– भरतकुमार भट्टराई –
लहैलहैमा पूर्णकुमारले पनि फेसबुकमा नाम दर्ता गर्यो। यताउता चहार्न थाल्यो। साथी बढाउन थाल्यो। उसलाई एउटा नयाँ संसारमा प्रवेश गरेको स्फूर्ति प्राप्त भो। यस क्रममा उसले थुप्रै साथी आफैँले अनुरोध पठाएर बनाउन सफलता पायो।
एकदिन उसलाई पनि कसैले साथी बनाउने अनुरोध पठायो। उसको नाम रहेछ – सुहाना। उसले खुसी हुँदै सुहानालाई साथी बनायो।
सुहानाले सन्देश पठाउन थाली। पूर्णकुमार पनि त्यसको उत्तर पठाउनमा मग्न हुन थाल्यो। यसरी फेसबुक गफ हुन थालेपछि सुहाना उसकी बानी भई। सुहानाका लागि पूर्णकुमार पनि राति निद्रा लगाउने साथी बन्यो, एउटा आकर्षक आदत बन्यो। उनीहरू अब यस्ता साथी बने जो एकदिन मात्र कुराकानी गर्न नपाए पनि मनमनै छटपटाउन थाले। उनीहरूलाई अब घण्टौँ कुरा गर्दा पनि नअघाउने हुन थाल्यो।
एकदिन उनीहरूबीच के कुरा भो कुन्नि एकले अर्कालाई गाली गर्न थाले। सुहानाले सन्देशमा नै पाखुरा सुर्कन थाली – मैले भन्देको छु है बढ्ता हुने होइन भनेर।
पूर्णकुमार पनि के कम। उसले पनि प्याच्च भन्यो – बढ्ता त तिमी नै भाकी हो नि, म हो र! बेकारमा जिद्दी किन गर्नुपर्ने नि!
यस्तै बाझोजुझो निकै दिन चलिरह्यो। दुवैले एकअर्कालाई भन्नुपर्ने सारा कुरा ओकले।
अन्तमा केटाले केटीलाई कडा व्यवहार देखाउने पारामा भन्यो – भो अब धेरै के बकबास गर्नु। म तिमीलाई ब्लक गरिदिन्छु। मेरो अन्तिम निधो यही हो।
ब्लक भन्नेबित्तिकै सुहाना मनमनै झस्की। ऊ एकछिन केही बोलिन। अन्तमा उसले गह्रुङ्गो मनले पूर्णकुमारलाई भनी – ए हो!
पूर्णकुमारले पनि अमिलो मन पारेर भन्यो – ल है, ब्लक गरेँ है त।
सुहानाले विह्वल हुँदै पूर्णलाई अन्तिममा भनी – पूर्ण ! ठीकै छ, मलाई ब्लक गर्ने हो भने गर। तर, के तिमी मलाई फेसबुकबाट ब्लक गरे पनि तिम्रो मनको फेसबुकबाट ब्लक गर्न सक्छौ ?