१) भाइरल
म एक तरकारीवाली । खासमा म तरकारीवाली हैन, मलाई ‘फोटोपर्यटक’, सामाजिक सञ्जाल र मिडियाले थाहैनपाइ तरकारीवाली बनाए । चितौन बसेर पढ्दै गरेकी थिएँ । तिहुनसम्म राम्ररी बनाउन जानेकी थिँन । बाउआमाले गरेको खेतीबाट उब्जेको तरकारी बोकेर झोलुङ्गे पुल काट्न र तरकारी बेच्न लाग्दा रुपचन्द्र दाइ मेरो रुपमा मोहित भएछन् र खिचेनन् दुईथान फोटो । हालेछन् फेसबुकमा । डिलिट पनि गरेछन् तर डिलिट गर्नुअघि नै मेरो फोटो ट्युटरमा रिट्वीट हुनथालेछ । पाकिस्तानी चियावाला झैँ मेरो फोटो पनि तरकारीवालीका नाममा भाइरल भएछ । कम्प्युटर भाइरसबारे जानकार मलाई भाइरलबारे ज्ञान थिएन । तर साथीले ओछ्यानमै म्यासेजेर भाइरल भएको सुनाएपछि मेरो हर्षले भुइँ छोडेको थियो । त्यसपछि भएका घरघटनालाई म सबिस्तार लेख्दिन्छु ।
२) अन्नपूर्णको इन्टरभ्यु
अन्नपूर्णपोष्ट नामको पत्रिकाका सम्वाददाताले मलाई पछ्याउनु पछ्याएछन् । वाक्क लाग्नेगरी मनकामना केवुलकारको ‘चढन’मा घण्टौँ कुराएपछि उनी एउटा डिजिटल ‘म्याकेरा’, टिपोटकापी र डटपेन बोकेर आए । उनलाई के थियो ? उनी त भाइरल भएको मेरो फोटोले मोहित भएर आएका मान्छे । स्फुर्त थिए, म मनकामना दर्शन गरेर गलेर तल आएर बसेकी थिएँ– लाई अनेकानेक प्रस्नले हिर्काए । मैले लाइफमा कहिल्यै नसुनेका प्रस्नको पहाडले हान्नथाले । सवैभन्दा गह्रुङ्गो पहाडजस्तो प्रस्न के थियो भने, ‘अफर आए मोडलिङ गछ्र्यौ ?’ उनले सुन्न खोजेकै वजाफ दिएँ मैले, ‘गर्छु ।’ उनलाई पुग्यो । भोलिपल्ट छाप्दिए । त्यसपछि त मिडियाले यसरी खेद्यो कि जसरी खेदेथ्यो भुटानले नेपाली । जसरी खेदेथ्यो भारतले मणिपुरका नेपाली ।
३) नेपाल टेलिभिजनमा लामिछानेबाको इन्टरभ्यु
यो इन्टरभ्यु यति भाइरल भयो कि ‘ऋषी धमलाले पारस खड्कालाई लिएको इन्टरभ्यु’ र त्यसमा बोलेको ‘किरकेट’ शब्दभन्दा बढि । बास्तवमा महाप्रसाद लामिछानेबालाई प्रस्न सोध्न आउँदैन । किन आउँदैन भने नआएर । नत्र त उनले भाइरल बनाउने मान्छेले फोटो खिच्न सोधे सोधेनन्, फेसबुकमा हाल्न सोधे सोधेनन् भन्ने बकम्फुसे प्रस्नले किन मलाई इरिटेड पार्थे । उनलाई नेपाल टेलिभिजनले निकाल्दिए हुन्छ भन्ने मलाई लागेको छ । प्रस्नधरी सोध्न नआउनेलाई किन राख्छन् टिभीले ?
४) ताली, गाली र प्रस्नको भारी
सुरुसुरुमा के कारणले मान्छेले भाइरल बनाए, म जान्दिन । जसले भाइरल बनाए उनीहरुले पनि नजान्दछन् । भाइरल भइसकेपछि मेरो रुपको बयान गर्दै ताली बजाए । सेयर गरे । रिट्वीट गरे । लाइक गरे । कमेन्ट गरे । धेरैजसो भाइरल गर्नेहरुले मेरो रुपको प्रसंसा गरे । मैले तरकारीको क्यारेट बोकेर बजार हिँडेको र बाआमालाई सघाएको कुरोको बाहिरी तहसमेत नबुझी ‘तिम्रोजस्तो रुप मेरो पनि छ तर पनि म किन भाइरल भइँन?’ भनेर हाम्रै आफ्नै नेपाली दिदीबहिनीहरुले गिदीखान थाले । अरे यार ! म मेरो रहरले भाइरल भएकी हुँ र ? तिमीहरु सवै मिलेर भाइरल बनाएका हैनौ ? मेरोजस्तो रुप छ भने तिमेरु पनि भाइरल बन । मलाई बाल ! भाइरल भएँ त भएँ । भाइरल हुन नसक्नेले भाइरल भएकीलाई के खाएर गाली गर्नु? के लाएर हिमालजस्तो प्रस्न सोध्नु ? कुरा गर्छन् बात मारेजस्तो । मुसो मार्छन् बाघ मारेजस्तो । धत् !
५) मोडलिङ र फिल्मको अफर
खप्परमा छ भने मोडलिङ र फिलिमको मात्रै हैन राष्ट्रपति हुने अफल आउँछ । अफर आयो त आयो । भाइरल भएकीलाई यि अफर आउनु मुनासिव हैन र ? तर मेरो दुखेसो यो छ कि मलाई ‘लम्फु’ फिलिमको अफर आयो । म त तरकारीवाली । मलाई त ‘काउली’, ‘मटाटर’, ‘भेण्टा’, ‘आलु’, ‘लौका’ वा यस्तै तरकारीजन्य नाम भएका फिलिमको अफर आउनुपथ्र्यो । अनि न सुहाउँथ्यो । गालामा टिको सुहाउँदैन डाइरेक्टर साब, निधारमा सुहाउँछ । दसैँमा सप्तरंगी सुहाउँदैन प्रोडुसर साब, तिहारमा सुहाउँछ । त्यसउसले गर्दा मलाई अनेक नामको फिलिमको अफर नदिनुहोला । मलाई प्यारो छ कृषि फिलिम । म त हुँदिन अर्चना पनेरु झैँ चाँढै चिलिम् । बुझ्नुभो नि ? बोरु फिलिम खेलाउने पैसोले मलाई नर्सिङ पढाइदेओ । नत्र म भन्छु– ‘बिवेर अफ मिडिया, सोसियल नेटवर्क एण्ड म्युनिपुलेट पिपुल ।’
त्यो केटिको के गल्ति? मजाक नबना तेस्लाई.
चौथो अंग का साथीहरुले तरकारी मात्र खान्थे , येस्पाली तर्कारिवाली लाइ नै खाए जस्तो लाग्यो |बिचरा को व्यक्तिगत जिबन मा कति हस्तछेप ?