Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बलात्कारको नयाँ परिभाषा (*१८ वर्षमाथिकाले मात्र पढ्नु होला)

Posted on February 16, 2017 by Salokya


खासमा यो कानुनसम्बन्धी ब्लग हो। बलात्कारबारे बन्दै गरेको नयाँ कानुनको व्यवस्थाबारे ब्लग भए पनि यसमा प्रयोग भएका भाषा र विषय आदिका कारण यो ब्लग सबैका लागि उपयुक्त छैन जस्तो लाग्यो। त्यही भएर सुरु मै सूचना राखेँ- कृपया १८ वर्षमाथिकाले मात्र यो ब्लग पढ्नु होला।

मुलुकी ऐन निकै पुरानो भइसक्यो। त्यसैले अब त्यसको ठाउँमा नयाँ ऐन आउने भएको छ। यसका लागि फौजदारी कसूरसम्बन्धी विधेयक अहिले संसदमा छ। कानुन मन्त्रालयले तयार पारेको विधेयकको मस्यौदामा संसदीय उपसमितिले अहिले संशोधनहरु गरेको छ। यो पास भएपछि संसदको बैठकमा राखिन्छ र त्यहाँबाट पारित भएमा राजपत्रमा प्रकाशित भई कानुनका रुपमा लागू हुनेछ।

नयाँ कानुनमा बलात्कारको नयाँ परिभाषा दिने तयारी छ। नयाँ परिभाषाबारे थाहा पाउनुअघि अहिलेको कानुनमा के छ, हेरौँ। हाल चलनचल्तीमा रहेको मुलुकी ऐनको महल १४ मा बलात्कार अर्थात् जबर्जस्ती करणीको परिभाषा यसरी दिइएको छ-

अहिलेको कानुनमा बलात्कार भन्नाले कसैले कुनै महिलालाई उसको मञ्जुरी नलिई सेक्स गरेमा वा १६ वर्षभन्दा कम उमेरकी बालिकालाई मञ्जुरी लिएरै गरे पनि ठहरिन्छ।

यसको स्पष्टीकरणमा डर, त्रास, धाक देखाई करकाप गरी अपहरण गरी, शरीर बन्धक राखी लिएको मञ्जुरीलाई मञ्जुरी मानिने छैन भनिएको छ। त्यस्तै होस ठेगानमा नरहेको अवस्थामा लिएको मञ्जुरीलाई पनि मञ्जुरी मानिने छैन भनिएको छ।

तेस्रो स्पष्टीकरण पछि थपिएको हो। लैङ्गिक समानता कायम गर्न केही नेपाल ऐन संशोधन गर्ने ऐन २०६३ ले व्यवस्था गर्‍यो- योनीमा लिङ्क केही मात्र प्रवेश भएको रहेछ भने पनि यस नम्बरको प्रयोजनका लागि करणी गरेको मानिनेछ।

अदालतमा बलात्कारका मुद्दा पर्दा दोषीले लिङ्ग योनीमा प्रवेशै गरेको छैन भन्ने दावी गर्न थालेपछि यस्तो व्यवस्था गरिएको हो। अदालतले पनि बलात्कार हुन योनीमा लिङ्ग पूरै प्रवेश गर्न नपर्ने नजिर बनाएको थियो।

मुलुकी ऐनलाई बदल्ने गरी बनाउन लागेको ऐनको मस्यौदा गर्दा कानुन मन्त्रालयले यस्तो व्यवस्था गरेको थियो-

यसमा मञ्जुरी लिएर गरे पनि मान्य नहुने अवधि १६ वर्षबाट बढाएर १८ वर्ष बनाइएको छ। त्यसैगरी योनीमा लिङ्ग केही मात्र प्रवेश भए पनि बलात्कार भएको मानिनेलाई कायम राख्दै दुई वटा थप व्यवस्था पनि गरेको छ- मुख मैथुन र गुदद्वारा करणी। अर्थात् बलात्कारको परिभाषामा योनी र लिङ्गमात्र अब रहेन। मुखमा कसैले मैथुन गरेको भए वा चाकमा कसैले गरेको भए पनि यो बलात्कार नै मानिने व्यवस्था गरियो।

यो मस्यौदा संसदीय उपसमितिमा पुग्दा थप परिमार्जन भएर आयो। अहिले के के थप भयो त, हेर्नुस्-

अहिलेको परिमार्जित विधेयक अनुसार मुखमा वा चाकमा लिङ्ग पसाएमा मात्र हैन मुख वा योनीमा लिङ्ग केही मात्र पसेको भएमा पनि बलात्कार मानिनेछ। त्यति मात्र हैन योनीमा लिङ्गमात्र हैन लिङ्गबाहेक अन्य कुनै वस्तु प्रवेश गराएमा पनि जबर्जस्ती करणी अर्थात् बलात्कार भएको मानिनेछ।

केही अघि सर्वोच्च अदालतले संखुवासभाको एक घटनामा महिलाले महिलालाई बलात्कार गरेको भन्दै सजाय सुनाएको थियो। त्यसमा एक महिलाले कृत्रिम लिङ्ग अर्की महिलाको योनीमा प्रवेश गराएकी थिइन्। तर सर्वोच्चले त्यसलाई जबर्जस्ती करणी नै ठहर गरेको थियो।

यस्तो थियो सर्वोच्चको ठहर-

महिलाले महिलालाई जबर्जस्ती करणी गर्न सक्ने तथा सोको परिकल्पना मुलुकी ऐनको जबरजस्ती करणीको महलको १ नं ले गरेको देखिन्छ। यो सैद्धान्तिक प्रश्नको निरुपण गरेपछि अब प्रस्तुत मुद्दाको तथ्यहरुको आधारमा प्रतिवादी अजय शेर्पाले पीडितलाई जबर्जस्ती करणी गरेको स्थापित हुन्छ वा हुँदैन सो सम्बन्धमा विचार गरिनुपर्छ।
सो सम्बन्धमा विचार गर्दा जाहेरवाली पीडितले यी प्रतिवादी अजय शेर्पाले दुईपटक करणी गरेको भनी जाहेरी दरखास्तमा उल्लेख गरेकी छन्। वारदात भएको भनिएको दिनको भोलिपल्ट यी प्रतिवादी पक्राउ परी शरीरको खानतलासी हुँदा यिनको शरीरबाट पेन्टीमा बाँधेको अवस्थामा ७ इन्च लम्बाइ र ५.५ इन्च गोलाइ नाप भएको कृत्रिम लिङ्ग बरामद समेत भएको छ। यी प्रतिवादीले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयानमा समेत आफूले पेन्टीभित्र लुकाएर राखेको कृत्रिम लिङ्गको प्रयोग गरी पीडितको योनीभित्र दुई-तीन पटक तलमाथि गरीदिएको भनी स्वीकार गरेका छन् भने अर्का अभियुक्त सागर शेर्पाले पनि अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयानमा दिदी अजय शेर्पा र पीडित एउटै खाटमा सुतेको र खासखुस कुरा गरेको सुनेको भनी बयान गरेका छन्।

प्रतिवादीले अदालतमा गरेको बयानमा पीडितलाई जबर्जस्ती करणी गरेको कुरालाई इन्कार गरेको भए तापनि रातको करिब ११ बजेतिर जाहेरवाली आफ्नो खाटमा आईसँगै ढल्केको कुरालाई सम्म स्वीकार गरेका छन्। यसरी प्रतिवादी अजय शेर्पाले पीडितलाई कृत्रिम लिङ्गको प्रयोग गरी करणी गरेको तथ्यमा अदालतमा इन्कार गरेको भए तापनि अधिकारप्राप्त अधिकारी समक्ष उक्त तथ्यमा समेत सावित भइबयान गरेको‚ निजको सँगसाथबाट कृत्रिम लिङ्ग बरामद भएको र पीडित स्वयमंले दिएको जाहेरी‚ मौकामा गरेको बयान तथा अदालत समेतमा बकपत्र गर्दा प्रतिवादी अजय शेर्पाले आफूलाई करणी गरेको हो भनी किटान गरेको समेतबाट पुष्टि भैरहेकोले प्रतिवादी अजय शेर्पाले पीडितलाई कृत्रिम लिङ्गको प्रयोग गरी करणी गरेको तथ्य निर्विवाद रुपबाट स्थापित हुन आएको देखियो। जिल्ला स्वास्थ्य कार्यालय, खाँदबारी अस्पताल, संखुवासभाले दिएको पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनमा निजको योनी वरिपरि कुनै घाउ चोटपटक नभएको र निजको कन्या जाली पहिल्यै च्यातिएको अवस्थामा रहेको भनी उल्लेख भएको देखिन्छ। पीडितको योनी वरिपरि घाउचोट नभएको तथा वीर्य स्खलन भएको नदेखिएको भन्ने आधारमा मात्र जबर्जस्ती करणी भएको थिएन भनी भन्न मिल्दैन।’

‘लैङ्गिक समानता कायम गर्न केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०६३ बाट संशोधन हुनुपूर्व जबर्जस्ती करणी लोग्ने मानिसले स्वास्नी मानिसको विरुद्धमा गर्ने‚ गराउने र गर्न सक्ने अपराधको रुपमा राखेको थियो। यसरी लोग्ने मानिसले स्वास्नी मानिसको विरुद्धमा गर्ने अपराध भनी प्रस्ट उल्लेख गरी कानूनी व्यवस्था भएकोमा उक्त संशोधनले यसको दायरालाई फराकिलो बनाउदै कसैले भन्ने शब्दको प्रयोग गरेको अवस्थामा जबर्जस्ती करणीको पीडक केवल पुरुष मात्र हुन्छ भन्ने उक्त व्यवस्थाको मनसाय हुने देखिँदैन। केवल पुरुष मात्र पीडक हुने भन्ने विधायिकाको मनसाय हुन्थ्यो त उक्त संशोधनको आवश्यकतानै पर्ने थिएन।’ यससम्बन्धमा थप जानकारी यहाँ छ।

 

अब यसैलाई कानुनमा नै स्पष्ट पार्न लागिएको हो। नयाँ कानुन पास भएमा बलात्कारको परिभाषा फराकिलो बन्नेछ।

6 thoughts on “बलात्कारको नयाँ परिभाषा (*१८ वर्षमाथिकाले मात्र पढ्नु होला)”

  1. aakash says:
    February 23, 2017 at 8:12 am

    अनि महिलाले पुरुषलाई जबर्जस्ति करनी ( बलात्कार ) गरेको खण्डमा चै के गर्ने ? कि महिलाले पुरुषलाई जबर्जस्ति करनी नै गर्दैनन्?

    Reply
  2. Shankar says:
    February 17, 2017 at 7:28 am

    कानुनि जटिलता झन् थपिए जस्तो छ | एकातिर डी यन ये टेस्ट लाइ चुनौती दिन्छ नेपाल को अदालत र वोकिल हरुले भन्दा
    १) लिङ्ग पुरै न छिराई गरेको सेक्स को प्रयास लाइ कसरि भेरिफाइ गर्छ त् उसो भए , कि केटीले म लाइ तेस्ले गर्यो भन्नासाथ पक् डिने?

    २) हालाकी पश्चिमा देश मा जस्तो नेपाल मा मुख मैथुन ( कुनै नेपालि हिरोइन हरुले गरेर देखाएको अपबाद बाहेक ), चाक् मा गर्ने चलन बिरलै होला ,
    एस्तो बलात्कार लाइ झन् कसरि भेरिफाइ गर्ने ?

    बलात्कार को कानुन को साथ् साथै महिला याबुज को कानुन पनि कडा बनाउनु जरुरि छ | टन्न भरिएको बस मा जता जता केटि बस्छन तेतै तेतै टासिएर बस्न जाने , आफ्नो लिङ्ग ले पाइट भित्र बाट घोच्ने , बस मा दुध समाउने लाइ पनि कम्तिमा ५ बर्ष जेल हाल्न पर्छ बा तेस्तो लाइ पनि बलात्कार मानिनु पर्छ |

    केटि जिस्काउने लाइ पनि २ बर्ष जति जेल हाल्न पर्छ |

    Reply
    1. Chiran says:
      February 26, 2017 at 11:10 am

      Kt jiskyune lie chai sajaya atti vo

      Reply
  3. Rambabu Thapa says:
    February 17, 2017 at 7:18 am

    महिला ले पुरुषलाई र पुरुष ले पनि पुरुषलाई बलात्कार गर्न सक्छन्। त्यस्को बारेमा पनि केहि प्रावधान हरु हुनुपर्ने व्यवस्था गर्नुपर्यो।

    यहाँ १६ वर्ष मुनिकी बालिकाको बारेमा कुरा उठाइएको छ तर १६ बर्ष मुनिका बालक पनि बलात्कार को सिकार भएका हुन्छन् त्यो स्पष्ट भएको देखिएन।

    यदि करकाप मा पारेर कुनै पुरुषलाई करणी गर्न कि निमित्त बाध्य पारिन्छ भने त्यस अवस्थामा कस्तो प्रावधान रहनेछ, त्यो पनि खुलाउनु पर्यो।

    महिलाको हकमा योनीको कुरा आयो, तर पुरुषको हकमा लिंगको बारेमा पनि थप अध्ययन गरेर परिमार्जन गर्नुपर्ने आवश्यकता देखिन्छ।

    यदि कसैले करकापमा पारेर बालक/पुरुषको लिंग चुसेको खण्डमा त्यसलाई बलात्कार मान्ने कि नमान्ने (यस किसिमको घटना समाजमा धेरै घटेको पाइएको छ)।

    Reply
  4. सिर्जने says:
    February 16, 2017 at 11:17 pm

    “२१६ (२) कसैले कुनै महिलालाई ……………….”
    पुरुषले पुरुषलाइ गर्ने करणी बलात्कार भएन? (I think many people including lawmakers have read the book Kite Runner by Khaled Hosseini, why turning a blind eye onto it?) अनि महिलाले महिलालाइ (संखुवासभाको घटना) र महिलाले पुरुषलाइ पनि बलात्कार गर्न सक्छन भन्ने परिकल्पना गरिएको छैन? कि अर्कै महलमा छ त्यो?

    Reply
  5. Ram bhari says:
    February 16, 2017 at 10:05 pm

    राम्रो लग्यो यो कानुन, हाहा

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme