Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पूर्वराजा र राष्ट्रपतिको पालाको पैँचो

Posted on March 31, 2017 by सूर्य खड्का


अर्मपर्म वा पालोपैचो गर्ने पुरानो नेपाली थिति हो। अहिले यो थिति बहालवाला राष्टपति विद्यादेवी भण्डारी र पूर्व राजा ज्ञानेन्द्र शाहको परिवारबीच घनिभूत अभ्यास भैरहेको छ। जननेता मदन भण्डारीले २०४८ सालमै तत्कालीन राजा वीरेन्द्रलाई श्रीपेच फुकालेर मदन भण्डारीसँग भिड्न आउनुु भनेका थिए। बिचरा भद्र राजा वीरेन्द्रले त्यो आँट नगर्दैमा उनको वंश नै चुडिहाल्यो दैवले। जननेता मदनलाई पनि वैरीले लगिहाले।

उतिबेलाको पतिदेवको इच्छा अस्ति भर्खर पूरा गरिन गणतन्त्र नेपालकी पहिलो महिला महामहिम राष्टपति विद्यादेवी भण्डारीले। उनले भूतपूर्व नै सही श्रीपेच बिनाका राजालाई छोरीको बिहेको निम्तोमा शीतलनिवासमा स्वागत सत्कार गरिन्। पूर्व राजा नि मख्ख, वर्तमान राष्टपति नि झन मख्ख। दुुवैको संयुुक्त फोटो सेसन त शहरकै हट केक।

हेर्नोस् त्यो त पैचो भा रैछ पूर्वराजा ज्ञानेन्द्रलाई। अब पैचो र ऋण नखाने चलन रछ शाहराजा खलकको। अनि अहिले नाति ह्दयेन्द्रको व्रतवन्धका मौकामा राष्टपति भण्डारीको निम्तोको पैचो अहिले निर्मलनिवासबाट पुुगिसक्यो रे शीतल निवास। शीतल निवासबाट पनि निम्तो स्वीकार भाको खबर शहरमा एकान दोकान मैदान भैसक्या छ।

अब भन्नोस् यस्तो अपरम्पार पालोपैचो प्रणाली देशका बहालवाला प्रमुख र पूर्वप्रमुखमा लेनादेना हुन थालेपछि यो प्रथा पनि जनस्तरसम्मै गणतान्त्रिक शैलीमा विस्तार गर्न परेन त भन्या ? धन्य ज्ञानेन्द्र अंकल र विद्या आन्टीलाई हैन त ? यो पालो पैचो नी अब शहरको अर्को हट केक त होला नी है ?

पशुुपतिनाथले हामी सबैको कल्याण गरे नि।

पहिला पहिला देशमा राजतन्त्र हुँदा राजा महाराजाहरुले भाषणको अन्त्यमा भन्ने गर्थे, पशुपतिनाथले हामी सबैको कल्याण गरुन्। यसको खास अर्थ के थियो भन्ने उतिबेला उतिसारो हेक्का हुँदैन्थ्यो। तर गणतन्त्रकालीन नेपालको दशकान्तमा त्यसको प्रयोगात्मक अनुुभुुति हुन थालेको छ, आम जनसाधारणलाई समेत।

अस्ति १० गते देशका कार्यकारी प्रधानमन्त्री प्रचण्ड बोआओ मन्चमा सम्बोधन गर्दै उत्तरी छिमेकी प्रमुख सि जिनपिंगलाई भेट्न दलबलसहित हानिए। जानैपर्ने थियो उनी गए, तर देशमा तीन तीन थान उपप्रधानमन्त्रीको लर्को हुँदा पनि उनले कसैलाई निमित्त वा कार्यबाहक प्रधानमन्त्रीको कार्यभार सुुम्पेर गएन्न। जसै उपप्रधानमन्त्रीद्वय कमल थापा र विमलेन्द्र निधिको तँभन्दा म ठूलो, हैन हैन, तँभन्दा त म झन ठूलो भन्ने रस्साकस्सी चल्यो, तब निधि र थापा भन्दा नि पहिलाका उप र हालका पनि तेस्रो वरियताका उप प्रधानमन्त्री कृष्णबहादुर महराले कार्यबाहकको मौका पाउने अनुमान थियो शहरमा। तर चतुर भनाउँदा उपबुज्रुक प्रचण्डले यत्रैसिति तिमीहरु हानाथाप गरिरहन्छौ भने म कसैलाई दिन्न कार्यबाहक भन्दै बेइजिङतिर सुुइँकुुच्चा ठोके। प्रम फर्कँदासमेत उपप्रमहरु वरियताहरुले एयरपोर्टमै गरेको लफडा दुनियाँले देख्यो। बस, चैत १० देखि १६ सम्मको अवधिलाई प्रचण्ड युुग मानिदिने हो भने, देशको कार्यकारी प्रमुख को रहयो त भन्दा कोही न कोही। लौ भन्नुस् यो सब भगवान पशुुपतिनाथको कृपा बेगर संभव थियो त ? त्यसैले उतिबेला राजा महाराजाहरुले पशुपतिनाथले हामी सबैको कल्याण गरुन् भन्या त ठीकै पो रैछ नि हैन र?

यदि बेठिक हुुन्थ्यो भने त ६ दिनसम्म देशमा कार्यकारी प्रमुखको खडेरी हुँदा न भुुकम्प गयो, न दोलखाका भीमेश्वरलाई पसिना आयो, न अन्त अन्त परदेशमा जस्तो हुरीबतास र आँधी नै आयो। त्यसैले पशुुपतिनाथले हामी सबैको कल्याण गरुन् भन्ने राजाहरुको कामना त जनताको कामना रैछ, असलीमा गणतन्त्रको भलो गर्ने राजशुुभेच्छा पो रै छ नि त। हैन त ? त्यसकारण अब राष्टपतिदेखि सबैले उही राजामहाराजाहरुको चलन सापटी लिएर आखिर किन नभन्ने पशुपतिनाथले हामी सबैको कल्याण गरुन्, गरिरहून्। आखिर सबै चलन राजाकै पालाका कपीपेष्ट मात्रै होईन नयाँ जोगिले गर्नु झैं गरिहेकै छन राष्टपति महोदयले भने जाबो त्यति शव्द सापटी लिदैमा राष्ट्रकै कल्याण हने रैछ भने यसलाई पनि गणतन्त्रसँग मिसाईदिदा के नै फरक पर्ला र?

श्रीमानको जो आदेश, जय नेपाल ।
उहिले उहिले न्याय नपाए गोर्खा जानुु भन्थे र बुढापाका। अचेल न्याय नपाए गोर्खा जाने चलन हरायो। गोर्खाकै उम्दा क्रान्तिकारी वामदेखि निख्खर प्रजातन्त्रवादी डा. बाबुराम भट्टराईसम्म पनि राष्ट्रवादी हुन् डिएन परीक्षणका लागि अचेल दिल्लीतिर जान थाल्या बेलाँ अब गोर्खा जाने चलन डेटएक्सपाएर नै भयो।

श्री ३ र श्री ५ महाराजहहरु नै भूतपूर्व भाको देशाँ जानुपर्ने सर्व श्री सर्वोच्च अदालत हो। तर यहाँ त सर्वश्री सर्वोच्चका श्रीमानहरुको परमादेश पनि रत्नपार्कका भूतपूर्व मुुकुुन्द र अचेलका ट्वीटे मुुकुुन्दको नागरिक आदेश जस्तै पो हुन थाल्या छ।

जयबहादुरको पराजय गराएर नवराजको राज गराई नेपाल प्रहरीमा गणतन्त्र ल्याईदिन मुख्य म्याडम श्रीमानसहित पूर्व कामरेड श्रीमानहरु सहितको ५ सदस्यीय फूल बेन्चले फागुन ८ मै परमादेश फर्माएको लोकले सुनेकै सत्य हो। तर फागुन १७ मा मुख्य सत्तारुढ दल काँग्रेसको सानेपा दरबारबाट त्यसले सरकारको कार्यकारी अधिकार हस्तक्षेप गरेको प्रतिवाद आउँदासम्म पनि नेपाल प्रहरीमा नयाँ आईजी सापको वर्दी भित्तामा नै टांगिन विवश छ। परमादेश र परमेश्वरको वचन सरह हुुन्छ भन्थे दिग्गजहरु। तर यहाँ त सर्वश्री सर्वोच्चको परमादेश पनि पर पर सार्ने आदेश जस्तो पो प्रमाणित हुँदैछ। यसअघिको लोकमानलाई हटाएर नयाँ अख्तियार प्रमुख नियुक्त गर्ने परमादेश पनि अहिलेसम्म कार्यान्वयन भएकै छैन। किन भएन कसैले सोधखोज गरेको पनि छैन। लोकमानलाई हटाउनु थियो हटाइहाले।

सानेपा दरबारको कार्यकारी अधिकारमाथिको सर्वश्री सर्वोच्चका श्रीमानहरुको धावाले त अब प्रहरी नियमावली नै बदलेर नयाँ पात्र खोेज्ने भनी शहरमा फैलिएको हल्लालाई पो साकार रुप देला जस्तो छ। देशमा २० वर्षपछि बल्ल हुन लागेको संघीय गणतन्त्र नेपालको पहिलो स्थानीय निर्वाचनका पूर्वसन्ध्यामा सुुरक्षाकर्मी नपुुगेर एकातिर म्यादी प्रहरीको धमाधम भर्ना, अर्कोतिर मुख्य सुुरक्षा अंग नेपाल प्रहरीमा आईजीकै खडेरी। निमित्त आईजीका भरमा सरकारको मस्ती। लौ भन्नुस् त यस्तो श्रीमानहरुको आदेश माथिको पनि परमादेशको बिचल्ली र यस्तो प्रहरी संगठनको नेतृत्व संचालन न पंचायत कालमा, न बहुदल कालमा नै थियो। हेर्नोस् धन्न बेलैमा देशले गणतन्त्र भन्ने जिनिस आयात गर्याथ्यो र पो यति नविनतम मौलिक नेपाली प्रहरी संगठनको अनुपम नमुना विश्वलाई देखाईदिन पाइया छ नि । छैन त ? यस्तो पो हो त श्रीमानहरुको परम आदेशलाई, जो आदेश श्रीमान, जय नेपाल गर्ने काइदा होईन त भन्या?

श्रीमानहरुको आदेशै आदेश

हेर्नोस, श्रीमानहरुमा पनि गणतन्त्रकालीन न्याायिक अभ्यास गज्जबकै छ अचेल। र त, श्रीमानहरु एकसे एक गहकिला आदेशहरु निरन्तर फर्माउनु हुन्छ। अस्ति भर्खरै त हो नि एउटी पूर्व राजपरिवारकी चेली प्रेरणाको दाइजो खोसेर सरकारलाई सुुम्पेको। जहाँसम्म उच्च अदालतका श्रीमानहरुको छनौट र नियुुक्ति गर्दा न्याय परिषदमा भाग शान्ति जय नेपाल गरिएको विरोधमा महान्यायधिवक्ता लगायत न्यायिक कर्मचारी र सरकारी वकिल तथा न्याय क्षेत्रका ट्रेड युुनियनहरुले पेन डाउन गरेको कुरा छ, हेर्नोस त्यो न्यायमन्दिर भित्रको संघीय लोकतान्त्रिक तथा गणतान्त्रिक अभ्यासको एक सुुरुवाती तुुरुप मात्रै हो । त्यस्ता तुुरुपहरु त कति छन कति अब मन्चन हुदै जानेछन क्रमशः क्रमशः।

जहाँसम्म न्यायपरिषदले वरिष्ठता मिचेर उच्च अदालतका श्रीमानहरुको छनौट र नियुक्ति गरेको थियो भन्ने सवाल छ, त्यसमा कसैले पनि पूूर्वाग्रही भएर हेरिदिनु वा बुझिदिनु भनेको सर्वश्री सर्वोच्चको, त्यहाका काबिल श्रीमान मण्डलीको र समग्रमा न्यायकै अपमान र कानुुनी राजको उपहास हुन जान्छ । तसर्थ, त्यस्तो भुल कसैले नगरिदिनु होला।

नेपाल प्रहरीमा पो न्यायमन्दिरका कोही प्रतिनिधि बेगर नै आईजी चयन सरकारले एकलौटी गरेको हुनाले त्यहाँ चाहिं वरिष्ठता मिचेर तेस्रोलाई पहिलो बनाउनु संविधान, कानुन र प्रहरी नियमावली समेतको बदनियतपूर्वक बर्खिलाप भयो भनेको त । खासमा न्यायपरिषदमा त न्यायलयकै सदस्यहरु समेत भाको हुनाले यो वरिष्ठता भन्ने कुरो उही क्या उहीले उहीले मह जोडीले घुस कस्तो हुन्छ भन्दा जस्तो खल्तीमा राख्यो, त्यस्तै हुुन्छ भन्या जस्तै पो हो त।

यदि संघीय गणतन्त्रमा वरिष्ठता न्यायमन्दिरमा पनि लागू हुनुपर्छ, समावेशीता र समानता हुनुपर्छ भनेर कसैको मन दुखाई गरया छ भने त्यो हेर्नुस शिशुु गणतन्त्रको न्यायिक अभ्यासमा संभव छैन। किनभने गणतान्त्रिक न्यायमा जो श्रीमानको आदेश उही आज्ञा शिरोपर गर्नुपर्छ। नत्र न्याय संकटमा पर्न सक्छ है। न्यायका तमाम हिमायतीहरु संक्रमणकालीन राजनीतिको बाछिटा न्यायमन्दिरमा पार्ने, पराउने कोशिस बिर्सेर पनि नगर्नुहोस्।

1 thought on “पूर्वराजा र राष्ट्रपतिको पालाको पैँचो”

  1. Shankar says:
    April 3, 2017 at 10:36 am

    | राजा र सेना सहित को बलियो गठबंधन ,केंद्रीय सत्ता जब भीर पाखा को पाखेहरूलाई हात माँ लिएर( तथा कथित मुक्तिदाता नेता , माओ , लेनिन बनाएर ) जब इंडिया ले कब्जा जमायो , अब क्रमश नेपाल लाइ बैज्ञानिक तरिका बाट इंडिया माँ कन्भर्ट गर्दैछ | उदाहरण को लागि धेरै थर हरु नेपाली माँ थपिए| अचम्म अचम्म का नेपाली हरु देखा परे | हिजो उग्र राष्ट्रबाद को कुरा गर्ने , सुरुंग युध्द लड़ने , फेसन सो र हिंदी गीत बजदा बिरोध गर्नेहरु को असली अनुहार बाहिर आयो |तेसैले यो अब नेपाली राष्ट्रपति , हुने , भन्ने धेरै दिन सान्दर्भिक छैन | हूँन त नेपाल माँ राष्ट्रदक्ष नेपाली नै हो | तार मुजफ्फरपुर माँ जन्मेको , बा काश्मीर माँ जन्मेको नया नेपाली नेपाल को सासक बनाइने छः|नेपाल को नेपाली हुदा नेपाल प्राकृतिक स्रोत दोहन गर्न अलिअलि बाधा पुग्न सकने हुन्छ |यो नेपाल लूटने याम हो , हिजो ओली एंड कंपनी कोझुण्ड ले देश लुटे , आज प्रचंड एंड देउवा को झुण्ड ले लुट्दै छः | यो देश माँ ांदर नाच भन्दा केहि फरक छः त ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme