Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

हाकिमको कुर्सीमा तौलिया (रुमाल) राखेको देख्नुभएको छ नि, किन थाहा छ?

Posted on December 14, 2016December 14, 2016 by mysansar


हाम्रा सरकारी हाकीमहरू जो पनि मेचका पछाडि तौलिया फिंजाएर बसेका हुन्छन्। हाकीमहरूका मेचमा तौलिया राख्ने चलन ब्रिटिश शासकहरूले बंगालमा चलाएका हुन्, कपालमा चिपिचिल्लै तेल लगाउने बाबुहरूबाट मेचलाई मैलो हुन नदिन। नेपालमा यो अनौठो चलन २०२४–२५ सालसम्म पनि आएको थिएन। तर, जलवायु परिवर्तनको विश्वव्यापी कोकोहोलो मच्चिनुअघि २०३०–४० को दशकदेखि नै काठमाडौं उपत्यका र मध्यपहाडी क्षेत्रमा विस्तारै गर्मी बढ्दै गएको महसूस हुन थालेको र त्यससँगै ‘तौलिया संस्कृति’ पनि मौलाएको हो। यस्ता झिनामसिना कुरा गरेर ठाउँ लिएको आरोप लाग्न सक्छ, तर यस्तै कुराले एउटा समाजको सुसंस्कृत वा त्यसको उल्टो परिचय बनाउँछ भन्ने अडान पंक्तिकारको छ।

सरकारी कार्यालयहरूमा विशेष गरी राजपत्रांकित द्वितीय श्रेणी वा सोभन्दा माथिका अधिकृतका मेचमा तौलियाको प्रयोग भएको देखिन्छ। कार्यालय प्रमुख नै तृतीय श्रेणीका अथवा तृतीय श्रेणीकै भए पनि ‘प्रभावशाली’ अधिकृत छन् भने बेग्लै कुरा, नत्र द्वितीय श्रेणी भन्दा तलका कर्मचारीका मेचमा त्यस्तो सुविधा उपलब्ध हुँदैन। मसलन्द शीर्षक अन्तर्गत कार्यालयका सुपरीटेन्डेन्ट वा खरीदको जिम्मेवारी वहन गर्ने सुब्बा/खरिदारबाट कार्यालयमा तौलिया भित्रिन्छ। हाकीम फेरिएपिच्छे नयाँ तौलिया ल्याउनु नयाँ हाकीमप्रतिको ‘भक्ति’ प्रदर्शन हुने गर्दछ। राख्नै पर्ने भए धोएको सफा तौलिया राखिदिए पनि हुने हो, तर नयाँ हाकीम सा’ब रिसाउने पो हुन् कि भन्ने सन्देहले त्यस्तो विरलै हुन्छ।

यो मनोविज्ञानले तौलियालाई हाकीमको आवश्यकता नभएर ‘हैकम’ जनाउने प्रतीकको रूपमा प्रस्तुत गर्दछ। कसै कसैले साँच्चै आवश्यकता महसूस गरेर वरिष्ठहरूका मेचमा झुण्डिने भन्दा धेरै सानो आकारको तौलिया राख्ने गरेको पनि देखिन्छ। तराईको गर्मीमा त यसको आवश्यकता हुन्छ नै, तर नियमित धोएर प्रयोग गर्ने कार्यालय शायदै होलान्। नेपालीहरूको सरसफाइप्रतिको चेत र आफ्नो कामप्रतिको बोधलाई विचार गर्दा यस्तै निचोड आउँछ।

कहिलेकाहीं हाकीमले अड्डामा विदेशीहरूसँग भेटघाट गरेको दृश्य टेलिभिजनमा हेर्दा मैलो तौलिया पनि देखिन्छ। टीभीमा यस्तो दृश्य देख्दा विदेशीहरूले हाकीमको मेचमा तौलिया राख्नुलाई ‘नेपाली संस्कृति’ भनिठान्दा हुन्। तर कुनै पनि आनीबानी र प्रचलन आफ्नै किसिमको भए पनि परिष्कृत हुनुपर्दछ, नत्र सुसंस्कृत देखिंदैन। होइन भने अन्तर्राष्ट्रिय प्रचलन र मान्यतालाई अँगाल्नुपर्दछ। सबैले छिःछिः गर्ने कुरामा ‘यो मेरो संस्कृति हो’ भनेर बस्न मिल्ला जस्तो लाग्दैन। कि त संस्कृति स्थापित गर्न सक्ने हैसियतमा आफू हुनुपर्‍यो।

तौलिया सरकारी कार्यालयका प्रमुखको मेचमा राखिने वस्तु हुँदै होइन। हामीकहाँ सबै टक्क मिलेको, अट्याच बाथरुम भएको हाकीमको कोठा सर्वत्र नहोला, तर धेरै कार्यालयमा त्यस्तो सुविधा भई पनि सक्यो। नभएका ठाउँमा छेउमा साइड र्‍याक राख्न सकिन्छ। उपयोग गरिसकेपछि तौलियालाई पट्याएर र्‍याकमा राखे भइहाल्यो।

यो तौलिया प्रदर्शनी हाम्रा मन्त्री, राज्यमन्त्री, सचिवले विदेशी समकक्षीहरूसँग भेटघाट गर्दा टेलिभिजनले टिप्ने हुनाले यति माथापच्ची गर्नु परेको हो। यो मुलुकमा एउटा केन्द्रीय सेवा विभाग भन्ने निकाय छ। अन्य मुलुकमा भए तौलियाको यो अपसंस्कृतिलाई त्यस्तो निकायले पहिल्यै व्यवस्थापन गरिसक्थ्यो होला। तर, यो कार्यालय चाँडो–चाँडो परिवर्तन हुने मन्त्रीहरूलाई रोजारोजा गाडी, गार्ड र ड्राइभर उपलब्ध गराउने र मन्त्री निवासका झयालढोकाका पर्दा, कार्पेट फेर्नेदेखि मन्त्रीले घर लगेका सामानको सट्टा भर्ना खरीद गरी पुर्‍याउने जस्ता काममा रुमल्लिएको पाइन्छ।

हाम्रो शासन पद्धतिले केन्द्रीय सेवा विभागलाई त्योभन्दा बढीको काममा पत्याउँदैन, किनभने त्यति पनि गहिरिएर सोच्ने नेता ओहोदामै पुग्दैनन्। अन्य मुलुकमा भने केन्द्रदेखि प्रान्त वा जिल्लासम्म पनि सेवा विभाग प्रकृतिका कार्यालयले काम गरिरहेका हुन्छन्।

(कुर्सीमा देखिने तौलियाबारे कृष्णप्रसाद सिग्द्यालको यो लेख हिमाल खबरपत्रिकामा छापिएको हो। यो छापिएपछि त यसमा केही कमी आउला कि भन्ने आशा निराशामा परिणत भइसक्यो। माथिका फोटोहरुको उदाहरण हेर्नुस्। अझ कुर्सी हैन सोफामा समेत यो संस्कृति सरिसक्यो। हेर्नुस् तलको फोटो)

5 thoughts on “हाकिमको कुर्सीमा तौलिया (रुमाल) राखेको देख्नुभएको छ नि, किन थाहा छ?”

  1. रमेश बान्तवा , ज्ञानेश्वर says:
    December 23, 2016 at 12:31 pm

    यो तौलिया संस्कृति कहाँ बाट कहिले कसरि कसको लागि किन कुन तिथि मिति मा कसको करकमल बाट सुरु भएको बारे लेखक को अनुसन्धान [ मेहेनत ] अलि नपुग भो कि ? यावत कुरा को बिस्तृत जानकारी पाएको भए मेरो ज्ञान को भण्डार अलि सम्बृद्ध हुने मा विस्वस्त थिए , बरु त्यसको लागि आवस्यक भेटि के कति हो प्रस्तुत गर्ने मेरो धोको छ I आगे लेखक ज्यु को जो विचार , धन्यवाद

    Reply
  2. Suman bhote says:
    December 14, 2016 at 6:15 pm

    Aeroplane ma disposal seat cover hun6 ni….
    tesko nakkal ho ki….?
    sarkaari kurchi purano ra phohar bhayera ho ki…..ra haakim saab ko kapada phohar hun6 ki bhanera hola???

    Reply
  3. Rajan rokka says:
    December 14, 2016 at 3:36 pm

    Paakhelaai pauroti

    Reply
  4. khaling says:
    December 14, 2016 at 2:42 pm

    ७०,००० को आईफोनमा ५०० को कभर हाले जस्तो होला

    Reply
  5. Deepak says:
    December 14, 2016 at 11:18 am

    कुर्सीमा बस्न लाएक मान्छे भएपो कुर्सीको सफाइको बारेमा ध्यान जन्छ….पसुहरुलाई टेबल मुनीबाट पैसा लिदै फुर्सद छैन….. ढाडको मैलो तौलिया के मतलब!!!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme