Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

महिला होच्याउने उखान

Posted on March 8, 2017March 8, 2017 by mysansar

-विराट अनुपम-

‘नक्कली स्वास्नीका बीसवटा पोइ, मर्ने बेलामा कोही न कोही।’

जब कमजोर महिलाको कुरा निस्कन्छ, यस्ता उखान भनेर महिलालाई होच्याउने काम गरिन्छ । यसको प्रतिवाद गर्न खोजे भन्छन्, ‘यी पुराना उखान नभई बनेका होइनन् । हामीले बनाएको हो र ?’ तर, पुरुषको कुरा आउँदा भने फरक पर्छ । ‘मर्दका १० वटी’ उखानको एउटै प्रसङ्गमा महिलालाई नक्कली र पुरुषलाई मर्द उपनाम दिइएको छ । यसले प्रस्ट पार्छ कि उखानमा महिलालाई कसरी प्रस्तुत गरिएको छ । यो त एउटा उदाहरण मात्र हो । नेपाली समाजमा महिलालाई केन्द्रमा राखेर धेरै उखान स्थापित भएका छन् । त्यसले समग्र महिला अधिकार र उनीहरूको स्वाभिमानमा ठेस पु¥याएको छ । पछिल्लो समयमा उखानटुक्कामा महिलालाई हेपिएको विषयमा बहस हुन थालेको छ ।

उखान बोल्दाबोल्दै स्थापित भए । नेपाली शब्दसागरअनुसार ‘उखान’ शब्दको अर्थ लोकजीवनमा चलेका मीठा चुट्किला र शिक्षाप्रद उक्ति, लोकोक्ति, आहान, आख्यान भन्ने हुन्छ । यस्ता उखानमा थुप्रै ठाउँमा महिलालाई होच्याउने र तल्लो दर्जाको रूपमा प्रस्तुत गरेको पाइन्छ । उखानलाई लोकजीवनमा चलेका मीठा चुट्किला नै मान्दा पनि महिलालाई कुनै पनि स्वाभिमानी प्राणीको अर्थमा हेरेको देखिँदैन । यस्ता उखानले पनि महिलाको शरीर सजावटलाई बहुपुरुषकी श्रीमतीको अर्थमा व्याख्या गरेको छ । तर, चिटिक्क परेको पुरुषलाई भन्ने त्यही स्तरका उखान भने छैनन् । ‘यौनकर्मी महिलाका हजार पोइ’ भनिएको उखानजस्तै यौनकर्मी पुरुषका बारेमा भने नेपाली उखान मौन छन् ।

एकल महिलालाई अपमान गर्दै चलनचल्तीमा रहेका हाम्रा उखान अमानवीय लाग्छन् । एकल महिलाका सामान्य सामाजिक चालचलन र जीवनयापनका सवालमा समेत निर्मम प्रहार छ । जस्तै–

राँडीलाई पोतेको रहर,
नामर्दको भर नपर्नु, राँडीको भोज नखानु,
विधवालाई ढोग्दा मजस्तै भएस् भन्छे रे,
गरिबलाई दिन्छु नभन्नु, राँडीलाई लान्छु नभन्नु,
ग्राहक रत्याउनु, राँडी अत्याउनु।

यस्ता उखानले महिलालाई तल्लोस्तरको भाषामा प्रस्तुत गरिएको छ । तर, विदुर पुरुषबारे यस्ता उखान लेखेको र बोलेको सुनिँदैन । डा. हंशपुरे सुवेदीको ‘उखानसङ्ग्रह’ तथा भरतजंग राणाको ‘भरत उखानसङ्ंग्रह’मा सङ्ग्रह गरिएका नेपाली उखानको विचार, भाव र अर्थ बुझ्ने हो भने थुप्रै लैङ्गिक रूपमा विभेद रहेका उखान छन् ।

उखानले छोराछोरीको हुर्काइमा समेत चरम विभेद गरेको छ ।

‘छोरो पाल्नु सहरमा, छोरी पाल्नु कहरमा,
दूध उम्ले अँगेनामा, छोरी उम्ले खाल्डोमा,
जसका छोरा उसका धन, जसका वस्तु उसका वन,
खोली बढे बटुवालाई पिर, छोरी बढे माइतीलाई पिर,
आफ्नी छोरी नखरमाउली, तन्नेरीलाई दोष ।’

यस्ता उखानले महिला भनेका उपभोग्य वस्तु हुन् र उनीहरूको छुट्टै पहिचान छैन भन्ने देखाउ ँछ । प्रगतिमा समेत यस्ता उखानटुक्काले असर पार्दै आएको छ।
– गुन्द्रुक पकाउनु र साली फकाउनुपर्दैन
– गुन्द्रुकको खानु झोल, कमारीको खानु मोल
–लट्ठी टेके भर, कान्छी ल्याए घर

नेपाली भाषाका निधि भनिने यस्ता उखानले महिला यो समाजका दोस्रो दर्जाका नागरिक हुन् भनेर वैधता दिन खोजेको भान हुन्छ । मौखिक परम्पराबाट आएका यस्ता विभेदपूर्ण उखानटुक्कालाई नेपाली शब्दकोशले स्थान दिनु दुःखद पक्ष हो । नेपाली भाषा÷साहित्यका पारखीसमेत यो कुरा स्वीकार गर्छन् । ‘उखानले धेरै हदसम्म महिला÷एकल महिला÷असहाय महिलाका विपक्षमा अभिव्यक्ति दिएका छन्,’ इटहरीको जनता बहुमुखी क्याम्पसका नेपाली भाषा÷साहित्यका प्राध्यापक मदनराज बराल भन्छन्, ‘यी समतामूलक समाजको निर्माणका बाधक तत्व हुन् । त्यसैले शैक्षिक दृष्टिले यी उखान अनुपयुक्त छन् ।’

यस विषयमा लेख्दै आएका बरालका अनुसार नेपाली समाजको गति अगाडि बढिसकेकाले यस्ता उखान अब पाठ्यक्रमबाट हटाउनुपर्छ । यसरी विरोधको आवाज उठे पनि उखानमा पुनर्लेखन हुन सकेको छैन ।

पूर्वी नेपालको भाषा÷साहित्य क्षेत्रमा चिनिएका प्राध्यापक डाक्टर बद्रीविशाल पोखरेल नेपाली उखानमा अधिकांश पितृसत्ताको दृष्टिकोण पाइने बताउ ँछन् । ‘सामन्ती राज्यव्यवस्था र पितृसत्ताले महिलालाई छायामा पारेको विगतको सोच, समाज र सन्दर्भ देखाउने आँखीझ्यालजस्तै हुन् यस्ता विभेदकारी उखान,’ प्रगतिशील लेखक सङ्घका केन्द्रीय उपाध्यक्षसमेत भइसकेका प्रा.डा. पोखरेल भन्छन्, ‘यस्ता उखानले हाम्रो समाज कतिसम्म महिलाप्रति पूर्वाग्रही, अमानवीय र क्रूर थियो भन्ने प्रस्ट पार्छ ।’

महिलाको पक्षमा कलम चलाउने सम्झना वाग्ले भट्टराई पनि नेपाली उखान महिलाको सवालमा हदै विभेदकारी भएको बताउँछिन् । ‘पुरुषबारे आक्कलझुक्कलबाहेक त्यो स्तरको विभेद पाइँदैन जुन स्तरमा महिलामा विभेद गरिएको छ,’ लैङ्गिक शिक्षामै एमफिल थेसिस गरेकी भट्टराई भन्छिन्, ‘यसरी नेपाली समाजले महिलालाई हेर्ने तौरतरिका तथा मनोविज्ञान कठोर र असहिष्णु रहेको प्रमाण हुन् हाम्रो नेपाली भाषाका उखान र यी उखानले बोक्ने अन्तर्यहरू ।’

नेपाली उखानले नेपाली महिलामाथि हुने गरेका विभेद र हिंसाको तथ्यपरक प्रमाण बोकेको भन्दै आजको समाज, सरकार र सत्ताले त्यो बुझ्नुपर्ने उनको भनाइ छ । । भट्टराईको जस्तै विचार छ भाषाविद् तथा साहित्यकार प्रा.डा. बद्रीविशाल पोखरेलको पनि । ‘नेपाली महिला अब सीएनएन हिरो भएका छन्, विश्वकै साहसिक वर्ष व्यक्तित्व पनि भएका छन्, तर त्यो सबै स्तरमा पुग्न उनीहरूको घरदेखि समाज अनि समाजदेखि राष्ट्रसम्मको यात्राको बाटो एउटा पुरुषको तुलनामा पक्कै धेरै असहज थियो ।’ प्रा.डा. पोखरेल भन्छन्, ‘त्यो किन असहज भयो भने समाज अझै पूर्ण रूपमा पितृसत्ताबाट मुक्त भएको छैन । सतिप्रथाबाट आएको हाम्रो समाज अहिले सताउने प्रथामा आएको छ । एउटा छोरो कामबाट राति आयो भने एउटा मात्रै प्रश्न उठ्छ, तर एउटी छोरी सोही समयमा आउँदा थुप्रै प्रश्न उठ्छन् । छोरा ढिलो आएको प्रश्न घरमा मात्रै उठ्छ भने छोरी ढिलो आएको समाजमै उठ्छ ।’ नेपाली उखानले व्यक्त गरेका महिलामाथिका विभेदकारी कुरा अझै पनि समाजमा रहेको भन्दै त्यसको अन्त्य गर्न सबै लाग्नुपर्ने तर्क गर्दै प्रा.डा. पोखरेल भन्छन्, ‘महिला नै राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीश हुनु मात्रै ठूलो कुरा होइन । ठूलो कुरा औसत महिलाले पनि पूर्ण महिला अधिकार र स्वतन्त्रताको हक पाउनु हो जुन हाम्रो समाजमा हुन सकेको छैन ।’
(सञ्चारिका फिचर सेवा)

3 thoughts on “महिला होच्याउने उखान”

  1. Shankar says:
    March 9, 2017 at 8:36 am

    2 -4 अरु उखान
    १) हाड़ी मा कनिका भएसम्म राडिलाई निद्रा पर्दैन
    2) १२ बर्स मा पोइ आ को , मा राडिलाई ज्वरो आको
    ३) अगि राड़ जानिन पछि राड़ मानिन , बाघ लाग्यो घिच्याउन , म लागे चिच्याउन

    येस्ता उखान पुरस बा जसका हक मा पनि लागु हुन्छन |
    दब्ने दबाउने कुरा गर्दा अलि अलि प्रकृतिले पनि नारीलाई दबाको हो कि ? आकार , प्रकार ले पनि तल राखेर दबाउनु पर्ने हुन्छ , तब राम्रो सग फिट हुन्छ |

    Reply
  2. bibek Dhakal says:
    March 8, 2017 at 10:01 pm

    मैले सोचेको थिएँ आज विश्व महिला दिवस को दिन यस प्ल्याट्फ़र्म्मा कुनै सार्थक ब्लग पब्लिश हुनेछ तर अपसोच फेरी आर्को बोक्रे फेमिनिजम पढ्न पाइयो. मलाइ हाँसो उठेर आउछ जुन देशको समाज सति प्रथा बाट माथि उठेको भर्खर सय बर्ष हुँदैछ, बोक्सी को नाममा कैयौं मरनिदेविहरु माथि खुलेआम दुर्व्यवहार हुन्छ, दाइजो को निहु मा कैयौं सतीदेवी हरु जल्न बाध्य छन्, छौपाडि मा असंख्य सरस्वती माया हरु अझै मर्दैछन, आफ्नै बाट पनि कलिलो उमेरमा घरमै बलात्कृत हुनुपर्दा नि पिडित ले नै जिन्दगीभर दोष खेप्नुपर्ने बालिकाहरु को चित्कार अझै बन्द भएको छैन, तर आजको दिन हामि यस्तो उखान टुक्का अनि सुपरफिसियल (बोक्रे) हक अधिकार को कुरा गरेर आफैले आफुलाई खुब फेमिनिस्ट देखाउन खोज्दैछम.
    यो लेख लेख्ने माहसय ले जे जति जुकै खोके पनि पितृसत्तात्मक सोच भनेको सजिलै हट्ने कुरा हैन.. पुरुषको महिलालाई होच्याउने प्रवृत्तिको कुरा छोडम, कुनै पुरुषले बिहेपछि पनि ३ ४ केटीहरु घुमाउछ भने उसका साथिभाइहरुले उसलाई ‘प्लेब्वाई ‘ भनेर उपमा दिन्छन तर महिला ले तेसो गरेमा ‘प्लेगर्ल’ भनिन्न. यो कुरा युनिभर्सल हो … संसारको कुनै पनि बारमा जतिसुकै मोडर्न बिचारको केटि केटा संग फ़्लर्ट गर्न जादैनन् , केटा फ़्लर्ट गर्न आओस भन्ने सोच्छन. यो पनि युनिभर्शल हो. तपाइले ” ‘यौनकर्मी महिलाका हजार पोइ’ भनिएको उखानजस्तै यौनकर्मी पुरुषका बारेमा भने नेपाली उखान मौन छन् ।” लेख्नु भो. म तपाइलाइ सोध्छु, नेपाल जस्तो देश हैन पश्चिमा देश्हरुमै पनि पुरुष यौनकर्मी (male escort ) कति नै होलान?

    हाम्रो देशको महिला समस्या भनेको यस्तो भावनात्मक कुरामा बराबरी हैन.. यो भनेको धेरै पछिको कुरा हो. पहिले रियल इस्यु हरुमा ध्यान दिम. पहिला गुदी कसरि सफा गर्ने तेत तिर ध्यान दिम – बोक्रे कुरा गरेर समय खेर नाफालम

    Reply
  3. Rocky Baba says:
    March 8, 2017 at 1:06 pm

    Ma hamesa Lachin bhanne bhawona lai jagaudaina taba samma Mahila nai hunecha.

    Women haina, Wemom.

    We-mom.

    Happy Wemom day!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme