Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नयाँ मन्त्रीको कुर्सीमा रुमाल, केहीले चलन तोडेको पनि देखियो, किन राखिँदो रहेछ?

Posted on June 8, 2017 by Salokya


हाकिमको कुर्सीमा अक्सर रुमाल राखेको तपाईँले याद गर्नुभएको होला। सानातिना कार्यालयका हाकिमदेखि मन्त्रीहरुसम्मको कुर्सीमा यसरी रुमाल राख्ने गरेको देखिन्छ। बुधबार नयाँ मन्त्रिपरिषद् गठन भयो। प्रधानमन्त्री बाहेक सात जना मन्त्रीले आफ्नो कार्यभार सम्हाले। कार्यभार सम्हाल्दै गरेको फोटोहरु हेर्दा मन्त्रीको कुर्सीमा रुमाल राख्ने चलन केहीले मात्रै तोडेको देखियो। हेर्नुस् कुन कुन मन्त्रीको कुर्सीमा रुमाल देखियो र यो पनि बुझ्नुस्, आखिर किन राखिन्छ कुर्सीमा रुमाल?


प्रधानमन्त्री शेरबहादुर देउवा, जसले उद्योग ; ऊर्जा; आपूर्ति ; कानुन, न्याय, तथा संसदीय मामिला; कृषि विकास; खानेपानी तथा सरसफाई; जनसङ्ख्या तथा वातावरण; पशुपंक्षी विकास; भूमिसुधार तथा व्यवस्था; भौतिक पूर्वाधार तथा यातायात; महिला, बालबालिका तथा समाजकल्याण; युवा तथा खेलकुद; रक्षा; वन तथा भू-संरक्षण; वाणिज्य; विज्ञान तथा प्रविधि; शान्ति तथा पुननिर्माण; संस्कृति, पर्यटन तथा नागरिक उड्डयन; सहकारी तथा गरिबी निवारण; सहरी विकास ; सामान्य प्रशासन; सिँचाइ; सूचना तथा सञ्चार; स्वास्थ्य मन्त्रालयको समेत कार्यभार सम्हालेका छन्, उनको कुर्सीमा रुमाल देखिएन।


उपप्रधानमन्त्री तथा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारको कुर्सीमा पनि रुमाल देखिएन। उपप्रधानमन्त्री तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठको कुर्सी भने देख्न पाइएन। अर्का उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महराको कुर्सीमा पनि रुमाल देखिएन।

यसअघि अर्थमन्त्री छँदा कुर्सी त छाडिदिनुस्, सोफामा समेत देखिन्थ्यो रुमाल-

मन्त्रीहरु भने सबैको कुर्सीमा रुमाल देखियो

श्रम तथा रोजगार मन्त्री फर्मुला मन्सुरको कुर्सीमा पनि रुमाल देखियो।


अर्थमन्त्री ज्ञानेन्द्र कार्कीको कुर्सीमा रुमाल थियो।


गृह मन्त्रालय सम्हालेका जनार्दन शर्माको कुर्सीमा पनि रुमाल देखियो।

किन राखिन्छ रुमाल?
हाम्रा सरकारी हाकीमहरू जो पनि मेचका पछाडि तौलिया फिंजाएर बसेका हुन्छन्। हाकीमहरूका मेचमा तौलिया राख्ने चलन ब्रिटिश शासकहरूले बंगालमा चलाएका हुन्, कपालमा चिपिचिल्लै तेल लगाउने बाबुहरूबाट मेचलाई मैलो हुन नदिन। नेपालमा यो अनौठो चलन २०२४–२५ सालसम्म पनि आएको थिएन। तर, जलवायु परिवर्तनको विश्वव्यापी कोकोहोलो मच्चिनुअघि २०३०–४० को दशकदेखि नै काठमाडौं उपत्यका र मध्यपहाडी क्षेत्रमा विस्तारै गर्मी बढ्दै गएको महसूस हुन थालेको र त्यससँगै ‘तौलिया संस्कृति’ पनि मौलाएको हो। यस्ता झिनामसिना कुरा गरेर ठाउँ लिएको आरोप लाग्न सक्छ, तर यस्तै कुराले एउटा समाजको सुसंस्कृत वा त्यसको उल्टो परिचय बनाउँछ भन्ने अडान पंक्तिकारको छ।

सरकारी कार्यालयहरूमा विशेष गरी राजपत्रांकित द्वितीय श्रेणी वा सोभन्दा माथिका अधिकृतका मेचमा तौलियाको प्रयोग भएको देखिन्छ। कार्यालय प्रमुख नै तृतीय श्रेणीका अथवा तृतीय श्रेणीकै भए पनि ‘प्रभावशाली’ अधिकृत छन् भने बेग्लै कुरा, नत्र द्वितीय श्रेणी भन्दा तलका कर्मचारीका मेचमा त्यस्तो सुविधा उपलब्ध हुँदैन। मसलन्द शीर्षक अन्तर्गत कार्यालयका सुपरीटेन्डेन्ट वा खरीदको जिम्मेवारी वहन गर्ने सुब्बा/खरिदारबाट कार्यालयमा तौलिया भित्रिन्छ। हाकीम फेरिएपिच्छे नयाँ तौलिया ल्याउनु नयाँ हाकीमप्रतिको ‘भक्ति’ प्रदर्शन हुने गर्दछ। राख्नै पर्ने भए धोएको सफा तौलिया राखिदिए पनि हुने हो, तर नयाँ हाकीम सा’ब रिसाउने पो हुन् कि भन्ने सन्देहले त्यस्तो विरलै हुन्छ।

यो मनोविज्ञानले तौलियालाई हाकीमको आवश्यकता नभएर ‘हैकम’ जनाउने प्रतीकको रूपमा प्रस्तुत गर्दछ। कसै कसैले साँच्चै आवश्यकता महसूस गरेर वरिष्ठहरूका मेचमा झुण्डिने भन्दा धेरै सानो आकारको तौलिया राख्ने गरेको पनि देखिन्छ। तराईको गर्मीमा त यसको आवश्यकता हुन्छ नै, तर नियमित धोएर प्रयोग गर्ने कार्यालय शायदै होलान्। नेपालीहरूको सरसफाइप्रतिको चेत र आफ्नो कामप्रतिको बोधलाई विचार गर्दा यस्तै निचोड आउँछ।

कहिलेकाहीं हाकीमले अड्डामा विदेशीहरूसँग भेटघाट गरेको दृश्य टेलिभिजनमा हेर्दा मैलो तौलिया पनि देखिन्छ। टीभीमा यस्तो दृश्य देख्दा विदेशीहरूले हाकीमको मेचमा तौलिया राख्नुलाई ‘नेपाली संस्कृति’ भनिठान्दा हुन्। तर कुनै पनि आनीबानी र प्रचलन आफ्नै किसिमको भए पनि परिष्कृत हुनुपर्दछ, नत्र सुसंस्कृत देखिंदैन। होइन भने अन्तर्राष्ट्रिय प्रचलन र मान्यतालाई अँगाल्नुपर्दछ। सबैले छिःछिः गर्ने कुरामा ‘यो मेरो संस्कृति हो’ भनेर बस्न मिल्ला जस्तो लाग्दैन। कि त संस्कृति स्थापित गर्न सक्ने हैसियतमा आफू हुनुपर्‍यो।

तौलिया सरकारी कार्यालयका प्रमुखको मेचमा राखिने वस्तु हुँदै होइन। हामीकहाँ सबै टक्क मिलेको, अट्याच बाथरुम भएको हाकीमको कोठा सर्वत्र नहोला, तर धेरै कार्यालयमा त्यस्तो सुविधा भई पनि सक्यो। नभएका ठाउँमा छेउमा साइड र्‍याक राख्न सकिन्छ। उपयोग गरिसकेपछि तौलियालाई पट्याएर र्‍याकमा राखे भइहाल्यो।

यो तौलिया प्रदर्शनी हाम्रा मन्त्री, राज्यमन्त्री, सचिवले विदेशी समकक्षीहरूसँग भेटघाट गर्दा टेलिभिजनले टिप्ने हुनाले यति माथापच्ची गर्नु परेको हो। यो मुलुकमा एउटा केन्द्रीय सेवा विभाग भन्ने निकाय छ। अन्य मुलुकमा भए तौलियाको यो अपसंस्कृतिलाई त्यस्तो निकायले पहिल्यै व्यवस्थापन गरिसक्थ्यो होला। तर, यो कार्यालय चाँडो–चाँडो परिवर्तन हुने मन्त्रीहरूलाई रोजारोजा गाडी, गार्ड र ड्राइभर उपलब्ध गराउने र मन्त्री निवासका झयालढोकाका पर्दा, कार्पेट फेर्नेदेखि मन्त्रीले घर लगेका सामानको सट्टा भर्ना खरीद गरी पुर्‍याउने जस्ता काममा रुमल्लिएको पाइन्छ।

हाम्रो शासन पद्धतिले केन्द्रीय सेवा विभागलाई त्योभन्दा बढीको काममा पत्याउँदैन, किनभने त्यति पनि गहिरिएर सोच्ने नेता ओहोदामै पुग्दैनन्। अन्य मुलुकमा भने केन्द्रदेखि प्रान्त वा जिल्लासम्म पनि सेवा विभाग प्रकृतिका कार्यालयले काम गरिरहेका हुन्छन्।

(कुर्सीमा देखिने तौलियाबारे कृष्णप्रसाद सिग्द्यालको यो लेख हिमाल खबरपत्रिकामा छापिएको हो)

4 thoughts on “नयाँ मन्त्रीको कुर्सीमा रुमाल, केहीले चलन तोडेको पनि देखियो, किन राखिँदो रहेछ?”

  1. वलराज says:
    June 9, 2017 at 2:48 pm

    यो तौलिया कल्चर बारे पैले पनि माई संसारमा बहस चलेको थियो|
    यो कल्चर भल्चर हो, हटाउन पर्छ| ठिकै भन्नु भो, एट्याच वाथरुम नहुँदा र गरममा फ्यान चलाउदा तौलिया राख्ने चलन चलेको होला तर अहिले स्थिति अर्कै छ| एयर कन्डिसन चल्छ| तौलिया नराख्दा टोपी लाए पनि हाकिमले चिल्लो तेल घसेको टाउको अडाउने ठाउमा लागेर दाग लागेको पनि देखियो|
    हातले काखी र छात्ती कोटाएर मुखले फुक्ने पनि कल्चर भल्चर हुन| कति बिदेशीले हाकिम संग मिटिंग पछि बाहिर आएर किन फुकेको भनेर जिज्ञासा राखेका छन|

    Reply
  2. aryan says:
    June 9, 2017 at 1:29 pm

    खैरे हरूले राखेनन भनेर हाम्ले पनि नराख्ने भन्ने छैन क्यारे । अाफु अनुकुल प्रयोग हो । सजिलो हुन्छ राखीन्छ अाफु त ।

    Reply
  3. Ratna Thapa says:
    June 9, 2017 at 10:42 am

    बल्ल मैले खोजेको लेख पढ्नु पाइयो | मैले वर्षौं देखि तौलिया कल्चरको विरोध गर्दै आएको थिएँ र फाट्टफुट्ट कमेन्ट पनि लेखी रहेको छु | तौलिया सप्लायर र धोबी वा ड्राईक्लिनर पोस्ने यो कल्चरको अन्त हुनु पर्छ | तौलिया भनेको प्राय: बाथरूममै हुनु पर्ने हो | मन्त्रीको आफ्नो निजी टोइलेट बाथरूम हुन्छ नै, हात पुछ्नु परे त्यतिगए भइ हाल्यो नि | न्यापकिन सस्तोमा पाइन्छ, प्रतिदिन न्यापकिन होटेलमा जस्तो राखी दिए हात, मुख, टेबुल, जुत्ता जे पुछे पनि भो | सांचै मैलो तौलिया कल्चरले हाम्रो ब्युरोक्र्याट ग्रसित देखिन्छ | धेरै शिक्षित र पढेको मान्छे सिभिल सर्विसमा भए पो ? मंत्री बस्नु भन्दा पहिले त्यहाका पुरानै मानसिकता भएका कर्मचारी र हाकिमले तौलिया सीटमा राखेका हुन् ….धन्न केहि मन्त्रीले विदेशमा देखेर आए होलान् मन्त्रीको च्याम्बर र सीट कस्तो देखिनु पर्छ भनेर | माइसंसारले तौलिया कल्चर तोड्नु अभियान नै चलाउनु पर्ने देखिन्छ ….हाकिमहरु र मन्त्रीको फोटो, तौलियाको स्थिति र आँखामा बिझाउने सरकारी कार्यालय वा मन्त्रालयको फोहोरी दृश्य सबै टिपेर यसैबाट जनतालाई सूचित गर्दा कसो हाकिम/मन्त्रीहरुले शरम महसूस नगर्लान त | धन्यवाद छ माइसंसारलाइ |

    Reply
  4. राजा says:
    June 9, 2017 at 2:13 am

    कुर्सीमा तौलिया राख्ने, नयाँ सोफा र गाडिको सिटमा भएको प्लास्टिक नझिकी बस्ने, सुट र कटन पाइन्टमा स्पोर्ट्स शूज लगाउने, टाइ सुटमा ढाका टोपी लगाउने आदि इत्यादि नकाम ठुलै भनाउंदा र देश दुनियाँ देखेका ठालुहरुले गरेको देख्दा उदेक लागेर आउँछ ! कहिले सिक्ने होलान् डाम्नाहरुले !!!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme