Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

दरवार हत्याकाण्डको पुनः छानबिन गर्ने : १५ आधार जसका कारण ज्ञानेन्द्रले क्लिनचिट पाउने छन्

Posted on December 26, 2016December 26, 2016 by सूर्य खड्का

२०६३ सालको दोस्रो जनआन्दोलन सफल हुँदै देश गणतन्त्रमा फड्को मार्नुमा धेरै कारक पात्र, परिस्थिति र परिवेश छन्। सामान्यतः तत्कालीन सक्रिय राजा ज्ञानेन्द्रका हातबाट सत्ता र शक्ति खोसिएका कारण उनलाई खलनायक मानिएला। तर ती अनेकन मध्येका एक मुख्य कारक उनै ज्ञानेन्द्र थिए। यसका आधार र कारण के भने २०६१ माघ १९ मा शक्ति हातमा लिएपछि ज्ञानेन्द्र यति धेरै दम्भी बने कि उनले आफूबाहेक सबैलाई भुसुना बराबर पनि गनेनन्। फलतः त्यतिबेलासम्म असंभव प्रायः मानिएको तत्कालीन ७ दल र भूमिगत माओवादीको एकतादेखि संयुक्त जनआनदोलनसम्म भयो। राजा ज्ञानेन्द्रको नकारात्मक भूमिका नै गणतन्त्रका लागि मार्ग खन्ने कर्तुत मध्येका एक मुख्य कारक बन्यो।

अहिले नागरिक छन् ज्ञानेन्द्र तर उनी उदाउँदो शक्ति नायकका रुपमा देखा पर्दैछन्। तर आफ्नो पौरखले भन्दा १० वर्ष अघि उनको सत्ता र शक्ति खोस्ने दलहरुको अकर्मण्यता, अक्षमता र अदूरदर्शिता तथा विभाजनका कारणले। अझ यसो भनौँ उतिबेला गणतन्त्र ल्याउन सहयोग बनेका राजालाई अहिले गणतन्त्रमाथि नै कालो बादल लाग्ने गरी पूर्वराजालाई हिरो बनाउन उनै गणतन्त्रवादीहरु लागेका छ्न्।


पूर्व राजाको मंसिर ६ को विज्ञप्तिबाट तर्सिएका प्रधानमन्त्री र दलहरु उनलाई राजा वीरेन्द्रको वंश विनास गरिएको २०५८ जेठ १९ को नारायणहिटी हत्याकाण्डको छानबिनको लौरी बर्साउन उद्धत छन्। तर यो हत्याकाण्डको छानबिन गर्ने प्रचण्ड सत्ताको प्रयास पूर्व राजा ज्ञानेन्द्रलाई क्लिनचिट दिने र थप हिरो बनाउने पछिल्लो सरकारी भूल हुनेवाला छ। यसमा केही तर्कपूर्ण आधार जरुर छन्-

१. दरवार हत्याकाण्डमा प्रत्यक्ष जोडिएका पात्र नै होइनन् ज्ञानेन्द्र शाह। उनलाई त्यतिबेला हत्याकाण्ड भैसकेपछि सेनाले हेलिकप्टरबाट दरवार ल्याएको हो। जो मान्छे त्यहाँ थिएन, अब उसलाई कसरी हत्यारा करार गर्छन् त यतिबेला यस्ता तोरी लाउरे सरकारवालाहरुले?

२. नैतिक बलले मान्छेलाई सबैभन्दा बढी सुरवीर, आँटिलो, साहसी र प्वाक्क बोल्न सक्ने निडर बनाउँछ। ज्ञानेन्द्र असफल शासक रहे। तर उनी नैतिक चरित्र र आँटमा यी कुनै पनि गणतन्त्रवादी दलका नेता, प्रधानमन्त्री र मन्त्री भन्दा सयौं गुणा उच्च र मिष्टर क्लिन रहे, छन्। अहिले ज्ञानेन्द्रले जे जे आरोप लगाइरहेका छन्। तिनमा उनको गुमेको सत्ता फर्काउने उद्देश्य त होला नै। तर त्यसभन्दा धेरै दलहरुको अक्षमता, अदूरदर्शिता र बेमेलमाथि टेकेर प्रहार गर्ने क्षमता ज्ञानेन्द्रमा उच्च छ। उनीमाथिका दलहरुका आरोप, जनआन्दोलन ताकाका दोष सबै दलहरुको असफल सत्ता संचालनले पखाली दिइसकेको छ। दलका सबै परीक्षित पार्टीहरु, नेताहरुको कालो मैलो छविका बीच नैतिक साहसका शिखर ज्ञानेन्द्रलाई हत्याकाण्ड छानविनको अस्त्रले हिर्काउन खोज्दा अब जनताले दलहरु जिन्दावाद भनेर सडक जाम गर्ने अवस्था बाँकी रहेन।

३. राजा भए लगत्तै ज्ञानेन्द्रले तत्कालीन सभामुख तारानाथ रानाभाट, प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय र विपक्षी दलका नेता माधव नेपालसहितको छानबिन समिति बनाए। उनले त्यो समितिलाई बिना दवाव काम गर्न दिए। माधव नेपाल समितिबाटै भागे। प्रतिवेदन आयो। प्रतिवेदनको निष्कर्ष विवादास्पद छ। तर यसको अर्थ ज्ञानेन्द्र नै दोषी हुन् भन्ने प्रमाण होइन। अनि के आधारमा अब ज्ञानेन्द्रलाई दरवार हत्याकाण्डको सत्य तथ्य बोल त मिष्टर ज्ञानेन्द्र भन्न जाने त?

४. मानौं पुनः छानविन आयोग तुरुन्तै बन्यो। ज्ञानेन्द्रलाई बयान लिन जाने कुन सुरवीर नेपाली छ यतिबेला नेपालमा? कुन तर्क र तथ्यका आधारमा ज्ञानेन्द्रलाई बयान लिने? ज्ञानेन्द्रको सँधैको त्यो उज्यालो अनुहार, डोमिनेटिङ पर्सनालिटी र कन्भिसिंग डायलग शैलीमा छानबिन आयोगको कुन सदस्य वा अध्यक्ष वा टीम नागार्जुन वा निर्मल निवास छिर्न सक्छ र सत्य तथ्य ल्याउन सक्छ त हजुर? सरकार दर्शन नभनी कुनै मान्छे ज्ञानेन्द्रको सामु पर्न सक्छ र आफूले चाहे अनुसार उत्तर लिन सक्छ भन्ने लाग्दैन मलाई त। ज्ञानेन्द्रसँग सिधा आई कन्टयाक्टमा एस नो बातचित गर्ने मान्छे दुर्लभ नै होलान् यो देशमा। त्यो आश्चर्यपूर्ण कन्फिडेन्ट छवि ज्ञानेन्द्रसँग छ भन्ने त गोकर्ण रिर्सोटमा डा. तुलसी गिरीसँग भेट्दा ताका प्रचण्डले पनि अनुभूत गरेका होलान्। प्रचण्डलाई आफू र ज्ञानेन्द्रको शारीरिक र नैतिक उचाईको ख्याल पनि राम्रैसँग होला।

५. लौ सेना वा प्रहरीको बलमा छानविन आयोगले ज्ञानेन्द्रसँग बयान पनि लिन गयो, एक हदसम्म ज्ञानेन्द्रलाई दिल्लीका डाक्टर बाबुराम भट्टराईले भन्या जस्तै हत्कडी पनि लगाइयो वा नजरबन्दमै राखियो भने पनि ज्ञानेन्द्रले मैले सबै जवाफ २०६५ जेठ २९ गते गरेको अन्तिम राजाको अन्तिम शाही सम्वोधनमा गरिसकेको छु। थप भन्नु केही छैन भन्दिए भने के प्रतिवेदन तयार पार्ला त छानविन आयोगले?

६. नेपाल सरकारलाई श्रीपेच र राजदण्ड जिम्मा लाएर म दरवार छोड्दैछु भन्दा ज्ञानेन्द्रले दरवार हत्याकाण्डको सम्पूर्ण जवाफ सार्वजनिक रुपमै दिएका हुन्। त्यो जवाफमा चित्त नबुझ्नेले किन ८ वर्षसम्म कानमा तेल हालेर बसे त? गणतन्त्र कार्यान्वयनमा ज्ञानेन्द्रको उदारता, महानता र सहयोगी भूमिका भन्दै भाषण गरेर हिँड्ने यिनै कृष्ण सिटौलाहरु, डा. बाबुरामहरु होइनन्? उतिबेला राजाको सम्बोधनको स्वागत गर्ने यी दलहरुले अहिले ज्ञानेन्द्रलाई हत्कडी लाउने सपना देख्दा त्यसको व्याकफायर कसरी हुन्छ भन्ने पनि हेक्का राख्या छन कि छैनन् त?

७.लौ छानविन आयोगले काम पनि चमत्कारिक रुपमा गर्ला। दरवार हत्याकाण्डको नायक ज्ञानेन्द्र नै थिए भनेर अब को साक्षी प्रमाण बोल्देला त? त्यो ह्याउ भाको कुनै नेपाली होला र यो धर्तीमा? पत्रकार कृष्ण भट्टराईले रक्तकुण्ड नामक आख्यान लेखेजस्तो हुन्न होला नि छानविन प्रतिवेदन होइन र?

८. ज्ञानेन्द्रको २०६१ माघ १९ को कदम फेल खाएको बाहेक उनले बोलेका कुरा पुर्‍याएका छन्। नभए आफ्नो कुरामा अडेका छन्। उनको जस्तो त्यो असिम आत्मविश्वास विरलै कोही नेपालीसँग होला। उनले गद्दी छोडे, देश छोडेनन्। राजनीति छोडे, राजधर्म छोडेनन्। नागरिक भए, राजपरम्परा सकेसम्म धानेका छन्। जनतासँगको नाता सम्बन्ध कही कहिल्यै तोडेनन्। त्यो उर्जा र जाँगर दाजु राजा वीरेन्द्रको कत्लेआम गर्ने ज्ञानेन्द्रसँग हुन सक्दैन्थ्यो। मान्छेका रुपमा उनी जति प्रष्ट र निडर छैनन् अरु दलमा, नेता मध्येमा। अनि कसरी प्रतिवाद गर्ने त?

९. हिसाब सत्ता शक्तिकै गर्ने हो भने पनि ज्ञानेन्द्रलाई गद्दीच्यूत गर्ने विधि जनादेश वा जनताको प्रत्यक्ष सहभागिता भएको हो र ? राजसंस्था फ्याक्ने जनमत संग्रह भएको थिएन, होइन। पहिलो संविधान सभाबाट निर्वाचित सरकारले एजेण्डा पेश गरेकै थिएन, होइन। गिरिजाप्रसाद कोइरालाको सरकार नै थियो जेठ १५, २०६५ सम्म, जुन राजा ज्ञानेन्द्रले पुर्नस्थापित गरेको तत्कालीन प्रतिनिधि सभाले चुनेको सरकार र श्रीपेचधारी ज्ञानेन्द्रले नै पद तथा शपथ खुवाएको सरकार थियो त देशलाई गणतन्त्र घोषित गर्ने सरकार। हैन र इतिहासका साक्षी महोदयहरु ? जोबाट शपथ खाको उसैलाई गद्दीच्यूत गरेको त्यो पनि थपडी बजाएर, अनि शासन चाहिँ ज्ञानेन्द्रको भन्दा पनि तन्नम गरेपछि ज्ञानेन्द्र नबोलेर को लक्ष्मणसिंह खड्का बोल्ने त हजुर?

१०. ज्ञानेन्द्र चुपचाप बसिदिँदासम्म र लोकतन्त्रको कम्मल आढेर सत्ताको ढुकटीमा मनपरी गर्न पाउन्जेल ज्ञानेन्द्र हाई हाई हुने अनि उनले जनताका तर्फबाट दलहरुका शासकीय भूलहरुबारे खबरदारी गर्न थालेपछि उनलाई दरवार हत्याकाण्डको तरवार झुण्ड्याउन खोज्ने स्खलित चरित्रको राजनीतिले फाइदा गणतन्त्रको हुन्छ कि ज्ञानेन्द्रको ? दलहरुका विद्धानहरुले सल्लाह दिए हुने नी नेताजीहरुलाई, सरकारलाई।

११. शाह वंशले रचना गरेको आधुनिक नेपाललाई ज्ञानेन्द्रपथले मात्रै यति दूरुह हालतमा ल्याएको थियो भने गणतन्त्रको ८ वर्षमा देशलाई रामराज्यमा रुपान्तरित गरेको भए दलका नेताहरुले ज्ञानेन्द्रको विज्ञप्ति वा गर्जनमा किन थर्कमान हुनुपर्थ्यो ? यो त आफू नाच्न नजान्ने आँगन टेढो देख्ने गणतन्त्रका नायकहरुको दृष्टिदोष, दुष्कर्म भएन र ?

१२. लौ ज्ञानेन्द्र संविधानविरोधी नै भाकाले उनलाई हत्यकाण्डमा फसाउने हो भने पनि यो संविधान कार्यान्वयनमा ज्ञानेन्द्रले कुन कुन बुँदामा भाँजो हाले त? ज्ञानेन्द्रले धज्जी उडाउने यो कस्तो ९० प्रतिशतले बनाएको संविधान परेछ त? आत्मसमीक्षा त संविधान बनाउनेहरुले गर्नु परेन कि क्या हो सुवास नेम्वांग ज्यूहरु ?

१३. भारत र चीन आउजाउ गर्दैमा ज्ञानेन्द्र शक्ति नायक हुने सरकारी वा दलीय निष्कर्ष हो र उनलाई ठेगान लगाउने हो भने पनि कस्तो छिमेक सम्बन्ध र विश्वास हो त सरकारको, संसदको, दलहरुको, नेताहरुको कि जो एकजना पूर्वशासक ज्ञानेन्द्रका कुरा पत्याउँछन् अनि यत्रो गणतन्त्रवादीहरुलाई बाइपास गर्छन्? आखिर भूल त आफ्नै होला नि?  सिंगै गणतन्त्रको विकल्पमा महेन्द्र पुत्र ज्ञानेन्द्रको पल्लाभारी हुनुको कारण पनि त होलान् नि नहोला र ?

१४.लौ मानौं डा. बाबुरामहरुकै रोडम्याप र निष्कर्ष अनुसार ज्ञानेन्द्रलाई अब छुट नदिऔं। उनलाई जेल नै हालौं। के त्यतिबेला जनता थपडी बजाएर दलहरुको आरती उतारेर स्वागत जुलुसमा मात्रै उत्रेलान् ? परम्परागत शक्तिका पछि जेहादी संघर्ष गर्ने कोही निस्किए भने सरकारले थेग्ने ल्याकत राख्छ ? डा. सीके राउतलाई संविधानमा सुझाव लिन सिंहदरवारमा निम्तो दिने राजनीतिक संवाद तथा सहमति समितिका तत्कालीन सभापति डा. बाबुरामले उतिबेला पूर्व शासक र गणतन्त्र कार्यान्वयनका सहयोगी पात्रका रुपमा ज्ञानेन्द्रलाई चिठ्ठी लेख्नसम्म अस्वीकार गर्ने प्रवृत्ति सही थियो त ? ८ वर्षे गणतन्त्रले पूर्व राजालाई किन कहिल्यै सम्मानित वा धन्यवाद दिन सकेन? विरोधीबाट सम्मानित हुन सम्मान दिन जान्ने लोकतन्त्र नेपालमा किन अभ्यास भएन?

१५. २०६३ पछि दलहरुका खास नेता विशेषको सहमतितन्त्रको शासन जनतामा कति लोकप्रिय छ भनेर जनमत कहिल्यै बुझिएको छ? दरवार हत्याकाण्डको छानबिन गर्ने हो भने १० वर्षे माओवादी जनयुद्धले लिएका १९ हजार बढीको ज्यानका लागि प्रचण्ड बाबुरामहरुलाई हेगतिर रिफर गर्ने माग उठ्ला कि नउठ्ला? फेरि नेपालमा आजसम्म कति आयोगका प्रतिवेदन कार्यान्वयन भाका छन् ? दरवार हत्याकाण्डकै आयोग कार्यान्वयन हुने के ग्यारेन्टी छ? नेपालको द्वन्द्वमा अल्पविराम लाग्या हो की पूर्णविराम अहिले ?

र, निष्कर्षमा

दरवार हत्याकाण्ड रहस्यमयी छ, पुनः छानविन हुनु नराम्रो होइन। तर यो बेला सरकारको काम त्यो होइन। त्यो ल्याकत भाको सरकार पनि होइन यो। रुक्मांगत कटवालसँग ठूलो पार्टी हुँदै हारेका प्रचण्ड सरकारको यो प्राथमिक र घोषित दुबै कार्यसूचि होइन। ज्ञानेन्द्रलाई प्रतिशोध र बदलाको भाव साँध्न मात्रै यस्ता हत्याकाण्डहरु छानविनको नाटक नगरेकै बेश। कुनै दलको एकमना सरकारले सुविधाजनक बहुमतको बेला जनतालाई विकास, शान्ति र सम्वृद्धिका यात्रामा तानेर दिलखुस पारेका बेला यस्ता केसहरु उठाए जनताले नि पत्याउलान्। सत्यतथ्य पनि बाहिर आउन मद्धत होला। हैन,  डा. बाबुरामहरुकै लाइनमा प्रतिशोधी हर्कतका लागि दरवारहत्याकाण्ड व्यूँताउने भनेको त ज्ञानेन्द्रलाई सदाका लागि क्लिनचिट दिएर हिरो बनाउने काम मात्रै हो।

अरुले त यो कुरा नबुझ्लान् तर चतुर सत्ता खेलाडी प्रचण्ड र शेरबहादुर देउवाले ठण्डा दिमागले विचार गरे भने उनीहरुले यति तथ्य बुझ्लान्। व्यस्त प्रचण्ड वा देउवाले यी पंक्ति पढ्न नभ्याए पनि उनका कानमा यी सन्देश पुर्‍याइदिएको जाति है, प्रचण्ड देउवा भलाइकै लागि। हिजो राजाको कारण गणतन्त्र आए जस्तो आज प्रतिशोधको दम्भले पूर्वराजा पुर्नस्थापित हुने बाटो खन्ने कि आफ्नो व्यवस्था जोगाउन आफै सच्चिने? छनौट दलहरुको, नेताहरुको।

भूधरातलीय राजनीतिक यथार्थ यही हो कि अब राजनीतिक कोर्स गणतन्त्र भर्सेज राजतन्त्रतिर डोरिँदै छ। राजतन्त्रपन्थी बाक्लिदै र गणतन्त्रपन्थी नांगिदै गाको ओपन सेक्रेट हो। ज्ञानेन्द्रले जिते नि गणतन्त्रवादीले जिते नी पंत्तिकारलाई त अर्को व्लगको प्लट मात्रै हात लाग्ने हो। ज्ञानेन्द्र जिते नारायणहिटीमा राज गर्लान्, गणतन्त्रवादीले राज गरेकै छन्। अब जनताको राज कसरी कसले गर्लान् ? हेर्नु जो छ, त्यही। त्यै भएर लेखिन्छ है व्लग चाहिँ निरन्तर। बाँकी आगामी भेटमा।

 

 

 

25 thoughts on “दरवार हत्याकाण्डको पुनः छानबिन गर्ने : १५ आधार जसका कारण ज्ञानेन्द्रले क्लिनचिट पाउने छन्”

  1. प्रदीप पन्त says:
    December 30, 2016 at 2:40 pm

    राजतन्त्र मा देश असफल हुन्छ अयोग्य राजाको कारण ले ।
    प्रजातंत्र मा देश असफल हुन्छ बेवकुफ जनताको कारण ले ।प्रजातंत्र मा जनतालाइ आफ्नो भोट प्रयोग गरेर सही ब्यक्ति छान्ने अधिकार छ ।
    प्रजातंत्र फाल्न आन्दोलन ? कस्तो मुर्खता ? यसै बाट प्रमणीत हुन्छ ज्ञानेको पटमुर्खता । ज्ञाने लाइ त्यस्तो देश र जनताको त्यस्तो चीन्ता छ भने किन चुनाब लड़्दैन र जनताको बिश्वास जीतेर देशलाइ सही बाटोमा लग्दैन ?
    सम्बैधानिक राजतन्त्र फर्काएर यो पाजी संग के अधिकार हुन्छ र त्यसले देश नीर्माण गर्छ ? यस्ता अदुरदर्शी पाजी सत्तामा आए पनी यसबाट के आशा गर्ने ?

    Reply
  2. Narayan Adhikari says:
    December 28, 2016 at 10:03 am

    Well said.

    Reply
  3. dhama paudyal says:
    December 27, 2016 at 9:22 am

    सारै महत्वपूर्न र सटिक तर्कयुक्त आलेख को लागी खड्का जि लाई धेरै धेरै धन्यबाद छ यो आलेख सबै नेपाली ले पढ्न्ने मात्र होईन मनन गर्नु पनि अति नै आबस्यक छ । मेरो दृस्ती मा त राजाबादि, रास्ट्रबादि, नेपाल्बादी ले भन्दा पनि बढी यो तथाकथित गणतन्त्रबादिले पढ्नुपर्ने देख्छु । मेरो भन्नु चाही यस्मा उठाइएका प्रश्नहरुको उत्तर दिनसक्ने तागत यि बिदेशी दलाल बाबुराम र, प्रचन्डे, देउबा र उनिहरुका बच्चाहरु बर्षामान अनि मोदिको मानस्पुत्र निधी भन्ने सग छ ? छ भने दिने तागत राख्छन तिनिहरु । यदी उनिहरुले आमालाई नसोधिकन नै मानेका बाउ ले नै जन्मएका हुन भने जवाफ दिउन ।

    Reply
  4. Dhama Nath Paudyal says:
    December 27, 2016 at 9:20 am

    सारै महत्वपूर्न र सटिक तर्कयुक्त आलेख को लागी खड्का जि लाई धेरै धेरै धन्यबाद छ यो आलेख सबै नेपाली ले पढ्न्ने मात्र होईन मनन गर्नु पनि अति नै आबस्यक छ । मेरो दृस्ती मा त राजाबादि, रास्ट्रबादि, नेपाल्बादी ले भन्दा पनि बढी यो तथाकथित गणतन्त्रबादिले पढ्नुपर्ने देख्छु । मेरो भन्नु चाही यस्मा उठाइएका प्रश्नहरुको उत्तर दिनसक्ने तागत यि बिदेशी दलाल बाबुराम र, प्रचन्डे, देउबा र उनिहरुका बच्चाहरु बर्षामान अनि मोदिको मानस्पुत्र निधी भन्ने सग छ ? छ भने दिने तागत राख्छन तिनिहरु । यदी उनिहरुले आमालाई नसोधिकन नै मानेका बाउ ले नै जन्मएका हुन भने जवाफ दिउन ।

    Reply
  5. Bikas sharma says:
    December 27, 2016 at 7:14 am

    दरवार हत्याकाण्डको छानबिन गर्ने हो भने १० वर्षे माओवादी जनयुद्धले लिएका १९ हजार बढीको ज्यानका लागि प्रचण्ड बाबुरामहरुलाई हेगतिर रिफर गर्ने माग उठ्ला कि नउठ्ला?

    Reply
  6. Madan Jung Karki says:
    December 26, 2016 at 11:38 pm

    Excellent analysis !!! Superlike !!

    Reply
  7. नीमा तामांग says:
    December 26, 2016 at 10:32 pm

    सुर्यजी,
    अम्बर गुरुङको एउटा गीत छ् नी, “..कंहि आफ्नो भुमरिमा आँफै पर्यौ कि?”
    फुर्सद्को समयमा पूर्वराजैलाई सुनिदिने आग्रह गरिदिनुहोला|
    कंहि आफ्नै आँखाबाट आँफै झर्यौ कि?

    Reply
  8. Swavimani Nepali says:
    December 26, 2016 at 9:16 pm

    राम्रो लेख लेखकको तर्क संग सहमत छु।

    Reply
  9. Rupesh says:
    December 26, 2016 at 5:44 pm

    Sahi lagyo malai ta

    Reply
  10. Chyangtheba Tamang says:
    December 26, 2016 at 11:23 am

    If he come back again as a king then we will have again very big civil war in the country against the autocratic dynastic to get the real democracy and we need it.

    Reply
  11. bishwa says:
    December 26, 2016 at 4:12 pm

    मिष्टर ज्ञानेन्द्र,यू आर अण्डर एरेष्ट भन्दै आधुनिक नेपालका एकीकरणकत्र्ता पृथ्वीनारायण शाहका वंशजलाई भन्न सक्ने को ? प्रचण्ड, बाबुराम वा वर्षमान ? खुट्टी देख्दै पत्याईयो……

    Reply
  12. Amir says:
    December 26, 2016 at 3:13 pm

    राजा फाल्न रत्नपार्कको आन्दोलनमा हिजो थिए अभ राजा ल्याउन हुने आन्दोलनमा म फेरी हुन्छु!!गणतन्त्रका शासकहरु बुझ जनता किन एसो गर्दै छन!

    Reply
    1. bhupesh ojha says:
      December 27, 2016 at 1:27 am

      m also in yur support !!!!

      Reply
  13. N. Baidya says:
    December 26, 2016 at 1:36 pm

    जोबाट शपथ खाको उसैलाई गद्दीच्यूत गरेको त्यो पनि थपडी बजाएर, अनि शासन चाहिँ ज्ञानेन्द्रको भन्दा पनि तन्नम गरेपछि ज्ञानेन्द्र नबोलेर को लक्ष्मणसिंह खड्का बोल्ने त हजुर?

    Reply
    1. प्रदीप पन्त says:
      January 1, 2017 at 4:19 pm

      प्रजातन्त्र मा बोल्न सबैलाइ छुट छ, तपाईको “ज्ञानेश्वर” लाइ पनी । ज्ञानेको पालामा जस्तो भैरबनाथको खोरमा जाकेको त छैन नी ।
      रह्यो कुरा तेस्लाई राजगद्दी बाट गर्दन्याएको, त्यो नेताले होइन जनताले गर्दन्याएका थीए । नत्र किन गणतन्त्र बादी पार्टीहरू अत्याधिक भोट ले बिजयी भएका थीए त ?

      अर्को कुरो, सपथ राष्टको नाउमा खाइन्छ, जनता प्रति उत्तरदायी हुन खाइन्छ ।

      Reply
  14. Sudeep says:
    December 26, 2016 at 10:13 am

    तर्क सहि छ

    Reply
  15. Jitendra Jarina Onta says:
    December 26, 2016 at 1:49 am

    अति राम्रो लेख गहिराइ सम्म पुगेरै लेख्नु भयेको रहेछ धेरै धन्यबाद पत्रकार मित्रलाई- यस्तै बिश्लेशण लेख अरू पनि पढ्ने अवसर पाईन्छ कि पत्रकार मित्र !

    Reply
  16. उदय पूर्बेली says:
    December 26, 2016 at 6:07 am

    यस्ता ज्ञानेन्द्रको शरीर, कद र हावभावको बर्णन गरेर गणतन्त्रलाई गाली गरेर कहिल्यै नथाक्ने पत्रकार हुन् कि,ज्ञानेन्द्रका स्वकीय सचिव हन्? ठम्याउन गार्‍हो भयो।
    यदि, ज्ञानेन्द्रलाई छानबिनको दायरामा ल्याउँदा, प्रतिकार स्वरुप अान्दोलन हुँदा, थेग्न सकिदैन भन्ने कस्तो दरिद्र मानसिकता हो ?? यदि, अान्दोलन भयो र त्यसलाई गणतन्त्रवादी शक्ति र नेपाली जनताले कन्ट्रोलमा लिएर रसियाको तत्कालीन राजा जार निकोलस द्वितीयको हालमा ज्ञानेन्द्र पुग्ने सम्भावनालाई चाहिँ सोच्नै मौका मिलेन कि कसो? गणतन्त्रमा प्रवेश गरिसकेको मुलुकमा पूर्ब राजा ज्ञानेन्द्रले राजाकै हैसियतमा बोलेर गणतन्त्रको मूल्य र मान्यता अनि जनतामा त्रासको खेती र भ्रम सिर्जना गरि परिस्थितिमा खलल ल्याउन मिल्छ?
    हुनत निलम्बनमा पर्नु पूर्व लोकमान सिंह कार्कीको बारेपनि चेपारे पत्रकारहरुले लोकमानको खुबै शक्तिको प्रशंग उठाएका थिए। त्यसो त बाँदर बाठो भने, अारा धरानमा गएर फेसो चलाउँछ, भन्ने नेपाली उखानले योबेला बहुत सार्थकता पाएको अनुभूति मिल्छ।

    Reply
  17. Jb Kanchha says:
    December 25, 2016 at 11:24 pm

    17000/18000 public ko hatya garnu thulo ki euta bamsaj ko hatya garne kun badi aatankabadi hola?

    Reply
  18. Shankar says:
    December 26, 2016 at 4:39 am

    सूर्य जी
    यो नेता हरुले छानबीन को लागि कुरा उठाएको , उसलाई ( ज्ञानेंद्र )फसाएर जेल पठाउन हो |
    तर उनीहरुले ले के बिर्सेजस्तो लाग्यो , भने जून बाघ ले बीरेंद्र , मैदान भंडारी खायो त्यों बाघ को मुख माँ लागेको रगत ले त्यों झन हिंसक भएको छ | तेस्ले बीरेंद्र जस्तो सज्जन ब्यक्तिलाई छोड़ेंन भने ह्त्या हिंसा प्रिस्ट भूमि भएका लाइ आफ्नो देश को हीत हुन्छ भने के बांकी राखला ?

    आरको महत्त्व पूर्ण कुरा भारत र चीन मध्ये एउटा ले नेपाल माँ क्रमश , आफ्नो जासुसी संस्थाको माध्यम बाट चरम चल खेल गर्ने , आरको देश सैग राम्रो सम्बन्ध भएका र बनाऊंन खोज्नेलाई मारिदिने , अब टेस्ट माँ चीन सधै चुप रहला ? उसले पानी नेपाल माँ इन्डियन र ”र” का एजेंट सखाप पार्ने नीति लिए के हुन्छ ?
    यो बाबूराम , सितौला , अमरेश सिंग , प्रचंड , उपेंद्र ,माकुने आदिले नेपाल माँ गरेको तांडब नृत्य त उसले पानी सतर्क भएर हेरेको होला की ?
    फेरी अब अमेरिका माँ ट्रैम्प ले चिनलाई तह लगाउने प्रण सार्बजनिक गरेको छ तेसैले उनीहरु ले चलाऊंन खोजने तिब्बत पानी हो , तेस्को लागि आधार क्षेत्र नेपाल लाइ बनाउने ( इंडिया संग मिलेर )
    पक्कै प्रयाश हुनेछ , तेसैले यहाँ सधै ”र” को मात्र खेल हूँन सक्दैन |
    चिनिया हरुले यात राजा राखेर न भये नेपाली सेना बाट भएपनि सायद नेपाल माँ अब स्थिर सरकार र ठोस पॉलिसी भएको सरकार सायद खोज्छ | यो गणतंत्र र प्रजातंत्र , लेनिन , माओ को बदनाम गर्ने नक्कली खेलाड़ी हरु मैदान बाट बाहिर जाने बेला आएको हूँन सक्छ |
    कहिले नटुङ्गिने संघीयताको सबाल , कहिले न टुंगिने नागरिकता को समस्या यो के हो ?
    श्रीलंका माँ इंडिया र ”र” ले धेरै दुःख दियो , चीन सक्रिय भएपछि इंडिया , ”र” का एंजेंट त्याहा बाट भागे , आजकाल श्रीलंका बिकाश र प्रगतिमा आगि बढेको छ , शांत छ | नेपाल माँ पनि अब केहि हुनवाला जस्तो लक्ष्यन छ |

    Reply
  19. Kiran says:
    December 26, 2016 at 4:25 am

    *** Resurrection of Monarchy ?? ***

    There are signs that are supporting the resurrection of Monarchy. The military take over seems to be well in advance and seems to be imminent and this is the last opportunity for Monarchists who could stage a coup in this winter only.

    The monarchists will issue the following reasons why it is staging a coup:
    1. The new constitution is written in the interest of big three political parties and does not reflect people’s expectation.
    2. Restructure of states will bring more division among different communities.
    3. Political instability has created hardship for all people
    4. Corruptions at highest level and all political leaders are least concerned on plight of people.
    5. The government is still not able to provide relief for thousand of people suffering from the earthquake even after it took place twenty months ago.

    The following signs characterize the energetic activities of monarchists:
    1. Gyanendra received positive feedbacks form China and India after his visits
    2. Failure to implement the constitution even after more than one year it has passed in the parliament.
    3. The military is in place in a high alert by General Khatri
    5. China has asked its citizen not to visit Nepal in near future
    6. Monarchists are getting aggressivley active in on-line medias (facebook, twitters and online news).
    7. The world Hindu Council had already declared Gyanendra to be the emperor of hindus and king of Nepal
    8. The unification of Rastriya Prajatantra Parties – as they see the opportunity to come back in power
    9. BJP government of India always wanted Nepal to be declared as a Hindu state and a Hindu kingdom is the security.
    10. Gyanendra’s proclaiming statements creating support from people.

    Reply
  20. Ratna Thapa says:
    December 26, 2016 at 3:44 am

    Thank you Surya Khadka ji for this thought-provoking article with your strong arguments. It appears that the current republicans are in disarray after the ex-king asked for greater alertness to save the country. They have captured state power illegally without a public referendum. Most recent provocative outbursts from Baburam, Barshaman Pun, Prachanda and their coward company should be noted by all patriotic Nepalese. These people need to be booked under a red book so that in case there is royal comback in the future (which looks unlikely at present), they are awarded appropriately. There might be many comments now flowing under this article from both the supporters and opponents of your article, and it would be interesting read about public mindset on this latest bombshell.

    Reply
  21. Bharat Panday says:
    December 25, 2016 at 8:34 pm

    एकदम ठिक छ चित्त बुझ्यो अगुल्टाले हानेको कुकुर बिजुली देख्ता तर्सन्छ भने जस्तै हो आफु केही गर्न गराउन नसक्नी अनी अरुलाई दोश लगाउनी छान बिन गर्नु राम्रो हो तर यत्रो लामों समए के हेरेर बसेको अज अलीकता केही बोल्दैमा किन हंग्गामा नाच्न न जान्ने आँगन टेडो आफुले जे बोलेपनी हुने आरुले बोल्नै नपाउनी यो लेख एकदम सही सत्य र तथ्यमा आधारित छ लौजा

    Reply
  22. Kul Sapkota says:
    December 25, 2016 at 8:28 pm

    यथास्थितीबादि र प्रतिकिर्याबादी गम्भिर षड्यन्त्र छ भनेपछि वेककुफ वन्छन जन्ता।

    Reply
  23. Gaire Jhabindra says:
    December 25, 2016 at 8:15 pm

    पढेर एकछिन भए पनि मजा आयो…….।
    हाम्रो नेताहरुले कुरा बुझ्नै चाहदैन।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme