राज्यका तीन अंग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाका प्रमुखहरुको व्यवहार केटाकेटीको जस्तो भयो भने के गर्ने? नपत्याउनु भएको? केही दिनअघिका क्रियाकलाप हेर्नुस् न, केटाकेटीले रिसाउँदा साथीहरुसँग ‘कट्टी’ भन्दै नबोल्ने, वास्ता नगर्ने पाराको व्यवहार प्रधान न्यायाधीश सुशीला कार्की, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख ओनसरी घर्तीले देखाइरहेका छन्। हिजो त्यसको एउटा अर्को नमूना देख्न पाइयो। महालेखा परीक्षक र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तको शपथ ग्रहण प्रधान न्यायाधीशले गराउनु पर्ने थियो। तर महाभियोगपछि सर्वोच्चको अन्तरिम आदेशले निलम्बन फुकुवा भएका प्रधान न्यायाधीश सुशीला कार्की कार्यक्रममा गइनन्। सन्चो नभएको भन्दै कार्यक्रममा अनुपस्थित भएपछि उनको ठाउँमा कार्यवाहक प्रधान न्यायाधीशका रुपमा गोपाल पराजुलीले राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा अख्तियार प्रमुख दीप बस्न्यात र महालेखा परीक्षक टङ्कमणि शर्मालाई शपथ खुवाए।
प्रधान न्यायाधीश बाहिर देशमा हुँदामात्र कार्यवाहक हुने गर्थ्यो। तर हिजो भने प्रधान न्यायाधीश एक दिनका लागि आकस्मिक बिरामी हुँदा पनि कार्यवाहकले शपथ खुवाउनु पर्यो। प्रधान न्यायाधीशलाई प्रधानमन्त्री र सभामुखको मुखै हेर्न मन नलाएर हो कि।
प्रधान न्यायाधीशले मात्र हैन, प्रधानमन्त्री र सभामुखले पनि यस्तै व्यवहार गरेका छन्। वैशाख २६ गते कानुन दिवसको अवसरमा सर्वोच्च अदालतले गर्ने कार्यक्रममा यसअघि प्रधानमन्त्री र सभामुख उपस्थित हुने गर्थे। यस पटक भने न प्रधानमन्त्री गए, न सभामुख। दुवैलाई निम्तो थियो। तर दुवैले टारे। राष्ट्रपति र उपराष्ट्रपति मात्रै कार्यक्रममा पुगे, कानुन मन्त्रीसमेत पुगेनन् कानुन दिवसको कार्यक्रममा।
यसको सुरुवात भने प्रधान न्यायाधीशबाटै भएको थियो। वैशाख २५ गते साँझ उपप्रधानमन्त्रीका रुपमा विजयकुमार गच्छदारले शपथ लिँदा प्रधान न्यायाधीश उपस्थित थिएनन्। राष्ट्रपति कार्यालयमा हुने शपथ कार्यक्रममा न्यायपालिका प्रमुख पनि उपस्थित हुने प्रचलन थियो तर त्यो तोडियो।
उपप्रधानमन्त्री र मन्त्रीहरुलाई शपथ राष्ट्रपतिले दिलाउने भएकोले प्रधान न्यायाधीश उपस्थित नभए पनि केही फरक पर्दैन थियो। तर प्रधान न्यायाधीशले नै शपथ खुवाउनु पर्ने अख्तियार प्रमुख र महालेखा परीक्षकको शपथका बेला के गर्ने?
यसो हेर्दा अरुले गर्न नमिल्ने झैँ लाग्छ। तर नेपाल हो, जे पनि मिल्छ। ठूला पदमा पुगेकाहरुको हठका अगाडि स्थापित प्रचलनको के कुरा गराई भो र। यो पनि मिल्यो। प्रधानन्यायाधीश एक दिन बिरामी भइन्। कार्यालय आउन नसक्ने भइन्। कार्यवाहक चलाउनै पर्यो। गोपाल पराजुलीले कार्यवाहक चलाए। त्यही कार्यवाहक प्रधान न्यायाधीशको हैसियतले शपथ खुवाए।
कुरा सकियो।
तर सकिएन राज्यका प्रमुख अंगबीच चलिरहेको शीतयुद्ध।
1 thought on “प्रधानन्यायाधीश र प्रधानमन्त्री/सभामुखलाई एकअर्काको मुखै हेर्न मन नलागे जस्तो छ, केटाकेटीले झैँ ‘कट्टी’ घोषणै गरे भो नि”