Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

गद्दीच्युत राजा ज्ञानेन्द्रले फेरि निकाले विज्ञप्ति, यी हुन् सजिलोका लागि प्रमुख बुँदा

Posted on January 10, 2017 by Salokya

अस्ति नै पुस ६ गते कुनै पर्व र अवसर बिना यत्तिकै विज्ञप्ति निकालेका गद्दीच्युत राजा ज्ञानेन्द्र शाहले पुस २७ गते पृथ्वीनारायण शाहको जन्मदिवसको एक दिन अगाडि अर्को विज्ञप्ति निकालेर फेरि जनतालाई ‘छिटो केही गर न, के चुप बसिरा’ शैलिमा दुखेसो पोखेका छन्।

सजिलो भाषामा विज्ञप्तिको मुख्य कुरा यस्तो छ-

  • यो देशको राष्ट्रियता, राष्ट्रिय एकता र सामाजिक सदभाव संकटमा परिसक्यो।
  • नेपाल र नेपालीविरुद्ध अक्षम्य अपराध उनीहरुले गरेका छन्।
  • भाषा धर्म संस्कृति र राष्ट्रिय पहिचानका आधारहरु भत्काउने प्रयाससमेत भइरहेको छ।
  • नेपाली जनताको इच्छा नै राजाको इच्छा हुने परम्परा रही आएको छ। त्यसैले त्यतिबेलाको परिस्थितिलाई ध्यानमा राखी हामी नारायणहिटी राजदरवारबाट बाहिरिएका हौं। त्यसो भए पनि जनता र राष्ट्रप्रतिको जिम्मेवारीबाट पन्छिएको महसुस (ज्ञानेन्द्रले) कहिल्यै गरेका छैनौं र गर्ने पनि छैनौं।
  • १० वर्ष नबित्दै नेपाल बन्ने होइन, बच्ने हो कि होइन भन्ने चिन्ताजनक घडीमा आज हामी आइपुगेका छौं।
  • देश कसैको खेल्ने ठाउँ होइन, हुन सक्दैन र हुन दिइनु पनि हुँदैन।
  • विश्वमा राष्ट्रवादी भावनाको जागरण आउँदै गरेको वर्तमान सन्दर्भमा हामी भने राष्ट्रको अस्तित्वमाथि नै आँच पुग्ने व्यवहार प्रस्तुत गर्दैछौं। यस्तो दुःखद र विडम्वनापूर्ण अवस्थाको अन्त्य हुनै पर्दछ।
  • नेपालको अस्तित्व, स्वाभिमान र गौरव चिरकालसम्म जोगाउन, नेपालीबीचको एकतालाई जीवन्त र स्थायी बनाउन, स्थिर, शान्त र समृद्ध नेपाल निर्माण गर्न उपाय पनि ज्ञानेन्द्रले वक्तव्यमा दिएका छन्। के हो त त्यो उपाय?
  • सबै नेपाली राष्ट्रिय झण्डा मुनि गोलवद्ध हुने
  • ल है अब सबैले राष्ट्रिय झण्डा ल्याएर त्यसमुनि गोलवद्ध हुन थालौँ। त्यसो गरेमा नेपालको अस्तित्व, स्वाभिमान र गौरव चिरकालसम्म जोगाउन, नेपालीबीचको एकतालाई जीवन्त र स्थायी बनाउन, स्थिर, शान्त र समृद्ध नेपाल निर्माण गर्न सकिन्छ रे।

वक्तव्यको पूर्ण पाठ-

श्री ५ वडामहाराजाधिराज पृथ्वीनारायण शाहको संघर्ष, नेतृत्व कौशल, दुरदर्शिता नेपाली जनताको सामुहिक साथ र सेनाको वीरताको परिणामस्वरुप हामी नेपालीलाई प्राप्त यो देशको राष्ट्रियता, राष्ट्रिय एकता र सामाजिक सद्भाव संकटमा पर्नु हामी सबै देशभक्त नेपालीका लागि गंभिर चिन्ताको विषय बनेको छ ।

चारवर्ण छत्तीस जातको साझा फुलवारीको रूपमा रहेको यस मुलुकका शान्तिपि्रय जनताबीचको एकता विथोल्ने, देशको सार्वभौमसत्ता कमजोर पार्ने, राज्य संयन्त्रहरूलाई दुर्वल तुल्याउने, भौगोलिक एवं क्षेत्रीय अखण्डतामाथि प्रहार गर्ने कार्यमा जो जसले विषारोपण गरेको भए तापनि तिनले नेपाल र नेपाली विरुद्ध अक्षम्य अपराध गरेका छन् ।

यसै गरी भाषा, धर्म, संस्कृति र राष्ट्रिय पहिचानका आधारहरू भत्काउने प्रयास समेत भइरहेको छ ।

स्मरणीय छ, नेपाली जनताको इच्छा नै राजइच्छा हुने परम्परा रही आएको यस मुलुकमा तत्कालिक परिस्थिति समेतलाई दृष्टिगत गरी हामी नारायणहिटी राजदरवारबाट बाहिरिएका हौं तर जनता र राष्ट्रप्रतिको जिम्मेवारीबाट पन्छिएको महसुस हामीले कहिल्यै गरेका छैनौं र गर्ने पनि छैनौं ।

दशक नवित्तै नेपाल बन्ने होइन, बच्ने हो कि होइन भन्ने चिन्ताजनक घडीमा आज हामी आइपुगेका छौं । देश कसैको क्रीडास्थल होइन, हुन सक्दैन र हुन दिइनु पनि हुँदैन भन्ने सोचकासाथ देशभक्त नेपालीहरूले एकतावद्ध भई सद्भाव, देशभक्ति र आपसी एकता तथा प्रेमको डोरीले मात्र नेपालको अस्तित्व र पहिचान जोगाउन सक्दछ भन्ने हाम्रो धारणा रही आएको छ ।

नेपाली भनेका जो जहाँ रहे बसे पनि नेपाली नै हुन् । देशमाथि संकट आइपर्दा कसरी एकतावद्ध हुन्छन् भन्ने हामीले उदाहरण बन्नु परेको छ । विश्व समुदाय, समृद्धि प्राप्तिको निमित्त प्रतिस्पर्धा गरिरहँदा हामी भने थप विपन्नतातर्फ अग्रसर हुँदैछौं ।

विश्वमा राष्ट्रवादी भावनाको जागरण आउँदै गरेको वर्तमान सन्दर्भमा हामी भने राष्ट्रको अस्तित्वमाथि नै आँच पुग्ने व्यवहार प्रस्तुत गर्दैछौं । यस्तो दुःखद र विडम्वनापूर्ण अवस्थाको अन्त्य हुनै पर्दछ ।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको वंशजका एक नेपाली हुनुका नाताले नेपालको अस्तित्व, स्वाभिमान र गौरव चिरकालसम्म जोगाउन, नेपालीबीचको एकतालाई जीवन्त र स्थायी बनाउन, स्थिर, शान्त र समृद्ध नेपाल निर्माण गर्न सबै नेपालीलाई राष्ट्रिय झण्डा मुनि गोलवद्ध हुन आह्वान गर्दछु ।

श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन् । जय नेपाल ।।

14 thoughts on “गद्दीच्युत राजा ज्ञानेन्द्रले फेरि निकाले विज्ञप्ति, यी हुन् सजिलोका लागि प्रमुख बुँदा”

  1. kailash says:
    January 13, 2017 at 1:18 am

    द्दौता बस्छन् मन्दिरमा , डाँफे हिमालमा
    द्दौता बस्छन् मन्दिरमा , डाँफे हिमालमा आ-आ
    हाम्रा राजा, तिमी बस , दिलको सिंहासन मा .
    ..सिंहासनमा
    ह अ अ अ अ अ अ अ हा आ रि हा हा रि हा हा रि हा हा

    हर दैलोमा शुभ घडा , हर हातमा थाली
    हर दैलोमा शुभ घडा , हर हातमा थाली इ-ई
    हर्षित भै आज गर्छम साँझ दिपाव-अ ली
    …दिपावली
    ह अ अ अ अ अ अ अ हा आ रि हा हा रि हा हा रि हा हा

    Reply
    1. Ashwin says:
      January 13, 2017 at 11:32 pm

      कस्तो नागले विष्णु भगवानको शीरमा छाया दिएझै हामी समस्त नेपाली पनि सरकारको छत्रछाया मा मौलिन पाउँ

      दुइकोटी मुटु जोडी यौटै मुटु बन्छ
      त्यही मुटु नेपालीको राजमुकुट हुन्छ

      सरकार !! जयजयकार !!
      सरकार !! जयजयकार !!

      हातैको ठेला तिम्रो …गीत गाइरहुँ भन्छ
      हा=आ तैको ठेला तिम्रो …गीत गाइरहुँ भन्छ-अ अ अ अ
      प्रकृतिले तिम्रो मुस्कान पाइरहुँ भन्छ
      … पाइरहुँ भन्छ
      ह अ अ अ अ अ अ अ हा आ रि हा हा रि हा हा रि हा हाहा हा रि हा हा
      ह अ अ अ अ अ अ अ हा आ रि हा हा रि हा हा रि हा हाहा हा रि हा हा

      Reply
  2. NABIN says:
    January 12, 2017 at 7:38 am

    अहिलेलो मन्त्रि गगन थापा कसरि नेता भयो? येदि यो राजा को विरुद्ध मा नगए को भए?
    भूपू राजा , लाज लग्नु पर्ने हो ,संसार मा नभएको कुरा तिम्रो फैम्ली ले garera देखाएको मा . अनि फेरी तिम्रै बंसज लै मान्नु पर्ने?

    Reply
  3. राजन says:
    January 11, 2017 at 5:10 pm

    यो माईलोको समाचारले माईसंसारमा कसरी कसरी स्थान पाउंछ गांठ्ठे ?

    Reply
  4. Ajaya Pradhan says:
    January 11, 2017 at 2:57 pm

    देशको भलो र हीतको लागि एक नेपालीको नाताले चासो , चिन्ता देखाउनु स्वाभाविक हो तर ” ज्ञानेन्द्र आम नागरिक सरहक हुन् ” भन्ने हरुले किन सुनामी ल्याउछन जव तिनै आमनागरिक ले २ दुई शब्द बोल्दा , यहि कुरो के पी , देउवा , प्रचण्ड , बाबुराम , कमल थापा ,,महतो , यादवले बोल्दा राष्ट्रिय चिन्ता हुने अनि ज्ञानेन्द्रले बोल्दा देशमा हल्ली चल्ली मच्चिने आखिर किन ? यसको मतलव अहिले भनिएका गणतन्त्र , संघियता र धर्मनिरपेक्षता आदिका जग कम्जोर छ र थोरै कम्पन पनि थेग्न सक्दैन |

    Reply
  5. Dev Bataju says:
    January 11, 2017 at 12:19 pm

    Thank you Salokya Ji for making our live easier.

    Reply
  6. Tk says:
    January 11, 2017 at 5:42 am

    Good but….

    Reply
  7. madan kc says:
    January 11, 2017 at 4:04 am

    सम्पूर्ण नेपाली हरुले पौष २७ गते को पृथ्वी जयन्ती श्रद्धा र राष्ट्रभक्ती को भावना ले मनाउनु पर्छ ।
    ज्ञानेन्द्र को नाम सुन्दा पनि रिस उठ्थ्यो, अब नेता हरु हेर्दा घ्रिणा ले मुख भरी थुक आउछ । भारत को यो जनामा सदियौ देखी मिलेर बसेका सोझा साझा नेपाली हरु लाई भिडायेर नरसन्हार गर्ने र अरबौ लुट्ने र लुट को पैसा ले मोज गर्ने नरपिशाच नेता हरु भन्दा ग्यानेन्द्र नै ठीक ! धोका को पनि एउटा सिमा हुन्छ नि ! यती सम्म धोका दिने डाँका लाई अझै मालै मालाले स्वागत गर्ने हैन ! यि डाँका हरु लाई रत्न पार्क मा नङ्याएर सिस्नो पानी लगाउनु पर्ने हो

    Reply
  8. Surya says:
    January 11, 2017 at 3:52 am

    राजतन्त्रको पक्ष्यमा जनमत पक्कै बढ्दै छ. के के न भनेर भेडाहरु गणतन्त्र र संघियताको पछि लागे, अहिले आएर देशलाई एकजूट बनाउन आखिर राजतन्त्र नै चाहिने रैछ भन्ने आभाष भैरहेको छ.

    बक्तब्य मात्र निकालेर हुन्न, अब टेलिभिजनमा अन्तर्वार्ता पनि दिनु पर्छ र आफ्नो मनको कुरा प्रष्ट राख्नु पर्छ. आफ्नो भावी योजनाहरुको बारेमा खुलेर बोल्नु पर्छ र देशका विभिन्न ठाउँमा गई जनतासंग प्रत्यक्ष्य सम्बाद गर्नु पर्छ. नबोल्दै त शक्तिशाली देखिन्छन, अलि सक्रियता देखाउने हो भने त नेताहरुको सात्तो उद्छ.

    Reply
  9. Ratna says:
    January 11, 2017 at 3:52 am

    मलाई त राम्रो लाग्यो; कम से कम भू.पू. भए पनि राजा न हुन्, उनको शिरमा टोपी छ, उनि खाँटी नेपाली देखिन्छन् | प्रचन्डलाइ टाईसूट प्यारो, बाबुरामलाई धोती प्यारो | नेपालनामको देशको प्रधानमंत्रीले शिरमा टोपी लाउदैंन ; भू.पू. प्रधानमंत्री भई केही महिना रहर पुर्याएका बाबुरामनामका नेता आफ्नै देशको नेपाली जनताले टोपी लाएको पनि देखी सहन्दैन | देशलाई सकेसम्म भारतमा मिसाउनु पाये हुँदो हो भन्नेहरुले ज्ञानेन्द्रको सन्देशको खेदो त गर्ने नै हुन् | अब दुई शक्तिमा आशा छ, कि राजतन्त्र कि सैनिक शासन……डेमोक्रेसीले र रिपब्लिकले नेपाली जनतालाई भीख माग्ने बनाइसक्यो | अब हेर्दै जाउँ…पूर्व राजाको सन्देश पठनीय छ, मननीय छ, अनुशरणीय छ |

    Reply
  10. Santosh says:
    January 11, 2017 at 2:55 am

    ल है अब सबैले राष्ट्रिय झण्डा ल्याएर त्यसमुनि गोलवद्ध हुन थालौँ। त्यसो गरेमा नेपालको अस्तित्व, स्वाभिमान र गौरव चिरकालसम्म जोगाउन, नेपालीबीचको एकतालाई जीवन्त र स्थायी बनाउन, स्थिर, शान्त र समृद्ध नेपाल निर्माण गर्न सकिन्छ रे।???

    Reply
  11. यादव पोखरेल says:
    January 11, 2017 at 1:46 am

    तेसो भए अब जनता एकतावध्द भर्इ राजगद्दी सजाएर ज्ञानेन्द्रलार्इ थपक्क त्यसमा राख्ने हो भने देश शान्त र समृध्द हुने भएछ ।

    Reply
  12. दीपक says:
    January 11, 2017 at 1:36 am

    ज्ञानेले नागरिकको हिसाबले सचेत र सतर्क गराउनु ठिक हो|
    तर केलाएर हेर्यौ भने अहिले भएको लोकमान प्रकरणको जड नै राजदरवार हो|
    कैले जांचबुझ केन्द्र र कैले भ्रमण, वीरता, बकस र हुकुम प्रमांगीको नाउँमा साधारण जनतालाई सकस दिन सम्म दिए| करिब अढाई सय बर्ष चलेको राजतन्त्रले साधारण जनताका लागि गरेका उल्लेखनीय प्रगतिहरु के हुन् दिम्सै बत्ती बालेर खोजे पनि पाइन्दैन| इतिहास हेर्नुस, शाहबंशका राजाहरु लुतुरेफुतुरे, सुराल मुतुवा र सुतुवा नभएको भए १०४ बर्ष अन्धकारमय राणा कुशासनले जनतालाई कोपरा थपाएर राष्ट्रको ढुकुटी भाई भारादारमा बाँडेर किन आरामले राज गर्थे?
    मुलुकलाई राजतन्त्रले खत्तम पारेर छाडेको छ, अहिले आएर आफै पाठ सिक्नु छैन
    हामीलाई सचेत गराउने? अझै राजतन्त्र फर्कने दिवास्वप्न देख्नेहरुले बुझ्नपर्यो, जनताले सम्पति विवरण माग गर्ने छन्, नागार्जुन बंगला तुरन्त खालि गर्न पर्यो नत्र महिनाको यति भाडा चडनेछ| अहिले आएर हामीलाई लोकतन्त्रको लेक्चर दिने?
    दाजु जस्तो टुलु टुलु हेरेर बस्दिन भन्थ्यौ ‘रे| राजतन्त्र नै भस्म पार्यौ| पुर्ब राजन, किन आत्मा स्वीकृति गर्नुहुन्न? तपाईका क्याबिनेटमा कस्ता कस्तीलाई ठाउँ दियौ, लाज मान्नु पर्ने हो| नेपाली जनता अम्नेसियाले ग्रस्त छ भन्ने ठान्यौ, होइन हजुर?
    चेतना भया|

    Reply
  13. Shankar says:
    January 11, 2017 at 1:18 am

    बुढाले फेरी मुख खोले | फेरी पाखे नेता हरु बाख्राको पुच्छर खाएको जोस देखउछ र धमकी दिन्छ |
    कसैले सीरियस ली लिदैन हो माइला किन कराइरहन्छौ , नेपाली लाइ देश कहाँ चाहिएको छ?

    कसैलाई संबिधान संसोधन , कसैलाई यथास्तिति को संबिधान , कसैलाई संघीयता , कसैलाई जातीय पहिचान , कसैलाई पद , कसैलाई जग्गा किन्ने ग्राहक , कसैलाई राम्री स्वास्नी , कसैलाई हैण्डसम पोइ , कसैलाई घोतले छोरा , कसैलाई अमेरिका , यु के , ऑस्ट्रेलिया कोभिसा , , कसैलाई अंगीकृत लाइ नागरिकता , कसैलाई एक मधेस प्रदेश चाहिएको छ , देश को मतलब कसैले गर्दैन |
    तिमीलाई पनि राजा हुन देश चाहिएको हो ?

    देश किन चाहियो ? देश को नाउँमा मागी खान ? दे दे बाबा , हाम्रो देश गरीब छ , बाटो बनाई दे , हाम्रो युनिभर्सिटी चलाई दे , हाम्रो चुलो माँ भात पकाई दे | ये बाबा

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme