरा भोगिन्छ। अनि आँखा खुल्छ र पहिले अरूले भनको झल्झली याद आउँछ। तर, त्यसबेलासम्म धेरै ढिला भइसकेको हुन्छ। हो, यस्तै यस्तै कारणले मानसिक तनाव बढेर डिप्रेसन सुरु हुने र कतिपयले आत्महत्यासमेत गरेको घटना पनि नभएका होइनन्। डिभी परेर कमै खर्चमा वैधानिक हैसियतका साथ आएकाहरू त सुरुवाती दिनमा ‘यो डीभी मलाई नै चाहिँ किन परेछ?’ भनेर पछुताउँछन् भने त्यसरी मेक्सिकोको बाटो हुँदै आउनेहरू नपछुताउने त कुरै भएन। यो कुनै भावना बगेर लेखिएको गन्थन होइन। आफूले देखे भोगेको यथार्थ हो। पछि भोगेर मात्र थाहा पाउनुभन्दा सुरुमै मनन गरेको राम्रो।

मलाई थाहा छ, यो ब्लग पढेपछि मलाई आफू अमेरिकामा बसेर ‘ठूला कुरा गर्‍यो’ भन्नेहरू प्रशस्तै भेटिनेछन्। कमाई नै नहुने भए अवैधानिकरूपमा त्यत्रा मान्छे अमेरिकामा कसरी टिकेका छन् त भन्ने उनीहरूको तर्क हुन सक्ला। ‘अरू नआउन्’ भन्ने उद्धेश्यले अमेरिकामा बसेकाहरूले यस्तै यस्तै डर देखाउँछन् भन्ने त सदाबहार आरोप छँदैछ। तैपनि घैंटोमा घाम लाग्दैन र दलाललाई ३० देखि ४० लाख रूपैयाँसम्म तिर्न तयार भइरहन्छन् भने म त यतिमात्र भन्न सक्छु–‘उनीहरूप्रति मेरो समवेदना छ।’

यो पनि हेर्नुस्-
चोर बाटोबाट छिरे पनि पूरा भएन अमेरिका सपना, ट्रम्प सरकारले चार्टर्ड विमानबाटै गर्‍यो नेपाल डिपोर्ट
अमेरिका पुग्ने चोर बाटोको व्यथा
कठै! फेरि अमेरिकामा डलर टिप्ने धूनमा लाखौँ खर्च गर्नेहरुले दुःख पाएछन्
अमेरिकामा डलर टिप्ने धुनमा पाएको दुःख
अमेरिकाको बढाइचढाइ बखानले निम्त्याएको आपत
अमेरिकाको भूत चढेकै हो? यो पढ्न नछुटाउनुस्

10 thoughts on “नआउनुस् अमेरिका, दलाललाई तिरेको ४० लाख उठ्दैन यहाँबाट”

  1. Surendra Regmi says:
    June 14, 2017 at 6:33 am

    तपाईंलाइ याँहा बस्न यति कठिन छ भने किन खुर्रुक्क नेपाल नफर्केको । कसले रोकेको छ तपाईंलाइ । तपाइन यन्हाको सुख सुबिधा बिलासि जिबन बितायर बस्ने अनि अमेरिका ठिक छैन भन्ने । तपाईंले भनेको कुरा आम्सिक सत्य हो । जो नेपालि यन्हा बसेकाछ्न उनिहरु आफ्नो ब्यक्तिगत स्वर्थको लागि निजि खुसिका लागि बसेका छ्न । म पनि तेस्तै हो । म लगायत अमेरिका बस्ने सबै आफ्नै खुसिले बसेका हुन । खड्का जि आफु अन्हा बसेर दुख छ भन्दै अफु बस्दै नगरम ठिक नलागे तुरुन्त फर्किनु बेस । यो देसमा खुबि भकहरुलाइ जति पनि गर्न सक्ने अबसर छ । खुबि नभयकाले कुरा धेरै गरो ठिक छ्ैन भनो नर्क हो भनो अनि आफु तेहि लागेको नरक कुन्डमा डुबेर बसो । कस्तो दुइपाते छरित्र । म पनि यन्हि बस्छु । मेरो बुझाइमा जे अमेरिकामा छ पायको छु त्यो नेपालमा कहिले पाउने थीइन अनि जुन नेपालमा गुमायको छ्ु त्यो पनि कहिलयै पाउने छैन । केलाई दुख भन्ने जब गर्नुलाई दुख भन्ने हो नेपालमा के स्वोर्गबाट झर्छ र . नेपालमा पनि मेहनत गर्नु पर्छ, अमेरिकामा पनि मेहनत गर्नु पर्छ ।फरक नेपाल जति महानत गर्दा याँहा धेरै उन्नति गर्न सकिन्छ नेपालमा सकिन्न। मेहनतलाइ दुख भन्ने अनि तेही दुखमा आफु रमाउने हरुलाई यो बिस्व नै नर्क हो ।

    Reply
  2. जिते says:
    June 13, 2017 at 8:55 pm

    दलाललाई पैसा तिरेर अमेरिका आउनुस् त् म् पनि भन्दिन तर खड्का जीले भने जस्तो पुरै नकरात्मक पनि होइन । बाउ बाजेको सम्पत्तिमा रबाफ गर्ने, गुण्डा गर्दी गर्नेहरु, नारा जुलुस गर्दै हिंड्ने, इज्जत प्रतिस्ठाको धाक लाउदै यो र त्यो काम भन्दै हिंड्नेहरुको लागि पक्कै सजिलो छैन अमेरिका । मेहनतिहरुको लागि ठीक छ । अमेरिका अबसरको देश हो । जो कोही एउटा सामान्य मान्छेले ८ घण्टा काम गरेर वातानुकिलित घरमा इछ्याएको खाना खाएर बस्ने हैसिएत बनाउन सक्छ ।

    Reply
  3. Truther says:
    June 12, 2017 at 8:41 pm

    This generally applies to DV winners. Most of them have very little education and job skills. It is difficult to adjust to new environment and culture and start from the scratch while trying to earn living. However, if you got education, skills and adaptability then sky’s no limit. USA is not for those whines and complains but for those who sees opportunity and uses it.

    Reply
  4. santosh says:
    June 12, 2017 at 5:54 pm

    औनुस ,औनुस साथी हरु ,योउङ्ग हुदा त रमाइलो नै हुन्छ ,तिमे बेतेको था नै हुदैन ,,बिस्तारै बुदा हुदा खेरि अनि था हुदै जान्छ,,सबै लाई welcome,,

    Reply
  5. Prithvi Narayan says:
    June 11, 2017 at 6:55 pm

    अमेरिका मा कर धेरै तिर्नु पर्छ, सरकार, स्थानिय, सम्पत्ती आदी आदी गर्दै कर नै कर, तेस्माथि स्वास्थ्य को बिमा समेत गर्दा कमाएको आधा मात्र पाइने हो, तेस्पछी कोठा भाडा, बिजुली, बत्ती आदी बेपत्ता महँगो छ, जती कमाये पनि महिना को अन्त्य मा हात लाग्यो शुन्य नै हो, कत्ती पनि बच्दैन, दुई चार पैसा मरी मरी बचाइहाले बैंक मा ब्याज पाइदैन, उल्टै बैंक ले फी अनेक भनेर खान खोज्छ, धेरै दु:ख गरियो, भाडा पनि माझियो, काम मा दास जसरी पेल्छन, जुन सुकै पेशा, डक्टर होस् वा प्रोफेसर होस्, आफु भन्दा माथि को मानिस ले दुई मिनेट मा निकाल्न पाउछ, तेही डर ले दास भएर काम गर्नु पर्छ, यहाँ बोल्ने स्वतन्त्रता छैन, मैले युनिभर्सिटी पढाउन थालेको करिब दश बर्ष भयो, मेरो बचत म नेपाल का आफन्त साथी कसैलाई भन्न सक्दिन, लाज ले पानी पानी हुन्छु, अमेरिका आए पछी श्रीमती छोरा छोरी पुरै बदलिन्छन्, उनिहरु लाई सम्झाउन खोज्दा पनि नियन्त्रण गरेको जस्तो मान्छन, स्यानो कारण ले पनि परिवार बिखण्डित हुने सम्भावना हुन्छ, यो ध्रुव सत्य कुरा हो, तर के गर्ने, नेपाल मा कसैले विश्वाश गर्दैन, अमेरिका का मनिस आफ्नो धर्म प्रती कट्टर रुढिबादी छन, उनिहरु को धर्म लाई बिरोध वा समिक्षा गरेको मन पराउदैनन, स्कुल, कलेज, होटेल, अस्पताल जता ततै उनिहरु कै धर्म प्रचार गर्दै हिड्छन, धेरै मानिस् पढेलेखेका भएर पनि अन्धबिश्वासि छन । अमेरिका हेर्दा मात्र स्वतन्त्र र बिकसित् देश हो, यहाँ स्वतन्त्रता, सुख, र चैन छैन, युवा हरु लाई यहाँ राम्री राम्री केटी सग सित्तै मा मोज गर्न पाईन्छ भन्ने भ्रम हुन सक्छ, पहिलो त यहाँ का ७०-८० प्रतिशत केटी हरु मोटा, भद्दा र कुरुप छन, बाँकी २०-३० प्रतिशत ले हामी जस्ता नेपाली चाउरे लाई ङिच्च दात देखाएर हास्ने मात्र हुन, नजिक आउन पनि दिदैनन, हुन त पैसा भन्दा मरिजान्छन, पैसाको खोलो बगायेर आफै लाई स्वाहा पारे कसै कसै सग क्षणिक सम्बन्ध सम्म गर्न पाइन सक्छ तर तेस्को लागि कानुन, रोग, अनेक इल्जाम बाट बच्न पनि सक्नु पर्छ । यो सत्य कुरा हो ।

    ४० लाख खर्च गरेर अमेरिका आउने? त्यो भन्दा नेपाल मा कुखुरा पालन, भैंसी पालन, माछा पालन गरे हजारौ गुणा जाती ।

    Reply
  6. राजन श्रेष्ठ says:
    June 11, 2017 at 5:26 pm

    अलिकति बडी गफ भयो जस्तो लाग्यो
    अमेरिकाको ३२ करोड जनसंख्यामा ३ करोड नेपाली थपिनु भनेको धेरै नै हो, १०% जनसंख्या यतिकै बिलाउँछ जस्तो अलि लागेन

    Reply
  7. harke says:
    June 11, 2017 at 4:12 pm

    ह्या खड्का जी, तपाइँ पनि , छोड्दिनुस, आउन दिनुस, के तपाइले सबै मुर्ख नेपालीहरु को ठेक्का लिनु भाको छ ? तेस्ता मुर्ख हरुले दुख नपाए कसले पाउञ्छ ? जाओ जाओ, सुन फ़ल्छ अमेरिकामा , सुन हग्छन अम्रिकाने हरुले | बस टिप्यो अनि सग्फा गर्यो, अनि त मालामाल, खड्का जी जस्ता jealous मान्छे हरुको कुरा न सुन्नुस | ४० लाख त के ४० करोड तिरेर गएपनि की फरक पर्दैन | तेती पैसा त ५ वर्ष मै कमाइञ्छ| प्रमाण चाहिन्छ भने मा खुद जीवित प्रमाण हुँ| मैले रुखमा फलेको dollar टिप्नलाई म एक्लै ले नसकेर ५ जाना लाइ काम दिराको छु | टिप्नलाई कुनै समस्या हुन्न तर बेलामा घाम नलागेर सुकाउनलाइ चै अलि गारै हुन्छ है , यो चै बेलामै बुझेर मात्रै आउनु होला | ४० करोड तिरेर भए पनि आउनुस अनि मलाइ सम्पर्क गर्नुस रुखमा फलेको dollar टिप्नलाई | तपाइँ पनि मालामाल, म पनि मालामाल | के छ त बिचार? ढिलो नगर्नुस है, seat सिमित छ.

    Reply
  8. NavinRayamajhi says:
    June 11, 2017 at 7:01 am

    कसले के सोच्छ र उसले सोचेको पुग्छ वा पुग्दैन त्यो छुट्टै पाटो हो. मान्छेले पाउने काम र उसले आर्जन गर्ने धन उसको शिक्षा र क्षमता मा भर पर्छ र त्यसको लागि लगन र अलिकति भाग्यको पनि जरुरत पर्छ, यो कुरा अमेरिका मा मात्र होइन कि बिश्वको जुनसुकै कुनामा पनि लागु हुन्छ. अब काम गर्नुलाई दुख भन्ने हो भने कतै सुख छैन. तर दलाल लाइ लाखौ रुपिया बुझाएर हावा को भरमा हिड्नु हुदैन भन्ने कुरा मा म लेखक संग सहमत छु. नेपालको तिन करोड मान्छे आए पनि बिलाउने यो बिशाल देसमा हामी मात्र बसौ अरु नआउन जस्तो गर्ने नेपाली हरुको विचार घटिया हो.

    Reply
  9. Rohini says:
    June 10, 2017 at 10:18 pm

    अमेरिकामा मान्छे बेरोजगार बस्नु पर्दैन | कमाई पनि डलरमा हुन्छ | सायद तेही भएर मान्छे अमेरिका जान मरिहत्ते गर्छन |

    Reply
  10. Suraj says:
    June 10, 2017 at 4:09 pm

    होइन कस्तो कुरा गरेको सर ले त सुख दुख भने को के हो पहिला थाहा पाउनु परेयो नि त लामो समयेसम्म बसी रहदा पनि दुख को आभास हुन्छा होइन र ? तेसैले जसले जे भने पनि जिबन मा बेस्त हुनुनै राम्रो हो | जो बेस्त भयो उसको जिबन सुख मये हुन्छ जो बेस्त छैन उसको जीवन मा अरुको कुरा मात्रै काट्ने हुञ्छ| कसो साथी हो ? हो भनि हो भनौ होइन भने होइन भनौ | सत्य कुरा सदै तिती हुञ्छ क्यार |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme