Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

काठमाडौँ मेयरमा विद्यासुन्दरका सामु राजुराज कमजोर, उनीसँगै पछारिए प्रकाशमान, आज हुँदैछ परिणाम घोषणा

Posted on May 26, 2017 by Salokya

काठमाडौँ महानगरपालिकाको मेयरको दौडमा विद्यासुन्दर शाक्य र राजुराज जोशीबीच कडा प्रतिस्पर्धा हुने अनुमान थियो। तर अपेक्षाविपरीत राजुराज निकै कमजोर देखिए विद्यासुन्दरका अगाडि। पहिलो मतपेटिका खोलेदेखि विद्यासुन्दर बलिया देखिएका थिए, बलियै साबित भए। बिहीबार रातिसम्ममा करिब १३ हजार मत गन्न बाँकी रहेको र दिनमा झण्डै १५ हजारसम्म मत गनिने भएकोले आज शुक्रबार परिणाम घोषणा हुँदैछ। तर पहिले नै परिणाम सबैलाई थाहा भइसकेकोले त्यति रोमाञ्च छैन। शुक्रबार मेयर एमालेबाट विद्यासुन्दर शाक्य र उपमेयरमा कांग्रेसबाट हरिप्रभा खड्गी हुने निश्चित भइसकेको छ।

राजुराज जोशीको एउटा अन्तर्वार्ता हेरेको थिएँ मैले टिभीमा। तपाईँको विजयको आधार के भनेर सोध्दा उनले मेरो पार्टी नै आधार हो भनेका थिए। उनको यो भ्रम यसपालि नराम्रोसँग तोडियो होला। पार्टीकै आधार भएको भए उपमेयरमा हरिप्रभाले जस्तै उनले पनि जित्नु पर्ने हो। नजिते पनि कम्तिमा निकट प्रतिस्पर्धा त गर्न सक्नुपर्ने हो नि। यो त खरायो र कछुवाको दौड जस्तो भयो। दन्त्यकथामा पो कछुवाले जित्छ, व्यवहारमा त खरायोले नै जित्ने हो। राजुराजले जित्ने कल्पना पनि मतगणना सुरु भएपछि कछुवाले जित्ने आशा गरे बराबर भयो उनका समर्थकका लागि।

काठमाडौँमै जन्मिए पनि स्थानीय बीच घुलमिल हुन नसकेका, भोट माग्न जाँदा पनि स्थानीयपन दिन नसकेका, लामो समय विदेश बसेर फर्किएका कारण नयाँले नचिनेका, पुरानाले बिर्सिएका उम्मेदवारलाई काठमाडौँका नेता प्रकाशमान सिंहको जोडमा मेयरको उम्मेदवारी दिँदा एमालेलाई सहज भयो।

त्यसमाथि आइजी प्रकरण, प्रधानन्यायाधीशमाथि महाभियोग जस्ता विषयमा भएको बदनामीलाई चिर्न पनि नेतृत्वले सकेन। यो पराजयले राजुराजको उहिल्यै सिनमा नरहेर सकिसकेको राजनीतिक करिअर उठ्नै नसक्ने गरेर पछारिएको छ। साथमा पराजित भएका छन् काठमाडौँका सर्वेसर्वाका रुपमा रहेका प्रकाशमान सिंह पनि।

गगन थापादेखि नवीन्द्रराज जोशीसम्मको नाम चलाएर अन्तिममा नवीन्द्रका दाजु राजुराज जोशीमा टुंग्याइएको कांग्रेसको उम्मेदवारमा आकांक्षी अरु पनि थिए। रैथानेहरु पनि थिए। तर उनीहरु छनौटमा परेनन्। फलतः पार्टी हैन व्यक्ति हेरेर भए पनि मत दिनेहरुको विकल्प विद्यासुन्दर भइदिए जोसित जननिर्वाचित जनप्रतिनिधिको अनुभव थियो, रैथाने थिए, एमाले पार्टीको रुपमा बलियो संगठन थियो, त्यतिले नपुगेर गठबन्धनका कारण नाफामा आएका ‘गाई’हरु थिए।

कांग्रेसले गगन थापालाई मेयरमा उठ भनेको भए यो निर्वाचन विद्यासुन्दरको पक्षमा एकोहोरिएको मतगणनाको रिजल्ट हेर्नुपर्ने गरी यति निरस हुने थिएन। रोमाञ्च थपिन्थ्यो। कौतुहल थपिन्थ्यो। गगनलाई पनि मेयरबाट सीधै प्रधानमन्त्रीको दावेदारी गर्न सजिलो हुन्थ्यो। एमालेतर्फ पनि शायद् अर्कै हाइप्रोफाइलको उम्मेदवार मैदानमा आउन सक्थ्यो।

यस्तो थियो बिहीबार रातिसम्मको मतपरिणाको ट्रेन्ड-

कूल खसेको मत : १७२६८३
बिहीबार रातिसम्म गनेको मत : १५९१७५
एक दिनमा ‍‍औसत गनिने मत : १५ देखि १८ हजार
कूल वडा संख्या : ३२
बिहीबारसम्म नतिजा आएको : २४ वटा वडाको
कसले कति जितेको : एमाले १३, ११ कांग्रेस वडाध्यक्ष

बिहीबारसम्मको मत

एमालेका विद्यासुन्दर शाक्य ५२ हजार ३९० मत
नेपाली काँग्रेसका राजुराज जोशी ३६ हजार ९८१ मत
विवेकशील पार्टीकी रञ्जु दर्शनाले १९ हजार २५६ मत
साझा पार्टीका किशोर थापा १४ हजार ८६१
नेकपा(माओवादी केन्द्र)का सर्वोत्तम डङ्गोल पाँच हजार ९७८

उपमेयरमा
काँग्रेसकी हरिप्रभा खड्गी ४८ हजार १०१,
राप्रपाका राजाराम श्रेष्ठले २८ हजार ४२०,
माओवादी केन्द्रकी सुशीला पौडेलले आठ हजार ५३
साझा पार्टीकी निरुपमा यादवले नौ हजार ४७६ मत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme