Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

छ दलको एकता – अल द बेस्ट राजपा

Posted on April 20, 2017 by सूर्य खड्का

नेपाली रजतपटका नामी नाम र खासगरी हास्य कलाकारिताका स्थापित जोडी दीपकराज गिरी र दीपाश्रीका लागि खुबै फापेका अंक नम्बर हो,  ६। ६ एकान ६ होस् वा वडा नम्वर ६ उनीहरुका रंगीन रजतपट यात्राका लक्की अंक साबित भाथे। एक युवक कृष्ण सुवेदीको सुसाइड वियोग व्यथाबाहेक गरिदिँदा छक्कापन्जा पनि दीपक दीपाको गुडलक्की नम्बर नै हो अंक छ। तथापि सन्देशका हिसाबले गुदीविहीन तर मनोरन्जनपूर्ण दीपक दीपालाई फापेको अंक ६ अहिले फापेको छ, नेपालभित्रको देश मधेशका दलहरुलाई। छ मधेशी दल रातारात एक भए। यो चुनावी मुखमा भएको स्वभाविक पार्टी एकता मात्रै होइन, अंक ६ मधेशी मतको विभाजित राजनीतिलाई जोड्ने पुल पनि भएको छ। त्यसैले मधेशका दललाई फापेको अंक नम्बर ६ भन्दा अतिशयोक्ति नहोला।

निश्चयनै वैशाख ७ बिहीबारको दिनमा ६ मधेशी दलको एकता भएको खबर बिजुली गतिमा संसारभर फैलँदै गर्दा सबैभन्दा बढी खुसी मन्चमा आसीन ६ जना पार्टीका अध्यक्ष नै देखिन्थे। अरु सबैभन्दा बढी खुसी देखिन्थे, सदस्य, सहयोग र शुभेच्छुकहरु, हितैषीहरु, शुभचिन्तकहरु ।

एकता घोषणा सभामा आफूहरु सबैलाई अंक ६ को फलीफाप हुने थप सपनामा झुम्दै गर्दा एकतावद्ध हुदै गरेका ६ दलका कत्ति नेताले भने आफ्नै धोती खुस्किने गरी उत्तेजक अभिव्यक्ति पनि दिए। बाउले छोरा नमाने छोराले नि बाउ मान्नुपर्ने दरकार छैन भन्ने पूर्व काँग्रेसी शरतसिंह भण्डारीको अभिव्यक्ति सांकेतिक रुपमा रक्षामन्त्री हुँदा तराईका २२ जिल्ला अलग गरिदिन्छु भन्ने अहंकारकै पुनरावृत्त जस्तो देखिन्थ्यो।

पूर्व एमाले महेन्द्र राय यादवले त नेपालको संविधान भारतले स्वीकारेकै छैन भन्दै गर्दा आफ्नो भारतभक्तिको श्लोकमा धोती खुस्किएकै पत्तो पाएनन्। भीष्म पितामह भानिएका सन्त नेता महन्थ ठाकुरले टाइम बमको प्रसंग कोट्याएर बुझाउन खोजेको अर्थ पनि उनको गर्विलो विगतको संघर्षगाथा र वर्तमानको राजनीतिक उचाई सुहाउँदो थिएन नै। राजेन्द्र महतोको भावुकता होस् वा राजकिशोर यादवको मादकतापूर्ण अभिव्यक्ति, खुसीका फोहरा मात्रै होइनन्, प्रतिशोधका पोका जस्ता पनि थिए।

जे होस् यो एकै ड्यांगका तर फरक-फरक राजनीतिक पसल थापेका मधेशी दलको एकता यी छ दलको लागि नयाँ इतिहास हो, शक्ति आर्जनको श्रीगणेश पनि हो। यसको खुसीयालीमा मधेशमा खुवाइएको मिठाई वा दीपावली आफैमा शुभ संकेत हुन्। कसैले पनि यो एकताबाट झस्किनु पर्ने जरुरत छैन नै। यो एकताबाट सबैभन्दा बढी खुसी स्वर्गवासी मधेश पिता गजेन्द्रनारायण सिंहको आत्मा भयो होला। किनकी सप्तरीको त्यो मध्य सडक चोकमा उभिएको सिंहको त्यो अर्धकदको शालिक निर्जीव भए पनि उनको आत्माले यदि मधेशी राजनीतिको हिसाव गर्दै थियो भने उसका लागि बिहीबारको एकता नै आफ्ना जीवन्त राजनीतिक संघर्षका अल्पविरामहरुलाई पूर्णविरामतिर डोरयाउने प्रारम्भ बिन्दु थिए। अधुरा सपना पूरा गर्ने नयाँ प्रण र प्रतिज्ञा नै हुनुपर्छ यो एकता।

त्यसैले बधाई ज्ञापन नै गरौं यो मधेशी दललाई फापेको अंक छ का नयाँ पार्टी एकताका लागि । नयाँ परिवेशमा नयाँ एकताका लागि । नयाँ शक्ति र गन्तव्य तयका लागि । भलै नभनौ नभनौ भन्दा भन्दै भन्नै कर लाग्नने तथ्य हरु छन नै यो एकतासंगै छरपष्ट तथ्यहरु । नाम पनि मधेश शव्द बिनाको भारतीय जनता पार्टीसंग मिल्ने राष्टिय जनता पार्टी अर्थात राजपा । झण्डा पनि भारतीयसंग ठयाक्कै मेल खाने । रंग उस्तै, रचना र कोण र डिजाईन पनि उस्तै । कता कता भाजपाको नेपाली संस्करण जस्तो राजपा भनेर अरुले आरोप लाउनै पर्दैन, राजकिशोर यादव, महेन्द्र यादव, राजेन्द्र महतो, महन्थ ठाकुर, शरतसिंह भण्डारी र अनिल झाले मन्चबाट शीरमाथि फहराएको होइन, कम्मरमुनि झुकाएर फहराएको झन्डाले नै बताउँछ । खासमा यो झण्डा र नाम भाजपाको फोटोकपी हुन जानु संयोग मात्रै थिएन भन्ने त महेन्द्र यादव र शरतसिंह्हरुको वाणी र बानीले पनि स्पष्ट पारेकै छ ।

तथापि खोट भन्दा ज्यादा राम्रै कुरा हेरेर बधाई दिनु पर्ने बेला हो यो । किन भने यो एकताको बेला हो । एकता त्यो पनि चाहे थ्रेसहोल्डको थप्पडले होस होस वा एकता नै बल रैछ भन्ने फुटपरस्त २ दशक लामो चोटको चेतले होस । अथवा दक्षिणी वायुको प्रभावले नै किन नहोस सबै नाँग्ले पसल अब सुुपर मार्ट भएका छन । यसमा ग्राहक बढ्ने निश्चित छ । शक्ति त उसै बढेकै छ ।

राजपालाई भाजपाको नेपाली भर्सन भनेर भन्न नपरोस, लेख्ने, सुन्ने, सुनाउने दिन नआउन । किन की देश २० वर्षपछि संघीय नेपालको स्थानीय तह चुनावको मुखमा छ । अब मिलेका छ दल खुरुक्क स्थानीय चुनावको महासमरमा होमिए भने उनीहरुलाई जति धन्यवाद दिए पनि अपुग हुन्छ । वधाई, धन्यवाद र शुभकामनाहरुका साथ राजपालाई राजपा नै देख्न, भोग्न पाईयोस, भाजपाको नेपाली भर्सनको रुपमा चित्रण भन्न नपरोस । फापोस यो छ दलीय एकता फिल्मी दुनियाँमा दीपक दीपालाई फापेजस्तै हाम्रा मधेशी मुलका नेपाली नेता नेताहरुलाई । मधेशीबाट राष्टिय हुने चेत ढिलै भए पनि आएकामा पनि यी एकतापन्थी नेताहरु बधाईका हकदार छन । मधेशलाई देश संझने र परदेश नबनाउने युगिन चेतना पनि भारी वृद्धि होस यिनीहरुलाई । यिनीहरु अब विकल्प शक्ति बन्ने गरी बढ्दै, झांगिदै जाउन र सत्तामा खाँटी नेपाली दल बनेर पुग्न सकुन । नयाँ फुटको लागि जग होईन मधेशभित्रको देशलाई सिंहदरवारसंग  र सिंहदरवारलाई देशभित्रको मधेशसंग जोड्ने सेतुपात्र राजपा बनोस । नायक छ दलीय एकताका पक्षधर नेताहरु बन्न सकुन । उनीहरु राजपा नै बनुन भाजपा जस्ता हुँदै नहोउन । अनि नयाँ राजपा वैशाख ३१ को स्थानीय सरकार छान्ने चुनावमा पहिलो दल बन्ने गरी चुनावी खालमा अब्बल बनोस, भनौ सबैले वधाई र शुभकामना राजपा । राजपाले बोकेको दलीय चुनाव चिन्ह छाता क्षेत्रीय, संकीर्णवादीहरुको मात्रै ओत लाग्ने वा दक्षिणी दक्षिणा र मन्त्रणका आत्माहरुको घुम होईन हिमाल, पहाड , तराईका सबै नेपालीको सच्चा छाता बन्न सकोस ।  अल दि बेस्ट टु नयाँ राजपा, नेपाली राजपालाई । हैन र ? कि कसो त ?

 

2 thoughts on “छ दलको एकता – अल द बेस्ट राजपा”

  1. Rishi Adhikari says:
    April 21, 2017 at 10:34 pm

    कमसेकम मधेश भन्ने शव्द झिकेर राष्ट्रिय भन्ने शव्द प्रयोग गरेकाछन् यी छ दलले. क्षेत्रिय, सङ्कुचित, व्यक्तिवादी, भारत परस्त र लिंडेढिपी त्यागेर तराई मात्र होइन हिमाली जनता पनि हामी जस्तै हुन्, भन्ने मानसिकता बोकी सम्पूर्ण नेपाली जनता कै राष्ट्रिय पार्टी बनोस भन्ने शुभकामना. होइन नाम राष्ट्रिय तर काम भने पहिलाकै जस्तो हुने हो भने, पहिलाका छ मधेशवादी पार्टी जस्तै हुनु भन्दा नभएकै नेपाललाई राम्रो हुन्छ. पहिला का ति छ मधेशवादी पार्टीलाई समातेर भारतले सारै खेलेको थियो नेपालमा. अब राष्ट्रिय जनता पार्टीले भारतलाई नेपालको अन्तरिक मामिलामा खेल्ने अवशर नदिओस, यहि नै आशा गर्दछु.

    Reply
  2. Haris says:
    April 21, 2017 at 4:18 pm

    झन्डा को बनोट र pattern इंडिया को झन्डा संग ठ्याक्कै मिल्दो रैछ त अ रे ….

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme