Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कमल थापा भन्छन्- राजनीतिमा टिक्न, बिक्न र अवसरहरु टिप्न संवर्द्धनवाद जिन्दावाद (सूर्य खड्काको व्यंग्य)

Posted on February 21, 2017 by Salokya


आदरणीय दिदीबहिनी तथा दाजुभाइ,
पार्टीका समआदरणीय नेतागण, देशभरबाट महाधिवेशन सफल पार्न राजधानीमा सामेल हुनुभएका प्रतिनिधि साथीहरु, महाधिवेशन सफल पार्न प्रत्यक्ष परोक्ष सहयोग गर्ने सबै मित्रहरु।

प्रथमतः हामीसँग पार्टीका शहीद छैनन्। शहीद बनाउन नसक्ने पार्टीको इतिहासको आलोकमा म यो दलका दिवंगत सबै नेतागणमा भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछु। साथै महाधिवेशन सफल पार्न अमूल्य सहयोग गर्नुभएकोमा सबैले आआफ्नो गच्छे अनुसारको धन्यवाद स्वीकार गर्नुहोला। मलाई शीर्ष तीन नेताहरु सम्माननीय पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, पशुपतिशम्शेर राणा र डा. प्रकाशचन्द्र लोहनीले लिखित सहमति गर्दागर्दै पनि सर्वसममत अध्यक्ष हुनबाट रोक्ने प्रदीपविक्रम राणाबाहेक सबैलाई मलाई अध्यक्षमा प्रचण्ड बहुमतले विजयी गराउनुभएकोमा विशेष धन्यवाद तथा आभार व्यक्त गर्दछु।
राष्ट्र निर्माता वडामहाराजाधिराज पृथ्वी नारायण शाह सरकारबाट हुकुम भाथ्यो कि , मेरा साना दुःखले आर्ज्याको मुलुक हैन नेपाल। त्यस्तै साथीहरु मैले पनि सानो दुःखले यो विजय हासिल गरेको होइन। यसमा मेरो भन्दा बढी तपाईहरुको योगदान रहेकोमा दुईमत छैन। म सदा तपाईहरुको सहयोगप्रति ऋणी र आभारी छु।

निश्चय नै अब राप्रपाले नयाँ जीवन पाएको छ। एकीकृत पार्टीको एकता महाधिवेशनको सफलताको पहिलो सन्देश यही हो। डाँडामाथिको घाम सरह भैसक्नुभएका वयोवृद्ध शीर्ष नेताहरुले रहरले नभए नि बाध्यताले नै भए नि,कार्यकर्ताको भावना बुझेर सम्मानजनक बहिर्गमन स्वीकार गर्न विवश हुनुपर्ने परिस्थिति यो कमल थापाले कसरी सृजना गर्योर होला भन्ने तथ्य गहिरोसँग मनन गरिदिनु हुन समस्त साथीहरुमा निवेदन गर्दछु।

हेर्नुस् साथीहरु, समय बदलिएको छ। जनताको अवस्था जस्ताको त्यस्तै भए नि, राष्ट्रियताको अवस्था कमजोर हुँदै गए पनि देशको शासन व्यवस्थामा आमूल परिवर्तन भएको छ। बदलिएको व्यवस्था अनुसार राप्रपा बदलिदै जानुपर्छ भन्ने सन्देश पनि हो मेरो यो विजय। मेरो विजयका लागि तपाई आम प्रतिनिधिहरुको मतदान। समय अनुसार नै राजनीति गर्नुपर्छ। सिद्धान्तका लागि ज्यान दिने लिने वामपन्थीको जस्तो जडसूत्रवादको राप्रपामा गुन्जायस छैन। एउटै सामनाका धेरै दोकान पनि राप्रपाका लागि हितकर भएन भन्ने तथ्य हाम्रो विभाजनग्रस्त साढे दुई दशकले प्रमाणित गरेको व्यहोरा मैले यहाँहरुलाई निवदेन गर्नेपर्दैन। म शाहीकालीन गृहमन्त्रीकै अडानमा दृढ भएको भए न यो अवस्था आउँथ्यो, न आज हामी यो महाधिवेशन सम्पन्न गर्ने हैसियतमा नै रहन्थ्यौं। हामीले डा. तुलसी गिरीपथ पनि समातेनौं, मरिचमान सिंह वा कीर्तिनिधि विष्टपथ पनि समाएनौं। हामी युगानुकूल बन्दै गएकोले त आजको यो अवस्थामा छौँ नि। यही हो हाम्रो पार्टीको मौलिक नेपाली सिद्धान्त संवर्द्धनवाद।

त्यसैले परिवर्तन पनि स्वीकार गर्ने र आफ्नो सनातनी सिद्धान्तको मान्यतालाई पनि जारी राख्ने मार्गमा यो महाधिवेशन एक कोशेढुंगा सावित भएको छ। हेर्नुस् साथीहरु, २०६३ को जनआन्दोलनलाई दबाउन मैले सकेको कोशिस गरेकै थिएँ। तत्कालीन मौसुफले नै मान्छे मारेर शासन गर्नु छैन मलाई जनताको नासो जनतालाई फिर्ता गर्छु भन्ने हुकुम भाकै हो। अनि मेरो बल प्रयोग काम लागेन। बल्लतल्ल रायमाझी आयोगको खतबात मुल्तबीमा राख्न सकियो। गाई छाप मत लिन सुरुमा हामीलाई निकै संघर्ष गर्नुपरेकै हो।

यी सबै वस्तुस्थितिको निचोड र निष्कर्ष हो संर्वद्धनवाद। राजनीतिमा टिक्न, बिक्न र अवसरहरु टिप्न गरिने टिरिकहरुको नयाँ सूत्रका रुपमा पनि तपाईहरुले संवर्द्धनवादको नीति पास गरेर नयाँ इतिहास रचना गर्नुभएको छ। हेर्नुहोस् गणतन्त्र पनि संवर्द्धन गर्नु नै छ। यही गणतन्त्रका कारण म रायमाझी आयोगको आगोबाट बच्न सके। कल्पना गर्नुस् त म बिनाको राप्रपा कस्तो हुँदो हो ? अब यही गणतन्त्रको उदारताले मलाई राजनीतिमा निरन्तरता दिने प्रेरणा, मौका दियो। त्यसैले यो वर्तमानको यथार्थ हो। यसलाई स्वीकार गर्नैपर्छ। नयाँ संविधान निर्माणमा तत्कालीन राप्रपा नेपालले खेलेको ऐतिहासिक भूमिकाकै कारण पार्टीले तत्कालीन केपी ओली सरकारमा सहभागिता जनाउन पायो। तत्कालीन सरकारका मन्त्री तथा राज्य र सहायक मन्त्री साथीहरु सम्झनुहोस् त यो गणतन्त्रमा कमल थापाको खास्सा टिरिक नभाभे तपाईहरु कोही पूर्व मन्त्री हुन संभव थियो त ? त्यसैले यसको संवर्द्धनवाद आवश्यक छ।

जहाँसम्म मेरो कुरा छ, हेर्नुहोस् म पार्टीभन्दा माथि आफूलाई कदापि ठान्दिनँ। मैले पार्टीकै हितका लागि सहोदर माइलो भाइ नेत्रबहादुरलाई राष्ट्रपति महामहिम विद्यादेवी भण्डारीको रक्षा सल्लाहकार बनाउन सकेँ। हेर्नुहोस् फिफाले सर्टिफाइड भ्रष्ट भनेर १० वर्षे कारवाही गरे पनि तत्कालीन सुशील कोइराला सरकारबाट मनोनीत गराएर कान्छो भाइ गणेशलाई पनि सांसद बनाउन सकेँ। फिफाले एन्फा र फुटबलबाट गलहत्याए पनि मैले समाजसेवामा गणेशलाई निकै सक्रिय पारेको छु। निकै करबल र टिरिक लगाएर नै संसदको सार्वजनिक लेखा समिति तथा अन्य संसदीय समितिबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत् गणेशमाथि भएका हमलाहरु रोक्न सकेको छु। लोकमान कार्कीजीको बर्खास्तगीपछि केही अप्ठयारो जरुर छ गणेशलाई। तर हेर्नुहोस् समाजसेवाको उम्दा प्रयासले उसले हाल कुनै समस्या व्यहोर्ने छैन र आवश्यक ठाउमा म चुकुल र नट्टु बोल्टु कस्न सफल नै हुनेछु भन्ने विश्वासमा छु। त्यसैले पनि हाम्रा लागि गणतन्त्र संवर्द्धन नगरी नहुने आवश्यक तत्व हो, व्यवस्था हो भन्ने म ठान्दछु।

साथीहरु, यो एक पाटो भो यथार्थताको। अर्को पाटो छ राजसंस्थाको। प्रचण्ड र वैद्यजीलाई धोका दिएर हिँड्नु भएका विप्लवजीले समेत आवश्यक परे राष्ट्रियताको रक्षाका लागि राजसंस्थाको अस्तित्व स्वीकार गर्न सकिने भनिसक्नुभो। वर्तमान संघीयतालाई भूगोल मात्रै विभाजन भनेर अस्वीकार गरेको अवस्था छ। तर हामीले संविधानमा नै संघीयता स्वीकार गरेर ल्याप्चे लगाइसेको त सत्य हो नि। त्यसैले अब हामीले विप्लवजीहरुलाई पनि पाखा लगाएर संघीयताको रक्षा गर्नुछ। फेरि मैले राप्रपा नेपाल हुँदै खेरी वीरगन्ज विस्तारित वैठकबाट घोक्रेठ्याक लाइदेका केशरबहादुर विष्टले संवैधानिक राजतन्त्रका नाममा पूरै आतंक मच्चाएका छन्। धेरै ठूलो स्वतन्त्र हिस्सा विष्टको अभियानतिर लागेको खबरहरु मेरो नोटिसमा छन्। त्यसैले त्यो मतलाई पनि यही हाम्रो गणतान्त्रिक अभ्यासमा समायोजन गर्नुछ। यो नगरी हुने काम हो। त्यसैले मैले राजा पनि अटाउने गणतन्त्रको नयाँ नारा र नीति अघि सारेको छु। आलोचकहरु यो विश्वमा नै नभएको अभ्यास नेपालमा असंभव भनेर विरोध गर्छन्।

तर मैले महाधिवशेन उदघाट्नका बेला यो परिवर्तनका मुख्य सूत्रधार प्रचण्डलाई राजसंस्थासंग नतर्सन भनिसक्या छु। प्रचण्डलाई अर्को चमत्कार गरेर राजसंस्थालाई पनि गणतन्त्रमा स्थान दिन भृकुटीमण्डपबाटै खुल्ला आव्हान गरिसक्या छु। हेर्नुहोस म भन्दा कम्ता सिपालु छैन प्रचण्डजी पनि टिरिकको राजनीतिमा। मेरो र प्रचण्ड बीच कुनै न कुनै रुपमा राजा सहितको प्रजातन्त्रको कुरा पनि यही गणतन्त्रमा भित्र्याउने नै हो। यसमा कसैले शंका गर्न आवश्यक नरहेको व्यहोरा म सबै साथीहरुमा निवेदन गर्न चाहन्छु।

हेर्नुहोस्, राप्रपा राजाको भजनमण्डली मात्रै भएर के गर्नु ? राजाले हामीलाई के दिए, सिवाय धन्यवाद ? मौसुफको धन्यवादले मात्रै पार्टी बन्छ, चल्छ, टिक्छ र जनताको मन जित्छ त ? यो असंभव छ । त्यसैले हामी राजतन्त्रको मुद्धा पनि छोड्न सक्दैनौं । फेरि अमेरिकामा हेर्नुहोस् वा बाँकी विश्वमा नै अहिले दक्षिणपन्थी धारको लहर आको छ । नेपालमा त हामीले क्रान्तिकारी पनि दक्षिणपन्थी पनि दुई धारको असली प्रतिनिधितव गर्नुछ । यो युगिन अभिभारा पुरा गर्नु नै संवर्द्धनवाद हो। यसलाई सत्तामा जाने भरयांग, शक्ति आर्जन गर्ने उल्लु नीति वा षडयन्त्र ठान्छन् भने त्यो उनीहरुको अल्पज्ञान भनी सम्झनुहोला। काग कराउदै गर्छ, राप्रपा गणतन्त्रमा राजतन्त्र मिसाउन लम्किरहन्छ भन्ने विश्वास लिनुस्।

हामी मोहन विक्रम सिंह भएर नि काम छैन। हामी मरिचमानपन्थी भएर पनि काम छैन। त्यसैले हामी न सीके राउत हौं, न विप्लव। हामी विशुद्ध रापैपा हौं। यसलाई कसैले जता मल्को उतै ढल्को भन्यो भने डयाम केयर। गो अहेड एण्ड अहेड । कमल थापाको जीवन खुल्ला किताब हो । बल्ल तल्ल पार्टीले तीन थान महामहिम थपेको छ । अब सत्तापक्ष र प्रतिपक्षको बराबर भूमिका निभाएर पार्टीलाई अरु शक्तिशाली बनाउने अभियान जारी रहनेछ। महाधिवेशन हललाई एकताको विजय जुलुस बनाउँदै म माथि नयाँ अभिभारा थप्नु हुने तपाई तमाम साथीहरुमा पुनः धन्यवाद दिदै चुनावमा केन्द्रित हुन निवेदन गर्दछु। थप कुरा अर्को पट्क। हाललाई आज्ञा पाम। नमस्कार धन्यवाद।

कमल थापा,
अध्यक्ष, राप्रपा,
पूर्व गृह तथा उपप्रधानमन्त्री
अर्थात् वेटिंग प्राइममिनिष्टर।

3 thoughts on “कमल थापा भन्छन्- राजनीतिमा टिक्न, बिक्न र अवसरहरु टिप्न संवर्द्धनवाद जिन्दावाद (सूर्य खड्काको व्यंग्य)”

  1. zhalak says:
    February 22, 2017 at 9:47 pm

    ani mandale masale ra bharat ko hanuman ek huda chahi ke hudo ra hechha ta. uhi kumar lama ji.

    Reply
  2. Shankar says:
    February 22, 2017 at 1:54 am

    कमल थापा ले अहिले राजतन्त्र भन्न छोडेर गणतन्त्र को समर्थन गरे सगै सुर्य जी ले व्यंग छोड्नु भएको त् हैन ? ओली , प्रचण्ड आदिले तँ हामि मिलेर किन न जाने , यो १८ औ सताब्दीको भुत राजसंस्था किन चाहियो उसै पनि देश का खुखार नेताले चलाउन न सकेको एक्लो राजाको दिमाग ले सक्ला ? कमल थापा कन्भिन्स भएको हो कि ?
    अथवा उसको केहि रण नीति छ | यी पंचायत देखिकै अबसरबादी र पैसा नै यिनीहरुको मूल नीति र उद्देश्य भन्ने कुरा समानुपातिक को टिकट बाड्दा नै देखिएको हो |
    खैर अझै कमल को खेल हरु लामो समय सम्म देखिने छ | हुन् त् उसको आफुलाई फाइदा हुदा राजा बोक्ने , न भए बीच बाटोमा छोड्ने नीति भबिस्यमा हितकारी न हुन् पनि सक्छ |

    Reply
  3. केदार says:
    February 22, 2017 at 12:08 am

    २०४६ मा भनेको होइन हौ, २०४७ लागेछी भनेको हो “माले मसाले र मण्डले एकै हुन् “

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme