Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

लोकमानको तर्फबाट अदालतलाई चर्चितको चार बुँदे तामेली जवाफ : जे कामका लागि नियुक्त भएको त्यही काम गर्दा कसरी असंवैधानिक?

Posted on November 8, 2016November 8, 2016 by चर्चित

lokman अख्तियारका निलम्बित प्रमुख लोकमानसिंह कार्कीले अहिलेसम्म पनि सर्वोच्च अदालतलाई तामेलीको जवाफ दिन नसकेपछि चर्चित आफै अघि सरेर जवाफ तयार पारिदिएका छन्। उनले लोकमानका लागि तयार पारिदिएको चार बुँदे तामेली जवाफ यस्तो छ-

सर्वोच्च अदालतबाट जारी भएको तामेली मेरा अनेकानेक बल, बुद्धि र कुटिलता प्रयोग्दा पनि अन्ततः मेरो घरमा टाँस्न सफल भएकोमा नयाँ तामेलदारसँगै नेपाल सरकारलाई बधाई दिन चाहन्छु।

मैले गर्नसक्नेजत्ति नगरेको भए उहिल्यै मेरो घरको सानदार भित्तोमा तामेलीले सजिने मौका पाउँथ्यो। यसबीचमा मैले अपनाएका बहुल आइडियाले क्षणिक कर्म गरेपनि लामो समय थेग्न सकेनन्। तर मेरो नाम लोकमान भएकाले मैले अपनाएका तिकडमबारे लोकलाई थाहा दिनु मेरो कर्तब्य हो भन्ने मेरो ठम्याइ छ। यसलाई म बुँदागतरुपमा भन्दिम्।

लोकमानका तर्फबाट जवाफ तयार पारिदिने लेखक चर्चित
लोकमानका तर्फबाट जवाफ तयार पारिदिने लेखक चर्चित

१. मेरो नियुक्ति : म मुख्यसचिव हुँदा मैले विभिन्न प्रकारका असंवैधानिक क्रियाकलापले तत्कालीन सरकारको मन जितेको थिएँ। सरकारले चाहेको ठाउँबाट कमिसन असुल्ने। गुण्डा प्रयोग गर्ने। देश विकासका अधिकांश ठेक्कापट्टाबाट भाग असुल्ने कला प्रदर्शन गरेर सरकारलाई रिझाएको थिएँ। यतिसम्म कि, जनआन्दोलन ६२/६३ मा नागरिक आन्दोलन दबाउन पद जोखिममा राखेर ज्ञानेन्द्र सरकारलाई मेरा इन्द्रीय सुम्पेको थिएँ। आफ्नो ज्यान र फ्युचर जोखिममा पारेर सरकारलाई आन्दोलन दबाउन सघाउन कुन मनुवाको मुटुले गर्छ ? बात कर्ता है !

त्यही सफल कर्मको कदरस्वरुप खिरारे सरकारले सवै दलको समर्थनमा अदुअआमा मेरो नियुक्ति गरेको सर्वविदितै छ। लोकमानले लोकमा कला देखाउँछ भन्ने उसबेलाका सबै दललाई ज्ञात थियो। उनीहरुले जे सोचेर मलाई अदुअआ प्रमुख बनाए, त्यो उदेश्य मैले साना माछा मात्रै पक्रेर पूरा गरेको थिएँ। तर सरकार र मेरो अटुट सम्बन्धको राठीकोल लाएजस्तो मजबुत सम्बन्ध केही अराष्ट्रिय तत्वलाई पचेन। उनीहरुले आँखा चिम्लिएर हाजमोला नखाएकाले नपचेको हुनसक्छ। त्यसैले जे उदेश्यले मेरो नियुक्ती भएको हो, मैले त्यही कर्म गर्दा कसरी असंवैधानिक भयो ? मान्छे जे कर्मका लागि जन्मिएको हो, उही कर्मगर्दा उसले गरेको कर्म कसरी असंवैधानिक हुन्छ। अज्ञानी लोकका लागि असंवैधानिक भए पनि म लोकमानका लागि संवैधानिक होइन ? फेरि बात कर्ता है !

२. कनककाण्डः कनकमणि दिक्षित मेरा लागि फगत एक अलपत्रकार थिए। तर जब उनले मैले साना माछा मात्रै समाएकोबारे उनको साप्ताहिक पत्रिकामा आवरण छापे, मेरो रिसको पारो अकस्मात् बढेर आयो। उनको मदन र जगदम्बाश्री पुरस्कार र यिनका गुठीबारे मैले खनखोजसमेत नगरी बसेका बेला रेलैरेलामा फ्याट्ट साना माछाबारे लेखेको देखेपछि उनी मेरो आँखामा बिझाउन थाले। यो आवरण लेखपछि मैले मनलाई रिझाउन नसकेँ। फलस्वरुप मैले उनलाई पक्रेर कक्रयाएको हुँ। सारा मिडिया, जनमानस् उनको पक्षमा देखिएपछि पनि मैले अनेक आरोप लगाएर उनलाई थुन्ने यत्न नगरेको हैन। तर कथाले मैले सोचेजस्तो मोड लिएन त म के गरुँ ?

सानै माछा सही तर भ्रष्टाचारीलाई समाएको भन्दा कनकले राम्रोसँग साझा चलाएको विषयले जनताको मन जितेको र सरकारी संस्थानको बिल्लिबाठबाट बाटोमा ल्याएको देखिनसकेको कारण पनि मैले उनलाई टच गरेको थिएँ। तर यो कुरो अज्ञानी जनताले बुझेनन्। जब जनताले नै बुझेनन् भने मैले बुझेर के लाग्छ ? छोडिए कनक। नाङ्गिएँ म।

३. डा. केसी काण्डः डा. केसी नामको भाइरसलाई पागल घोषणा त उतिवेलाकै सरकारले गरेको हो। त्यसमाथि एमाले हस्पतालका सेयर होल्डरले त उनलाई केकेसम्म भनेनन् ? खैर, भन्नेले जे भने पनि डा. केसी अचाक्ली तन्नम मानुष हुन् भन्ने मलाई लाग्छ। नत्र उसै कसैले अदुअआको कामकारबाहीमाथि खुर्पे प्रश्न तेस्र्याउँछ ?

मेडिकल कलेजले मैले चाहेका र मैले नगद पाएका, खाएका केही विद्यार्थीलाई भर्ना गर्न मान्दामान्दै उनी सरनसाइनोका मान्छेले के खान निहु खोज्नु ? के लाउन बिरोध गर्नु ? फोकटमा यही कुरालाई समाएर दर्जनपटक अनशन बस्नुहुन्छ त्यसरी ? उनलाई सरकार र एमाले अस्पतालका सेयर होल्डरले पागल मात्रै भने, असलीमा उनी महापागल हुन्। उनको यही पागलपन र जिद्दीपनाले मेरो गिदी खाएको हो। म निलम्बनमा पर्नुको एउटा कारण डा. केसीको अत्तिबेसी हात मात्रै हैन, खुट्टा पनि छ। यस्ता महापगल डा. लाई झोलीतुम्बीसहित देश निकाला गर्नुपर्छ। एउटा इच्छामृत्यु रोजेको डा. सँग डराएर सांसदले सदनमा मेराबिरुद्ध महाअभियोग प्रस्ताव राख्ने ? एउटा सन्की मानुषको आमरण अनशनसँग पिके सरकार डरले छेर्ने ? तर पनि बात कर्ता है !

४. स६ को झुटकाण्डः सर्वसाधारण, सडक, सञ्चार, सदन, सर्वोच्च र सरकारले मेराबिरुद्ध झुट मात्रै बोलेका छन्। म संविधानको पालनकर्ता मात्रै हैन, संविधान पालन गराउने, जनता, कार्यकर्ता, प्रहरी, सेना, दल र करकारलाईसमेत अह्राउने हैसियतको महाराज हुँ। तर मेरो पदको महत्ता नबुझी मलाई सिद्याउन खोज्ने यि स६ लाई जनताले चिन्न जरुरी छ।

किन मलाई सर्वसाधारण, सडक, सञ्चार, सदन, सर्वोच्च र सरकारले एक्ल्याए ? एक्ल्याउनु नै थियो भने पहिले किन नियुक्ति गरे ? नियुक्ती गर्दा तिनलाई मेरो नियत थाहा थिएन ? जनता जान्न चाहन्छन्, म खराब थिएँ भने मलाई असल मानेर मेरा पक्षमा मतदान गर्नेहरु खराब थिए कि असल ? म खराब थिएँ भने ती पनि खराब थिए। म खराब हुँ भने ती पनि खराब हुन्। अहिले मै मात्रै दोषी ? मै मात्रै असंवैधानिक ? बात कर्ता है !
महाअभियोग पारित मात्रै गरुन् त। भूत भएर तिनको सातो लिन जानेको छ मैले। बात कर्ता है !

3 thoughts on “लोकमानको तर्फबाट अदालतलाई चर्चितको चार बुँदे तामेली जवाफ : जे कामका लागि नियुक्त भएको त्यही काम गर्दा कसरी असंवैधानिक?”

  1. mekha says:
    November 8, 2016 at 8:50 pm

    bat karta hai !!!!

    Reply
  2. बरुण श्रेष्ठ says:
    November 8, 2016 at 3:20 pm

    हैट, माइसंसारलाइ बेला न कुबेला गाईजात्रा लागेछ !!!

    Reply
  3. ananta says:
    November 8, 2016 at 11:43 am

    ” क्लिन्टनले जित्ने सम्भावना ९० प्रतिशत ” प्रबल गुरुंग ठुलो हुने भयो ( फोटो हरु खिचेर लायको छ ) । फेरी कस्तो भने , मेरो श्रीमान पनि प्रेसिडेंट भएको थियो , म पनि हुनै पर्छ भनेको जस्तो गर्छ। हाम्रो एउटै घरको , २ जाना प्रेसिडेंट हुनै पर्छ भने जस्तो गर्छ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme