गएको महिना प्रकृतिका साथीहरु समूहसित चितवन राष्ट्रिय निकुञ्जको बफरजोनमा प्रकृतिको साथी बनेर दुई साता बस्दा गैँडाबारे धेरै सुन्यौँ। गैँडासित जम्काभेट भयो भने कस्तो सावधानी अपनाउने भन्ने जानेर जंगल पस्यौँ। नवलपरासीको अमलटारीमा गैँडाको आक्रमणमा परेर ज्यान गुमाउने र अङ्ग गुमाउनेहरु समेत गैँडा संरक्षणको पक्षमा बोल्थे। जंगल पस्दा दुई पटक गैँडा देख्यौँ। एक पटक माउ र केटो चर्दै गरेको बेला। एक पटक पानीमा डुबुल्की लगाइरहेको बेला। सून्य चोरी शिकारीका हजार दिनको उपलब्धिको चर्चा थियो त्यहाँ।
तर दुर्भाग्य, आज बिहानै एउटा गैँडा चोरी शिकारीले मारिएको अवस्थामा चितवन निकुञ्जको मुख्य कार्यालय कसराबाट केही किलोमिटरको दूरीमा रहेको हरियाली सामुदायिक वनभित्र फेला परेको खबर आयो। कुन चैँ पापीले कन्चटमा गोली हानेर ठहरै पारेछ गैँडालाई। अनि लिएर गएछ खाग। बिचरा गैँडा। निरपराध गैँडाले बित्थामा ज्यान गुमाउनु पर्यो। केका लागि? पैसाका लागि।
मान्छेको जस्तो व्यवहार हुँदो हो त चितवनमा बाँकी रहेका ६ सय गैँडाले दोषीमाथि कारबाहीको माग गर्दै जुलुस निकाल्थे होलान्। टायर जलाउँथे होलान्, अनि गैँडा शहीद घोषणा गरी दस लाख रुपैयाँ क्षतिपूर्तिको माग गर्थे होलान्। तर गैँडाहरु मान्छे जस्ता ‘असभ्य’ छैनन्। उनीहरु चुपचाप छन्। संभवतः आँसु लुकाई आफ्ना एक साथीको मृत्युप्रति शोक मनाउँदैछन्।
खाग बेचेर धन कमाउने कुन चैँ लोभीले यो पाप काम गर्न लगायो।
यसको जालो ठूलै हुन्छ। जसले गोली हान्यो र गैँडालाई परमधाम पुर्यायो, हेर्दा ऊ सबैभन्दा ठूलो दोषी जस्तो देखिन्छ। तर हैन, ऊ त मात्र प्रयोग भएको हो। उसलाई त्यसो गर्न लगाउने र उक्साउनेहरु यहाँ सबैभन्दा दोषी हुन्छ।
गैँडाको खागले उपचार हुने, गहना बनाउने आदि कारणले यो दुर्लभ वस्तु $35,000 प्रति किलोसम्म अन्तर्राष्ट्रिय बजारमा बिक्री हुने गर्छ। तर गोली हानेर खाग काटेर लैजानेहरुको हातमा पर्ने रकम योभन्दा निकै थोरै हुन्छ। त्यसो भए पनि गैँडालाई सबैभन्दा खतरा चाहिँ उनीहरुबाटै हुने हो।
बिचरा गैैँडा, हेर्दा कति सुन्दर। कसैको केही बिगारेको छैन। तर हत्या हुन्छ।
यो हत्या, नेता र उनीहरुका कार्यकर्ताहरुको हत्या जस्तो ठूलो इस्यु हुँदैन। उनीहरुका विज्ञप्ति निस्कँदैनन्, पत्रपत्रिकामा समवेदना छापिँदैन, श्रद्धाञ्जलि दिइँदैन, सामाजिक सञ्जालमा rip लेख्नेसम्म फूर्सद हुँदैन धेरैको।
प्रिय गैँडा,
तर म अनि म जस्ता धेरै मानिस पनि छन् जो तिम्रो हत्याले मर्माहत भएका छौँ। हामीलाई पीडा भएको छ। हामीले आफूलाई पनि दोषी ठानेका छौँ किनकि तिम्रो हत्या गर्ने मानिस जातको हो। तिम्रो आत्माले शान्ति पाओस्।
कसरी भयो हत्या?
चितवन राष्ट्रिय निकुञ्जमा सेनाको कडा सुरक्षा घेरा छ। निकुञ्जले आज पत्रकार सम्मेलन गरी गैँडा मार्ने काम प्रोफेसनल तस्करको रहेको ठहर गरेको छ। हुन पनि टाइमिङ र शैलि हेर्दा चानचुनेले यस्तो काम गरेको पत्याउन गाह्रो छ।
गैँडा हत्याको लागि त्यस्तो टाइमिङ रोजिएको छ, जति बेला निकुञ्ज प्रशासन र सुरक्षा यहाँका पाँच गैँडा बर्दिया र शुक्लाफाँटा स्थानान्तरणमा सम्पूर्ण ध्यान दिइरहेको थियो। अनि गोली त्यस्तो बेला हानेको अनुमान गरिएको छ, जतिबेला चट्याङ परेको थियो। उता आकाशबाट गड्याङगुडुङ गर्नु, यता गोली हानेर गैँडालाई ठहरै पार्नु। र त, वरपरका बासिन्दा कसैले गोली चलेको भेउ नै पाएनन्। गोली हाने, मारे, अनि बञ्चरोले काटेर खाग लिएर गए।
तर यसका लागि पनि गैँडा बस्ने ठाउँदेखि अनेक कुराको रेकी पक्कै गरे होला ती तस्करहरुले। यो सब कसरी सुरक्षाकर्मीको आँखाबाट लुक्न पुग्यो?
निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले एउटा मात्रै गोली कञ्चटमा हानिएको, ठाउँका ठाउँ ढलेको, गोली कन्चटबाट छिरेर करिब ५० सेन्टिमिटरभित्र पुगेको पाइएको जानकारी दिएका छन्। निकुञ्जको सुरक्षार्थ खटिएको श्रीजंग गणका गणपति माधव थापाले थ्रीनट थ्रीबाटै गोली हानिएको दाबी गरेका छन्।
२०७१ सालको वैशाख १९ गते। त्यसै क्षेत्रमा त्यसरी नै गोली हानी गैँडा मारिएको थियो। त्यतिबेलाका तस्कर पनि अहिलेसम्म फेला परेका छैनन्। आज १ हजार ७१ दिन फेरि अर्को गैँडा शिकारीको फन्दामा पर्यो।
कसरी मारिन्छ गैँडा ?
केही पुरानो मुद्दामा गैँडा मार्नेहरुले प्रहरी र अदालतमा दिएको बयान।
बमबहादुर प्रजासँग २०५९ साल चैत्रमा नारायणगढमा फिल्म हेर्न जाँदा भेट भई निजले गैँडा मार्न जाऔँ, ३०।४० हजार रुपैयाँ दिन्छु भनी भनेको हुँदा पैसाको लोभमा परी गाडीमा चढी नवलपरासीको रजहरतर्फबाट नारायणी नदी किनारमा उत्रिई त्यहीँ सुतेको र भोलिपल्ट नदी तरी राष्ट्रिय निकुञ्ज क्षेत्रको जंगलभित्र प्रवेश गरी गैँडा खोज्दा नभेटिएकोले सो रात पनि जंगलमै सुत्यौं, त्यसको भोलिपल्ट बगरमा हेर्दा गैँडा हिँडेको पाइला देखी सो पाइला पछ्याउँदै जाँदा गैँडा भेटियो । तत्पश्चात् हामीलाई रुखमा चढाएर बमबहादुर बन्दुक लिई गैँडा मार्न गयो, आधाघण्टा पछि बन्दुक पड्कियो, हामी जाँदा गैँडा मरेको थियो, बमबहादुरले बन्चरोले खाग काटी मलाई झोलामा बोक्न दिए । हामी नारायणघाट निस्केपछि बमबहादुरले रु.४०,०००। का दरले मलाई र सूर्यबहादुरलाई पैसा समेत दिएको हो
जिल्ला चितवन, भण्डारा गा.वि.स. फुल्लौरी घर भएका ठोरीमा आउने जाने गर्ने बुधिराम चौधरीले भनेअनुसार राष्ट्रिय निकुञ्जभित्र गैंडा मार्न जाने सल्लाह भई मिति २०६१ साल वैशाख ४ गतेका दिन निज चौधरी मेरो घर नजिकको मंगल भन्ने विक्रम माझी (बोटे) र राजु माझी (बोटे), जिल्ला चितवन गर्दी ४ वनकट्टाका पहिले गैंडाकै काण्डमा जेलबाट भर्खर ०६० साल असारमा छुटेका आइतराम बोटे, जोगिया बोटे र मसमेत ६ जना भई मेरो बन्दुक र मंगल भन्ने विक्रम माझीको अर्को भरूवा बन्दुक गरी दुईवटा बन्दुक लिई ठोरीबाट दुई दिनसम्म हिँडी चुरे पहाड काटी चुरेको फेदीमा गैंडा मार्न खोज्दै थियौं । मंगल भन्ने विक्रम माझी अघिअघि थियो र उसले गैंडालाई हानेको गोली खुट्टामा लागी गैंडा भाग्यो, फेरी गोली ठोक्नुपर्छ जाउँ भनी हामी रगत पछ्याउँदै थियौ, यतिकैमा निकुञ्जबाट गस्ती आएको थाहा पाई साथीहरू भागे । मेरो, राजु माझीले लिएको बन्दुक त्यहीँ छोडेर भागेछ, अर्को बन्दुक विक्रमले नै लिई भाग्यो, मसँग राशन, भाँडाकुँडाको भारी भएर भाग्न नसकी पक्राउ परें । घटनास्थलमा बरामद भएको भरूवा बन्दुक मेरै हो । म पहिला जिल्ला मकवानपुर, छतिवन गा.वि.स. बस्दा किनेको भरूवा बन्दुक पछि ठोरी आउँदा जङ्गलैजङ्गल लुकाएर ल्याई राखेको हुँ । खेतबारीमा जनावर आई बाली खाई दिन्थ्यो । एकचोटि त्यहीँ भरूवा बन्दुकले गोली हानी जनावर मारेपछि सो बन्दुक राजु माझीले लियो । उसले सो बन्दुकले जरायो मारें भनेर मेरो भाग मासु दिएको थियो । पछि राजुले नै जङ्गलमा बन्दुक लुकाउँथ्यो । उनीहरूले गैंडा मार्न जाउँ भनेर ल्याएकाले पछि लागी आएको हुँ । मैले राजुले बन्दुक लिएपछि बन्दुक चलाउन छाडेँ भन्नेसमेत व्यहोराको प्रतिवादी रामबहादुर बलले मुद्दा हर्ने अधिकारीसमक्ष चितवन राष्ट्रिय निकुञ्ज कार्यालय, कसरामा गरेको बयान ।
म र मेरो काका पर्ने मेरै घर छेउमा बस्ने जोगिया भन्ने सुखे बोटे भई ठोरीमा बजार हेर्न गएका थियौं । बजार गरेर खोलामा माछा मार्दै गर्दा मेरो काकालाई चिन्ने बुधिराम चौधरीले गैंडा मार्न जाने सल्लाह गरी रू.दश / दश हजार दिउँला भन्यो । हामी पहिला पनि गैंडा मारेको मुद्दामा जेल सजाय पाई ०६० साल असारमा मात्र छुटेका हौं, जान्न भन्दा फकाएर जाउँ भनेकाले गयौं । ठोरीबाट पहाड काटेर चुरेफेदी हुँदै गैंडा खोज्दै थियौं । यतिकैमा फेला परेको एउटा गैंडालाई मंगल भन्ने विक्रम माझीले भरूवा बन्दुकले गोली हान्यो । गोली खुट्टामा लाग्यो, गैंडा ढलेन, फेरि अर्को पटक गोली हान्न पछ्याउँदै थियौं । यत्तिकैमा साथीहरूले आर्मी आएको थाहा पाएर भाग्न थाले । म पनि भागी घर गई बसें भनी प्रतिवादी आइतराम बोटेले मुद्दा हेर्ने अधिकारीसमक्ष चितवन राष्ट्रिय निकुञ्ज कार्यालय, कसरामा गरेको बयान
[नोट : ब्लगको सबैभन्दा माथि राखिएको फोटो नेपालको हैन, भारतको हो। प्रतीकात्मक रुपमा यहाँ राखिएको हो। बाँकी दुई फोटो सेनाको श्रीजंग गण, कसराको सौजन्यमा प्राप्त हो।]
सारै नराम्रो काम ।
यसरी गैडा मार्नाले सन्सारभरि नेपालको बदनाम पनि हुन्छ, आउन लागेका पर्यटक हरुपनि हच्किन्छन । सारै नराम्रो काम ।
Sarai man chhoyo pic le chor lai samtiyo bhane thulo sajha Ye hos ! Papi teslai yehi junima niskiyosh papko fal ?
गैडाको मृत्यु दुखद कुरा हो |तपाई बार बार गैड़ा देखाउनु हुन्छ र गैडाको कुरा गर्नुहुन्छ , नेपालीहरु माँ कु ने सम्झन बाध्य हुन्छन् , ऊनि आफुलाई गैड़ा हूँ भन्थे | ानी के त्यों सीकरी चै ोली ?