Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सेतो सूर्य : यस कारण ऐतिहासिक फिल्म

Posted on December 18, 2016 by Salokya

सेतो सूर्यको प्रदर्शनसँगै यो ऐतिहासिक फिल्म भएको, यस्तो फिल्म अहिलेसम्म नबनेको पाराको समीक्षा आउन थाले। त्यसैले अघिल्लो साता यो फिल्म हेरियो। हो रहेछ, यो ऐतिहासिक फिल्मै रहेछ। के कारणले? यी कारणहरु हुनसक्छन् है-

१) समीक्षकहरुले यसलाई रुचाएका छन्। औधि रुचाएका छन्। समीक्षकहरुलाई कस्तो फिल्म राम्रो लाग्दो रहेछ भन्ने कुरा बुझ्नका लागि पनि यो ऐतिहासिक फिल्म हो। यो फिल्म नबनेको भए हामीले यी समीक्षकहरुलाई कस्तो फिल्म चाहिँ राम्रो लाग्दो रहेछ भन्ने थाहै पाउने थिएनौँ। खाली अरु फिल्म नराम्रो भनेर लेखेको मात्रै पढ्न बाध्य भइन्थ्यो। कमसेकम उनीहरुलाई राम्रो लाग्ने फिल्मको झलक त हामीले हेर्न पायौँ नि। अनि नेपालमा कस्तो फिल्म बनाएर प्रशंसा पाउन सकिन्छ र कस्तो कथामा फिल्म बनाए विदेशमा अवार्ड पाइन्छ भन्ने ज्ञान पनि यसले दिएको छ।

आफ्नो पत्रकारिता पृष्ठभूमिको प्रभाव कसरी पार्ने र कसरी नामी मान्छेलाई तपाईँलाई मात्र है भन्दै फिल्म रिलिज हुनुअघि नै लिङ्क पठाउने र प्रशंसामा लेख्न लगाउने भन्ने पनि यसले सिकाएको छ। त्यसैले यसका लागि फिल्मसँग सम्वद्ध सबै धन्यवादका पात्र छन्।

२) ‘सेतो सूर्य’ हाम्रै परिवेशको कथा हो। दशक लामो द्वन्द्व र त्यसले पारेको प्रभावबाट कोही अछुतो हुन सक्दैन। फिल्मले यही संवेदनशील कथालाई बोकेर अघि बढ्न खोजेको छ। तर विषय संवेदनशील भए पनि त्यसमा गरिएको ‘ट्रिट’ भने असंवदेनशील छ।
धेरै पटक प्रधानपञ्च भएका एक वृद्धको जीवनको अन्त्यबाट कथा सुरु हुन्छ र उसको लाश जलाउने तर्खर हुँदै गर्दा फिल्म सकिन्छ। फिल्मको ‘स्टोरीलाइन’ यही हो। तर ‘टाइमलाइन’मा निर्देशक दीपक रौनियार अन्यौलमा फँसेका छन्। उनलाई माओवादी छापामार र प्रहरीबीच भिडन्त भएको पनि देखाउन मन लाग्छ, संविधान घोषणा भइसकेको अवस्था पनि। संविधान घोषणा भइसकेपछि नेपाली समाजमा द्वन्द्व फरक किसिमले अघि बढेको छ, हतियारसहितको भिडन्तका रुपमा होइन। तर फिक्सन वास्तविक हुनुपर्दैन भन्ने तर्ककै आधारमा कथामा भिडन्त जबर्जस्ती थोपरिएको छ जबकि त्यो दृश्य फिल्ममा अति जरुरी छँदै थिएन। बुहारी दुर्गा (आशा मगराती) ले हतियार बोकेर हिँड्ने माओवादी छापामारहरुलाई लाश उठाउन सघाउन डाकेर ल्याउँदा उज्यालै हुन्छ। लाश गन्हाइसकेको भनी तिनै छापामारहरु भन्छन्। यस्तो अवस्थामा लामो समयदेखि अलपत्र परेको लाश अन्त्येष्टिका लागि खोलातिर लान हतार गरिन्छ कि खाना खाने तर्खर? तर फिल्ममा खाना खाने नाममा अँध्यारोलाई कुरिन्छ। अनि अकस्मातै रात पर्छ, ताकि चन्द्र (दयाहाङ राई) ले बिन्तिभाउ गर्दा पनि नआएका प्रहरी हतियारसहित लाश उठाउन सघाउन आओस् र छापामार र प्रहरीबीच संविधान घोषणा भएको दिन दोहोरो भिडन्त होस् ! भिडन्तले छुन्छ विदेशीलाई र फिल्म ऐतिहासिक बन्छ।

३) क्यारेक्टर स्टायब्लिसमेन्टमा चुक
कुनै पनि फिल्म होस् कि उपन्यास अथवा कथा – चरित्रलाई स्थापित गर्नुपर्छ। त्यो काम लेखिदिएर वा कसैले ऊ यस्तो रे भनिदिएर हुने हैन, उसको व्यवहारबाट दर्शक वा पाठकलाई महसूस गराउनु पर्छ। निर्देशक रौनियार पहिलो फिल्म हाइवेमा पनि यसैमा चुकेका थिए। अहिले पनि त्यसैमा। फिल्ममा सुरज (रवीन्द्रसिंह बानियाँ) ले राजीनामा दिएर आएका सैनिकको भूमिका गरेका छन्। तर त्यो चरित्रलाई स्थापित गर्न कुनै मेहनत गरिएको छैन। एक जनाले भनिदिएको भरमा उनलाई पूर्व सेनाको भूमिकामा दर्शकले बुझिदिनुपर्ने हुन्छ। फिल्मका अरु पात्रहरु पनि यही कमजोरीबाट गुज्रिएका छन् जसले पटकथाको कमजोरीलाई उजागर पार्छ। अर्को उदाहरण भरिया बालक बद्री (अमृत परियार) को पात्र हो। माओवादीले उसको आमाबुबालाई मारेको र त्यसको बदला लिन चन्द्रसित झगडा गर्ने ‘मार्मिक’ दृश्यमा लिङ्क गराउन उनलाई चन्द्रको हैन दर्शकलाई उनको भारी बोक्न बाध्य बनाइएको छ। भारी बोक्छु भन्दै चन्द्रको पछि लागेर उसले भारी मात्र बोक्दैन भारी बिसाइसकेपछि पनि एकोहोरो चिन्नु न जान्नु पछि लागेको लाग्यै हुन्छ। न कुनै नातासम्बन्ध, न कुनै उद्देश्य। कसैले पनि त्यसरी आफ्नो पछि लागेको बालकलाई कुनै कारण बिना भारी बोकेर पछि लाग्न अनुमति दिन सक्दैन। केही संवाद दृश्यले जस्टिफाइ गर्न सकिने ठाउँ हुँदाहुँदै पनि त्यसमा बेवास्ता गरिएको छ। स्थानीय कलाकारबाट यतिको अभिनय लिन सक्नु भने निर्देशकको खुबी हो।

४) संवाद र छायाङ्कनमा समस्या
बुहारी दुर्गा र दुई छोराहरु चन्द्र र सुरज एकै गाउँका हुन्। तर उनीहरुले बोल्ने संवादमा आकाश पातालको अन्तर सुनिन्छ। लोग्नेले छाडेर गए पनि ससुराको स्याहार गरेर बसेकी दुर्गा सहरिया संवाद बोल्छिन् – ‘द्वन्द्वकाल’देखि ‘हस्ताक्षर’ सम्म उनको मुखबाट बोलाइन्छ। जुन सुन्दा असुहाउँदो लाग्छ। संवादको एकनासपनालाई कायम गर्न सकेको देखिन्न। दुर्गा चन्द्रलाई ‘हस्ताक्षर’ गर्न आग्रह गर्छिन् भने सुरजलाई चाहिँ ‘सही’ गरिदिन। त्यस्तै नयाँ देखाउने नाममा क्यामेरा एङ्गललाई अड देखाएर गर्न खोजिएको एक्सपेरिमेन्टले दर्शकलाई उल्लु बनाउने काम मात्रै गरेको छ। त्यो ब्लर देखाएको क्यामेरा एङ्गलले दर्शकलाई देखाउन खोजेको कुरा प्रष्ट हुन्न। त्यसैले त यो ऐतिहासिक बनेको छ। संवादकै कुरामा फर्कँदा पुरेत बाजेले अन्तिममा अब कोही नपाएर जनजातिले शव बोक्ने भन्दै जनजातिले छोए आफूले अन्तिम संस्कार नगर्ने घोषणा गर्छन्। नेपालमा जनजातिले छोयो भन्दैमा क्षत्रीको अन्त्येष्टि नहुने कतै हुँदैन। कथित दलितले छुँदा यस्तो कसैले गर्लान्। त्यसलाई फिल्ममा संवादैबाट देखाउन जरुरी हुन्न। ‘यस्ताहरुले छोए म गर्दिनँ’ भन्दा भइहाल्थ्यो, जनजाति भनेर तोक्नै जरुरी थियो?

५) दर्शकलाई अपमान !
फिल्मका केही दृश्यले दर्शकको अपमान गर्न खोजेको महसूस भएमा अनौठो मान्नुपर्दैन। नेपाली समाजलाई नबुझेका विदेशी रिभ्युमा ‘लाश बोक्न छोराहरु नै चाहिने’ व्याख्या भएका छन्, जुन सही होइन। सक्ने सबैले काँध थाप्न सक्छ। तर यहाँ एउटा छोराले रिसाएर छोडेर जाँदैमा लाश अलपत्रै परेको देखाइएको छ। देशभक्त खनाल र अरु केही मलामी लाशै बोक्न नसक्ने लुरे र कमजोर देखिन्नन्। तर मानौँ त्यहाँ लाश बोक्ने मलामीको उमेरमा हदम्याद लगाइएको छ, जुन विश्वमै कतै हुन्न। त्यसैले त उनीहरु छुँदै छुन्नन्। उनीहरुले लग्न सकेनन् रे लौ त भनेर मान्ने दर्शकको पनि अपमान त्यतिबेला हुन्छ जब केही केटाकेटीले ठूलाहरुलाई पत्तै नदिई लाश खोला छेउ पुर्‍याइसक्छन्। ठूलाले नसकेको, चन्द्रले एक्लै पनि नसकेको लाश जाबो केटाकेटीहरुले सजिलै खोला छेउ पुर्‍याउन सक्ने हो भने यत्रो द्वन्द्व केका लागि? ‘मेटाफोर’कै लागि कमिलाले हात्ती बोकेको दृश्य त एनिमेसन फिल्ममा पनि पच्दैन। एनिमेसनले पनि हल्का रियलास्टिक हुन त खोज्छ। त्यसैगरी लाश बोकेर लाँदै गर्दा मलामीहरु भट्याउँछन् – ‘राम नाम सत्य हो, सबको यही गति हो !’ नेपालका कुनै पनि समुदायले यसरी भट्याउने गरेको मलाई थाहा छैन। राम नाम सत्य हो भन्लान् तर सबको गति यही हो चाहिँ कहाँ भन्दो रहेछ हँ?

६) लाश अलपत्र परेको दृश्यलाई अनावश्यक तन्काइएको छ। चन्द्र कामरेड सांसदसित सहयोग माग्न जाँदा भन्छन्- तीन दिन भइसक्यो। राजनीतिक द्वन्द्व आफ्नो ठाउँमा होला तर प्रधानपञ्च जस्तो मान्छेको गाउँमा एक किसिमको हैसियत भने पक्कै हुन्छ। मृत्यु हुँदा गाउँ नै उर्लिन्छ अथवा छरछिमेकका गाउँबाट भए पनि मान्छे आएर लाश उठाइन्छ। तीन दिनसम्म लाश बाटोमा अलपत्र पर्ने गरी छाड्ने स्थिति अपत्यारिलो छ। त्यतिकै अपत्यारिलो बनेको छ लाशको खुट्टा झ्यालबाट देखिने र मुन्तिर बुढा क्यारेम बोर्ड खेल्दै बस्ने दृश्य। मूलढोकाबाट लाश निकाल्न नमिल्न परम्परा केही समुदायमा छ। तर त्यसो भन्दैमा मान्छे मरेको घरको पिँढीमा बूढापाका भेला भएर लाश निकाल्न सकिएन, अब क्यारेम बोर्ड खेलेर टाइम पास गरौँ भन्ने जस्तो असंवदेनशील समाज पक्कै नेपालमा छैन। यो दर्शकलाई थोपरिएको इन्सल्टको अर्को नमूना हो।

७) अघिल्लो फिल्म हाइवेमा जस्तै निर्देशकले यो सिनको अर्थ यो, त्यो सिनको त्यो, यो किन गरेको, त्यो किन गरेको भनेर धेरै तर्क दिन सक्छन्। तर चुरो कुरो चाहिँ त्यो अर्थ हेर्ने दर्शकले ‘रिसिभ’ र ‘फिल’ गर्न सक्नुपर्छ। निर्देशकको काम तर्क दिने हैन, आफैले दृश्य, संवाद र सिचुएसनको माध्यमबाट त्यो तर्कलाई जस्टिफाइ गर्ने हो। फिल्म रिलिज भएको भोलिपल्ट फिल्म यसरी हेर्नुपर्छ शैलिको म्यानुअल समीक्षा ठूला मिडियाका ठूला नामबाट आउँदैमा त्यो जस्टिफाइ हुन सक्दैन। राजतन्त्रको अवशेष बूढाको लाश भएको, दोबाटोमा लाश अलपत्र पर्नु र बच्चाले लाश घाट लानुलाई नयाँ पुस्ताले नेपालको राजनीति डोर्‍याएको भन्ने चिटसिट शैलिको समीक्षा पढेर मात्र बुझ्नु पर्ने, फिल्म हेर्दा फिल गर्नु नपर्ने भए यो शैलिको फिल्मलाई स्वागत गर्नुको विकल्प हुन्न। फिल्ममा निर्देशक हावी छन्। उनले जे मन लाग्यो त्यही गराएका छन्। ठूलाले नसक्ने लाश बच्चाले घाटमा पुर्‍याउने बाहेक कथामा अरु पनि थुप्रै कमजोरी छन्। द्वन्द्वकालको विषयलाई लिएर प्रहरीमा देखिएको बदला भाव अस्वभाविक देखिन्छ, बिहेकै चटारोमा परेको भए पनि कामरेड सांसदले सहयोगै माग्न आएकालाई केही केटाहरु बोलाएर बोक्न गइदेऊ है भनी नपठाई रिसाउने, बाउ मर्दा रक्सी खाने छोरा जस्ता दृश्य असुहाउँदो छ। फिल्म सकिँदै गर्दा हामीभन्दा अघिल्लो लहरका सिटका दर्शक आफूसँगै आएका साथीहरुलाई भन्दै थिए – यस्तो फिल्म यस्तै हुन्छ। यसबाट पनि प्रष्ट हुन्छ – सर्वसाधारणका लागि यो संवेदनशील विषयमा बनेको असंवदेनशील फिल्म हो।

3 thoughts on “सेतो सूर्य : यस कारण ऐतिहासिक फिल्म”

  1. दिपेन्द्र says:
    December 20, 2016 at 11:00 am

    निर्देशकले अरु कलाकार पाएन छन् कि के हो एउटै कलाकारलाई दुई वटा रोल दिएका
    मर्ने प्रधानपञ्च पनि उही
    हेलिकप्टरबाट आउने सांसद पनि उही

    मान्छे एक जना त फेर्दा हुन्थ्यो नि

    Reply
  2. सुमन says:
    December 20, 2016 at 10:58 am

    यस्तै फिल्म राम्रो हुने हो भने अब सबै फिल्म समीक्षक भन्नेहरुले फिल्म बनाए भो
    पहिला पत्रकार हुने त्यसपछि फिल्म बनाउने
    अनि आफ्नै क्लबले वाह वाह वाह भन्ने
    तर सावधान हलको बिजोग देख्यौँ नि

    Reply
  3. rabindra says:
    December 20, 2016 at 10:57 am

    न टाइमलाइन छ
    न स्टोरी लाइन
    यस्तो फिल्मलाई पनि ऐतिहासिक भन्दै हिड्या छन् तोरी समीक्षकहरु

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme