Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अमेरिकामा राष्ट्रपति चुनाव : ट्रम्पको पक्षमा एक नेपालीको तर्क – यसकारण जिताउनु पर्छ ट्रम्पलाई

Posted on October 30, 2016October 31, 2016 by mysansar

– टीका दत्त शिवा –

Clinton, Trump pick up big wins
विश्वको सर्वशक्तिमान राष्ट्र भएको हिसाबले अमेरिकी राष्ट्रपतीय चुनावले विश्वका हरेक देशहरुलाई प्रभाव पार्ने गर्दछ। विश्वको अर्थतन्त्र देखि लिएर मध्य पुर्वमा भई रहेको अशान्ति, युरोपमा भैरहेको आप्रवाशीहरुको समस्या मात्र नभएर साउथ एशियामा अमेरिकाको नीति आदिमा समेत अमेरिकाको स्वार्थ र प्रत्यक्ष-परोक्ष भूमिका गाँसिएको छ । अमेरिका आप्रवासीहरुको देश हो, जहाँ सबै जसो देशका मानिसहरुका आफन्त, नाता गोता कोहि न कोहि बस्छन। यो शक्तिशाली देशको शक्तिशाली पदमा रहेर विश्वलाई डोर्याउने कमाण्डर-इन-चिफको पदमा कसैलाई बहाली गर्नुभन्दा अगाडी त्यो पदमा आसिन गराउन निर्णायक भूमिका खेल्ने भाग्यमानी अमेरिकनहरु र खासगरी भोट हाल्ने हैसियत भएका नेपाली अमेरिकन मतदाताहरुले पनि गम्भीर तरिकाले सोच्नु पर्ने बेला आएको छ।

अहिले अमेरिकाका कतिपय राज्यहरुमा प्रारम्भिक मतदान शुरु भैसकेको छ। तर नतिजा चुनावको मुख्य दिन अर्थात ८ नोवेम्बर २०१६ पछि मात्र घोषणा गरिने हुँदा डेमोक्राटिक पार्टी कि उम्मेदवार हिलारी क्लिन्टनले जित्छिन् कि रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड जे. ट्रम्पले जित्छन यसै भन्न कठिन छ। तथापी विभिन्न सर्वेक्षकहरुले आ-आफ्नो तर्फबाट चुनाव कसले जित्छ भन्ने दावी प्रस्तुत गरिरहेका छन। मुख्य निर्वाचनको दिन अझै ११ दिन बाँकी नै रहेको हुँदा अहिलेसम्मको निर्णायक शक्ति त्यो बिचमा मतदाताहरुको मन कता जाने छ भन्ने कुरा नै निर्भर छ। विकशित देश अमेरिकाका सचेत मतदाताहरुको निर्णयलाई प्रभाव पार्ने आधारहरु भनेका उम्मेदवारका गतिविधि र तिनका योजनाहरु नै हुन।

यस आलेखमा विभिन्न अनलाइन मिडिया, उम्मेदवारका रणनीति र योजना, अन्तर्वार्ता, व्यक्तित्व आदिका आधारमा अमेरिकन राष्ट्रपतिको दौडमा रहेका मुख्य दावेदारहरु मध्ये को चाहिं सहि छन ? कसलाई भोट दिंदा ठिक हुन्छ ? कसले अमेरिका लगायत विश्वलाई योगदान दिन सक्छन ? कुन उम्मेदवारले जित्दा नेपालका निम्ति समेत लाभदायक छ भन्ने निर्क्यौल गर्न मतदाताहरुलाई मद्दत मिल्ने छ भन्ने विश्वास लिएको छु।

डोनाल्ड जे. ट्रम्प

डोनाल्ड जे. ट्रम्पका पिता फ्रेडरिक ट्रम्प जर्मनीबाट सन् १८८५ मा न्युयोर्कमा बसाईं आएका थिए। त्यतिबेलाका प्रसिद्ध रियल स्टेट व्यवशायी फ्रेडरिक ट्रम्पका छोरा डोनाल्ड जे. ट्रम्पले आफ्नो बाबुको व्यवशायलाई अगाडी बढाऊदै थप व्यवशायिक सफलता हाँसिल गरेका हुन। उनले न्युयोर्कको एलिट वर्गलाई प्रतिनिधित्व गर्दछन। तीक्ष्ण बुद्धि, मेहनती उनी कुशल नेगोसिएटरका साथै आफुलाई खर्बपतिको रुपमा स्थापित गर्ने एक सफल व्यवशायी हुन। उनको विभिन्न समयको भिडियो फूटेज र अन्तर्वार्ता हेर्दा उनलाई जसरी कतिपय मिडियाहरुले नराम्रो व्यक्तिको रुपमा चित्रण गरेका छन, त्यस्तो पटक्कै देखिदैन। यधपी उनी सिधा बोल्ने र खरो स्वभावका छन् भन्ने स्पष्ट बुझ्न सकिन्छ। पछिल्लो समयमा उनले दिएका अभिव्यक्तिहरुमा अवैध आप्रवाशीहरु प्रति कठोर हुने नीति र उनले महिला प्रति गरेको टिप्पणी निक्कै अलोचनाको विषय बन्यो। यी विषयहरुलाई प्रत्यासी हिलारी क्लिन्टनले मसला र बुट्टा भरेर प्रस्तुत गर्दै ठुलो राजनीतिक लाभ लिन पनि सफल भइन।

के डोनाल्ड जे. ट्रम्प रंगभेदी हुन ?

अमेरिकाका लागि अवैध आप्रवाशीको समस्या ठुलो टाउको दुखाईको विषय धेरै अगाडी देखि बन्दै आएको हो। वर्तमान राष्ट्रपति बाराक ओबामाले समेत यो विषयलाई समाधान गर्ने छु भनि चुनावी मुद्दा बनाए। तर उनको लगभग ८ बर्षको कार्यकालमा कुनै सफलता हात लागेन। बरु, दिनानुदिन अवैध आप्रवाशीहरु बढ्दै गए र तिनीहरुबाट हुने लागु पदार्थको ओसारपसार लगायत अपराधको शृंखला पनि बढ्दै गयो। हालसम्म अवैध आप्रवाशी समस्यालाई समाधान गर्न कुनै ठोस कदम नचालिएको अवस्थामा कुनै कठोर कदम बिना यो समस्या समाधान हुन नसक्ने देखेर ट्रम्पले मेक्सिकोसंग जोडिएको दक्षिण तिरको बोर्डरमा पर्खाल लगाउने र अवैध आप्रवाशीहरुलाई डिपोर्ट गरिदिने योजना स्पष्ट रुपमा राखे। यो कदमले निश्चय पनि अमेरिकाको सबैभन्दा ठुलो आन्तरिक समस्या त समाधान हुने नै भयो। तर यसलाई तोड़ मरोड़ गरेर गोरा अमेरिकीहरुको मात्रै हित सोचियो, रंगभेदी नीति भयो भनि विपक्षीहरुले प्रचारप्रसार गरिरहेका छन। वास्तवमा अमेरिकालाई सुरक्षित बनाउदा त्यहाँ बसोबास गर्ने काला-गोरा, हिस्पानिक, ककेसियन, एसियन, ल्याटिन आदि सबै नागरिक सुरक्षित हुने हुन। यहाँ रंगभेदको गुन्जाइस नै छैन। उनले मात्र ‘अवैध’ आप्रवाशीहरुलाई अमेरिकामा प्रवेश कठिन बनाउने भनेका हुन नकी त्यहाँ बसोवास गर्ने वैध आप्रवाशीहरुलाई ! तसर्थ मतदाताहरुले अन्तर्मनले निर्क्यौल गर्न सक्नु पर्छ कि यथार्थ के हो र झुट के हो।

के डोनाल्ड जे. ट्रम्प महिलाहरु प्रति नीच दृष्टिकोण राख्दछन ?

करिब ११ बर्ष अघि एउटा बसभित्र ट्रम्पले महिला प्रति गरेको अश्लिल टिप्पणीको भिडियो केहि साता अघिमात्र सार्वजनिक भयो। महिलाको यौन अंगलाई इंकित गरि बोलिएको त्यो वार्तालाप निश्चय पनि निन्दाजनक छ जसको लागि ट्रम्पले सार्वजनिक रुपमा नै माफी मागी सके । तर यो घटनाको अर्को पक्ष हेर्ने हो भने अमेरिका त्यति बन्द समाज पनि होइन। वयस्क पुरुष-पुरुष वा महिला-महिला वा महिला-पुरुषका वीचमा बन्द कोठाभित्र हुने यौनिक कुराहरु त्यति असामान्य पनि होइनन । हामी देख्न सक्छौ – हलिवुडका फिल्महरु जसमा यस्ता भाषा र दृष्यहरु सामान्य लाग्ने गर्दछन। तर चुनाव हुनु भन्दा केहि हप्ता अघि मात्र यस्ता भिडियो सार्वजनिक हुनुलाई चुनाव प्रभावित पार्ने उदेश्य हो भनि स्पष्ट बुझ्न सकिन्छ। त्यसपछि पोर्न स्टार लगायत १२ जना महिलाहरुले आफुलाई ट्रम्पले ‘सेक्सुयल ह्यार्यासमेन्ट’ गरेको अभिव्यक्ति दिएका छन्। ति मध्ये लन्डनबाट प्लेनमा आउदा एक महिला जेसिका लिड्सलाई ट्रम्पले हातपात गरेको आरोप लगाईरहंदा ति महिलाका विरुद्द त्यो बेला त्यहि प्लेनमा यात्रा गरिरहेका प्रत्यक्षदर्शी ब्रिटिश नागरिक एन्थोनी गिल्बरथोर्पले त्यस्तो केहि नभएको मिडियालाई बताए। एन्थोनीले त्यस्तो आरोप सुन्ने वित्तिकै लण्डनबाट अमेरिका आई मिडियालाई बयान दिएका थिए। यहाँ स्पष्ट हुन्छ कि ति १२ जना महिला मध्ये कतिले सहि भनेका होलान वा नहोलान। प्रश्न यो हो कि यी आरोपहरु चुनावको अन्तिम चरणमा आएर किन सार्वजनिक भयो ?

यी आरोपहरुको बारेमा ट्रम्पले भनेका छन् उनले ति सबै झुटा आरोपीहरुलाई चुनाव सकिने वित्तिकै कानूनको कठघरा उभ्याउने छ। आशा गरौं, त्यो बेला स्वयं न्यायालयले नै सत्य तथ्य पत्ता लगाउने छ। यहाँ मनन गर्नुपर्ने कुरो के हो भने यी आरोपहरुका पछाडी गम्भीर षडयन्त्र पनि हुनसक्छ जसको वजुद त्यस्ता बयानहरु चुनावलाई प्रभाव पार्ने उदेश्यले अन्तिम चरणमा सार्वजनिक हुनु हो । ति दोषारोपण गर्ने महिलाहरु आफ्नो प्रख्यातिका निम्ति पनि यस्तो घिनलाग्दो हर्कतमा उत्रिएका होलान। कसले जान्दछ !

डोनाल्ड ट्रम्पका योजनाहरु के हुन् ?

ट्रम्पका योजनाहरु बुझ्नका लागि उनले २२ अक्टोबर २०१६ मा गेट्टिस्बर्गमा दिएको स्पीच हेर्दा स्पष्ट हुन्छ। उनले आफु निर्वाचित भएमा निर्वाचित भएको १०० दिनभित्रका एक्सन प्लान स्पष्ट राख्नु भन्दा अगाडी यसो भने –

“ म राजनीतिज्ञ होइन र हुने इच्छा पनि थिएन। तर जब मैले हाम्रो देशका समस्याहरु देखे, मलाई लाग्यो म अब धेरै चुप लागेर बस्न सक्दिन। मैले केहि गर्नै पर्छ। अहिलेको प्रणाली ध्वस्त भएको छ, परिवर्तन अहिलेको भत्किएको प्रणाली भन्दा बाहिरबाट आउनुपर्छ। वासिंगटनले मेरो क्याम्पेनलाई रोक्न धेरै प्रयास गर्यो। त्यहि नै प्रमाण हो जसले जीवनमा एक पटक आउने परिवर्तनलाई रोक्न खोज्दै छ। म अमेरिकन जनतालाई कोकोहोलो भन्दा माथि उठेर ध्वस्त प्रणालीका विरुद्ध विश्वास र आशावादीतालाई अंगाल्न आग्रह गर्दछु जुन अमेरिकन चरित्रको मुख्य अन्तरवस्तु हो। यो डोनाल्ड जे. ट्रम्प र अमेरिकन मतदाता विचको करार हो यसले हाम्रो इमान्दारिता, जवाफदेहिता र वासिंगटनमा परिवर्तनका दिनहरु फर्काउन सुरु गर्ने छ। ”

भ्रष्ट्राचार रोक्न ट्रम्पका योजनाहरु:

१. पहिलो – कंग्रेसका सदस्यहरुको पदावधि निश्चित समयसम्मका लागि मात्र हुने व्यवस्था गर्न संविधान संसोधनको प्रस्ताव गर्ने,
२. दोश्रो – सेना, सार्वजनिक सेवा र सार्वजनिक स्वास्थ्य बाहेकका संघिय कर्मचारीहरुको भर्नालाई कम गर्ने,
३. तेश्रो – हरेक संघीय कानुनका लागि २ वटा नियमहरुलाई खारेज गर्ने,
४. चौथो – व्ह्वाइट हाउस र कंग्रेसका पदाधिकारीहरुको सेवा समाप्त भएपछि ५ बर्षसम्म पैरवी हुन निषेध गर्ने,
५. पाँचौं – व्ह्वाइट हाउसका पदाधिकारीहरुले विदेशी सरकारको पैरवी गर्न जिन्दगीभरका लागि निषेध गर्ने,
६. छैटौं – अमेरिकाको चुनावका लागि विदेशी पैरवीहरुले आर्थिक चलखेल गर्न पूर्णतया निषेध गर्ने,

अमेरिकन कामदारहरुको हितलाई रक्षा गर्न ट्रम्पका योजनाहरु:

१. पहिलो – NAFTA सम्झौताका बारेमा पुन:विचार गर्ने वा त्याग्ने,
२. दोश्रो – Trans-Pacific सम्झौतालाई त्याग्ने,
३. तेश्रो – चीनलाई मुद्रा हेरफेर गर्ने राष्ट्रको रुपमा लेबल लगाउने,
४. चौथो – अमेरिकी कानून तथा अन्तराष्ट्रिय कानूनको उल्लघंन गर्दै भएका सम्झौताहरुलाई पहिचान गरि त्यसको छानविन गर्ने,
५. पाँचौं – ५० ट्रिलियन डलर बराबरको जागिर दिन सक्ने अमेरिकाको उर्जा, ग्यास र सुद्ध कोइलाको उत्पादनमा भएको बन्देजलाई हटाउने,
६. छैटौं – उर्जाको क्षेत्रमा ओबामा र क्लिन्टनले गरेका अबरोधहरुलाई हटाउने र Keyston Pipeline जस्ता परियोजनाहरुलाई अघि बढाउने,
७. सातौं – संयुक्त राष्ट्र संघको जलवायु परिवर्तनका कार्यक्रमहरुलाई तिर्नुपर्ने खर्बौं डलर रद्द गर्ने र सो रकम अमेरिकाको पानी एवम पर्यावरणिय पूर्वाधार निर्माणमा लगाउने

सुरक्षा र संविधानको रक्षा गर्न ट्रम्पका योजनाहरु:

१. पहिलो – राष्ट्रपति ओबामाले जारि गरेका सबै असंवैधानिक कार्य, ज्ञापन र आदेश खारेज गर्ने,
२. दोश्रो – न्यायाधिश स्कालिया लगायत २० जनालाई पदपूर्ति गर्ने जसले अमेरिकाको संविधानलाई रक्षा गर्नेछन,
३. तेश्रो – Sanctuary शहरहरुलाई दिईएको सबै खर्च खारेज गर्ने,
४. चौथो – २ मिलियन अपराधिक अवैध आप्रवासीहरुलाई हटाउने र तिनको भिजा खारेज गर्ने,
५. पाँचौं – आंतकवादबाट प्रभावित क्षेत्रका आप्रवासीहरुको आवेदनलाई निरुत्साहित तथा विशेष निरीक्षण गर्ने

ट्रम्पले कंग्रेसमा निम्न व्यवस्थाहरु लागु गराउन लड्ने घोषणा गरेका छन् :

१. मध्यम वर्गलाई ट्याक्समा राहत दिने सरलीकृत ऐन बनाउने,
२. अमेरिकन कम्पनीहरुलाई पलायन हुन् रोक्न Offshoring Act लाई अन्त्य गर्ने,
३. उर्जा र पूर्वाधारको विकाशका लागि आगामी १० वर्षसम्म १ ट्रिलियन बराबरको निजि-सार्वजनिक साझेदारीमा लगानी गर्ने,
४. बच्चाहरुलाई आफ्नो इच्छा अनुसार सार्वजनिक, निजि, चार्टर, धार्मिक स्कुल वा घरमा पढन दिने। common core शिक्षालाई अन्त्य गर्ने र स्थानीय समुदायहरुको सुपरिवेक्षण निहित गर्ने,
५. ओबामा केयर स्वास्थ्य विमा ऐन हटाउदै स्वास्थ्य सेभिंग एकाउन्टद्वारा किफायती र सरल स्वास्थ्य सेवा प्रदान गर्ने,
६. थोरै आम्दानी गर्ने परिवारसंग मिल्ने गरि बालबालिका तथा प्रौढका निम्ति खर्च ट्याक्सबाट कटौती गर्न सकिने व्यवस्था गर्ने,
७. अवैध आप्रवासी कानूनलाई खारेज गर्ने,
८. समुदायको सुरक्षाको लागि सामुदायिक सुरक्षालाई पुनर्बहाली गर्ने,
९. राष्ट्रिय सुरक्षा ऐनलाई पुनर्बहाली गर्ने,
१०. वासिंगटनको भ्रष्ट्राचारलाई अन्त्य गर्ने

ट्रम्पका योजनाहरु मुख्यतया उनको नारा – Make American Great Again झैं पहिला अमेरिकालाई बनाउने तिर लक्षित छन। वास्तवमा अहिले अमेरिका कठिन अवस्थामा गुज्रिरहेको यथार्थ हो। आर्थिक बृद्दि मात्र १% प्रक्षेपण गरिएको परिप्रेक्षमा उनको यो नारा अत्यन्तै सान्दर्भिक पनि छ।

हिलारी क्लिन्टन

स्कुले जीवन देखि नै राजनीति प्रति रुचि भएकी हिलारी क्लिन्टनको राजनीतिक यात्रा निक्कै लामो छ। उनका श्रीमान तथा पुर्व राष्ट्रपति बिल क्लिन्टनको ८ बर्षको कार्यकाल देखि लिएर पुर्व परराष्ट्र सचिव र न्युयोर्क राज्यको सिनेटरका रुपमा उनले देशको केन्द्रिय भूमीकाहरु निभाउदै आएकी छिन। उनी अत्यन्तै महत्वाकांक्षी, स्वार्थी र शक्ति कि पुजारी महिला हुन। बिल क्लिन्टनसंगको उनको पारिवारिक र राजनीतिक जीवनको सहयात्रालाई हेर्ने हो भने उनले बिल क्लिन्टनका अवैध यौन सम्बन्धहरुलाई ढाकछोप गर्ने र सार्वजनिक भई सकेका घटनाहरुमा आफैंले जसलिने जस्ता सम्मका कामहरु गर्ने गरेको पाइन्छ।

बिल क्लिन्टन राष्ट्रपति हुँदा एक जना पत्रकार सोधेका थिए – “तपाईहरुले बिहे गरेको हो कि एरेन्जमेन्ट गरेको हो” ?

जवाफमा क्लिन्टनले आक्रामक रुपमा “ एरेन्जमेन्ट होइन, बिहे नै हो ” भन्ने जवाफ दिएका थिए।

पत्रकारले यो प्रश्न सोध्नुका पछाडी बिलका हरेक गल्तिहरुलाई हिलारीले ढाकछोप गर्नु रहेको छ। यति मात्रै होइन, यौन काण्डका कारण बिल क्लिन्टनको प्रतिष्ठामा आँच आएपछि ती घटनाबाट कसरी हिलारीको राजनैतिक छवि उजिल्याउन सकिन्छ भन्ने सोंचमा समेत छलफल गरि उनले आफ्नो राजनीतिलाई अगाडी बढाएकी छिन। उनी महिला भएर पनि महिला प्रति भएको अन्यायमा पुरुष कै पक्षपोषण गर्दै आएकि थिइन। उदाहरणका लागि पौला जोन्ससंग बिल क्लिन्टनको सम्बन्धलाई बाहिर आउन नदिन हिलारी क्लिन्टनले ८ लाख ५० हज्जार डलरमा सम्झौता गरेकी थिइन। एक बाह्र बर्षीय बालिकाको बलात्कारको मुद्दामा उनि प्रतिरक्षा वकिल हुँदा ति बालिका प्रति भएको निर्मम घटनामा बेस्सरी हाँस्दै खिल्ली उडाएकि थिएन। बिल क्लिन्टनले गरेका अनेकन महिला यौन शोषणकाहरुमा पिडित महिलाहरुलाई यतिसम्म सताएकि छिन् कि कतिपय महिलाहरुले हिलारीलाई एक भयानक, निर्मम राक्षसी महिलाको रुपमा चित्रण गर्ने गरेका छन्। यसबाट स्पष्ट हुन्छ कि उनी महिला भएर पनि महिलाका पक्षमा कहिल्यै थिईनन।

विकिलिक्स र हिलारी क्लिन्टनका इमेलहरु

विकिलिक्सका संस्थापक जुलियन असाञ्जका बारेमा कुनै बेला हिलारी क्लिन्टनले भनेकी थिइन – ‘ किन हामी यो मान्छेलाई ड्रोंन हान्न सक्दनौ ? ’

यसबाट स्पष्ट हुन्छ उनि विकिलिक्स प्रति कति रुष्ट छिन्। हुन पनि पछिल्लो लगातार २२ दिनदेखि विकिलिक्सले हिलारी क्लिन्टनका क्याम्पेन म्यानेजर जोन पोडेस्टाका इमेलहरु खुलासा गर्दै आएको छ जसबाट हरेक दिन उनका काला कर्तुतहरु विश्वले थाहा पाउदै छ। उनले गरेका भ्रष्ट्राचार, क्लिन्टन फाउन्डेसनमा लिएको करौडौं डलर डोनेसन, जोन सोरोस जस्ता विवादास्पद व्यक्तिबाट प्राप्त आर्थिक सहयोग, वाल स्ट्रीटमा उनले आफ्नो बारेमा भनेको दोहोरो व्यक्तित्व – ‘ म व्यक्तिगत हिलारी क्लिन्टन र सार्वजनिक हिलारी क्लिन्टन हुँ ’ तथ्य, युरेनियम बिक्रि गर्ने अधिकारको काण्ड आदि इत्यादि।

विकिलिक्स साच्चिकै उनको राष्ट्रपतीय क्याम्पेनका लागि तगारो बन्दै गएको छ। यहि बिचमा उनको क्यामेंनले विकिलिक्सको सर्भर ह्याक गर्ने असफल कोशिस समेत गरेको खुलासा जुलियन असाञ्जले गरेका छन। विकिलिक्सले अहिलेसम्म जोन पोडेस्टाका ५० हज्जार मध्ये ३५ हज्जार इमेल सार्वजनिक गरिसकेको छ र नोवेम्बर ८ सम्म सबै इमेलहरु सार्वजनिक गर्ने घोषणा गरेको छ। यस बीचमा अन्य कति उनका ‘कच्चा चिट्ठा’ खोलिने हुन् हेर्न बाँकि नै छ। उनको अपराधको गाम्भीर्यताका बारेमा जुलियन असाञ्जलाई रसियन टुडेले सोधेको एक प्रश्नका सम्बन्धमा असाञ्जले भनेका छन् – ‘उनी राष्ट्रपतिका लागि होइन बरु जेल जान सक्ने पर्याप्त आधारहरु हामीले प्राप्त गरिसकेका छौं।’

हिलारी क्लिन्टन र मेन स्ट्रिमका मिडिया

यस पटकको राष्ट्रपति निर्वाचनमा अमेरिकाका मेन स्ट्रिमका धेरै जसो मिडियाहरु अभुतपुर्व रुपमा एकपक्षीय भएको पाइयो। सीएनएन, एबिसी, एमयसएन विसी, न्युयोर्क टाइम्स, वाशिंगटन पोस्ट जस्ता प्रख्यात मिडिया हाउसहरु स्पष्ट रुपमा हिलारीको पक्षमा रहेका छन। न्युयोर्क टाइम्सले त यतिसम्म भन्यो कि – ‘ हामीलाई थाहा छ पत्रकारिताको आचार संहितालाई हामीले उल्लघन गरेका छौँ तर हामीलाई यसले फरक पार्दैन। हामीलाई डोनाल्ड ट्रम्पलाई गराउनु छ ’।

मिडिया हाउसले उम्मेदवारहरुलाई गर्ने आर्थिक सहयोगमा क्लिन्टनले १ लाख १४ हज्जार डलर प्राप्त गरेकी छन् भने ट्रम्पले मात्र १४ हज्जार प्राप्त गरेकैबाट स्पष्ट हुन्छ कि अधिकांश मिडियाहरु क्लिन्टनको पक्षमा र ट्रम्पको विपक्षमा रहेका छन। यस विषयमा ट्रम्पले भन्ने गरेका छन् – ‘ क्लिन्टनले कैयौं कर्पोरेट हाउसबाट सहयोग प्राप्त गर्नु अश्वभाविक होइन किनकी उनी तिनैका लागि काम गर्छिन।’

हिलारी क्लिन्टनले डिलिट गरेका इमेल र एफ बि आईको पुन: छानविन

हिलारी क्लिन्टनको सबैभन्दा ठुलो टाउको दुखाईको विषय उनले परराष्ट्र सचिव हुँदा प्रयोग भएको इमेल डिलिट गर्दाको काण्ड हो। उनले आफु परराष्ट्र सचिव हुँदा ३५ हज्जार वटा इमेल प्राप्त हुनै नसक्ने गरि डिलिट गरेकी थिइन्। उनले संघिय सरकारका इमेलहरुलाई आफ्नो घरको सर्भरमा राख्ने गरेकी थिइन। कंग्रेसले उनलाई ‘सपिना’ आदेश जारि गरेपछि पनि उनले ती इमेल र १३ वटा मोबाइल डिभाइसहरु समेत ह्याम्मर हानेर ध्वस्त बनाएकी थिइन। यो नितान्त अपराधिक कार्य थियो।

यो घटनाले लगभग उनलाई राष्ट्रपतिको उम्मेदवार हुनबाटै रोक्ने परिस्थिति बन्दा बन्दै पनि एबबिआईले त्यो बेला मुद्दा नलगाउने भएपछि बालबाल बचेकी थिइन। तर चुनाव हुनुभन्दा मात्र ११ दिन अघि एफ बि आईले यो मुद्दा उपर अपराधिक छानविन पुन: शुरु गरेको छ। एफ बि आईले पुन: छानविन गर्नुका पछाडी हिलारी कि मुख्य सहयोगी हुमा अबेदीनका श्रीमान एन्थोनी विनरका वीचमा हिलारी क्लिन्टनसंग सम्बधित राष्ट्रिय सुरक्षासंग सरोकार राख्ने विषयहरुको संदेश आदान-प्रदान भएको तथ्य फेला परेको कारण रहेको छ । एफ बि आईको यो कदम हिलारीका निम्ति फलामको च्युरा सावित हुने पक्का छ। यदि एफ बि आईले दावी गरे झैँ प्रमाण फेला पर्यो भने हिलारीले चुनाव जितिन नै भनेपनि जेल जानुपर्ने हुन्छ। त्यो भन्दा अगाडी नै उनको चुनावी दौडलाई नै यो घटनाले नराम्ररी प्रभावित पार्ने निश्चित छ जसले गर्दा उनी प्रति मतदाताको विश्वास झन् गुम्न गई सम्भवत चुनाव नै हार्न पनि सक्छिन ।

हिलारी क्लिन्टन राष्ट्रपति किन हुनु हुँदैन ?

हिलारी क्लिन्टन किन राष्ट्रपति हुनुहुदैन भन्ने विषयमा २०० वटा प्रमाण सहितका कारणहरु यहाँ पढ्न सकिन्छ, एक पटक हेरौं।

भोट कसलाई दिने त ? नेपाल र नेपाली-अमेरिकनको हित कसले जित्दा हुन्छ ?

हिलारी क्लिन्टन किन राष्ट्रपति हुनुहुदैन भन्ने विषयमा २०० वटा प्रमाणहरु र माथि चर्चा गरिएका कारणहरुबाट समेत स्पष्ट भैसके पछि ट्रम्प र हिलारी मध्ये हिलारी गम्भीर अपराधिक कार्यमा संलग्न उम्मेदवार हुन् भने ट्रम्प तुलानात्मक रुपमा धेरै हदसम्म सफल, इमान्दार, स्पष्ट र आशावादी उम्मेदवार हुन। हिलारीले आफ्ना योजनाहरु कहीं कतै स्पष्ट रुपमा राखेकी छैनन। मात्र ट्रम्पले महिला प्रति गरेको भनेको टिप्पणीलाई बारम्बार मतदाताहरुको कानमा भरेर ट्रम्पलाई महिला विरोधीको रुपमा प्रस्तुत गर्दैमा उनले आफुलाई ट्रम्प भन्दा अब्बल दावी गर्न सक्दिनन।

ट्रम्पले अरु केहि गर्न सकेनन भने पनि कम्तिमा अमेरिकालाई आर्थिक क्षेत्रमा निश्चित रुपमा सम्पन्न बनाउने छन् जुन अमेरिकाको लागि अहिलेको चरम आवश्यता हो । ट्रम्पको जीवनको सफलतालाई हेर्दा पनि मतदाताहरु यस विषयमा आस्वस्त हुनसक्छन। वास्तवमा उनी यति धनि छन् कि धन कमाउनलाई उनले भ्रष्ट्राचार गर्नुपर्ने कारण छैन, तर हिलारीले राजनीतिलाई धन कमाउने अस्त्रको रुपमा प्रयोग गर्दै आएकी छिन। कम्तिमा पनि क्लिन्टन फ़ाउण्डेसनले आर्जन गरेको अकुत सम्पतिले यहि नै पुष्टि गर्दछ।

ट्रम्पले अमेरिका भित्र रोजगारीहरु सिर्जना गर्ने छन जसबाट अमेरिकी जनता सहित नेपाली-अमेरिकनहरु समेत लाभान्वित हुनेछन। ट्रम्पले लागु पदार्थको ओसारपसारलाई रोक्नका निम्ति समेत दक्षिणतिरको बोर्डरलाई अझ सुरक्षित बनाउने छन जसले अमेरिकावासीहरुलाई खतरनाक अपराधीहरुबाट धेरै हदसम्म सुरक्षित राख्ने छ।

ट्रम्पले पहिला आफ्नो देश बनाउने तथा देश भित्रको समस्या समाधान गर्ने विषयलाई धेरै नै महत्व दिएको हुँदा उनी राष्ट्रपति भएपछि अमेरिकाको अन्तराष्ट्रिय क्षेत्रमा अनावश्यक हस्तक्षेप तुलनात्मक रुपमा कम हुने अपेक्षा गर्न सकिन्छ। यसले विश्वमा धेरै हदसम्म शान्ति कायम हुने अपेक्षा पनि गर्न सकिन्छ। ट्रम्प राष्ट्रपति भएमा विश्वका शक्तिशाली राष्ट्रहरु रुस र चीनसंग अमेरिकाको सम्बन्ध अहिले जस्तो चिसो र शत्रुतापुर्ण हुने संभावना कम रहन्छ, मध्यपुर्व लगायत विश्वका द्वन्दरत राष्ट्रहरुमा पनि शान्ति छाउन सक्छ।

ट्रम्प राष्ट्रपति भएमा निश्चित रुपमा आप्रवासी कानून कडा हुने अपेक्षा गर्न सकिन्छ जसले गर्दा अवैध आप्रवासीहरुको प्रवेश लगभग कठिन नै हुने छ। यसले गर्दा नेपाल लगायत अधिकांश विकासोउन्मुख देशहरुले भोग्ने गरेको बौद्धिक र दक्ष शक्तिको पलायन रोकिन ठुलो मद्दत गर्ने छ। ट्रम्पले भने जस्तै – ‘ एकै ठाउँमा अति धेरै शक्ति संचय हुनु हुँदैन ’ झैँ संसारभरिका सक्षम र बौद्धिक व्यक्तिहरु अमेरिकामा मात्रै थुप्रिंदा अन्य देशहरुको विकाशमा प्रतिकुल असर परिरहन रहने छ। ट्रम्प राष्ट्रपति भएमा नेपाल जस्तो देश भोग्दै आएको सबैभन्दा ठुलो बौद्धिक पलायनको समस्या धेरै हदसम्म कम हुनसक्छ।

अन्त्यमा, बिल र हिलारी क्लिन्टनको शासन अमेरिकी जनता र विश्वले देखेकै हो। हिलारीले बिल क्लिन्टन र ओबामाको लिगेसी नै पछयाउने हुन जुन धेरै हदसम्म राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा असफल सिद्ध भईसकेको छ । तर ट्रम्प जस्ता रचनात्मक र फ्रेस राजनीतिक व्यक्तिको शाषन अमेरिकी जनता तथा विश्वले देख्न पाएको छैन। कुनै पनि देश सफल र शक्तिशाली तब हुन्छ जब त्यो देशको अर्थतन्त्र मजबुत हुँदै जान्छ – दृष्टान्त चीनलाई हेरौं । यस पटक अमेरिकाले एक जना सफल व्यवशायीलाई राष्ट्रपतिको उम्मेदवार पाएको छ जसलाई थाहा छ ‘ हाउ टु मेक मनि ’ ! त्यसैले, यस पटकको अमेरिकी चुनावमा सबैभन्दा सहि उम्मेदवार डोनाल्ड जे. ट्रम्प नै हुन। ट्रम्पलाई भोट दिएर जिताएमा नै अमेरिकन जनता, अमेरिका, नेपाली-अमेरिकन समुदाय, नेपाल लगायत विश्व कै हित छ। रोजाई मतदातामा निहित !

[यो माइसंसारको विचार नभई माइसंसारका पाठकले पठाएको विचार हो। तपाईँ पनि आफ्ना तर्क पठाउन चाहनु हुन्छ भने पठाउनुस् [email protected] मा]

20 thoughts on “अमेरिकामा राष्ट्रपति चुनाव : ट्रम्पको पक्षमा एक नेपालीको तर्क – यसकारण जिताउनु पर्छ ट्रम्पलाई”

  1. हर्के हवलदार says:
    November 3, 2016 at 8:13 pm

    राम्रो विश्लेषण। हिलारीको पछि लाग्ने हल्लुडेहरु हल्लिदै जेलको हावा खान्छन।

    Reply
    1. madhu says:
      November 24, 2016 at 6:04 pm

      म पनि ट्रम्प ले जितुन भन्ने मन्न्छे हो । मेरो आफ्नै कारण चाँही:
      १) अहिले को विश्व , विश्व युद्द को संघार मा छ, जस्को कारण नेटो र अमेरिकि निती रसिआ प्रती शत्रुतापूर्ण हुनु हो, नेटो बिस्तारित हुँदै रसिया को ढोकै मा अाइसकेको छ, सम्पूर्ण बल्तिक गणराज्य् र हुँदा हुँदै युक्रेन सम्म नेटो को बिस्तार् युद्द को निम्ती चुनौती भन्दा अरु होइन।
      २) डोनल्न्द् ट्रम्प् को अमेरिकक फर्स्ट निती ले अमेरिकि हस्तक्षेप लाई निरुत्सहित गर्दछ। एदी एस्तो २० बर्षा पहिला नै हुन्थ्यो भने दोश्रो गल्फ युद्द, लिबिअन गृह युद्द सिरिअन गृह युद्द हुन्थेनन र २० लाख
      मानिस हरु मर्थेनन ।

      Reply
  2. Rajan says:
    November 3, 2016 at 6:02 am

    ओबामाले तेस्तो कुन चै असंवैधानिक आदेश जारि गरेका रैचन ?

    Reply
  3. Rajan says:
    November 3, 2016 at 5:54 am

    लेखक बिचारा के गर्थे काम कुन्नी | यिनको जागिर पनि मेक्सिकनले लगेकी क्या हो |

    Reply
  4. राजन says:
    November 3, 2016 at 5:25 am

    हीलरी राष्ट्रपति भइन् भने यो तोरीलाउरे लाइ गर्दनीया दिएर अमेरीका बाट निकाल्दिए हुन्छ ।

    Reply
  5. Durga Adhikari says:
    November 2, 2016 at 7:58 pm

    Don’t worry friends. We will write another history in America again this year. I want all of you to understand that America is not for sale and no one should be allowed to make any profit out of this political agenda. We do not want our nation to go bankrupt.

    Reply
  6. Newroseji says:
    November 1, 2016 at 9:49 am

    मुर्ख मित्र (Trump ) भन्दा बिध्वान सत्रु (हिलारी) जाति !!

    Reply
  7. Shankar says:
    October 31, 2016 at 8:58 am

    ट्रंप लाइ भोट दिनु हुन्न र ट्रंप ले जित्नु पनि हुन्न | न्युवोर्क टाइम्स ले हिलारी ले जित्ने चान्स ९१ प्रतिसत भन्दै थ्यो हिजो सम्म , १-२ दिन भयो यो इमेल काण्ड फेरी चर्चा मा आएपछि मौन छ |
    किन ट्रंप लाइ भोट न दिने
    १) ट्रंप ले रुढिबादी खैरेको प्रतिनिधित्त्व गर्छ , जसले मेक्सिकन लाइ लुटेरा ,इन्डियन ,पाकिस्तान ,नेपालि , बंगाली सब लाइ लादेन को सन्तति देख्छ , बिदेसी देख्नासाथ अमेरिका लुटन आएको येलियाँन भन्छ , विश्वको सम्पदा , सुख सुविधामा गोराको मात्र जन्म सिद्द अधिकार देख्छ | ओबामा लाइ अझै बिदेसी मुसलमान ठान्छ | हुन् सक्छ ट्रंप आएमा तेस्रो विश्व युद्द न होला भन्न सकिन्न |

    २) हिलारी ले लिबरल धार को प्रतिनिधित्त्व गर्छ | ओबामा जसले जर्ज बुश ले धोस्त पारेको अमेरिकी अर्थतन्त्र फेरी उचाले , विश्वलाई रिसेसन बात पार लगाए , अमेरिका मा फेरी थुप्रै जब क्रियेत गरे | यो काम को निरन्तरता को लागि उसले हिलारीलाई चुनेको छ जुन जायज छ | तेसैले प्रबासी एसियन हरुले समर्थन गर्नु पर्ने हिलारी नै हो |
    हिलारी राम्रो हैन तर हिलारीको धार राम्रो हो | लिबरल लाइन राम्रो हो | लिबरल लाइन ले भोलि यो लेख लेख्ने लेखक , ओबामा लाइ अमेरिका को पद मा पुराउछ | बबी जिन्दाल को लाइन ले हैन |

    तेसैले स्याल हरुलाई २,४ दिन बाघ को बथान मा बसदैमा आफुलाई बाघ न सम्झन अनुरोध गर्दछु |
    यु ट्युब मा इन्डियामा सिब सेना हरुले ट्रंप को फोटो पुजा गरेर , यज्ञ गरेको हेर्न सकिन्छ | त्यो किन भन्दा मुसलमान लाइ केहि समय अमेरिका छिर्न न दिने भनेर ट्रंप ले बोलेकोले ?
    यो पनि कुनै कारण भयो?

    तर ९-११ को घटना पछि धेरै हिन्दु पनि खैरो छाला भएकाले पिटिएको चाहि उनीहरुले बिर्से |
    बास्तब मा ट्रंप का भोटर हरु लाइ मुस्लिम भएपनि इन्डिया को खैरो छाला हिन्दु भन्दा ,बोस्निया को , सिरियाको गोरा छाला भएका मानिस आफ्नो लाग्छ |
    अब एस्तो मा नेपालि भोटर ले ट्रंप लाइ भोट दिने कि हिलारी लाइ ?

    Reply
  8. harka nepali says:
    October 31, 2016 at 8:05 am

    यो लेख पुरा Donald Trump मा समर्पित भएर लेखिएको लेख हो |Trump जस्तो सन्काहा र रिसाहा व्यक्ति जस्तो मान्छे अमेरिका जस्तो संसार को अगुवा देस को रास्ट्रपति जस्तो गरिमामय पद मा उठ्नु आफै मा लज्जास्पद कुरा हो |कुरा बुझेर Trump पछि लागेको हो कि अमेरिका मा नेपाली हरु धेरै प्रबेस गरे भनेर रिस को आवेग मा लेखिएको लेख हो यो , त्यो ठम्याउन सकिएन |तपाई जस्ता अरु ले प्रगति गर्दा रिस गर्ने मान्छे को कमि छैन अमेरिका मा |येंहा येस्ता मान्छे हरु पनि छन् जसले “अमेरिका मा धेरै नेपाली आए , अब आफ्नो इज्जत पैले को भन्दा कम भयो” भनेर Trump लाई समर्थन गर्ने हरु पनि छन् |मित्र जी ! यो पनि याद गर्नुस हिलारी ले अमेरिका मा criminal लाई बचाउन पर्छ भनेर लागेकी छैनन् बरु बर्सौं देखि बसोबास गर्दै आएको काम गरेर खाने मान्छे हरु लाई मौका दिन खोजेकी हुन् , र border खोलेर सब्बै अमेरिका छिरुन भन्ने प्रस्ताब राखेकी छैनन् |येंहा आफ्नो paper नहुदा सम्म डेमोक्रेटिक र आफ्नो paper भए पछि republican हुने हरु को केहि कमि छैन| लेखक पनि त्यसै को एउटा रुप हुन् |नेपाल मा भुइचालो गएर आफ्ना परिवार लाई भेट्न को लागि अमेरिका मा TPS renew गर्न को लागि pettition गर्दा 7000 पनि हुन सकेन जब कि यिनै नेपाली हरु Indian idol , Cnn Hero मा नेपाली लाई जिताउन पटक पटक भोट हाल्न पनि पछि पर्दैनन् |जब कि येंहा “नेपाली लाई deport गर्नु पर्छ” भनेर pettition गरेको भए रातारात 50 000 पुग्थ्यो होला |लेखक यसै को अवाज हुन् |असुरक्षित अमेरिका हिलारी को कल्पना होइन |संसार लाई बाटो देखाउने देस को रास्ट्रपति Trump जस्तो व्यक्ति भएर ठुलो बिध्वन्स मचाउनु छैन |एउटा कुनै देस र एउटा कुनै संसार को राम्रो leader न कि देस कै कुनै राम्रो leader संग नै राम्रो छ त Trump को सम्बन्ध ?जे छ गरिब , गोरा जाति हरु संग नै राम्रो सम्बन्ध छ | संसार चल्ने बुद्धि र बिबेक ले हो तपाई जस्तो इर्श्या , डाह, रिस ले होइन |

    Reply
  9. Ritika says:
    October 31, 2016 at 7:15 am

    I would like to request the author to read this piece of writing that I found on Twitter and reply (or rethink). https://pbs.twimg.com/media/CwDkXQEWYAIIk8B.jpg

    Reply
    1. Gokarna, Seatle says:
      October 31, 2016 at 12:33 pm

      डोनाल्ड ट्रंपका पनि छोरीहरु, श्रीमती छन । Trumph is 70 years old grandfather of many grand childrens. Don’t make & be fool sister. बरु त्यस्ता धनि मान्छेको लागि जे पनि सुम्पिदिने केटीको कमि छैन ।

      Reply
  10. sushil says:
    October 31, 2016 at 6:48 am

    बिचरा ट्रम्प हिलारीलाई जिताउनको लागि आफु हार्ने सक्दो प्रयास गर्दै छ, तर मान्छेहरु क्लिन्टनसंग यति रिसाएका रैछन कि ट्रम्पलाई सपोर्ट गर्दैछन्. हिलारीलाई जिताउनको लागि नै ट्रम्पलाई उठाइएको हो र हार्नको लागि जथाभावी बोल्दै हिड्दैछन्. नत्र त्यत्रो अम्पायर व्यवसाय धानेको मान्छेले तेस्तो बेवकुफ कुरा बोल्दै हिड्छ र? हाम्रोमा पछाडीबाट लैनचौरले सरकार चलाए जस्तै अमेरिकामा पनि पछाडीबाट सरकार चलाउने कुनै न कुनै शक्ति छ नै, त्यसैले त जो आए पनि अमेरिकाको युद्ध प्रेम कायम रहन्छ. नोबेल शान्ति पुरस्कार पाएको ओबामाले त कति वटा देशमा बम खसाली सक्यो, त्यहाँ रास्ट्रपति एक्लैले भनेर केही हुँदैन, उनीहरुको गोप्य पर्मानेन्ट सरकार ले जे भन्छ त्यही हुन्छ. अहिलेको क्याम्पेन हिलारीलाई जिताउनको लागि नै हो जस्तो लाग्छ. अमेरिकी जनता नेपाली भन्दा बुद्धिमान हुने भए ग्यारी जोन्सनको बढी चर्चा हुने थियो होला.

    Reply
  11. Karki D. says:
    October 31, 2016 at 3:08 am

    मुद्दाका हिसाबले ट्रम्प, हिलारी भन्दा अघि नै छन । कर्पोरेट मिडियाको भरपुर साथ र सहयोग भने हिलारिलाई छ र त बेला-बेलामा ट्रम्पले मिडियाको निष्पक्षता माथी गम्भीर प्रश्न उठाउदै आएका छन जुन गलत होईन । ट्रम्पका सानातिना गल्तिलाई पहाड बनाएको देखियो भने हिलारिको गल्तिलाई सकेसम्म ढाकछोप गर्ने गरेको देखियो । तर ट्रम्पलाई आफ्नैले धोका दिनाले समस्या भयो जस्को सिधा फाईदा हिलारिलाई भयो भने सिएनएन को डिबेटहरुमा ट्रम्प अलि कमजोर देखिय भलै उनको मुद्दा बलियो भए पनि । तेस्तै दोस्रो कार्यक्रम सन्चालक एन्डर्सन कुपर त झन हिलारिको प्रवक्ता जस्तै नै रुपमा प्रस्तुत भए । त्यहा कतिपए गम्भीर प्रश्न जुन ट्रम्प्ले उठाए त्यसको जवाफ न हिलारिले दिईन न त कार्यक्रम संचालकले नै सोधे ।
    तर यति कुरा साफ हो क्लिन्टन परिवारले पदको दुरुपयोग भने गरेको छ । त्यो पुष्टि भैसकेको बिशय भयो ।
    अर्को तिर ट्रम्प क्याम्पेनले जति कुरा जसरी बाहिर ल्याउन सक्नु पर्थ्यो त्यो सकेन । डिबेट पछिको समय त लगभग प्रतिरक्षा मै बितायो जस्ले गर्दा मतदाताहरु मोडिए । अहिले एफबिआईको कार्यलाई क्लिन्टन क्याम्पेन प्रमुखले चुनावको मुखमा यसो नगर्नु पर्थ्यो भनेर आलोचना गर्दैछन । तेस्तै ओवामा केयरका बारेमा हालै बाहिर आएको कुरालाई पनि उस्ले क्यास गर्न सकेन जुन कुरा ट्रम्पले सुरुवात देखि नै भन्दै आएका थिय । मलाई उन्को एउटा भनाई मन परेको हो त्यो भनेको म अमेरिकी राष्ट्रपती हुने हो बिश्वको हैन । अहिले बिश्वले खोजेको येस्तै हो । जहितही हस्तक्षेप हैन । तर ट्रम्प लागू औषध र मुश्लिम समुदायको भने कट्टर आलोचक देखिए जस्को वास्तविकता बताउन नसक्दाको फाइदा घुमाउरो पाराले हिलारिलाई भयो । ११मिलिएन गैरकानूनी आप्रवासिको बिषयलाई हिलारिले बच्चाले एसो भन्यो तेसो भन्यो भनेर भावुक बनाइन मतदाता जुन कला ट्रम्पमा थिएन । तर खरो,निडर र स्पष्ठ वक्त्ता भने हुन ट्रम्प ।

    Reply
  12. मदन केसी from Sao Paulo Brazil says:
    October 31, 2016 at 1:45 am

    आज अमेरिकाको राष्ट्रपति चुनावलाई लिएर यहाँ ब्राजिलमा प्रदर्शन भयो। ब्रजिलियनहरु हिलारीलाई घृणा गर्छन। ल्याटिन अमेरिका र स्पेसली हैटीले क्लिन्टनहरुलाई कहिलै माफ गर्दैन। हिलारी क्लिन्टन हत्यारिन हो। नेपालीहरुले TRUMP लाई SUPPORT गर्नु पर्छ । #ImWithTrumph

    Reply
  13. Choodamani Neupane says:
    October 31, 2016 at 12:21 am

    Trump has been right all along about election being rigged. Yes, the CIA has rigged countless elections across the globe and in Latin America especially. Assassinations, coups if that doesn’t work as per their interest . They invaded Iraq twice. Yugoslavia, Libya and countless countries. I believe there 95% of political unrest around the globe is caused by US alone. Royal Massacre in Nepal is also caused by CIA & RAW.

    Look at leaked audio what crooked Hillary is trying rigg Palestine’s election!

    https://soundcloud.com/rttv/palestine-2006-clinton

    Hillary is one of the puppet created by big corporations like John Sorrow & US vested hegemony ! Hillary is the most corrupted women in human history. No one can trust her! How come Nepalese are devoted to her!

    I fully support above article & arguments. Let’s support Trump to make the better world.

    Reply
  14. प्रचबज ! says:
    October 30, 2016 at 11:52 pm

    यो त trump को चम्चा पो रहेछ !!

    Reply
  15. Naveen says:
    October 30, 2016 at 8:50 pm

    ट्रम्प राष्ट्रपति भएपछि नेपालीहरु अमेरिका जान पाउने छैनन् र नेपालको बौद्धिक पलायनको समस्या हल हुन्छ । कस्तोे खालको तर्क हो यो ?

    ट्रम्प तानशाही सोचका व्यक्ति हुन । उनलाई संसारभरका सबै तानशाह तथा तानाशाही सोच भएका मानिसहरुको समर्थन छ । चिन र रसिया त अझ ट्रम्प राष्ट्रपति भएमा अमेरिका धरासायी हुने र आफु संसारको नम्वर १ हुन सक्ने संभावना देख्दै ट्रम्पको समर्थन गरिरहेका छन ।

    Reply
  16. Magaraat Magar says:
    October 30, 2016 at 7:32 pm

    My opinion is Donald J Trump is best and always his supporter where ever I am because I am not interesting America but I like Donald Trump he is honest business man in America.

    Reply
  17. Gorkhali says:
    October 30, 2016 at 4:17 pm

    यो विचार लेखनी साथी त निकाए रिपब्लिकन पर्नु भएछ . टन्न पैसा वाला होला , यहा त धनि पैसावाला नै रिपब्लिकन हुन्छन भन्नि सुनेको थिए…ल मॊज गर्नुस Donald दाइ ले जिते भनि तपाई को सम्पति मा कम कर लाग्छ ….धनि हुनु हुदो रहेछ अझ धनि हुनु हुने भयो . येसो नेपाल तिर को गरिबी लाइ सहयोग गर्नी तिर पनि चित्त जावोस ..

    Reply
    1. Rajan says:
      October 31, 2016 at 6:25 am

      होइन, Trump सपोर्ट गर्नेहरु प्राय अशिक्षित, बेरोजगार, गरीब bule color worker हरु हुन् | म एक शिक्षित डाक्टर हुँ | म Trump लाइ सपोर्ट गर्दिन |

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme