-वाहिद अलि-
उसको मुहार रंग जाने कपडा धोए पछि अथवा वासी गुलाफ जस्तै फिका फिका । न रंग थियो न चमक । एउटा डमी जस्तो मिलेको रुप जीउडाल तर रंग उडे उडे जस्तो । अनि डमी जस्तै देखिनका निम्ति मात्र जस्तो । पहिरन पनि केवल देखाउन का निम्ति जस्तो । पानि दिने बहानामा उ आफुलाई हामि बीच देखाउन ल्याउदा को कुरा थियो । मैले उ ढोका भित्र पस्दै गर्दा उसलाई हेर्ने चान्स गुमाए । अर्को चान्स मैले पानिको ग्लास समाउदै गर्दा पाएको थिए । लाज सरम अथवा सम्मान । मेरा नयन किन झुकेथाहा भएन । म संगै को अर्को कसैले पानि को ग्लास समाउदै गर्दा उसका ति सबै कुरा हरु नियाल्न भ्याएको थिए । यति भनिरहदा उ आखाँ मा नबसेकी चाही होइन ।
एउटा पारिवारिक जमघट जहाँ आफ्ना मान्यजन देखि नयाँ मान्यजनहरुको बिचमा उसलाई हेर्नु थियो । उ मलाई मन पर्यो परेन भन्नु पर्ने थियो । परिक्षामा ठिक बेठिक प्रश्न जस्तो । म एक्लै को मन पराईले पनि हामि अर्को चरणमा प्रवेश गर्ने माहोल बन्ने रहेछ । कस्तो भाग्यमानी हामि केटा जाति । ति मान्यजन जसको अगाडी केटीको छायाँ सम्म हेर्न डर मान्ने आखाँ, मन, रिति अनि संस्कृति । ति डर लाज सरम आफै हराए । रिति संस्कृति चाही बिहेको लागि केटि खोज्न जादा मज्जाले केटि हेर्न पाउने हुने रहेछ ।जिन्दगि को सवाल थियो । उ संग जिन्दगि बिताउन पर्ने मैले नै हो । हेरेर नै धेरै कुरा बुझ्नु थियो । अभिवादन गर्दै पानि दिने रसम पुरा गरेर उ ढोका बाट बहिरीई ।
जति नै आखाँ फाडेर हेरे रंग रुप बाहेक अरु कुरा बुझ्न टाढाको कुरा थियो । फेरी एउटा मन ले आफन्त धेरै नै ल्याएको भए उसलाई अरु केहि बेर हेर्न पाउने थिए कि भन्ने सोचे । मेरो लालच वा बाध्यता । आफै फिस्स हासे । त्यति आदर गर्नु नपर्ने आफन्तजन हरु आखाँ बाटै मेरो प्रतिक्रिया बुझ्न चाहेका थिए । त्यो भन्दा पनि बढी अर्को पट्टिका आखाँहरु सिसिक्यामेरा जस्तै एकोहोरो मेरो लाइभकास्ट गरिरहेका थिए । म दोश्रो चरणमा प्रवेश गर्न आतुर थिए या बाध्य । मैले आखाँ को दुई परेली लाई हलुका दुई पटक बन्द गरे । मुस्कान आफै आयो । जसको अर्थ सबैले बुझे । त्यति गाह्रो जवाफ थिएन । सबै जना मुस्कुराउन थाले । त्यहि बिचमा म पनि मेरो नजिक का आदर गर्न नपर्ने आफन्त हरु संग आखै बाट प्रतिक्रिया मागे । सबै झुटा जवाफ दिदै छन जस्तो लाग्यो । झुटो मुस्कान । परिवारमा एक प्रकारको हर्ष थियो । मैले केटि मन पराइदिएको अनि अब मेरो बिहे हुने भयो भनेर होला ।
यहाँ को माहोलले रंग बद्लेको देखेर म छक्क थिए । दुवै तिरका परिवार फुरुंग उडे उडे जस्तै । चिया नास्ता आइरहेको थियो । राम्रो सत्कार गर्न सबै लागि परेका थिए । उसैको हात बाट खान पाए जस्तो मन बरालिएको थियो । म बहाना बुन्दै थिए उसलाई हेर्न । मेरो छटपटी अनि आखाँ को दौडधुप । मेरो तड्पाई मैले लुकाएको छु भन्ने भान परेको थियो । तर म फेल खाए । मेरो काकाको छोरि मेरो प्यारो बहिनि म संग आखाँ तर्दै उसलाई बोलाउने भनेर इसारा गरि । मेरा आखाँ झिम्किए मन भित्रि बाट ।बहिनि उसको परिवार महिला सदस्य संग केहि बेर उहाँ लाई बोलाइदिनु न भनेर आग्रह गरि । उ ढोकाबाट कोठा भित्र आउदै थिई । बैनीले आउनु न हामि संग गफ गरौ भनि । उ मेरो व्यथा को औषधि । म आनन्दित भए । उ सोफा मा आएर टुपुक्क बसी । उ आफ्नै घरको सोफा मा बस्दा नौली केटि बसे जस्तो ।यो सब नाटक हो भन्ने मन मा लग्यो । त्यसो त म पनि सके सम्म भलाद्मी बन्ने कोसिस गर्दै थिए । मेरा बहिनि भाउजुहरु मेरो यो संयमता अनि भद्रपन देखेर आफुहरु लाई रोक्न सकेनन । उनिहरु हासो को फोहोरा छुटाउन थाले । उ अफ्ट्यारो मान्दै थिई । म पनि अफ्ट्यारोमा परेको थिए । तर पनि उसका शिक्षादीक्षा कामकुरो हरु सोधपुछ गरे । हासो रोकिएको थिएन । म दिक्क थिए । उसलाई मेरो बारेमा बुझ्नु केहि थिएन। उ अभिनय नगर्दा पनि निकै सुशील देखिएकी थिइ । यदि साची नै उसले अभिनय नगरी यो सबै प्रस्तुति दिएको हो भने उ भन्दा मेरो लागि लायक अरु कोहि हुने छैन । मन भित्र छाप नै ठोकी दिए । हासो रोकिने नाम लिएको थिएन । उ दिक्क भई कि लजाई म एकछिन है भन्दै बिदा भई । दिदीबहिनी हरु को हासो उ गाएपछि झन् बढ्यो । म अतिनै दंग थिए उनीहरुको बचपना देखेर ।
म एकोहोरिएको थिए । उ अनि उसका हाउभाउमा कति दम छ भनेर सोचिरहे । त्यतिकै मा भित्र देखि आवाज आयो । अब केटा केटि लाई कुरा गराउन लगाउनु पर्यो भनेर । हाम्रा आफन्त भित्र उत्कृष्ट लमी पनि थिए । मन भित्र लड्डु फुटेको थियो । म केहि लजाए जस्तो गरि भित्र तिर लागे । उसलाई आफ्नो ममी र केहि आफन्त हरु ले घेरेर राखेका थिए । म जाने बितिकै उ संगै बस्न आग्रह गर्नु भयो ।हामि केहि अफ्ट्यारो महसुस गर्यौ । तर त्यहाँ बस्नु बाहेक केहि अरु उपाय थिएन । उहाँ हरु केहि बेर आफ्ना कुरा हरु राख्नु भयो । उहाँ हरु को आसय हाम्रो मन मिले बाकि सबै कुरा मिल्ने भन्ने नै थियो ।जाडो महिना अनि छिप्पिदै गरेको रात मेरो मुहारमा मन्द पसिना छुट्दै थिए । उसले कोट झिक्दा हुन्छ भनि । म अक्मकिदै म ठिक छु भने । अब हामि सुरु हुन लाग्यौ भन्ने उहाँ हरु लाई लागेछ । उहाँ हरु बाहिरिनु भयो ।
मेरो जिन्दगि मा गरेका डिल मध्य ठुलो डिल थियो । आफु बेचिने डिल । आफ्ना नराम्रा कुराहरु नघटाई राम्रा कुराहरु नबढाई उसलाई भने । यी दुई कुरा सबै भन्दा छिटो देखिने कुरा हुन् । म मेरो स्वर हाउभाउ लाई निकै ध्यान दिएको थिए । कतै म धेरै होसियारी देखाएको त छैन भनेर बिचमा रमाइला कुरा पनि गरे । उ कहिले मेरो ओठका कप्चेरा को मैला पुछ्दै त कहिले परेला का रौ गाला बाट टिप्दै मेरो कुरा मा मुग्ध भएकी थिई । १५ मिनेट जति आफ्ना कुरा हरु राखे अनि चुप लागे । उ मेरो कुरा यति ध्यान दिएर सुनेकी थिई कि म बिक्दै छु भन्ने मा म बिस्वस्त थिए । अब उसको पालो । उ निकै सरल अनि मुख भन्दा धेरै आखाँ बाट उ कुरा गरिरहेकी थिई । म उसलाई आखाँ नझिम्काई हेरी रहे । सुनी रहे । हाम्रा कुराहरु अनि कुरा गर्ने सैली हरु मा धेरै समानता थिए । मानौ हामि लामो समय सम्बन्ध मा रहेका जोडी हौ । म उ संग कुरा गर्दा निकै सजिलो महसुस गरेको थिए । हामीले लगभग ४५ मिनेट संगै बितायौ । बिहे गर्ने कुरा हिमाल चढ्नु जस्तै हो भन्ने महसुस भयो । एक अर्थमा यो भेटको निष्कर्ष हामि एकअर्का ले बिहेको परिभाषा राम्रो संग बुझ्यौ ।
हामी दुई जना एक अर्का संग विदा भयौ । सबै स्तब्ध थिए । सबै को नजर म संग जुधेको थियो । मेरो नजर खुल्ला थिए तर सपनामा डुबेका । म फिस फिस्स हास्दै थिए । मलाई कसैले आखाँको इसारा ले सोधे कि सोधेनन याद भएन । उता पनि त्यस्तै भएछ । उस्का आफन्त हरु पनि अन्योलमा । सबै आफन्तहरु को मुहारमा केवल आशा मात्र थियो । न हर्षित न दुखित । पक्कै उ पनि म जस्तै भित्र भित्र एक अर्काको लागि हौ कि हैनौ भन्ने जोड घटाउ मा लागेकी थिइ होला । मध्य राति हामि उसको घर बाट निस्कियौ । बास बस्ने घर सम्म पुग्न लामो बाटो थियो । त्यहाँ पुग्दा उसको फेसबुक मा फ्रेन्ड रेक्वेस्ट आएको थियो ।
२०१६-१२-२९
Simple and interesting but unfinished story.