Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

लोडसेडिङ नहुँदा ठूला मिडियालाई भएको छटपटी हेर्नुस्

Posted on November 15, 2016November 17, 2016 by Salokya

loadshedding हरेक वर्ष तिहारको लक्ष्मीपूजाका दिन हैरानै भइन्थ्यो। २४ घण्टासम्म बत्ती गएको समेत अनुभव म आफैले भोगेको छु। तर यो वर्ष अचम्मै भयो। लक्ष्मीपूजाका दिन बत्ती जाँदै गएन। हाम्रो टोलमा मात्र हैन, कतै पनि बत्ती नगएको रहेछ।

लक्ष्मीपूजापछिका दिनहरुमा पनि बत्ती खासै गएको छैन। बरु अचम्म, विदेशमा जस्तो अहिले फाट्टफुट्ट बत्ती जाँदा पो अचम्म भएको जस्तो हुने गरेको छ। किन बत्ती गयो भनेर सोधिखोजी हुन थालेको छ। धेरैले सम्भव हुन्छ भन्ने सोच्दै नसोचेको यो उपलब्धिका कारण खुसी नहुने को पो होला र। तर हैन लोडसेडिङ हट्दा जलमाफिया, ब्याट्री, इन्भर्टर, सोलारका व्यापारीहरुलाई छटपटी भएको छ। उनीहरुले जनतालाई अँध्यारोबाट मुक्त बनाउने यो अभियानलाई सघाउनुको साटो खुट्टा तान्ने काम गर्न थालेका छन्। यो छटपटी ठूला मिडियाबाटै पोखिएको उदाहरण हेर्नुस्।

kp1
कान्तिपुरमा कात्तिक २३ गते छापिएको यो समाचार पढ्न यहाँ क्लिक गर्नुस्। यो समाचारको भाषा रमाइलो छ। काठमाडौँमा यतिबेला लोडसेडिङ नभएको भन्ने सत्यलाई समाचारमा लुकाएर भनिएको छ- राजधानीमा बढी समय बिजुली बलिरहेको।

समाचार पढ्ने हो भने लाग्छ- काठमाडौँमा बत्ती नजानुको कारण हो कुलेखानी चलाएको चलायै गरेर विद्युत निकाल्नु। कुलेखानी रित्याउनै आँटिसके। समाचारमा लेखिएको छ-

प्राधिकरणले चरम लोडसेडिङ हुने बेलामा मात्र चलाउनुपर्ने कुलेखानी जलाशययुक्त आयोजना दसैंदेखि लगातार चलाएर उपत्यकामा बढी समय बिजुली दिइरहेको छ।

यो कुरा कसले भन्यो त? कसैले त भन्नुपर्‍यो। भन्नेको नाम छैन। स्रोतलाई उद्‍धृत गर्दै लेखिएको छ-

स्रोतका अनुसार प्राधिकरणले सकेसम्म वर्षभर सन्तुलित तवरमा विद्युत् वितरण गर्नुपर्ने कुरालाई बेवास्ता गरी कुलेखानी पहिलो र दोस्रो जलविद्युत् आयोजना दैनिक चलाएर उपत्यकालाई ‘लोडसेडिङमुक्त’ बनाउने प्रयास गरिरहेको छ। प्राधिकरणले दसैंदेखि नै कुलेखानी आयोजनाबाट बेलुका दैनिक तीन घण्टासम्म चलाउँदै आएको छ।

समाचारको अर्को लाइनमा ऊर्जा मन्त्रालयका एक अधिकारी भनिएको छ-

साँचेर राख्नुपर्ने कुलेखानी आयोजनाबाट विद्युत् निकाल्ने गरेका कारण उपत्यकामा प्राधिकरणले बढी समय बिजुली दिन सकेको जानकारी ऊर्जा मन्त्रालयका अधिकारीले दिए ।

के यो सही हो त? सही हो भने ऊर्जा मन्त्रालयका अधिकारीलाई नाम लुकाउन जरुरी त हुने थिएन होला। अप्ठेरो नै पर्ने भए तथ्याङ्कले त बोल्छ होला। कुलेखानी काठमाडौँबाट धेरै टाढा त होइन। कुलेखानीको पानीको सतह कहिले कति कहिले कति छ भन्ने तथ्याङ्क नै लिन नसकिने कुरा हैन। राति तीन घण्टा चलाएर जनतालाई भोलिपर्सि अप्ठेरो नै पार्न लागेको भए त स्थलगत रिपोर्टिङ नै गर्न सकिन्थ्यो नि- पपुलिस्ट काम यसरी गरिँदैछ भनेर।

अनि फेरि तर्साइएको पनि छ यसरी-

हिउँदयाममा मुलुकमा, त्यसमा पनि विशेषगरी काठमाडौं उपत्यकामा १२ देखि १४ घन्टासम्म लोडसेडिङ हुने जानकारी ऊर्जा मन्त्रालयका अधिकारीहरूले दिए।

यसमा एक अधिकारी हैन बहुवचन अधिकारीहरु राखिएको छ। तर्साउनेहरु अलि धेरै रहेछन् उसो भए भनेर बुझ्ने हो?

उता विद्युत प्राधिकरणमा नयाँ एमडी कुलमान घिसिङले भने कात्तिक २५ गते ऊर्जा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा यसको खण्डन गर्दै भने, ‘मलाई आरोप छ कुलेखानीको पानी सक्यो भन्ने। त्यो होइन लक्ष्मी पूजाको दिन ३ घण्टा चलाएको हो त्यसपछि पिक आवरमा १५/२० मिनेट मात्रै कुलेखानी सत्र्चालनमा आएको छ।’

तर समाचारमा त चलाउनै नहुने कुलेखानी चलाएर बत्ती दिएर ‘अपराध’ गरेको जस्तो बनाइएको छ। पुष्टि गर्न चाहिँ सकेको छैन समाचारले। एमडीले नै हैन भनेर चुनौति दिएपछि त्यो हो नै भनेर देखाउने अर्को समाचार पनि आएको छैन।

बरु पत्रकार सम्मेलनको भोलिपल्टको कान्तिपुरको समाचारमा घिसिङको कुरा देखिँदै देखिएन। त्यसमा मात्र ऊर्जा मन्त्री जनार्दन शर्माको भनाई छ।

कात्तिक २६ गते प्रकाशित ‘उपत्यकाको लोडसेडिङमुक्त अभियान निरन्तर’ शीर्षकको समाचारमा घिसिङ गायब छन्। बरु देखिएको छ फेरि उही ऊर्जा मन्त्रालयका बेनामे अधिकारी। फेरि पनि त्यही समाचारमा पुरानै दावी र चिन्ता, छटपटी यसरी पोखिएको छ –

प्रधानमन्त्री पुष्पकमल दाहाल र ऊर्जामन्त्री शर्माको काठमाडौं उपत्यकालाई लोडसेडिङमुक्त गर्न दिएको निर्देशन पूरा गर्न प्राधिकरणले नदीको बहावमा आधारित (रन अफ रिभर) आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन भइरहेको समयमा समेत कुलेखानी जलाशययुक्त आयोजना दिनहुँ तीन घन्टासम्म चलाइरहेको र औद्योगिक करिडोरमा बढी समय विद्युत् कटौती गरिरहेको दाबी ऊर्जा मन्त्रालयकै अधिकारीको छ ।
हिउँदयाम र चैत–वैशाखलाई साँचेर राख्नुपर्ने कुलेखानी आयोजना अहिल्यै चलाउँदा पछि बढी लोडसेडिङ हुने चिन्तासमेत ती अधिकारीले व्यक्त गरे ।
ती अधिकारीका अनुसार अघिल्ला वर्षहरूमा कुलेखानी नदीको पानीको बहावमा आधारित आयोजनामा बहाव घटेर विद्युत् उत्पादन कम भई बढी समय लोडसेडिङ हुने हिउँदयाम र चैत–वैशाखमा मात्र चलाउने गरिन्थ्यो । यस वर्ष प्राधिकरणले दसैंदेखि नै दिनहुँ साँझमा कुलेखानी दुईदेखि तीन घन्टा चलाएर विद्युत् उत्पादन गरिरहेको छ ।

पत्रकार सम्मेलनमा ऊर्जा मन्त्री शर्माले लोडसेडिङ घटाउँदा जलमाफियाहरुमा छटपटी भएको, उनीहरु निकै बलियो भएको, तपाईँ हामी सबैलाई थाहा छ उनीहरुको शक्ति, जनतालाई उज्यालोमा राख्न सकारात्मक भइदिनुस् समेत भनेका थिए। तर ती कुराहरु केही पनि आएनन् समाचारमा। आयो त बेनामे ऊर्जा मन्त्रालयका अधिकारीको चिन्ता र छटपटी।

कान्तिपुरले लगातार लगाइरहेको ‘दसैंदेखि नै दिनहुँ साँझमा कुलेखानी दुईदेखि तीन घन्टा चलाएर विद्युत् उत्पादन गरेर’ अपराध गरेको आरोपको खण्डन हिजो रिपोर्टस क्लबमा पनि एमडी घिसिङले गरे। उनले भने, ‘हामीले अहिले कुलेखानी चलाएको छैन। मंसिरदेखि बैशाखसम्म ४ घण्टासम्म कुलेखानी चलाउन सकिन्छ। तर हामीलाई जम्मा २ घण्टा चलाए पु्ग्छ।’

तथ्याङ्क यस्तो छ-
img_9716
कान्तिपुरको समाचारमा बेनामे अधिकारीले कुलेखानी रित्याउन लागिसक्यो जस्तो गरेर तर्साए पनि नयाँ पत्रिकाले वास्तविक तथ्याङ्क राखेको छ। कुलेखानी जलविद्युत आयोजनाको कूल क्षमता ९२ मेगावाट हो। यो जलशययुक्त आयोजना हो। अर्थात् पोखरीमा भरिएको पानी बगाएर विद्युत निकालिन्छ। पानी कम भयो भने विद्युत निकाल्न सकिँदैन।

कान्तिपुरको समााचारमा यही कुलेखानीको पानी रित्तिन लागिसक्यो, त्यसैले हिउँदमा १२ देखि १४ घण्टा लोडसेडिङ हुन्छ भनेर तर्साइएको हो। तर तथ्याङ्क हेर्नुस्- लक्ष्मीपूजाको दिन पूर्ण क्षमतामा चलाउँदा पानीको सतहभन्दा २७ कात्तिकमा पानीको सतह घटेको हैन बरु थोरै बढेको छ। अनि कसरी रित्तियो? अनि फेरि यो आयोजना नै आवश्यक भएको बेला चलाउने हो। नचलाई जनतालाई अँध्यारोमा राखेर पूजा गरेर मात्र राख्नु पर्ने हो र?

अहिलेसम्म विद्युत प्राधिकरणले लोडसेडिङ घटेको औपचारिक घोषणा गरिसकेको छैन। घोषित ६/७ घण्टाको तालिका कायमै छ। बत्ती गएको मात्र छैन। गए पनि केही समयका लागि मात्र गएर आइहाल्छ। लोडसेडिङ घटेको, हटेको घोषणा नभइसक्दा पनि यति छटपटी हुन्छ भने साँच्चिकै हट्यो/घट्यो भने के होला?

जाँदाजाँदै सकारात्मक खबर पनि,

ती ऊर्जा मन्त्रालयका बेनामे अधिकारीले कात्तिक २३ गतेसम्म हिउँदयाममा काठमाडौं उपत्यकामा १२ देखि १४ घन्टासम्म लोडसेडिङ हुने भन्दै तर्साएको त माथि पढ्नुभो नि। आजको कान्तिपुरमा भने ऊर्जा मन्त्रालयका बेनामे अधिकारी कै कुरा छ। आज यो बेनामे अधिकारीले चाहिँ मुलुकमा वर्षायाममा लोडसेडिङ नहुने कुरा गरेका रहेछन्। यहाँ क्लिक गरी पढ्नुस्।

8 thoughts on “लोडसेडिङ नहुँदा ठूला मिडियालाई भएको छटपटी हेर्नुस्”

  1. डिल्ली says:
    November 17, 2016 at 7:38 am

    लक्ष्मीपूजाको दिन मेरो अनुभबमा चाहीँ अरुदिन भन्दा कम विजुली काटिएको पाएको छु । मेरो चाहीँ अझ उक्त दिन साँझमा बत्ति नगएकै अनुभब ज्यादा छ ।

    लोडसेडिङ कृत्रिम हो यसमा सङ्कै छैन । किन गरिएको हो भन्नेमा स्वार्थ फरक फरक छन् । आन्तरिक बाह्य कारण नै लोडसेडिङका कारक हुन् । कुलेखानी ६० मेगावाट उत्पादन पश्चात सामान्यतया बत्ति जाँदैन थियो ।

    भित्रिकारण जे जस्तो भए पनि नीजिकरण मन्त्री डा रामशरण महतको अरुण ३, खेतानसितको ठेक्केदारीमा सति गएको एमालेको अवरोधलाई कारक भनिए पनि खेल धेरै छन् । अरुण तेस्रो नै के लाई तुहाउन ल्याइयो कारण खोज्न जरुरी छ ।

    देश बनाउन भन्दा ठूलाघरे मिडियाको हात देश विगार्नमै ज्यादा छ । ठूलाको कुरा ठूलै बुझ्ने हाम्रो चलन । त्यसमाथी पत्रुकारको अमिट विश्वासमा रुमलिएको हाम्रो लोकतन्त्र । नेता र तिनका आसेपासे बाहेककालागि परलोकतन्त्र सावित हुने लक्षण देखिएको छ ।

    Reply
  2. bijay says:
    November 17, 2016 at 6:42 am

    यो अधिकारी चाइ को पर्यो त्यस बारेमा जान्न पाए हुन्थ्यो / मेरो बिचारमा यो अधिकारी कुनै इन्भरतर सोलार ब्यापारी वा तिनको कमिसन खाने मान्छे वा नया बिद्युत योजनामा कमिसन खान तम तयार मान्छे हुनुपर्छ/ येसो यो कुरा पट्टा लगाएर जनता सामु टुडिखेलमा उभ्यौना पाए नेपालको उर्जा छेत्रको कल्याण हुन्थ्यो ..नेपाली फुटबलको जस्तै .. यो म्याच फिक्सिंग गर्ने दले हरुले नेपालको सत्यनास गरिसक्यो ..जहाँ हेरे पनि दलेहरु

    Reply
  3. Shiva Khadka says:
    November 16, 2016 at 5:23 am

    अाखिर सत्य बाहिर अायो नि,

    Reply
  4. Suman bhote says:
    November 16, 2016 at 8:49 am

    kantipur tv le ta news ma laltin balera birodh gareko thiyo ni……naatak ho sabai..

    Reply
  5. Rohini says:
    November 16, 2016 at 1:53 am

    बिचरा मिडिया हरु पैसाको लोभमा जस्तो पनि समाचार लेखिदिन्छन|

    Reply
  6. बासु says:
    November 16, 2016 at 1:14 am

    कसैले मलाई भन्न सक्ला -“यतिखेर भनिस” |तर मलाई भने निक्कै वर्षदेखि यो लोडसेडिंगको औचित्यप्रति शङ्का लागी रहेको थियो | मैले यिनै इन्भर्टर, सोलार र माफियाहरूप्रति शङ्का गरेको थिएँ-तर मनमनै | तर भन्ने कुनै प्रमाण या कारण थिएन | यि सानातिना व्यापारीहरुको कसरी हिम्मत र पहुँच होला र? फेरि, त्यत्रो मिडिया, पत्रकारहरु भएको देशमा कसै न कसैले त फुत्काउनु पर्ने हो भन्ने जस्तो सोचले सार्वजनिक तवरमा भन्ने आँट गरेको थिइनँ | तर, कुलमानको आगमन र अहिले यस्ताहरुको छटपटीका साथै प्राधिकरणकै कर्मचारीहरु कुलमानको विरोधमा लागेको देखे सुने पछि मेरो आशंका सत्यमा बदलिएको छ |
    आशा गरौँ, यि माफियाहरु हार्ने छन् र जनताको उज्यालो कदापी हरिने छैन |

    Reply
  7. Suman says:
    November 16, 2016 at 12:07 am

    Salokya ji le euta kura chahi chuttaunu vayecha.. Mathi vaniyeko dubai samachar ma lekhak ko naam “Kantipur Samwaddata” vanera lekhiyeko cha.. Ani anta ma reference gariyeko samachar ma, jas ma tathyanka ra kehi anka haru chan, tesma chai lekhak ko naam Balraam Baniya vanera lekhiyeko cha..

    Reply
  8. Balkrishna Dahal says:
    November 15, 2016 at 4:43 pm

    गजब छट्पटि भएछ तिनलाई। छटपटारै बिदा होस तिनिहरुको अन्धकारमा गरिने ब्यापार! कुर्सिमा बस्ने मान्छे परिबर्तन हुनेसँगै अन्धकार हुने हो कि भन्ने डर छ। ताकिता गरि रहनुस, गरिरहनेछौ!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme