सरकारी अखबार ‘गोरखापत्र’ को फ्रन्टपेजको एङ्कर न्युजमा आज एउटा यस्तो समाचार छापिएको छ, जुन हेर्दा नहाँसी बस्नै सकिन्न। अजय शर्माको बाइलाइनमा छापिएको समाचारको शीर्षक छ- ‘सरकारी टेलिफोन नम्बर व्यक्तिका नाममा दर्ता’
शीर्षक हेर्दा सनसनीपूर्ण नै लाग्छ- अहो सरकारी अखबारले क्या स्कूप मारेछ। सरकारी टेलिफोन नम्बर त्यसरी व्यक्तिका नाममा दर्ता गर्न कहाँ पाइन्छ र। कसरी त्यसो हुन गयो? समाचार पढेपछि थाहा हुन्छ- पत्रकारले निकै खोजमूलक रिपोर्टिङ गरेका रहेछन्। तर बिचराले आफ्नो ऊर्जा गलत ठाउँमा लगाएछन्। कुरै नबुझी गरिएको रिपोर्टिङले मेहनत सब बालुवामा पानी हुन गएछ र थोरैमात्र पनि बुझ्ने नहाँसी बस्न नसक्ने गरी बेइज्जतिपूर्ण समाचार गोरखापत्र जस्तो देशको सबभन्दा जेठो अखबारमा छापिएछ। यो समाचार पत्रकारिताका विद्यार्थीहरुका लागि एउटा रिफ्रेन्स समाचार युगौँसम्म बन्नेछ।
आउनुस् समाचारबारे विस्तृत जानौँ
समाचारको सुरुवात हुन्छ सनसनीपूर्ण लिडलाइनबाट-
सरकारी टेलिफोन नम्बर व्यक्तिका नाममा दर्ता
अजय शर्मा
काठमाडौँ, जेठ २२ गते । सरकारी कार्यालयका टेलिफोन नम्बर व्यक्तिका नाममा दर्ता भएका छन् । विश्वास नलाग्न सक्ला तर राष्ट्रपतिको कार्यालयदेखि मन्त्रालय र विभागका फोन नम्बर अरू नै व्यक्तिका नाममा दर्ता भएको पाइएको छ ।
अब यसलाई पुष्टि गराउनलाई अर्का लाइनहरु समाचारमा यसरी थपिएका छन्-
राष्ट्रपति कार्यालयको बेवसाइटमा राखिएका फोन नम्बरमध्ये एउटा एसएमटी विद्यादेवी भण्डारी अर्को नेपाल राष्ट्रपति भवन श्री रामवरण यादव र अरू नम्बरहरू खेमचन्द्र ढकाल, दिनेश शर्मा र समिरको नाममा दर्ता छन् । त्यस्तै उपराष्ट्रपति कार्यालयको टेलिफोन नारायण कुँवर सर, झा भीपी जीको नाममा दर्ता भएका छन्।
विज्ञान तथा प्रविधि मन्त्रालयको एक टेलिफोन नम्बर दिदीको अफिस केटीएमको नाममा दर्ता छ । मन्त्रालयको ०१४२११६९८ नम्बर ‘दिदीको अफिस केटीएम’मा दर्ता भएको भेटिएको छ।
यहाँसम्म तपाईँलाई थाहा हुन्न यो के आधारमा रिपोर्टरले लेखेका हुन् भनेर। खतरै स्कूप मारेर खोजमूलक रिपोर्टिङ गरिएको जस्तो हुन्छ। तर यसपछिका लाइन पढ्दा थाहा हुन्छ- तपाईँले सोचे जस्तो नेपाल टेलिकममा यी फोन नम्बर यस्तो नाममा दर्ता भएका हैनन्।
राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, अर्थ मन्त्रालय, विज्ञान तथा प्रविधि मन्त्रालयलगायतका सरकारी कार्यालयहरूको नम्बर ट्रु कलरमा खोजी गर्दा यस्तो विश्वास नै नलाग्ने नतिजा प्राप्त भएको हो ।
लौ भो अब। ट्रु कलर एपमा खोज्दा पो यस्तो भेटिएको रे। ट्रु कलर भनेको के हो भन्ने विषयमा समाचार लेखकको व्याख्या पनि रमाइलै छ। हेर्नुस्-
ट्रु कलर मोबाइल र वेब एप एउटा यस्तो एप हो, जसले तपाईंको मोबाइलमा नभएका नम्बरबाट फोन आएमा त्यो नम्बरको वास्तविक प्रयोगकर्ता को हो भन्ने पहिले नै भनिदिन्छ तर नेपालमा व्यक्तिगत रूपमा खोलिएका सामाजिक सञ्जाल र ईमेल आईडीमा कार्यालयका फोन नम्बर राख्ने गरेकाले नेपालमा त्यसको विश्वसनीयता नभएको पुष्टि हुन्छ तर विश्वव्यापी रूपमा भने सबैभन्दा बढी प्रयोगमा आएको भर्चुअल टेलिफोन बुक ट्रु कलर नै मानिन्छ।
सात वर्ष अघि सुरु भएको ट्रु कलरको बारेमा समाचार लेखक, सम्पादकहरुले भर्खर ज्ञान पाएछन् जस्तो छ। विश्वव्यापी रूपमा भने सबैभन्दा बढी प्रयोगमा आएको भर्चुअल टेलिफोन बुक ट्रु कलर नै मानिन्छ भनेर समेत ठोकुवा गर्न भ्याए उनले। अनि उनैले मात्र बुझ्ने लाइन पनि छ – ‘नेपालमा व्यक्तिगत रूपमा खोलिएका सामाजिक सञ्जाल र ईमेल आईडीमा कार्यालयका फोन नम्बर राख्ने गरेकाले नेपालमा त्यसको विश्वसनीयता नभएको पुष्टि हुन्छ।’
त्यसपछि सुरु हुन्छ खोजमूलक पत्रकारिताको नमूना। कुन नम्बर कुन नाममा दर्ता छ भनेर ट्रु कलरमा ठोक्दै समाचार लेख्दै-
ट्रु कलरमा राष्ट्रपति कार्यालयको टेलिफोन इन्टरकम सिस्टममा राखिएको ०१४४४६००७ नम्बर खेमचन्द्र ढकालको नाममा देखाउने गरेको छ । यस्तै राष्ट्रपति कार्यालयकै अर्को नम्बर ०१४४४६००८ एसएमटी विद्यादेवी भण्डारी, ०१४४४६००९ नम्बर नेपाल राष्ट्रपति भवन श्री रामवरण यादव, काठमाडौँ देखाउने गरेको छ ।
त्यस्तै राष्ट्रपति कार्यालयकै सूचना तथा जनसम्पर्क अन्तर्गतको ०१४४४६०१० टेलिफोन नम्बर दिनेश शर्मा र राष्ट्रपति निवासको कार्यालयको टेलिफोन नम्बर ०१४४१८५०४ समिरको नाममा देखाउने गरेको छ ।
त्यस्तै उपराष्ट्रपति कार्यालयको ०१४२६१४५२ नम्बरको टेलिफोन नारायण कुँबर सर, ०१४२२८२८४ नम्बर झा भीपी जीको नाममा देखिन्छ ।
गृह मन्त्रालयको +९७७–१–४२११२१४ होम मिनिस्ट्री बीके पन्थी, सूचना तथा सञ्चार मन्त्रालयको फ्याक्स नम्बर +९७७–१–४२११७२९ दिनेशकुमार थपलियाको नाममा छ ।
त्यसैगरी अर्थ मन्त्रालय, प्रशासन महाशाखाको ४२११३०० टेलिफोन नम्बर निर्मलहरि अधिकारी, ४२११७४८ नम्बरको टेलिफोन शिशिर सर फिनानको नाम पाइन्छ ।
परराष्ट्र मन्त्रालयको फ्याक्सका लागि प्रयोग भएको टेलिफोन नम्बर ०१४२०००६१ प्रकाश अधिकारीको नाममा छ भने राहदानी विभागको ०१४४६०१० टेलिफोन नम्बर लोकबहादुर पासपोर्टको नाममा छ ।
यस्तै उद्योग मन्त्रालयको ०१४२११६१९ टेलिफोन नम्बर सेक्रेटरी ज्ञवालीको नाममा पाइन्छ ।
फोन नम्बरको दुरुपयोगको व्याख्या उनले समाचारमा यसरी गरेका छन्-
नचिनेको नम्बरबाट फोन आउँदा पत्ता लगाउने एप ट्रु कलरले नेपाली सरकारी कार्यालयहरूका फोन नम्बरको दुरुपयोगको अवस्थालाई पनि एकै पटक चिनाइदिन्छ।
एकै पटक चाहिँ कसरी चिनाउने हो त्यो थाहा भएन।
अझै समाचारमा यस्तो किन हुन्छ भनेरसमेत रिपोर्ट आफै विज्ञ भएर लेखिएको छ-
खासगरी सरकारी फोन नम्बरहरू व्यक्तिको नाममा सामाजिक सञ्जालहरूमा प्रयोग गर्दा यस्तो समस्या देखिएको हो । यसरी सरकारी फोनहरूको अनधिकृत प्रयोगले विभिन्न समस्या सिर्जना गर्ने सम्भावना पनि रहन्छ।
समाचारमा एउटा कोट (सरकारी अधिकारी वा विज्ञको धारणा) त चाहियो। त्यसमा पनि पत्रकार कम छैनन्। उनले समाचार लेखेका छन्-
विज्ञान प्रविधि मन्त्रालय अन्तर्गतको प्रमाणीकरण नियन्त्रकको कार्यालयका नियन्त्रक दीपककुमार श्रेष्ठले ईमेल आईडी, फेसबुक, ट्विटरलगायतका सामाजिक सञ्जालमा सरकारी कार्यालयका नम्बर व्यक्तिगत रूपमा दर्ता गर्न नपाउने र गर्न नहुने बताउनुभयो ।
उहाँले ट्रु कलरमा त्यस्तो जानकारी आए पनि सही र तथ्यपरक सूचनाका लागि सरकारको मन्त्रालय र कार्यालयहरूको आधिकारिक वेबसाइटमा जान आग्रह गर्नुभयो । व्यक्तिबाट त्यसरी प्रयोग भएका फोन नम्बर सम्बन्धित निकायकै नाममा दर्ता गर्ने कसरी भन्नेबारे उहाँले केही बताउनु भएन ।
खासमा कुरा के हो?
ट्रु कलर एपले क्राउडसोर्स डेटा युज गर्छ। त्यसको मतलब, जब तपाईँ यो एप आफ्नो मोबाइलमा डाउनलोड गरेर चलाउन थाल्नुहुन्छ, यसले तपाईँको कन्ट्याक्ट्स अर्थात् तपाईँले मोबाइलमा सेभ गरिराखेका नम्बर र नाममा पहुँच जमाउँछ र त्यसलाई आफ्नो डेटाबेसमा अपलोड गर्छ। तपाईँको आफ्नो नम्बर छ भने आफ्नो नम्बरमा के नाम देखाउने, त्यो तपाईँ आफै छान्न सक्नुहुन्छ। जस्तो कि मलाई मेरो मोबाइल नम्बर ट्रु कलरको डेटाबेसमा सार्वजनिक रुपमा देखियोस् भन्ने लाग्दैन। त्यसैले मैले मेरो मोबाइलल नम्बरमा अर्कै नाम देखिने बनाएको छु। तर सामान्यतया भने यसले अरुको मोबाइलमा सेभ गरिराखेका नम्बर र नामलाई नै आफ्नो डेटाबेसमा अपलोड गर्ने हो। जति धेरै प्रयोगकर्ता, त्यति धेरै डेटा।
विज्ञान तथा प्रविधि मन्त्रालयको ०१४२११६९८ नम्बर ‘दिदीको अफिस केटीएम’ नाममा दर्ता भएको भनेर समाचारमा उडाइएको छ। तर बिचरा समाचार लेखक आफै उडन्ते भएको चैँ उनले पत्तै पाएनन् जस्तो छ। कसैकी दिदी त्यो कार्यालयमा काम गर्थिन् होला। त्यही भाइले आफ्नो मोबाइलमा त्यो नम्बरलाई ‘दिदीको अफिस केटिएम’ भनेर सेभ गरेका होलान्। जब ट्रु कलरले त्यही डेटा आफ्नोमा अपलोड गर्यो, यस्तो देखियो।
समाचार लेखकले आफ्नो फेसबुकमा आफूलाई आइटी जर्नलिस्टका रुपमा चिनाएका छन्। आइटी पाना नामको ब्लगमा पनि उनले आफूलाई आइटी जर्नलिस्ट नै भनेका छन्।
आइटी जर्नलिस्ट कै पारा यो छ भने अरुको हालत झन् के होला?
अनि फेरि गोरखापत्र त गोरखापत्र भइहाल्यो, अनलाइनहरु पनि के भएका ! तीन वटा नाम चलेका अनलाइन पनि गोरखापत्रकै हौवाको पछि लागेर यो स्कूप समाचार साभार गरेछन्-
समाचार लेखकको लोकप्रियता भने बढेको छ यो समाचारले। ट्विटरमा यस्तो पनि भेटियो
यो लेख्नेलाई क्याफेमा बोलाउनुस् कफि म खुवाउछु, भेटेर सेल्फि खिच्ने इच्छा जागेर आयो!
— Ghimire (@ghimireprashant) June 5, 2017
ओ हो! यो समाचार लेख्नेलाइ भेट्नुपर्यो यार! मरें म त । सरकारी नम्बर "दिदिको अफिस केटिएम" मा दर्ता रे! कठै! #TrueCaller नबुझेको https://t.co/28naY5pjn2
— Sanam Chitrakar (@ChitrakarSanam) June 5, 2017
Gosh what a news! If only @AlanMamedi could read this! https://t.co/tLZRGsLV4N
— Sabeena Karki (@sabeenakarki) June 5, 2017
किशोर नेपाल,लक्ष्मण उपाध्याय र रमेश तिवारीजस्ता घाघडान सम्पादक ब्यहोरेर झण्डै ४ बर्ष काम गरेको गोपको दुर्दशा २० बर्षपछी हेर्नुपर्यो।म बेहोस!
— Diness✏ (@DnesKazi) June 5, 2017
App बनाउनेले आफ्नो कपाल उखाल्छ आफै, यो पढिहाल्यो भने !
— Somesh ! (@SomeshVerma) June 5, 2017
रिपोर्टरलाइ 'नमुना पत्रकारिता' पुरस्कार प्रदान गर्दै एक हप्ते ट्रु कलर तालिममा भर्ना गराइबकस्यियोस् ???? https://t.co/sAEy9LvRUB
— Govinda Baniya (@DearGovin) June 5, 2017
मर्न मन लाग्यो ? https://t.co/agNFpdpb79
— Shreejana Shrestha (@shreejanas) June 5, 2017
यी विज्ञान पत्रकार संघका अध्यक्ष हुन् क्यारे । बरै हाम्रो विज्ञान पत्रकारिता ।
यस्ता त छन् नेपालका केहि पत्रकारहरु, कोहिले गोरुको फोटोलाई राँगो भनेर लेख्छन, यस्तो पत्रकारलाई लाजमर्नु बनाउनु पर्छ, एकदम राम्रो काम शालोक्य जी !
Ha ha hà ha paakhe patrukaar lai pauroti bho true caller’
Shame You so called IT Journalist.
“अनाडी च** **र का नाश” भन्ने हिन्दी उखान ठ्याक्कै यही समाचारसंग मिल्दो रहेछ ।
अझ आइटी जर्नलिस्ट रे !? कति हांस्नु हाउ !!!