नेपालमा सँधै अचम्मकै कुरा हुन्छ। पहिले पहिले भए विपक्षीले नारा लगाउँथे- राजीनामा दे, राजीनामा दे। लाउडा कान्डमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको राजीनामा माग्दै तत्कालीन विपक्षी एमालेले ५९ दिनसम्म संसद अवरुद्ध गरेको थियो। यो नेपालको संसदीय इतिहासमा एउटा कीर्तिमान थियो। तर अब एमाले फेरिएको छ। त्यसैले पहिले उसले लगाउने ‘राजीनामा दे राजीनामा दे’ नारा ‘राजीनामा नदे, राजीनामा नदे’ मा परिवर्तन भएको छ। अनि संसदमा सम्बोधन गरेर प्रधानमन्त्री प्रचण्डले राजीनामा देलान् भनेर संसदै चल्न नदिएर अवरुद्ध गरिरहेको छ। आफैले लम्पसारवादी सरकार भनेर धारे हात लाउनु लगाइसकेको सरकारलाई ‘किन राजीनामा दिन हतार’ भन्दै रोकिरहेको छ। विपक्षीले समेत सरकारलाई यो विधि माया गरेको नेपालको संसदीय इतिहासमै पहिलो पटक हो।
हिजो पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी ओलीले अहिल्यै किन राजीनामा दिनु पर्यो भनेर मुखै खोलेर भने। राजीनामा नदिनका लागि समेत विपक्षीले दबाब दिनुपर्ने अनौठै काम भयो नेपालमा।
भन्नलाई त एमालेले स्थानीय तहको संख्या थपेको विषयमा विरोध गर्नलाई संसद रोक्ने भनेको छ। तर त्यसका लागि प्रधानमन्त्रीले सम्बोधन गर्छु भन्दा पनि गर्नै दिन्न भनेर रोक्नु प्रचण्ड सरकारको आयु विपक्षीले माया गरेर थपिदिनु मात्रै हो।
प्रधानमन्त्रीले राजीनामा दिन संसदमै किन बोल्नु पर्यो र, देशबासीका नाममा सम्बोधन गरेर राष्ट्रपतिकहाँ राजीनामा दिए भइहाल्यो नि भन्ने पनि तर्क छ। तर अर्को तर्क पनि छ- जुन संसदले आफूलाई चुन्यो, त्यही संसदमा रेकर्ड बस्ने गरेर सम्बोधन गरेर राजीनामाको घोषणा गर्न नपाउने? स्थानीय तहको संख्या किन थप गर्नुपर्यो भनेर प्रधानमन्त्रीले सम्बोधनमा बताउलान्, त्यो सुनेर चित्त नबुझे आफ्नो अवरोधको नीति कायम राखे हुन्न?
संविधानै मान्दिनँ भनेर बसिरहेका समूहलाई चुनावमा ल्याएर संविधानको स्वीकार्यता बढाउन त्यत्रो मान्छे मरेको मधेस आन्दोलनलाई केही न केही त सम्बोधन गर्नुपर्यो नि। संविधान संशोधन पनि हुन सकेन। स्थानीय तहको संख्या २२ वटा बढाएर यो समस्याको सुरक्षित अवतरण हुन्छ भने ‘हुनै दिन्नँ, गर्नै दिन्नँ’ भनेर अड्को थापेर पाइन्छ के?
नेपालमा भद्र सहमति भन्ने कुराको पनि जोकै भयो। गर्ने अनि नमान्ने। संविधान बनाएपछि केपी ओलीको नेतृत्वमा सरकार बनाउने सहमति भएपछि एमालेले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको एजेन्डा नै कांग्रेससामु लम्पसार गरिदियो। जबकि संविधानसभामा जनताबाट उसले त्यही एजेन्डा देखाएर भोट मागेको थियो।
तर कांग्रेसले सहमति मानिदिएन। सुशील कोइराला आफै प्रधानमन्त्रीका उम्मेदवार बने। डेमोक्रेसीका लागि उठेको भन्ने तर्क गरे। हारे। ओली र प्रचण्डको गठबन्धन बन्यो।
प्रचण्डलाई कांग्रेसले तान्न खोज्दा ओलीले बजेटपछि प्रचण्डको नेतृत्व भन्दै अर्को सहमति गरे। तर त्यो सहमति पनि तोडियो। ओलीले सत्ता छाड्न मानेनन्। उल्टो संविधानमा प्रधानमन्त्री फेर्ने व्यवस्था नै छैन भन्ने समेत कूतर्क गरेको इतिहासमा दर्ता भएको छ। वाम गठबन्धन तोडियो र प्रचण्ड-कांग्रेस गठबन्धन तयार भयो। प्रचण्ड सत्तामा आए।
लोडसेडिङ हटाउनेदेखि फास्टट्रयाक भारतलाई सुम्पन्छ, चीनसँग वान बेल्ट वान रोडमा हस्ताक्षर गर्दैन भन्नेसम्मका भ्रमलाई उनले चिरे। पहिलो चरणको निर्वाचन सफलताका साथ सम्पन्न गराए। परिपक्व नेताका रुपमा दोस्रो कार्यकाल चलाए। पूर्वाग्रहीको बाहेक अरुको प्रशंसा गर्ने वातावरण बनाए।
उनै प्रचण्ड अब सहमति अनुसार राजीनामा दिन्छु भनेर भनिरहँदा हुँदैन हुँदैन, नछोड नछोड भन्दै विपक्षीले रोकिरहेको अनौठो स्थिति अहिले देखिएको छ। राजीनामा नदे राजीनामा नदे भनेर विपक्षीले सडकमा नारा लगाउन मात्र बाँकी भयो।
विपक्षी संसदको बाटो रोके अरु बाटोबाट राजीनामा दिन प्रधानमन्त्रीलाई शितल निवासको बाटो नै छेक्ने काम त एमालेले गर्न सक्दैन होला। त्यो नगरे प्रचण्डको प्रोपोगान्डामा सीमित हुन्छ राजीनामाको कुरा।
अपडेट : नभन्दै आज दिउँसो ४ बजे प्रधानमन्त्रीले सिंहदरबारबाट देशवासीका नाममा विशेष सम्बोधन गर्ने भएका छन्। राजीनामा हुन्छ कि हुँदैन त्यो चाहिँ सम्बोधनबाट थाहा हुनेछ।
मसानलाई किन जगाको प्रण्डले? जगाउनेबेला जगायो अब बसाउनलाई दाँतबाट पसिना आयो ? क्या गजबको वात ! प्रचण्डले देशलाई बिकाश होइन विनाशतिर लादैछन । के ग्यारेन्टी छ २२ स्थानीय निकाय थप्दैमा मधेशी पार्टीहरु सहमतीमा आउछन भनेर ? उनीहरुले मागे अनुरुप थपेर ७४२ बनाउदा खोइ त सहमतिमा आउछौ भनेर सहमतिमा आएका ? साथै दुई चरणमा चुनाव पनि त उनीहरुकै माग थियो, खोइ सहमत भए त ? प्रचण्ड जि देशलाई कति तहस नहस पारनु सक्नुहुन्छ पार्नुहोस। बधाई छ ।