Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

प्रेम हैन पैसा ठूलो मान्ने स्वार्थीको प्रेमजालमा पर्दा ज्यानै गुम्यो

Posted on March 24, 2017 by Salokya

प्रेम हैन पैसालाई ठूलो मान्ने स्वार्थीको प्रेमजालमा पर्दा २५ वर्षको उमेरमै राधिका श्रेष्ठले ज्यान गुमाउनु परेको छ। त्यो पनि आफ्नै प्रेमी भनाउँदोको हातबाट।

धादिङको धार्के घर भएर काठमाडौँको कालिमाटीमा बस्दै आएकी २५ वर्षकी राधिका श्रेष्ठ जीविका चलाउन मखनको सारी पसलमा काम गर्थिन्। नजिकैको मोबाइल पसलका साहु प्रकाश लामिछानेसँग लभ पर्‍यो। दुई वर्ष प्रेम सम्बन्धमा परेपछि प्रकाशले पैसा कमाउनु पर्छ हेर भनेर डरलाग्दो योजना अघि सार्‍यो- राधिकाकै पसलका साहुलाई अपहरण गरी फिरौति माग्ने। अपराधमा साथ दिनु नै राधिकाको गल्ती थियो। शायद् उनले त्यसपछि प्रकाशसँग सुखी जीवन बिताउने सोचेकी थिइन्।

त्यसैले प्रकाशको किडन्याप योजनामा साथ दिइन्। योजना सफल बनाउन प्रकाशले आफ्ना दुई साथीलाई पनि प्रयोग गरेको रहेछ- २४ वर्षका किशोर गिरी र २७ वर्षका सरोज घोरासैने। यी दुवै पक्राउ परेका छन्। उनीहरुकै बयानका आधारमा प्रहरीले हिजो घटना विवरण सार्वजनिक गरेको हो जुन यस्तो छ-

फागुन ४ गते व्यापारी श्याम सुन्दर अग्रवाललाई अपहरण गर्ने योजना अनुसार राधिका श्रेष्ठ, प्रकाश लामिछाने र किशोर गिरीले गणवहालस्थित भारत होटल होलिल्याण्डको ५०१ नम्बर कोठा लिई बसे।

तर भोलिपल्टै अर्थात् फागुन ५ गते बिहान ११ बजे भारत होटल होलिल्याण्ड छोडी पुन: राधिकाले सनसाइन होटल, सुन्धारामा २ ओटा कोठा ४०३ र ४०४ भाडामा लिइन्। अपहरण गर्नको लागि राधिका, प्रकाश लामिछाने, सरोज घोरासैने र किशोर गिरी तयारी अवस्थामा बसे।

त्यही दिन दिउँसो १ बजे राधिकाले आफ्नो पसलका साहु श्यामसुन्दर अग्रवाललाई अर्जेन्ट काम छ भनी सुन्धारामा भेट गर्न बोलाई सनसाइन होटलको ४०४ नं.कोठामा लगे।

सोही कोठामा श्याम सुन्दर र राधिका बसी रक्सी सेवन गरेको केही समय पश्चात: कोठा नं.४०३ मा अपहरण गर्न बसेका प्रकाश लामिछाने, सरोज घोरासैने र किशोर गिरी आएर श्यामसुन्दरलाई कुटपिट गरी हाटखुट्टा बाँधी मुखमा कार्टुन टेप लगाई अपहरण गरी रू. १० लाख ७० हजार फिरौती रकम लिई सोही कोठामा बन्धक बनाई भागे।

अपहरणमा संलग्न व्यक्तिहरुले वसन्तपुरमा फिरौती रकम बाँडफाँट गरे, जसमध्ये सरोज घोरासैनेले रु.२ लाख, किशोर गिरीले रु.२ लाख, बाँकी रकम प्रकाश र राधिकाले राखे।

यहाँसम्म कुरा योजना अनुसार भइरहेको थियो। राधिकाले नसोचेको घटना अब सुरु हुन्छ। साँझ ६ बजे प्रकाश र राधिका ट्याक्सी लिएर भक्तपुर,बागेश्वरीस्थित प्रकाशको घरमा जान्छन्। किशोर र सरोज अर्को ट्याक्सी लिई त्यही घरमा पुग्छन्।

किशोर गिरीको बयान अनुसार प्रकाशले ब्यापारीको अपहरण पश्चातः आफूहरुको पोल खोल्ने डरले प्रेमिका राधिका श्रेष्ठको हत्या गर्ने योजना बनाएको हुन्छ। सोही योजना अनुरुप अपहरणमा प्रयोग गर्न किनेको डोरी र कार्टुन टेपको सहायताले मुखमा टेप लगाई खुट्टामा डोरी बाधी, घाँटी थिची राधिका श्रेष्ठलाई मार्छन्। प्रेमी भनाउँदोकै हातबाट प्रेमिकाको हत्या हुन्छ।

अनि राधिकाको शरीरलाई प्लाष्टिकको बोरामा प्याक गरी मोटरसाइकलमा राखी घरबाट अन्दाजी २ सय मिटर तल मुहानपोखरी भन्ने स्थानमा खाल्टोमा पुरी किशोर र प्रकाश भारततिर भाग्छन्।

किशोर बुधबार घटना साम्य भयो होला भन्ठानेर काठमाडौँ फर्कने क्रममा एयरपोर्टबाटै पक्राउ पर्छन्। मुख्य योजनाकार सरोज अर्थात् त्यही प्रेमी भनाउँदो भने अझै फरारै छन्।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme