Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

दाइजोको बार्गेनिङ : यो कुरीति कहिलेसम्म?

Posted on February 19, 2017 by mysansar

–लक्ष्मी थापा क्षेत्री-

म तराईमा हुर्केकी पहाडिनी। त्यसैले पनि मधेसी समुदायसँग मेरो निकै घनिष्ठता छ। मधेसी समुदायकी मेरी साथी कमली आमाबाबुकी एक्ली छोरी र तीन भाइकी एक्ली दिदी थिई। स्कुलमा पहाडियाले हेपे भनेर उस्को परिवारले एक कक्षा पनि पास नहुँदै स्कुल छुटाइदियो। केही वर्षपछि उसको बिहे भयो। कृषिमा आधारित परिवारले बिहेमा नजिकैको खेत बेचेर केटापक्षले मागेको सबै सामान तथा नगद दिए। बिहेमा मलाई नबोलाउने कुरै भएन। कमलको फूलको पातमा खाना खाएको र उपहारमा नङपालिस दिएको हिजो जस्तै लाग्छ।

कमली बिहेपछि पहिलोचोटी माइती आउँदा मलाई सुनाएकी थिइ की, “बुझ्यो लक्ष्मी, मैलै घरमा केटा मान्छेको लुगा लगाएर अनि दाह्री कपाल पनि त्यस्तै पारेर खुब हँसाए नि, हाम्रोमा नयाँ दुलहीले यो सब गर्नुपर्छ के।”

ए हो, उसो भए खुब रमाइलो भएछ है कमली। उसको खुशीमा म पनि रमाएँ।

कमली पहिलो चरणमै घरका सदस्यहरुलाई खुब प्रभाव पार्न सकेकोमा मख्ख र खुशी देखिन्थी। केही दिनको माइती बसाईपछि कमली घर फर्की। जानेबेला मेरो फोटो नि मागेर लगेकी थिई।

अर्को पटक माइती आउँदा कमली गर्भवती रहिछ। पहिला भन्दा निकै दुब्लाएकी ऊ गर्भमा बच्चा भएको कारणले भिन्न र उदास देखिएकी होली भन्ने मेरो अड्कल धेरै बेर टिकेन। जब कमलीले “हिंड जाउ हाम्रो खेतमा घाँस काट्न अनि मम्फूली (बदाम) पनि खाउँला” भनी खेतमा लगेर आफ्नो वृत्तान्त सुनाई।

मम्फुलीको जरामा हँसियाको चुच्चोले काँचो दाना खोज्दै कमलीले रुँदै भनेका ती वाक्य आज पनि मेरो कानमा गुञ्जिन्छन्। बिहे भएको केही महिना मै कमलीलाई केटा पक्षका परिवारका सदस्यले भैसीको पाडी र हिरोहोण्डा मोटरसाइकल माइतीबाट ल्याउन दबाब दिन थालेछन्। यद्यपि पहिला बिहेमा भनेजति सबै सामान माइति पक्षले दिएका थिए नै। यतिसम्म कि खाना खानेबेला दुलाहा ठुस्स परेर बस्ने अनि माइती पक्षले खाना खान अनुरोध गर्दा यो चिज दिए खान्छु नत्र खाँदिन भन्ने चलनमा समेत कमलीका बाबुआमाले रङ्गीन टिभी दिइसकेका थिए।

उनीहरुको दाइजो माग्ने क्रम बिहेपछि पनि रोकिएन, झन् बढेर गयो। पेटमा बच्चा बोकेकी कमलीलाई उचित हेरचाह त कता हो कता दिन रात शारिरीक र मानसिक यातना दिन थालेपछि कमली बाध्य भएर माइतीको शरण आएकी रहिछ। ऊ भन्दै थिइ – लक्ष्मी, मेरो पेटमा बच्चा नभएको भए म विष खाएर अहिले मरिदिन्थे। लोग्ने घरमै आउँदैनन्। सासु– ससुरा दिनरात गालीगलौज र कुटपिट गर्छन् थप दाइजो ल्याइन भनेर।

कमलीको कुरा सुनेपछि म एकछिन त अवाक नै भएँ। पछि सम्झाएँ, अब त्यो घर नजा कमली कुन दिन तँलाई मार्दिन्छन्। आमा बाबुलाई भन् ,यहीँ बस् म अचेल किशोरी शिक्षा पढाउन थालेकी छु। तँ पनि आइज पढ्न। कमली उमेरमा म भन्दा केही जेठी भएपनि ऊ मलाई तिमी र म अहिले पनि उस्लाई तँ नै भन्छु, खै कसरी म उस्लाई तँ भन्ने गरेकी हुँ थाहा छैन। तर पहाडी र मधेसीबीचको दूरीले मैले उस्लाई तँ भनेकी हुँ कि लाग्छ अचेल। कमली उदास अनुहारसँगै माइती बस्न थाली। उसका बाबु आमाले पनि उनीहरु सच्चिएर नआएसम्म छोरी नपठाउने निर्णय गरे। मैलै पढाउने किशोरी शिक्षा पढ्न दुईचार दिन आएकी कमली पछि आइन। पेट बढेकाले असहज र अप्ठेरो लागेपछि मैलै पनि कर गरिनँ। कमलीले माइती मै छोरी जन्माई। पहाडियाको नाम राम्रो हुन्छ भन्दै नाम राख्न मलाई नै लगाई। ‘सम्झना’ राखिदिएँ नाम।

यो बीचमा उस्का घरबाट कमलीको सोधीखोजी गरिएन र माइतिपक्ष पनि भन्न गएनन्। छोरी दुई वर्षकी भएपछि कमलीको लोग्ने लिन आएछन्। खै किन हो बिना कुनै बार्गेनिङ कमलीलाई छोरीसँग घर लगेछन्। पछि कमलीका जोईपोई सासु ससुरासँग अलग बस्न थालेछन्, थप दुईवटा छोरा जन्माइछ कमलीले। म त्यतिबेला गाउँ छोडेर शहर बस्न थालिसकेकी थिएँ।

म घर जाँदा कमली माइती आएकी हुन्थिन्। अनि भेट हुनै पाएको थिएन। तर माइतिमा गएर उसको हालखबर बुझिरहन्थेँ म। कमली फोन बोक्दी रहिनछ। झण्डै ६ वर्षपछि यसपालि दशैमा म घर जाँदा कमली पनि माइती आएकी रहिछ। अचेल लोग्नेले धेरै माया गर्ने बताई। म निकै खुशी भएँ।

यो त कमलीको सप्रिएको घरबारको कुरो भयो। मधेसी समुदायमा सबैको कथा कमलीको झैं गरी संयोगान्तमा गएर टुङिगदैनन्। जब दाइजोका नाममा महिलालाई प्रताडित पारिएका घटना सार्वजनिक हुन्छन् सबैभन्दा पहिला मेरो आँखामा र मस्तिष्कमा कमली आउँछे।

हालै महोत्तरीको बर्दिबासमा लैनो भैंसी नपाएर केटा पक्षले बिहे नै रद्द गरेको घटना सार्वजनिक भएको थियो। खासगरी मधेसी समुदायमा दाइजोका नाममा दिनहुँ यस्ता घटना घटिरहेका हुन्छन्। कति बाहिर आउँछन् कति उसै हराउँछन्। महिला हिंसा मधेसीमा मात्र हुन्छ भन्ने मेरो आशय हैन, पहाडी समुदायमा पनि उत्तिकै भइरहेका छन्। तर दाइजोका नाममा गरिने महिला हिंसा मधेसी समुदायमा डरलाग्दो छ। गालीगलौज र कुटपिट मात्रै कहाँ हो र दाइजो नल्याएको निहुँमा जिउँदै जलाउनेदेखि आत्महत्या गर्न बाध्य पारेका घटना नौला छैनन्।

मधेसबाट देश बनाउन भनेर निस्केका मधेसी नेता तथा नेतृको हुल कम छैन् । तर आफ्नै समाज र समूदायमा दाइजो र बोक्सीको नाममा मान्छे मर्दा र मारिदा समेत चुइक्क बोलेको पाइँदैन। तराई टुक्राउन पाइँदैन, मधेसलाई विभेद भो भनेर बुरुक्क उफ्रिने नेताहरु आफ्नै समुदायमा निर्दोषले अनाहकमा खेपेको पीडा र शरीर गुमाउँदा समेत कानमा कपास खाँदेरै बसेको भान हुन्छ। होइन भने दाइजो र बोक्सीको नाममा भइरहेको अमानवीय घटनालाई मुख्य मुद्दा किन बनाउँदैनन् मधेसी बुर्जु्कहरु। दाइजो लिन दिन नपाउने कानुनी व्यवस्था हुदाँ पनी मधेसमा त्यसको प्रभाव शुन्य प्रायः छ। दलित, बोक्सी र दाइजोको नाममा ज्यान लिने र दिनेको संङख्या दिनानुदिन बढिरहेको छ। जबसम्म मधेसका नेता तथा अगुवाहरु नै यस विषयमा मूकदर्शक बनेर बसिरहन्छन्, रिवाजका नाममा हुने यस्ता घटनाबाट मधेस दिनुहँ जली नै रहने छ। खाने बेला दुलाहाुठूस्स पर्ने र मनलाग्दी रकम वा जिन्सी सामान माग्ने नपाए विवाह नै तोड्दिने यो व्यवस्था संविधानमा कहाँनिर उल्लेख गरिएको छ? रिवाजका नाममा हुने यस्ता कुरीति विरुद्ध स्वयं मधेसी नै नलागेसम्म मधेसबाट दिनुहँ एक चेलीले जलेर वा पासो लगाएर मर्नुपर्ने बाध्यताको अन्त्य हुने छैन।

3 thoughts on “दाइजोको बार्गेनिङ : यो कुरीति कहिलेसम्म?”

  1. dr mishra says:
    February 21, 2017 at 9:27 am

    मधेशमा दाइजो र धनसम्पत्तीको कुरो गर्दा एकजना मधेसी मित्रसंग मैले गरेको २०५९ साल तिरको कुराको याद आयो बहा इन्जिनियर हुनु हुन्थ्यो धनीमानी कै छोरा बहाको विहेको चलेको थियो त्यतिबेला बहाँले विहेमा १५ लाख दाइजो माग्नेको भन्नु हुन्थ्यो मैले किन चाहियो दाइजो भन्दा मैले पनि दिदी बहिनीको लागि ३० लाख खर्च गरेको छु साथी भन्नु हुन्थ्यो म सोच्थ्या के मधेशमा दाइजो विना विहे हुदैन आज २०७३ सकिन लाग्यो तर अझै पनि यस्तै छ वा

    Reply
  2. Shankar says:
    February 20, 2017 at 3:04 am

    यो दाइजो माग्ने र दिनेलाई तराइमा संस्कृति र चलन कै रुप मा बिकाश गरिएको छ | हामि पहाडिया ले हाम्रातराइको दाजुभाइको चलन भएकोले राम्रो नराम्रो केहि टिप्पणी न गरम |\
    यो कुरीति कि रिति उनीहरुलाई नै सोच्ने र निर्णय गर्ने अधिकार छ | न भए हाम्रा पनि त् कति चलन उनलाई मन न पर्ला के उनीहरुले टिप्पणी गर्दा हामीले कति ओठे जबाफ दिने गर्छ्म ?
    तेसैले पहाडिया दिदि बैनी ,दाजुभाइ , सहि आवाज , सहि मुख बाट निस्किए राम्रो र जायज लाग्छ |

    एकचोटी अल्जजिरा निउज ले गढी माइ मेलाको चलन देखाउदै हिन्दुहरुले एस्तो निर्मम हत्या गर्छन भनेर देखायो , एउटा हिन्दुले लेख्यो , अरे हिन्दुले त् जनाबार मारो , तिमीहरु त् तेती मानिस मार्छौ| के छ जबाफ ?

    Reply
  3. बिनोद महरा says:
    February 20, 2017 at 12:23 am

    कुरा चै एकदम साँच्चो हो। किन भने अहिले को प्रियड्मा माँन्छे
    जति सुक्कि क्षिक्क्षीत वेक्ति भऐर पनि यस्ता घटनाहरू घटि नै रहेको अव्स्था छ। यो कुरा मात्रै मधेशमा हैन पुरा नेपालकै समस्या हो। यसमा चै खास् गरेर नेताहरूलाई नै विशेश गरेर ध्यान दिनुपर्छ।
    आफ्नो आफ्नो छेत्रबाट यो कुरलाई चै संविधानमा उलेख गर्नुपर्छ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme