Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सप्तरी घटनापछि विज्ञप्तिमा झगडा : ‘तँ जिम्मेवार, हैन तैँ जिम्मेवार’

Posted on March 7, 2017March 7, 2017 by Salokya

सप्तरीमा तीन जनाको नजानु पर्ने ज्यान गइसक्यो। बिचरा जनता बित्थामा मरे। तर नेताहरु भने यसको जिम्मेवारी एक अर्को माथि थोपर्दै विज्ञप्तिबाजीमा उत्रिएका छन्।

आज घटनाको भोलिपल्ट दुई पक्षले अलग अलग विज्ञप्ति जारी गरी एक अर्कालाई दोषारोपण गरे। एमालेले विज्ञप्ति निकाल्दै भन्यो- ‘राजविराज घटना मधेसी मोर्चासम्बद्ध मानिसहरुको जघन्य अपराधिक प्रबृत्ति र कामको कारणबाट भएकोले यसबाट उत्पन्न सम्पूर्ण परिणामको जिम्मेवारी मधेसी मोर्चाले लिनुपर्छ।’

मधेसी मोर्चासहितको संघीय गठबन्धनको विज्ञप्तिमा भने ‘उक्त घटना नियोजित रुपमा नेकपा एमालेले मधेशी जनताको अधिकार, आत्मसम्मान एवं स्वाभिमानमा आच पुर्याउने, मधेशी समुदायविरुद्व विभेदपूर्ण व्यवहार गर्नेे, अपमानित गर्ने, होच्याउने र घोचपेच गर्ने खालका गैरजिम्मेवार, भड्काउपूर्ण एवं उत्तेजक अभिव्यक्ति नै यस घटनाको मुख्य कारक तत्व हो’ भनिएको छ।

एमालेको विज्ञप्तिमा पार्टीका नेता र कार्यकर्ताहरूलाई घेरा हालेर आक्रमण गरेर नेतृत्वको सामूहिक हत्याको सुनियोजित प्रयास गरिएको समेत आरोप लगाइएको छ।

एमालेको विज्ञप्ति :

प्रेस विज्ञप्ति
१. यही फागुन २१ गते झापा जिल्लाको काकडभिट्टाबाट उत्साहका साथ शुरु भएको मेची–महाकाली राष्ट्रिय अभियानमा हिजो फागुन २३ गते सप्तरी जिल्लाको राजविराजमा आइपुग्दा सम्म देखिएको व्यापक जनसहभागिता तथा समर्थनबाट हाम्रो पार्टी अत्यन्त उत्साहित बनेको छ । राष्ट्रिय एकता, अखण्डता, स्वाभिमान, संविधान कार्यान्वयन, सामाजिक सद्भाव र समृद्धिका पक्षमा देखा परेको यो जनलहरप्रति सम्मान व्यक्त गर्दै हाम्रो पार्टी त्यसमा सहभागी जनसमुदायमा हार्दिक धन्यवाद ज्ञापन गर्दछ । कार्यक्रमको सफलताका निम्ति विभिन्न किसिमले सहयोग गर्नुहुने सबैप्रति हार्दिक धन्यवाद दिन चाहन्छौं । सप्तरी जिल्ला समेतका स्थानमा मधेसी मोर्चाद्वारा सिर्जित आतंकपूर्ण र अराजक स्थितिमा पनि सुरक्षाको स्थिति बनाई राख्न अथक प्रयत्न गर्ने पार्टी कार्यकर्ता तथा सुरक्षाकर्मीहरूलाई धन्यवाद दिन चाहन्छौं ।

जनताको व्यापक सहभागिताका साथ अगाडि बढिरहेको अभियानमा यही २३ गते राजविराजमा संयुक्त मधेसी मोर्चासम्बद्ध उदण्ड मानिसहरूले बाधा–अवरोध सिर्जना गरी विध्वंशपूर्ण घटना गराएका छन् । अभियान झापाबाट मोरङ हुँदै सुनसरीको इनरुवामा आइपुग्दा मधेसी मोर्चाका उच्छृंखल मानिसले अभियानमा संलग्न गाडीमा ढुंगा प्रहार गरेका थिए । तर पनि, हामी संयमका साथ अगाडि बढ्यौं । अभियानप्रति लाखौँ जनताले देखाएको सहभागिता र ऐक्यबद्धताबाट अत्तालिएकाहरूले सप्तरीसम्म आइपुग्दा अभियानमा हिँडिरहेका गाडीमा जुत्ता हान्ने, कालो झण्डा देखाउने, कार्यक्रमस्थलमा आक्रमण गर्न खोज्ने जस्ता क्रियाकलाप गरे । तर पनि हाम्रो पंक्तिले संयमता नै प्रदर्शन ग¥यो ।

२. अभियानका कार्यक्रमको तयारीको सिलसिलामा मधेसी मोर्चा सम्बद्ध मानिसहरूले फागुन २१ गतेदेखि नै राजविराजमा नेकपा (एमाले) का कार्यकर्ताहरूमाथि आक्रमण गर्ने, तुल–व्यानर च्यात्ने, सामान लुट्ने जस्ता क्रियाकलाप गरेका थिए । त्यसो नगर्न र लोकतन्त्रमा शान्तिपूर्ण एवं बैधानिक रूपमा आफ्ना विचारहरू राख्ने, सभा–सम्मेलन आयोजना गर्ने, संगठन बनाउने जस्ता संविधान प्रदत्त अधिकार र कानुनी शासनको सम्मान गर्न हामीले मधेसी मोर्चाका केन्द्रीय तथा स्थानीय नेताहरूलाई समेत आग्रह गरेका थियौं । नेकपा (एमाले) को अभियानमा कुनै पनि किसिमको बाधा–व्यवधान हुन नदिन सरकार र प्रशासनलाई समेत आग्रह गरेको थियौं । संविधान, विश्वव्यापी लोकतान्त्रिक अभ्यास र मानव अधिकारका मान्यता अनुरूप देशको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले शान्तिपूर्ण अभियान चलाउँदा त्यसलाई विथोल्न धम्की दिने, रोक्नका लागि त्रास फैलाउने, नेता–कार्यकर्तामाथि आक्रमण गर्ने, उनीहरूलाई कालोमोसो दलेर अपमान गर्ने, सवारी साधन तोडफोड गर्ने, ठाउँ–ठाउँमा विस्फोटक पदार्थ राखेर आतंक सिर्जना गर्ने, कार्यक्रममा सहभागी नहुनका लागि घर–घरमा पुगेर धम्क्याउने जस्ता निन्दनीय कामहरू मधेसी मोर्चाका कार्यकर्ता भनिनेहरूबाट भए ।

कार्यक्रमस्थलमा पुग्ने बाटोका विभिन्न स्थानमा बमसमेत राखिएकोमा सुरक्षाकर्मीहरुले निस्क्रिय पारेका थिए । स्थिति सामान्य होस् भन्ने आशयका साथ हामीले पूर्व निर्धारित राजविराजको रंगशालामा सभा गर्ने र राजविराज प्रवेश गर्ने बाटो समेत परिवर्तन गरेका थियौं । तर, गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा अभियान अन्तर्गत शान्तिपूर्ण सभा भइरहेको समयमा मधेसी मोर्चा सम्बद्ध मानिसहरूले बाहिरबाट ढुंगा हान्ने, गालीगलौज गर्ने, अमर्यादित नाराबाजी गर्ने र सुरक्षाकर्मीहरूमाथि ढुंगा, लाठी र पेट्रोल बम प्रहार गर्ने जस्ता आततायी कार्य गरे । सभा सम्पन्न भएर अभियानमा सहभागी पार्टीका नेता र कार्यकर्ताहरू राजमार्गतर्फ प्रस्थान गर्न लाग्दा घेरा हालेर आक्रमण गरेर नेतृत्वको सामूहिक हत्याको सुनियोजित प्रयाससमेत गरियो । यो नेपालको कुनै पनि भागमा कुनै पनि व्यक्ति र संगठनले शान्तिपूर्र्ण रूपमा सभा–सम्मेलनलगायतका गतिविधि गर्न पाउने नैसर्गिक अधिकारमाथिको निकृष्ट हमला हो । अभियानमा सहभागी नेकपा (एमाले) का कतिपय कार्यकर्ताहरू ढुंगा लागेर घाइते भएका छन् र ५० भन्दा बढी गाडीमा क्षति पुगेको छ र आधा दर्जन मोटरबाइकमा आगो लगाइएको छ । यसो गर्नेहरूले सभ्य समाज, लोकतान्त्रिक मूल्य र मानव अधिकारका मान्यताको खिल्ली उडाएका छन् । उनीहरूको त्यस्तो क्रियाकलापको परिणाम मोर्चाको राजविराजमा तीन जनाको ज्यान गएको छ र कतिपय घाइते भएका छन् । राजविराज घटना मधेसी मोर्चासम्बद्ध मानिसहरुको जघन्य अपराधिक प्रबृत्ति र कामको कारणबाट भएकोले यसबाट उत्पन्न सम्पूर्ण परिणामको जिम्मेवारी मधेसी मोर्चाले लिनुपर्छ ।

३. आज फागुन २४ गते फेरि मधेसी मोर्चासम्बद्ध मानिसहरूले राजविराजमा अभियानको सभास्थलमा आगजनी गरेका छन्, सप्तरी र सिरहाको लाहानमा नेकपा (एमाले) का पार्टी कार्यालयमा आगजनी गरेका छन् । सप्तरी स्थानीय शान्ति समितिको कार्यालयमा आगजनी गरेका छन् । धनुषामा हाम्रा पार्टीका नेता–कार्यकर्तालाई जिल्ला खाली गर्न धम्की दिइएको छ । रौतहटमा नेकपा (एमाले) का कार्यकर्तालाई कालोमोसो दलेका छन् र अरु कतिपय स्थानमा आतंक सिर्जना गर्ने दुस्प्रयास भएको छ । यो सबै नेपाली जनताबाट निर्वाचित सार्वभौम संविधानसभाले बनाएको नेपालको संविधानलाई कार्यान्वयन हुन नदिने, देशमा सामाजिक सद्भाव, एकता, शान्ति, स्थायित्व र विकास हुन नदिने, नेपाली जनतालाई आफ्नो भाग्य–भविष्यको फैसला आफैँ गर्न नदिने षड्यन्त्र हो । लोकतन्त्रमा अपरिहार्य निर्वाचनको स्थितिलाई विथोल्दै बाह्य चलखेल निम्त्याउने र देशका राजनीतिक दलहरूका बीच द्वन्द्व सिर्जना गर्ने दुराशयबाट राजविराजको निन्दनीय घटना गरिएको छ । मधेसी मोर्चा सम्बद्ध दलहरूले संस्थागत रूपमै खुलेआम उक्त प्रकारको क्रियाकलाप गर्नुका साथै हाम्रो शान्तिपूर्ण र अनुशासित कार्यक्रममाथि आक्रमण गर्ने कामलाई हामीले गम्भीर रूपमा लिएका छौँ । राजनीतिक, सैद्धान्तिक र कार्यक्रमिक रूपले कुनै हालतमा प्रतिस्पर्धा गर्न नसकेपछि र जनताको साथ नपाउने भएपछि तथा तराई–मधेसमा फैलाइएका भ्रम नेकपा (एमाले) ले यस अभियानमार्फत चिर्छ भन्ने त्रासले सुनियोजित रूपमा राजविराज घटना मञ्चन गराइएको छ र मानिसहरुको ज्यान लिइएको छ । शान्तिपूर्ण कार्यक्रम बिथोल्न प्रयोग क्रम हुनेक्रममा भएको मानवीय क्षतिको सम्पूर्ण जवाफदेही मोर्चा नै हुनुपर्दछ । यस्ता आततायी घटनाको निष्पक्ष रुपमा छानबिनका लागि सम्बद्ध निकायहरुको गम्भीर ध्यानाकर्षण गर्दछौँ ।

सुरक्षा प्रबन्ध थप व्यवस्थित गरेर परिस्थितिलाई सामान्यीकरण गर्नुपर्नेमा सप्तरी जिल्ला प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखहरुलाई फिर्ता बोलाउने गृहप्रशासनको निर्णयले अझ आशंका बढाएको छ । सुरुदेखि नै गृहमन्त्रीले अभियानप्रति प्रदर्शन गरेको आपत्तिजनक रबैया र भूमिकाको पृष्ठभूमिमा हेर्दा उहाँले यसको जवाफदेहिताबाट उन्मुक्ति पाउने अवस्था छैन ।
४. नेपालको संविधान र लोकतान्त्रिक व्यवस्था अनुरूप २०७४ साल वैशाख ३१ गते स्थानीय निर्वाचनको मिति घोषणा भइसकेको र २०७४ साल मंसिर महिनासम्म प्रादेशिक र केन्द्रीय निर्वाचन भइसक्नुपर्ने स्थितिलाई विथोलेर देशलाई अन्योल, अनिश्चय, द्वन्द्व र संकटमा धकेल्ने दुराशयका साथ नेकपा (एमाले) को शान्तिपूर्ण कार्यक्रममा आक्रमण गरिएको छ । यस्तो दुराशययुक्त कुकृत्यमा पर्दा हाल्न नेकपा (एमाले) का कार्यकर्ताहरूले मधेसी मोर्चाका मानिसहरूलाई ढुंगा हानेको र नेकपा
(एमाले) को कारण घटना भएको जस्ता दुस्प्रचारको हामी खण्डन गर्दछौं । राजविराज घटना नेपाली समाजको सद्भाव र एकतालाई ध्वस्त गर्दै देशलाई संकटपूर्ण बनाउने सुनियोजित षडयन्त्र हो भन्ने कुरा तथ्य र घटनाक्रमले स्पष्ट पारिसकेका छन् । राजविराजलगायतका स्थानमा आगजनी, ढुंगामुढा गर्ने, पार्टी कार्यालयमा आगो लगाउने, राजनीतिकर्मीहरूलाई धम्क्याउँदै उनीहरूको अधिकारमा प्रहार गर्ने जस्ता कानून र मानव अधिकार विरोधी कार्यमा संलग्न हुनेहरूलाई कानूनको दायरामा ल्याउन तथा शान्ति–सुरक्षाको स्थिति कायम गर्दै जनताको जीउ–धनको सुरक्षा सुनिश्चित गर्न नेकपा (एमाले) नेपाल सरकार समक्ष जोडदार माग गर्दछ । राजविराज घटनाको यथार्थ छानविन गरी सत्य–तथ्य सार्वजनिक गर्न सरकार एवं राष्ट्रिय मानवअधिकार आयोगलाई आग्रह गर्दछौं । राजनीतिक दलका शान्तिपूर्ण कार्यक्रममा आक्रमण गर्ने कार्यलाई गम्भीर रूपमा लिन र यस्ता क्रियाकलापको निन्दा र भत्र्सना गर्न हामी देशका सबै जिम्मेवार राजनीतिक दलहरूलाई आव्हान गर्दछौं । देशको समग्र राजनीतिक स्थितिको गम्भीर विश्लेषण तथा राजनीतिक समीक्षा पश्चात् नेकपा (एमाले) ले विभिन्न समसामयिक राजनीतिक विषयमा आफ्ना धारणा यथोचित समयमा सार्वजनिक गर्नेछ ।

५. पछिल्लो विकसित परिस्थितिका कारण उत्पन्न संवेदनशीलतालाई विचार गरी हामीले आज फागुन २४ गतेदेखि २५ र २६ गते तीन दिन अभियानको कार्यक्रम स्थगित गरेका छौं । तर, फागुन २७ गते हेटौँडाबाट हाम्रा अगाडिका कार्यक्रम यथावत् सञ्चालन हुनेछन् र तिनको विस्तृत विवरण छिट्टै सार्वजनिक गरिनेछ । ती कार्यक्रममा उत्साहका साथ सहभागी हुन नेकपा (एमाले) का सदस्य र शुभेच्छुक तथा सम्पूर्ण जनसमुदायमा हार्दिक आव्हान गर्दछ ।

ईश्वर पोखरेल
महासचिव

संघीय गठबन्धनको विज्ञप्ति

सङ्घीय गठबन्धन

प्रेस विज्ञप्ति

संघीय गठबन्धन केन्द्रीय आन्दोलन मूल परिचालन समितिको आकस्मिक बैठक संघीय समाजवादी फोरम, नेपालको केन्द्रीय कार्यालय तीनकुनेमा मिति २०७३ फाल्गुन २४ गते संघीय गठबन्धनका संयोजक माननीय श्री उपेन्द्र यादवज्यूको अध्यक्षतामा बस्यो । उक्त बैठकले नेकपा (एमाले) को मेची महाकाली अभियानको सन्दर्भमा २०७३ फागनु २३ गते सप्तरीमा आयोजित सभामा प्रहरीले गोलीहानी ७ जनाको हत्या र दर्जनौं घाइते हुनेगरी जुन अमानवीय घटना भयो, त्यो घटनाको संघीय गठबन्धन घोर निन्दा एवं भत्र्सना गर्दछ । उक्त घटना नियोजित रुपमा नेकपा एमालेले मधेशी जनताको अधिकार, आत्मसम्मान एवं स्वाभिमानमा आच पुर्याउने, मधेशी समुदायविरुद्व विभेदपूर्ण व्यवहार गर्नेे, अपमानित गर्ने, होच्याउने र घोचपेच गर्ने खालका गैरजिम्मेवार, भड्काउपूर्ण एवं उत्तेजक अभिव्यक्ति नै यस घटनाको मुख्य कारक तत्व हो भन्ने संघीय गठबन्धनको ठहर छ । यसरी एमालेले राष्ट्रिय एकता, अखण्डता र साम्प्रदायिक सद्भाव भड्काउने नियतले मेची महाकाली यात्रा कार्यक्रम तयार गर्ने र सरकारले अधिकार प्राप्तिका लागि शान्तिपूर्ण आन्दोलनमा उत्रेका जनताको नरसंहार गरेर मानवअधिकारको गम्भीर उल्लंघन गरेको छ । यसका विरुद्धमा संघीय गठबन्धनले आन्दोलनका निम्न कार्यक्रमहरु घोषणा गरेको छ ।

१. सप्तरी घटनाका विरुद्धमा यही फागुन २६ गते देशव्यापी जिल्ला सदरमुकामहरुमा प्ले कार्डसहितको ¥याली प्रदर्शन र विरोध सभा गर्ने । काठमाडौको हकमा दिउँसो १२ बजे भृकुटीमण्डपमा भेला भई विरोध ¥लायी प्रदर्शन गर्दै माइतीघर मण्डलामा पुग्ने ।

२. फागुन २७ गते नेपाल बन्द गर्ने ।

३. फागनु २५ गते संघीय गठबन्धनमा आबद्व सबै जिल्लाका राजनीतिक दल र मोर्चाहरुको बैठक बसी फागुन २६ को विरोध सभा र २७ गतेको नेपाल बन्दलाई सफल पार्ने ।

४. संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित गर्न र स्थानीय तहको निर्वाचनको घोषणा ७ दिनभित्र फिर्ता लिन वर्तमान सरकारसँग माग गर्दछौँ । उक्त समय सीमाभित्र परिमार्जनसहित संविधान संशोधन नभएमा र स्थानीय तहको निर्वाचनको घोषणा फिर्ता नलिएमा संघीय गठबन्धनमा आबद्व संसदमा प्रतिनिधित्व गर्ने दलहरु र मधेशी मोर्चाले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने ।

५. सप्तरी घटनामा मानवअधिकारको गम्भीर उल्लंघन भएकोले त्यसबारे ध्यानाकर्षण गराउन नेपालस्थित संयुक्त राष्ट्र संघ, अन्तर्राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय मानवअधिकार आयोगलाई ज्ञापन पत्र दिने ।

६. मधेशी, आदिवासी जनजाति, दलित (शिल्पी), खस, थारु, मुश्लिम, महिला, उत्पीडित समुदाय, सीमान्तकृत र पिछडावर्ग आदिको समस्या बारे जानकारी गराउन अन्तर्राष्ट्रिय समुदायसँग बृहत् अन्तरक्रिया गर्ने ।

७. संघीय गठबन्धनले आह्वान गरेको विरोध सभा र नेपाल बन्द लगायत आन्दोलनका कार्यक्रमहरुमा समर्थन, सहयोग र सहभागिताका लागि विभिन्न राजनीतिक दल, नागरिक समाज, संचारकर्मी, मानवअधिकारकर्मी र आदिवासी जनजातिका संघसंस्थाहरुसहित आमजनसमुदायलाई आह्वान गर्दछौं ।

८. सप्तरीमा घटनामा प्रहरीको गोलीद्वारा ज्यान गुमाएका मृतकहरुलाई तत्काल सहीद घोषणा गर्न, मृतक परिवारलाई क्षतिपूर्ति दिन र घाइतेहरुलाई स्वास्थ्य उपचार गर्न सरकारलाई आह्वान गर्दछौं । साथै, सहीदहरुप्रति हार्दिक श्रद्वाञ्जली तथा सहीदका परिवारप्रति समवेदना प्रकट गर्दै यस घटनाबाट उत्तेजित र मर्माहित भएका आम जनसमुदाय संयमित हुन र धैय धारण गर्न अनुरोध गर्दछौं ।

२४ फागुन २०७३
डा. ओम गुरुङ
प्रवक्ता

घटनाबारे गृह मन्त्रालयले हिजो मध्यरातमा जारी गरेको विज्ञप्ति भने यस्तो छ-

घटनाबारे अमेरिकाले समेत बोल्यो-

२०७३ फागुन २४

अमेरिकी दूतावास, काठमाडौँको वक्तव्य

नेपालका केही क्षेत्रमा देखिएको बढ्दो अस्थिरताको सङ्केत लगायत हालै सप्‍तरीमा प्रदर्शनकारीहरूको ज्यान जाने गरी भएको झडपप्रति संयुक्त राज्य अमेरिका गम्भीर रूपमा चिन्तित छ । प्रत्येक व्यक्तिले आफ्नो राजनीतिक विचार शान्तिपूर्ण रूपमा व्यक्त गर्ने हक समावेशी लोकतन्त्रको मूल अङ्ग हो, तर राजनीतिक बहसमा हिंसाले स्थान पाउनु हुँदैन । नेपाली जनताले आफ्ना लोकतान्त्रिक अधिकार व्यक्त गर्दै गर्दा हामी नेपाली सुरक्षा निकायलाई अधिकतम संयम अपनाउन आग्रह गर्दछौँ । त्यसै गरी हामी सबै प्रदर्शनकारी र दलहरूलाई अहिंसात्मक रूपमा लोकतान्त्रिक प्रक्रियामा संलग्न रहन आग्रह गर्दछौँ ।

नेपाली जनता र नेपाल सरकार ऐतिहासिक स्थानीय निर्वाचनको तयारीमा जुटिरहेको देख्‍न पाउँदा हामी उत्साहित छौँ । संविधान कार्यान्वयन गर्ने र मुलुकका सबै स्थानमा उत्तरदायित्व तथा जवाफदेहिता सुनिश्‍चित गर्ने दिशामा यो एक महत्त्वपूर्ण कदम हो ।

नेपाली जनता लोकतान्त्रिक मार्गमा अगाडि बढ्दै गर्दा संयुक्त राज्य अमेरिका सबै नेपालीहरूसँग सहकार्य गर्न प्रतिबद्ध छ ।

त्यस्तै युएनले यसो भन्यो-

1 thought on “सप्तरी घटनापछि विज्ञप्तिमा झगडा : ‘तँ जिम्मेवार, हैन तैँ जिम्मेवार’”

  1. Shankar says:
    March 8, 2017 at 8:52 am

    यो सब को जिम्बेबार पाखे नेताहरु नै हो , देश मा आफुले सुशासन दिन सकेन , भएको सासन ब्यबस्था भत्कायो , इन्डियाले उचालेर माउ , लेनिन , प्रचण्ड पथ भन्दै उफ्रियो |
    देश मा लुटपाट र ग्रिह युद्द निम्ताउने बाबुराम , प्रचण्ड हरु हो न एमाले , न कांग्रेस , न मदिसे मोर्चा , यिनीहरु को दोस १० प्रतिसत मात्र हो , यिनीहरु त् सब लुट्न पाएपछि आ आफ्नो भाग खोजेर अगि बढेको मात्र हो |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme