सेप्टेम्बर २० को मंगलबार राति काठमाडौँबाट उडेको विमानले ढाका र हङकङ हुँदै सात समुद्र पार गरेर बुधबार राति सिड्नी झारिदिँदा निकै थकाई लागिसकेको थियो। विमानको पर्सनल टिभीमा म्याप हेर्ने सुविधा थियो। अस्ट्रेलियाको भूमिमाथिको आकाश पुगिसक्दा पनि गन्तव्यमा पुग्न अझै चार घण्टा लाग्ने पो देखाउँथ्यो। बल्ल-बल्ल सिड्नीको एयरपोर्टमा झर्दा पनि इमिग्रेसनमा ५ सय जनाको भीडले कुर्दाकुर्दा साहित्यकार साथी बुद्धिसागर र मलाई हैरान बनाइसकेको थियो। पासपोर्टमा अराइभलको छाप हानिसकेपछि र्यान्डम चेकिङमा परिएन। अनि बुद्धिले ल्याएको एउटा सानो बट्टा डल्ले खुर्सानीलाई रोक्नेे कल्ले? पछि साथीहरुले भन्दा पो थाहा भयो, डिक्लेर नगरेको डल्ले खुर्सानी चेकिङमा परेको भए डल्लै जरिवाना तिर्नुपर्थ्यो। हामी सीधै एक्जिट गेटतर्फ लाग्यौँ जहाँ हामीलाई रिसिभ गर्न आएका नेपालीपत्रका सम्पादक ऋषि आचार्य, साहित्यकार निष्प्रभ सजी, मन्डला कन्सलटेन्सीका सञ्जीव पाण्डेलाई भेट्यौँ। त्यसपछि एयरपोर्टबाट हुइँकियो गाडी सुरुङ मार्ग हुँदै पिकनिक प्वाइन्टतिर।
निष्प्रभ सजीको उपन्यास डार्लिङ हार्बरमा पिकनिक प्वाइन्टको निकै ठाउँमा उल्लेख छ। त्यही ठाउँमा उनको घर रहेछ जहाँ बुद्धि र मेरो बास हुँदै थियो। निष्प्रभ-जयन्तीको जोडी, दुवै कवि, साहित्यिक वातावरणमय एकान्त ठाउँमा घर।
खाना खाएर एकछिन गफिएपछि तल्लो तल्लाको बेडरुममा सुत्न गयौँ। काठमाडौँ र सिड्नीको समयको अन्तर ४ घण्टा चानचुन थियो। सिडनीको समय चलाख। तर झण्डै काठमाडौँकै समयमा सुत्ने तर्खर थियो हाम्रो।
‘घुर्ने बानी छ कि छैन तपाईँको?,’ बुद्धिले सुरुमै सोधिहाले। ‘नागरिक’मा वर्षौँ सँगै काम गरे पनि एकै ठाउँमा पहिलो पटक सुत्दै थियौँ हामी।
‘कसले घुर्ने हो थाहा भइहाल्छ नि अब’, मैले भनेँ।
थाकेकोले होला। ओछ्यानमा पल्टिएको केही समयमा नै निद्राले भुसुक्कै।
*****
थर्रथर्रथर्र…
कति बजेको थियो कुन्नि, बत्ती निभाएको र उज्यालो नभइसकेकोले थाहा भएन। तर हल्लायो त गाँठे खाट। वैशाख १२ पछि हामी नेपालीहरुलाई कम्पनबाटै कति म्याग्निच्युडको भूकम्प गएको छ अनुमान गर्ने बानी भइसक्यो। ४.५ देखि बढीमामा ५ को हुनुपर्छ- मैले अनुमान गरेँ।
दिक्क पनि लाग्यो यो मुला भूकम्पले मलाई सात समुद्र पार जाँदा पनि छाडेन।
आँखा बन्दै थियो। सिरकले टाउको पूरै छोपेको थिएँ।
थर्रर्रर्रर्र…
फेरि आयो। अघिको अलि ठूलै थियो होला, यो आफ्टरसक होला। मैले अनुमान गरेँ। यताका घरहरु त भूकम्प प्रतिरोधी बनाएका होलान् नि यस्ता भूकम्पले खासै असर नगर्ला- मैले आफैलाई आश्वासन दिएँ। निदाएछु।
****
ढिलै उठियो। नाडी घडीमा नेपालको समय थियो। मोबाइलमा यताको समय भइहाल्छ, घडीमा चाहिँ नेपालकै समय राख्ने विचार थियो मेरो। नेपालको समय अनुसार बिहान ८ बज्नु भनेको यहाँको मध्याह्न सवा १२ थियो।
वाइफाइको पासवर्ड हिजै राति हालिसकेको थिएँ फोनमा। भूकम्पको के रहेछ भनेर हेरेँ। अचम्म लाग्यो केही रहेनछ। सिड्नीमा पछिल्लो पटक १७ वर्षअघि भूकम्प महसूस गरिएको रहेछ। १७ मार्च १९९९ मा ४.८ को भूकम्पले हजार घरमा विद्युत आपूर्ति बन्द भएको रहेछ। हिजोआजको भूकम्प छैन रहेछ।
धत्, कत्रो भ्रममा परेछु त म। भूकम्पले दिमागमा निकै जरा गाडेको रहेछ सोचेँ।
सिड्नीमा पहिलो दिन नेपालीपत्रका सम्पादक ऋषि आचार्यसँग बित्यो। रेल चढ्न चाहिने ओपल कार्ड, भोडाफोनको सिमकार्ड भएपछि सिडनी बसाई सहज हुने भयो। सिमकार्डको प्लान पनि गजबको रहेछ- फोरजी नेटवर्क। ४० डलरमा एक महिनाका लागि ६ जिबी डेटा हुने अनि अस्ट्रेलिया भर जसलाई जति फोन र टेक्स्ट गरे पनि हुने। विदेशमा फोन गर्न ९० मिनेटको टक टाइम।
हार्बर ब्रिज, ओपेरा हाउस र नजिकैको पार्क घुम्दा सकियो बिहीबारको त्यो दिन।
******
त्यो रात फेरि खाट हल्लियो। हिजोकै म्याग्निच्युडमा।
हैन होला। भ्रम हो कि। तत्काल हेरिहालौँ न त- सिरानीमुनि राखेको मोबाइल निकालेँ। युएसजिएस हेरेँ। छैन त केही। भर्खरैको भएकोले नभएको हो कि। रिफ्रेस गरी हेरेँ। अहँ छैन।
अब अति भो। दिनदिनै भूकम्प आए जस्तो हुने के हुन थाल्यो मलाई।
उठेर बत्ती बालेँ। ट्वाइलेट गएँ। बुद्धि मस्त निद्रामा थियो। मलाई ‘तपाईँ घुर्नु त हुन्न नि’ भनेर सोध्ने ऊ आफै अलि अलि घुरिरहेको थियो।
एकछिन मोबाइल चलाएँ। भाइबर चलाएर घरतिर मेसेज गरेँ। च्याट गरिरहेको थिएँ।
यत्तिकैमा फेरि खाट हल्लियो। ए, दुई दिनदेखिको रहस्य भर्खर पो खुल्यो। बल्ल थाहा पाएँ यो कम्पनको केन्द्रबिन्दु।
****
भोलिपल्ट घुम्न जाने क्रममा गाडीमा मैले भनेँ- अब नेपाल गएर बुद्धिसागरका १० गोप्य कुरा भनेर लेख्छु ब्लग।
‘के-के लेख्नुहुन्छ त?’ बुद्धिलाई चासो लाग्यो।
‘नम्बर १- बुद्धिसागर निद्रामा पनि खुट्टा हल्लाउने गर्छ’
‘हाहाहा।’
बुद्धिसागरले बल्ल कुरा खोले, ‘यो मेरो सानोदेखिकै बानी हो। मेरो बुबाको पनि यस्तै बानी थियो।’
‘कर्णाली ब्लुज’मार्फत् हामीले बुद्धिसागरका पिताको बारेमा धेरै थाहा पाएका थियौँ। तर यो निद्रामा पनि खुट्टा हल्लाउने कुरा थाहा पाउन भने दक्षिणी गोलार्द्धमा आइपुग्नु पर्यो।
त्यसपछि सिड्नीदेखि मेलबर्नसम्म पटक-पटक राति-राति भूकम्प आइरह्यो। तर केन्द्रबिन्दु थाहा भइसकेकोले पहिलो दुई दिन जस्तै तर्सने स्थिति कहिले पनि आएन।
बरु म मेलबर्नमै केही दिन घुम्नका लागि बसेँ। बुद्धि दुई दिन मेलबर्न बसेर सिड्नी हुँदै काठमाडौँ फर्कियो। र, अक्टोबर ३ देखि अस्ट्रेलियामा ‘भूकम्प’ मिस गरियो।
[नोट : यसमा रहेका सबै फोटो सिड्नीको रेलमा छुटेर अहिले कुन चाहिँको हातमा परेर अहिले चलाइरहेको निकोन डि ७२०० क्यामेराले खिचेको हुँ। क्यामेरा नभेटिए पनि खिचेका केही फोटो हराउनु अघि नै ल्यापटपमा सारेकोले फोटो चाहिँ बच्यो। क्यामेरा कसैले चलाइरहेको होला। डिएसएलआर पाएर कोही खुसी भएको होला। सिड्नीमा खुसी त बाँडियो नि! ]
शिर्षकले अत्यायो एकैछिन समाचार ठानेर । आमाको मन । पढ्दै जादा संस्मरण रमाईलो लाग्यो ।
ए चपाईले पो खुट्टा हल्लाको रैछ ?
likely ‘periodic limb movement of sleep (PLMS)’.. If present during daytime as well, then ‘restless leg syndrome’!:)