Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

चुनावमा सहभागी हुने विषयलाई लिएर उपेन्द्र यादव र राजपा नेताहरुबीच झगडा, फुट्यो गठबन्धन

Posted on May 8, 2017May 8, 2017 by Salokya

तराईमा धेरैको ज्यान जाने गरी लामो आन्दोलन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको ब्यानरमा भएको थियो जसमा मधेसकेन्द्रित दलहरु थिए। सुरुमा चार र त्यसपछि तीन दल थपेर संसदमा प्रतिनिधित्व गर्ने सात दलको मोर्चा थियो यो। मोर्चासमेत आवद्ध र आदिवासी जनजातिहरुलाई समेत समेट्न अर्को गठबन्धन बनेको थियो संघीय गठबन्धन।

मधेस केन्द्रित ६ दल एक भएर राष्ट्रिय जनता पार्टी नेपाल बनेपछि मधेसी मोर्चा उपेन्द्र यादवको संघीय समाजवादी फोरम नेपाल र राजपा नेपालको मोर्चा बनेको थियो। उपेन्द्रको संघीय समाजवादीले निर्वाचनमा भाग लिएपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको औचित्य सकेको राजपा नेपालका नेताहरुले बताए। शनिबार अर्को समूह संघीय गठबन्धनमा समेत फुट आयो। च

शनिबार संघीय गठबन्धनका संयोजक समेत रहेका उपेन्द्र यादवलाई निश्काषित गरेको विज्ञप्ति नयाँ संयोजक महन्थ ठाकुरको नाममा सार्वजनिक भयो। कारण लेखिएको थियो जनतालाई धोका दिई स्थानीय निर्वाचनमा सहभागी भएको।

यादवको पार्टी बाबुरामको पार्टीलाई चुनाव चिह्न मसालमा सहकार्य गरी निर्वाचनमा सहभागी भएको छ। राजपा भने संविधान संशोधनपछि मात्र निर्वाचनमा सहभागी हुने अडानमा छ।

आफूलाई निश्कासित गरेको विज्ञप्ति आएपछि उपेन्द्र यादवको पनि अर्को विज्ञप्ति आयो। उनका तर्फबाट उनका प्रेस संयोजकले विज्ञप्ति जारी गर्दै लेखे-

महन्थ ठाकुरजी, संघीय गठबन्धनलाई किन दुरुपयोग गर्नुभयो ? जवाफ चाहियो
संघीय गठबन्धनको बैठक नै बसी राष्ट्रिय जनता पार्टीका नेताहरुले षड्यन्त्रमूलक ढंगले गठबन्धनको नाम दुरुपयोग गरी विज्ञप्ति जारी गरेको देखेर हामी सबैलाई आश्चर्यचकित बनाएको छ । राजपाका कुनै एक नेताले एकल हस्ताक्षर गरी आफैले आफैलाई संयोजक घोषणा गर्नु आफैमा हास्यास्पद छ ।
उक्त विज्ञप्ति संघीय गठबन्धनको आधिकारिक हुनै सक्दैन । ठाकुरजीको एउटा विज्ञप्तिले गर्दा सहकर्मी दल र नेताहरुबीचको भावी सम्बन्ध कस्तो हुनेछ अनुमान गर्नु भएको छ ? मधेशका जनताले यसलाई कुन रुपमा लिनेछन् ? राजपाको यस्तो अप्रत्यासित हर्कतसँगै केही प्रश्न पनि जन्मिएका छन् । जसको जवाफ राजपा अध्यक्ष महन्थ ठाकुरले दिन जरुरी छ । गठबन्धनमा आबद्ध घटक दल, प्रादेशिक र जातीय मोर्चालाई खबर नै नगरी राजपा अध्यक्ष ठाकुरले कुन नैतिकताले विज्ञप्ति जारी गरेका हुन् ?
आखिर संघीय गठबन्धनको बैठक बोलाउँछ कसले ? राजपा अध्यक्ष ठाकुरलाई गठबन्धनको बैठक बोलाउने अधिकार कसले दियो ? संघीय गठबन्धनको नाममा विज्ञप्ति निकाल्ने अधिकार उनलाई कसले दियो ? पर्दा पछाडि यसभित्र गम्भीर डिजाइनले काम गरेको हाम्रो ठम्याई छ । जसले संघीय गठबन्धनको आन्दोलनलाई सँधै बहिष्कार गर्यो, आन्दोलनको कार्यक्रममा गएन, बैठकमा सहभागी भएन, उसलाई आज गठबन्धनको याद कसरी आयो ? उसलाई गठबन्धनको आवश्यकता किन पर्यो ? राजपा अध्यक्ष ठाकुरले जारी गरेको विज्ञप्ति राजपाको निर्णय हो, गठबन्धनको निर्णय होइन । गठबन्धनको निर्णय भन्दै राजपाले सुनियोजित रुपले जनतामा भ्रम सिर्जना गर्न खोजेको छ ।  मोर्चा सम्मिलित संघीय गठबन्धनले गएको बैशाख ९ गते एक महिने आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो । तर, वालुवाटारमा सहमति गरेर राजपा नेताहरुले आन्दोलन किन फिर्ता लिए ? आन्दोलन स्थगित गरेर राजपाले चुनाव चिन्ह माग्न निर्वाचन आयोग किन गएको थियो ?
पार्टी दर्ता नभएकोले आयोगले चुनाव चिन्ह अस्वीकार गर्यो । स्थानीय तहको पहिलो चरणको निर्वाचनका लागि प्रदेश नं. ३, ४ र ६ नं. प्रदेशमा राजपाको कुनै अस्तित्व नै छैन । त्यहाँ राजपाको न मतदाता छन्, न उम्मेदबार ? अनि केका लागि उम्मेदबारी देऊन् ? तसर्थ, पहिलो चरणको चुनावमा राजपाले भाग लिनु वा नलिनुको कुनै अर्थ नै भएन । पार्टी एकीकरण ताका संघीय समाजवादी फोरम नेपालसँग कुनै सल्लाह वा परामर्श गरिएन । अनि फोरम नेपाल एकीकरण प्रक्रियामा आएन भनेर किन झूठा प्रचार गरिँदैछ ? चुनावमा भाग लिने वा नलिने बारे निर्णय गर्न हरेक पार्टी स्वतन्त्र छन् । फोरम नेपालले मधेशी मोर्चा वा संघीय गठबन्धनको तर्फबाट चुनावमा गएको होइन । मोर्चा र गठबन्धनको संयुक्त निर्णयका आधारमा सरकारबाट समर्थन फिर्ता लिइएको थियो । तर, अहिले मोर्चा र गठबन्धनमा छलफल नै नगरी राजपाले कुन नैतिकताको आधारमा प्रचण्ड सरकारलाई समर्थन दिने निर्णय गर्यो ? फिर्ता लिई सकेको समर्थन फेरि किन दिइनु पर्यो ? जसले सँधै गठबन्धनलाई अपमान गर्यो, बहिष्कार गर्यो, उसलाई गठबन्धनको नाम दुरुपयोग गर्ने अधिकार कसले दियो ? राजपाको एकलौटी निर्णयले मधेशी मोर्चालाई किन भंंग गरियो ? मोर्चा विघटन हुनुअघि छलफल हुनु पर्थेन ?
मधेशमा ऐतिहासिक आन्दोलनको अगुवाई गरेको मोर्चालाई भंग गर्ने राजपाको निर्णय कसरी सही हुन सक्छ ? संघीय समाजवादी फोरम नेपाल चुनावमा गएको मोर्चा छोपेर राजपाका नेताहरु दुईचार दिनका लागि क्रान्तिकारी बन्ने लहडमा लागेकोले यस्तो विज्ञप्ति आएको प्रष्ट छ । मधेश आन्दोलन, माग, सवाल र संविधान संशोधनलाई कमजोर गर्न अन्तैबाट परिचालित भई राजपाले यस्तो हर्कत गरेको हाम्रो बुझाई हो । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवमाथि अहिले सुनियोजित ढंगले चौतर्फी प्रहार हुँदैछ । राजपाको ताजा विज्ञप्ति पनि फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई कमजोर बनाउन खोजिएको एउटा कदम मात्र हो । मधेश विरोधी शक्तिहरुलाई बलियो बनाउन राजपाले यस्तो षड्यन्त्र गरेको छ । मधेश आन्दोलन र संविधान संशोधनलाई कमजोर पार्न यस्तो सुनियोजित षड्यन्त्र रचिएको हाम्रो ठहर छ ।
प्रेस संयोजक
उपेन्द्र यादव– अध्यक्ष, संघीय समाजवादी फोरम नेपाल

जवाफमा राजपाले हिसाब किताब देखाए-

संघीय गठबंधन (हाल)
१.राजपा नेपाल
२.नेपा:राष्ट्रिय पार्टी
३.सलोराम संघीय लिम्बुवान मंच नेपाल
४.आदिवासी जनजाती पार्टी
५.सामाजिक लोकतान्त्रिक पार्टी
६.संघीय लिम्बुवान पार्टी नेपाल
७.किराँत राज्य संघर्ष समिति
८.आदिवासी जनजाति राष्ट्रिय आन्दोलन
९.खसान राष्ट्रिय संघर्ष समिती
१०.तामाङ सालिङ संघर्ष समिती
११.लिम्बुवान संघर्ष समिती
१२.नेवा: स्वायत्त प्रदेश मंका: संघर्ष समिति
बाँकी ……………..
१.ससफो नेपाल
२.शेर्पा स्वायत्त प्रदेश संयुक्त संघर्ष समिती (ससफो)
३.लिम्बुवान संघर्ष समिति(ससफो)
४.ताम्सालिङ संघर्ष समिति (ससफो)
५.तमुवान संघर्ष समिति (ससफो)
६.मगरात संघर्ष समिती(ससफो)
७.शिल्पी राष्ट्रिय आन्दोलन नेपाल(ससफो)

2 thoughts on “चुनावमा सहभागी हुने विषयलाई लिएर उपेन्द्र यादव र राजपा नेताहरुबीच झगडा, फुट्यो गठबन्धन”

  1. Shankar says:
    May 8, 2017 at 8:01 am

    खान र देश लूटन कहिले फुट्छन , कहिले एक हुन्छन् कुन नया कुरो हो र ?
    पाखे बांदर को हातमा नरिवल भएको छ देश | Indian mafias are all around.

    Reply
  2. डिल्ली says:
    May 8, 2017 at 2:53 am

    उताको भत्ता वा लाजिम्पाट दरवारको कड्काइ आएपछि फुटेका सबै फेरि जुट्छन् । चुनाव खर्च बढाउन यसो बार्गेनिङ त गर्नै पर्यो नि ! भोकमरी शुरू भएपछि उत्तर कोरियाले क्षेप्यास्त्र पड्काए जस्तो गर्नै पर्यो जो दानापानीको सवाल छ ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme