Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पशुपतिका पहिलो नेपाली मूल पूजारीको पुस्तक प्रचण्डको हातबाट विमोचन हुन सकेन

Posted on April 8, 2017April 13, 2017 by Salokya

अपडेट : प्रम प्रचण्डले चैत ३१ गते यो पुस्तक विमोचन गरेका छन्।
डा. विष्णु दाहालले इतिहासमा नाम लेखाए, पशुपतिमा पहिलो नेपाली मूल पूजारीका रुपमा नियुक्त भई पूजाआजा गरेर। त्यतिबेला प्रधानमन्त्री थिए पुष्पकमल दाहाल ‘प्रचण्ड’। तर चर्को विरोध र दबाबका कारण प्रचण्ड यो निर्णय सात दिनमै फिर्ता लिन बाध्य भए।

उनै पूजारी दाहालले ‘पशुपति सात दिन’ पुस्तकमा आफ्नो संस्मरण लेखेका छन्। पुस्तक विमोचनको निम्तो दिनका लागि यी दाहाल प्रधानमन्त्री दाहालकहाँ पुगेका थिए। सुरुमा त प्रधानमन्त्रीले आउँछु भनेका थिए। तर पुस्तक प्रकाशक मण्डप बुक्सका राजकुमार गजुरेलका अनुसार ‘पुस्तक पढिसकेपछि प्रधानमन्त्रीले डा. दाहाललाई भनेछन्, चुनाव पछि आउँछु विमोचन गर्न।’

त्यसपछि पुस्तक विमोचनै नगरी अहिले बजारमा आइसकेको छ।

तत्कालीन विपक्षी दल नेपाली कांग्रेसका नेता रामचन्द्र पौडलले पशुपतिमा पूजारी नियुक्तको विरोध यसरी गरेका थिए
https://www.youtube.com/watch?v=a7qeGXWm9-o

यसरी प्रचण्डले नेपाली पूजारी नियुक्ति बदर गरेका थिए
https://www.youtube.com/watch?v=vy7NUEm_SGc

पुस्तकको अंश

यसरी आए पशुपतिमा भारतीय भट्ट पूजारी

किंवदन्तीमा नेपालका राज्यसञ्चालकलाई सुतक वा जुठो पर्दा सारा नेपाली ब्राह्मणले पशुपतिनाथमा पूजा गर्न नमिल्ने भएकाले भारतबाट पुरोहित ल्याई पूजा सञ्चालन गरेको भन्ने सुनिन्छ। मलाई पशुपतिनाथमा पहिलो नेपाली पूजारी भनियो। नेपाल राष्ट्रको निर्माण भएदेखि यस्तो अवसर कुनै नेपालीले पाएको छैन। मरो अध्ययनले अंशुवर्मा आफ्नो शासनकालमा पशुपतिनाथको पूजा आफै गर्थे। जनताका छोराले देशमा अध्ययन गर्न पाएनन्। काशी तीर्थ यात्रा गएका बेला प्रताप मल्लले भट्ट लिएर आएको प्रसंग इतिहासविद् ज्ञानमणि नेपालले उल्लेख गरेका छन्। अर्को जनश्रुति पनि छ आदी शंकराचार्य ज्योतिर्मठबाट हिमालय क्षेत्रको पदयात्रा गर्दै रुद्रगाढेश्वर (पाशुपतक्षेत्र) आए। उनले पशुपतिनाथको पूजा पद्धति निर्माण गरेर जोगीहरुलाई पशुपतिनाथको पूजारी बनाए। आचार्य शंकरसंग अनेक मिथक जोडिएका छन्।

पहिले पहिले राजालाई सम्मान प्रकट गर्न भट्ट शब्द प्रयोग गरिन्थ्यो। जब विद्वान ब्राह्मणको नाम पछि लगाइने उपाधिको रुपमा भट्ट ग्रहण हुन थाल्यो, त्यसपछि राजालाई भट्टारक भन्ने चलन चल्यो। राजा भट्टारको देवः। अमरकोष हेर्दा विद्धान पुरुष वा दार्शनिक व्यक्तिलाई भट्ट भनेको पाइन्छ। शब्द प्रयोगको इतिहास खोतल्ने इतिहासकारले भनेका छन् ’भट्ट एक प्रकारको मिश्र जाती जो जसले भाट र चारण झै राजको दैलोमा पुगेर स्तुतिगान गर्ने व्यवसाय गर्थ्यो। क्षत्रीयबाट बाहुनकी छोरीमा बीजारोपण भई जन्मेको जातकलाई पनि भट्ट भन्ने गरेको पाइन्छ।

’भट्ट स्वामित्वमिच्छछति‘ विग्रहलाई आधार मनेर व्यक्ति बाचक नामका पछि लगाइने सम्मान सूचक उपाधिको रुपमा पनि भट्ट शब्द चल्यो। पाशुपत संकल्पमा ’श्री राजराजेश्वरी महात्रिपुरसुन्दरी पशुपति महाभट्टारक देवता प्रीत्यर्थम्‘ भनिन्छ। श्रद्धास्पद पूज्य आराध्यलाई महाभट्टारक भनिएकोले भट्ट शब्द भक्त पुजारीलाई प्रयोग भयो। भट्टको वास्तविक अभिधेयार्थ हो वेदार्थ तत्व जान्ने। वर्णशंकर जातिका लागि भट्ट कहिलेदेखि प्रयोगमा आयो अझ खोज्नु पर्नेछ।

भगवान श्री सदाशिवको पूजा आराधनाका नाउँमा पाशुपत साम्राज्य कब्जा गर्न दक्षिणी भट्टहरु कहिले देखि आए एकिन तथ्य छैन। तर उनीहरुले श्रीपशुपतिनाथमा बसेर भारतीय विचार र शक्तिलाई मात्र फैलाएनन् अपितु राजनैतिक प्रभावको विस्तारका लागि पनि ठूलो खेल खेले, पापड बेले। प्रताप मल्लले काशीको तीर्थयात्राबाट फर्कदा भट्ट लिएर आए भन्ने जनयुक्ति छ। तर विक्रम संवत १७५४, १७७३ मध्ये कुन साल हो स्पष्ट भएको छैन। त्यसैले श्रीपशुपतिनाथ भारतीय भट्टलाई सुम्पने प्रताप मल्ल नै हो कि अरु कुनै किटान हुन सकेको छैन। व्यापार व्यवसाय गर्न भनेर आएका अरबियन र बेलायतीहरुले जसरी भारतमा राजनीतिक साम्राज्य फैलाए; भाषाभुषा, आर्थिक र राजनीतिक प्रभाव प्रचारमा ल्याए; त्यसरी नै भारतीय भट्टहरु पनि श्री पशुपतिनाथमा पूजाका नाउँमा आए। तर उनीहरुले यहाँ बसेर पूजा आराधना र भक्तिको संस्कार विकास गर्नु भन्दा भ्रष्टाचार र नैतिक पतनको बाटो देखाए। आफूले बढाएको धार्मिक, सांस्कृतिक र राजनैतिक सामथ्र्यबाट राजाहरुलाई निस्तेज बनाए। देशमा एक प्रकारले राजनीतिक भट्टहरुको यसै कृत्यबाट हत्या र अराजकताको माहौल विकसित भयो। भारतीय भट्टहरु धर्मको आवरणमा धाकधम्की देखाएर, भ्रष्टयोग गरेर खरबौ धार्मिक दान दातव्य कुम्ल्याउँदै गए। उनको दृष्टि कमाउन र वर्चश्व स्थापित गर्नमा मात्र गयो। उनीहरु यो देशको सांस्कृतिक मूल्य मान्यतालाई छायामा पार्न सक्रिय रहे। भट्टहरु अस्थिरता बढाउने कारक पनि बने। त्यसैले उनीहरुप्रति यहाँ नकारात्मक धारणा बढेको छ। भिन्न भिन्न कारणहरुबाट श्रीपशुपतिनाथमा भारतीय भट्टहरुको वर्चश्व स्थापित हुँदै आयो भन्ने कुरा प्रचारमा छ। उनले जोगीहरुको पूजा पद्धती निर्माण गरेर जोगी दशनामी दण्डी सन्यासीहरुलाई पशुपतिनाथको पुजारी बनाए भन्ने कुरा यथार्थपरक लाग्छ।

१. आचार्य शंकर दिग्यात्रामा रहँदा केही द्रविड ब्राह्णहरु पनि सँगै थिए। कान्तिपुर उपत्यका प्रवेश गरेपछि यहाँको प्राकृतिक सौन्दर्य र रमणीय वातावरण देखेर उनीहरु मोहित भए। द्रविड ब्राह्णहरुले यहाँबाट नफर्कने निधो गरे। उनीहरु आचार्य शंकरसँग अनुनय गरी श्रीपशुपतिनाथमा पुजारी बनेर बसे। यसका कुनै प्रमाणिक तथ्य भेटिदैन।

२. पुरानो क्रम भंग भएपछि दशानामी दण्डी सन्यासीहरुले श्रीपशुपतिनाथमा पूजा गर्न थाले । आवाहनादि धार्मिक नियम वा विधि, प्रमाण आदि मुद्राहरको प्रयोग र पूजा क्रम मिलेन भनेर अफवाह फैलियो । गृहस्थी र सन्यासीहरुको नित्य विधि, उद्देश्य व्यवहार र सिद्धान्त फरक छ । यसैलाई मुद्दा बनाएर सन्यासीहरुको समर्पण प्रति अनास्था जगाइयो। पन्ध्रौ सोह्रौँ शताब्दीतिर यस्तो अवस्था थियो।

३. लोकले सिद्ध गरेको राजा भगवान हुन्छ भन्ने लोकायत सम्प्रदायको अधिमान्यता प्रचारमा आयो। राजा दिवंगत हुँदा पूजालाई आशौच लाग्ने, दरबारमा सुत्केरो पर्दा जनतालाई सुतक लाग्ने नयाँ काल्पनिक मान्यताले प्रश्रय पायो। जुठो सुत्केरो दोषका कारण यस उपत्यकाका रैथाने पण्डितहरुले निरन्तर श्रीपशुपतिनाथमा पूजा गर्न नपाउने भए। त्यसपछि प्रताप मल्ल तिर्थयात्राबाट फर्किदा उनले भट्टहरुलाई लिएर आए।

श्रीपशुपतिनाथको पूजा गर्न आएका भारतीय भट्टहरुले त्यसपछि उत्तराधिकारीको रुपमा दक्षिणतिर बाटै भट्ट ल्याउने क्रम सुरु गरे । बीच–बीचमा यो राम्रो भएन भनेर दरबारमा कुरा उठ्ने गर्दथ्यो। तर त्यतिखेर सम्म उनीहरुले आफ्नो वर्चश्व बढाई सकेका थिए। प्रशासनिक अधिकार पनि हासिल गरिसकेका थिए। अब भय, त्रास र राजनितिक प्रभावको विस्तारका कारण उनीहरु श्रीपशुपतिनाथ मन्दिर कब्जा गरिरहन नयाँ नयाँ रणनीति अपनाउन थाले। यतिखेर पनि उनीहरु त्यही सूत्रलाई प्रयोग गरिरहेका छन्। त्रिकालव्यापी पूजा छाडेर, स्नान पूजा भोग आरती सबै त्यागेर मन्दिरको ढोका बन्द गरेर भागेका भगौडाहरु दिल्लीको राजनीतिक र प्रशासनिक शक्तिलाई प्रयोग गर्दै फेरी श्रीपशुपतिनाथ मन्दिर कब्जा गर्न प्रयत्नशील देखिन्छन् र नेपाली जनता, राजनीतिकर्मी, पशुपतिनाथका भक्तलाई गुमराहमा राख्न अझै सफल छन्। हामीमा चेतना कहिले आउने हो?

पाशुपत शैव धर्मको तन्त्रशास्त्रीय पाण्डित्य परम्परा नेपालमा पहिले देखि नै विद्यमान थियो र विकसित पनि। राजनीतिक सत्ताको आडमा भारतीय भट्टहरु बल बढाउन समर्थ भए। उनीहरुले शिवश्व हरणका लागि हर उपाय अवलम्बन गरे। यहाँ वैदिक शाखा र आगम बोधको अभाव रहेको कुर्तक गरे। अनुपलब्ध विषयलाई कसले उपलब्ध गराउने। एउटा जालसाजीपूर्ण भ्रमको बिज रोप्ने, उमार्ने र फैल्याउने काम भैसकेको छ। राजा गीर्वाणयुद्ध विक्रमबाट श्रीपशुपतिनाथमा चढाइएको गुठी विर्ता जग्गा हेर्ने अख्तियारी पाएपछि मूलभट्टले दरबारलाई समेत धम्क्यायर बहुमुल्य रत्न जडित गहनाहरु हात पारे रे। राजा राजेन्द्र विक्रम शाहले प्रशासनिक दायरालई अझ बढाइदिएपछि श्री पशुपतिनाथको मूलभट्ट अधिकार सम्पन्न व्यक्तिका रुपमा स्थापित भयो।

पशुपतिमा तनाव भएको बेलाको भिडियो
https://www.youtube.com/watch?v=5NuzqY3X_c4

भारतीय मिडियामा यस्तो थियो कभरेज
https://www.youtube.com/watch?v=KvjUiJClctU

2 thoughts on “पशुपतिका पहिलो नेपाली मूल पूजारीको पुस्तक प्रचण्डको हातबाट विमोचन हुन सकेन”

  1. Shankar says:
    April 9, 2017 at 7:31 pm

    त्यों बेला को प्रचंड भारत को बिरोध गरे जस्तो गर्ने गरेको , यो बेला लम्पसार परेको अबस्था | अब फेरी पुजारी ,सुजारिको पछि लाग्दा उनको नया प्रभु रिसाउने डर होलानी त|

    Reply
  2. prithvi says:
    April 8, 2017 at 6:19 pm

    अहिले नेपाल मा फेरी भारतीय भट्ट हरु नै फिर्ता भएका हुन? नेपाली पूजारी रद्द भएर किन फेरी तिनै भट्ट लाई दिइयो? नेपाल मा जनता ले सबैभन्दा चाहेको क्रान्तिकारी राष्ट्रबादी प्रगतिशिल र सबैको हिरो प्रचन्ड नै सरकार प्रमुख हैन? भारत बिरुद्ध सुरुङ युद्ध गर्ने सबै भन्दा वीर मानिस को सरकार हैन? जनताले फेरी आलु खाए ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme