२०७२ वैशाख १२ गते गोरखा केन्द्रबिन्दु बनाई ठूलो भूकम्प गयो। लगत्तै सोसल मिडियामा भूकम्पले भत्किएका फोटोहरु पोस्ट हुन थाले। म आफैले पनि त्यो दिन धेरै ट्विट गरेँ तर भत्किएको बाहेक अरु फोटो पोस्ट गरे जस्तो लाग्दैन। केही दिनसम्म यो क्रम जारी रह्यो। त्यसैले जो काठमाडौँमा थिएनन्, उनीहरुलाई लाग्यो- काठमाडौँ त पूरै ध्वस्त भएछ। कुनै पनि घर बाँकी छैनन्। कुनै पनि मन्दिर बाँकी छैनन्।
लाग्थ्यो नभत्किएको घर, मन्दिरबारे किन ट्विट गर्नुपर्यो र। किन फेसबुकमा राख्नु पर्यो र। भूकम्प आएको छ। भूकम्पको प्रभाव पो हो देखाउने। शायद अरुलाई पनि त्यस्तै लाग्यो होला। तर मेरो त्यो धारणा गलत रहेछ। हामी सत्य देखाइरहेका थियौँ तर सम्पूर्ण हैन आंशिक। काठमाडौँ उपत्यका पूरै ध्वस्त भएको थिएन। मन्दिर र पुराना घरहरु भत्किएका थिए। असुरक्षित तवरले बनाएका केही नयाँ भवनहरु भत्किएका थिए। त्यसबाहेक काठमाडौँको अधिकांश भाग सग्लो थियो। तर न मिडियामा त्यो आउँथ्यो न सोसल मिडियामा। फिक्सरहरु सुनाउँथे- काठमाडौँ ध्वस्त भयो भन्ने इम्प्रेसन लिएर रिपोर्टिङका लागि झरेका विदेशी रिपोर्टरहरु काठमाडौँ त सग्लै छ त भन्दै छक्क पर्थे। अहिले पनि त्यस्तै भएको छ। सोसल मिडिया हेर्दा लाग्न सक्छ- भारतीय राष्ट्रपतिको भ्रमणका कारण काठमाडौँ पूरै ठप्प छ। कर्फ्यु लागे जस्तै छ पूरै काठमाडौँको स्थिति। यो गलत हैन। तर भूकम्पकै उदाहरण जस्तो सम्पूर्ण सत्य पनि हैन।
स्टेट भिजिटको रुपमा कुनै अतिथिलाई सम्मान दिने भएपछि बाटो खाली गरेर सवारी चलाउनु बाध्यता हो। भारतीय राष्ट्रपति मात्र हैन प्रधानमन्त्री मोदीको भ्रमण हुँदा र सन् २००९ मा श्रीलंकाली राष्ट्रपति महिन्दा राजापाक्ष अनि चिनियाँ प्रधानमन्त्री वेन जियाबाओ सन् २०१२ मा पाँच घण्टे भ्रमणमा आउँदा पनि स्थिति यस्तै थियो। सार्क शिखर सम्मेलन हुँदाको त झन् भन्नै परेन। त्यतिबेला त सात देशका पाहुना आएका थिए।
हो, यस पटक पनि सडक ठप्प थिए। सवारी रुटमा केही घण्टाअघिदेखि र सवारी भइसकेपछि केही समय बाटोमा कुनै सवारी साधन गुड्न दिइएको थिएन। सवारी नगुड्दा कर्फ्यु जस्तो दृश्य पक्कै पनि थियो। तर पूरै काठमाडौँमा होइन। जुन ठाउँमा सवारीको रुट पर्थ्यो, त्यो ठाउँमा मात्रै। अरु ठाउँमा त्यस्तो थिएन। बानेश्वरमा सवारी हुँदा न्युरोड ठप्प थिएन। न्युरोड अघिल्तिरको बाटोबाट सवारी हुँदा बानेश्वर ठप्प थिएन। सार्वजनिक सवारी साधन चढ्नु पर्ने यात्रुहरुलाई चाहिँ निकै गाह्रो थियो। यी दुई दिनमा मैले सवारी रुट पर्ने ठाउँमा सार्वजनिक सवारी साधन निकै कम चलेको देखेँ। ठप्पै चाहिँ थिएन नै।
फरक यसपालि के रह्यो भने सडकको दायाँबायाँ उभिएर मानिसले स्वागत गरेनन्। गरुन् पनि कसरी, नाकाबन्दीको पीडा आलै थियो। सुरक्षाकर्मीहरुलाई पनि हेर्नुस् त तनाव- पाहुनालाई फ्याट्ट कसैले विरोधमा झण्डा देखाइदेला वा अरु केही गर्ला भन्ने। भारत- पाकिस्तान तनाव त्यस्तै छ। नेपालको सुरक्षा कमजोर देखिने गरी कसैले फ्याट्ट केही गरिदिइहाले भने?
यस पटक मैले ट्राफिक व्यवस्थापन पनि राम्रै गरिएको महसूस गरेँ। यी ठाउँमा यति बजेदेखि यति बजेसम्म सवारी आवागमन प्रभावित हुनसक्छ भनेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले पहिल्यै सूचना जारी गर्यो, जुन यसअघिका कुनै पनि भ्रमणमा भएका थिएनन्। यो सूचनाका कारण सर्वसाधारण पहिलेदेखि नै मानसिक रुपमा तयार रहे। गाडी कम निकाले। पहिलेका भ्रमणमा भए यस्तो जानकारी हुँदैन थियो, बाटो रोकिएपछि बल्ल थाहा हुन्थ्यो।
ट्राफिक प्रहरीको एफएमले समय समयमा ट्राफिक अपडेट गराइरह्यो- यो ठाउँमा बाटो अवरुद्ध हुँदैछ, अवरुद्ध बाटो अब खुल्यो भन्दै। महानगरीय ट्राफिकको फेसबुकले पनि यसबारे जानकारी गराइ नै रह्यो।
घोषणा गरिएको समयभन्दा छिट्टै अवरुद्ध रुटमा सवारी आवागमन सुचारु गरिएको अनुभव अहिले भर्खरै घर फर्कँदा पनि भयो। ८ बजेसम्म बाटो अवरुद्ध हुनसक्ने सूचना थियो। तर ७:४० मा खुला भयो।
कम्तिमा ट्राफिकको एफएम र फेसबुक फलो गर्नेले कताको बाटो अवरुद्ध हुन लाग्यो, भयो र खुल्यो सूचना पाइरहेका थिए- यसअघि त्यस्तो व्यवस्था थिएन।
सवारीको एक दिन दिइएको सार्वजनिक विदाले पनि हैरानी हटाउन सघाउ नै पुर्यायो। तर सरकारको आफ्नै कुबुद्धिले यो निर्णयको चर्को आलोचना भयो। एक त त्यसरी विदा दिने निर्णय मन्त्रिपरिषद्को बैठकै बसेर गर्नुपर्ने नै थिएन। गृह मन्त्रालयले एउटा निर्णय गरेर लागू गरे हुन्थ्यो। अर्को विदा देश भर र विदेशस्थित कुटनीतिक नियोगमासमेत दिनुपर्ने कुनै तुक नै थिएन। सरकारका अन्धभक्तहरुले जेसुकै भनेर बचाउ गरे पनि त्यो कूतर्क मात्रै हो। ट्राफिक जामकै कारण विदा दिनुपर्ने भए बुधबार भन्दा बिहीबार झन् बढी सडक अवरुद्ध हुने सेड्युल थियो।
दुई दिनको हैरानी सकियो पनि भोलिबाट त खासै त्यस्तो केही अप्ठेरो हुन्न काठमाडौँमा। भोलि बिहानै भारतीय राष्ट्रपति जनकपुर र त्यसपछि पोखरा हुँदै काठमाडौँ फर्किएर विमानस्थलबाटै भारततिर लाग्ने छन्।
भूकम्पमा काठमाडौँका घर, मन्दिर नभत्किएका हैनन्। भत्किएकै हुन्। अहिले पनि काठमाडौँ ठप्प नभएको हैन, सवारी रुट पर्ने केही ठाउँमा केही समयका लागि भएकै हो। तर जसरी सुरुका केही दिनमा काठमाडौँ पूरै खत्तमै भयो जस्तो इम्प्रेसन मिडिया र सोसल मिडियाले दिए र वास्तवमा त्यस्तो थिएन, त्यसैगरी काठमाडौँ पूरै ठप्प, काठमाडौँका बासिन्दा घरघरमै कैद, बाहिर निस्कनै नदिएको, पूरै काठमाडौँमा अघोषित कर्फ्युको जस्तो स्थिति भन्ने इम्प्रेसन अहिले परेको छ, त्यस्तो हैन।
तर सोसल मिडियाको विरोधलाई नकारात्मक रुपमा लिनुपर्छ उनीहरुलाई गाली गर्नुपर्छ भन्ने पक्षमा म छैन। यसले कम्तिमा भारतीय नीति निर्माताहरुलाई झस्काउनेछ- नरेन्द्र मोदी आउँदा जय जय गर्ने, मोदीको विरोधमा केही भन्नेलाई कुटौँला झै गर्ने नेपाली जनताको मनमा अमानवीय नाकाबन्दीले कसरी भारतविरोधी मानसिकता बढाएको छ। अघोषित नाकाबन्दी अघोषित रुपमै खुला गर्दा पनि भारतले त्यो पक्षलाई केही मनन् त पक्कै गरेको हुनुपर्छ। यस पटकको राष्ट्रपति भ्रमणको पनि पक्कै समीक्षा होला नै।
ऐना हेर्दा! धन्यबाद माईसन्सार टीम|
राम्रो लाग्यो यहाँ ले जुन कुरा prastyaunu हुन्छ मलाई सहि लाग्छ अनि त म mysansar पत्रीका खोजी खोजी पढछु
धन्यवाद माइसंसारलाई विश्वास गर्नुभएकोमा। तर माइसंसार पत्रिका हैन है। पत्रिका त कागजमा छापिनेलाई पो भनिन्छ। माइसंसार ब्लग हो।
Sahi kuro!!!
म न परेको मान्छे ले लगाको अत्तर पर्फ्युम पनि गनहाए जस्तो लाग्छ साथी यो मनोबैज्ञानिक असर हो।….. नाकाबन्दी ले हेपेको असर। नै भने नेपाली हरुले अतिथी को सत्कार गर्न जानेका छन… न जानेको होइन।
अथिथी लाई आँखा को नानी मा बसाल्न सक्ने क्षेमता नेपालिहरु मा थियो र छ पनि। बस समय को फेर मात्र हो ।